Archive for the ‘rural custom’ Category

पाठ्य सामग्री र स्थानीयकरणको समस्या

– दीपक अर्याल

विद्यार्थीहरूले के पढ्छन्, के पढ्न मन पराउँछन् वा पढ्न नै मन पराउनन्नन् भन्नेा कुराको जानकारी प्रत्येक शिक्षकले राख्न जरूरी हुन्छ। पाठ्य पुस्तकका एकहोरो सामग्रीहरूलाई विद्यार्थीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने कुरालाई पनि शिक्षकले बाहेक अरू कसैले बुझ्न सक्दैन। त्यसैले पढाउने भनेको पाठ्य पुस्तक पढाउने वा घोकाउने र कक्षा उत्तीर्ण गराउने मात्र होइन बरू विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्ने वा उत्साहित गर्ने पनि हो। के विद्यार्थीहरूलाई अन्य काममा अग्रसर भए जस्तै पढ्ने काममा पनि अग्रसर बनाउन सम्भव छ? त्यसका लागि कुन विधी उपयुक्त हुन सक्छ। उनीहरूलाई पढाइप्रति किन रूचि छैन, हुँदैन वा खास पाठ्य सामग्री वा विषयवस्तुसँग रूचि नभएपनि अन्य विषयसँग रूचि हुन्छ भन्ने कुरा जान्नका लागि लामो अनुसन्धान जरूरी छ। जस्तै कि, चित्र भएका तस्बिरहरू बढी हेर्ने, रमाइला कुराहरू, कथाहरू, कार्टुनहरू, फिल्महरू मात्र पढ्न मन पराउने वा त्यसका कुरा गर्दा खुशी हुने जस्ता विशेषताहरू साना-साना बालबालिकामा मात्र होइन ठूला बच्चाहरूमा पनि भएको देखिन्छ। त्यसमाथि आफ्नो टोल-छिमेकको, आफ्नो धर्म संस्कृति तथा सामाजिक परिवेशका घटना, कथा वा सामग्रीहरू पढ्ने रूचि पनि बढी रहेको पाइन्छ। (more…)

Advertisements

निजि र सरकारी स्कुल तथा गुणस्तरको मापदण्ड

– दीपक अर्याल

निजि र सामुदायिक तथा सरकारी विद्यालयका सकारात्मक तथा नकारात्मक पाटाका विषयमा निकै चर्चा हुने गर्छ। अझ, खासगरी एसएलसीको रिजल्ट आउने वेलामा वा आएपछि त यसका वारेमा गरिएका टिप्पणीहरूले पत्रपत्रिकाका पानाहरू भरिन्छन्। सरकारले सरकारी विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल नआएको, विद्यार्थीहरू बढी फेल हुने गरेको, शिक्षकहरूले बढि राजनीति गरेको वा शिक्षकको क्षमता नभएको मात्र होइन देशको शैक्षिक प्रगतिको आधार नै निजि विद्यालय भएको र यसले मात्र राम्रो नतिजा दिन सकेको तर्क पनि यो समयमा दिइन्छ। खासगरी निजि विद्यालयका वकालत गर्नेहरूले एसएलसीमा सरकारी र निजि विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीहरूको संख्यालाई आधार मानेर निजि विद्यालय सरकारी भन्दा कैयौं गुणा उत्कृष्ट भएको तर्क गर्छन्। यही तर्क प्लस टु वा सो भन्दा माथिका शैक्षिक संस्थाहरूमा पनि लागू हुन्छ। के दुई फरक धारका विद्यालयहरूको शैक्षिक स्तरको तुलना गर्दा “रिजल्ट” मात्र एक आधार हुन सक्छ? के कति प्रतिशत विद्यार्थी कुन श्रेणीमा पास भए भन्ने आधारले मात्र शैक्षिक स्तरको तुलना गर्न सम्भव छ? के यसरी आउने रिजल्ट विग्रनु वा बन्नु का पछाडि ती विद्यार्थी र ती विद्यार्थीका अभिभावकहरूको सामाजिक, आर्थिक वा सांस्कृतिक सहजता वा वाध्यताले पनि ठूलो भूमिका खेल्छ र त्यसले रिजल्टलाई राम्रो वा नराम्रो बनाउन सक्छ भन्ने कुरामा विचार गर्न हुँदैन? (more…)

ज्ञानको श्रोत के हो?

– दीपक अर्याल

ज्ञान के हो वा यसको श्रोत के हो? के ज्ञानका लागि स्कुल, कलेज वा विश्वविद्यालयका शिक्षा अपरिहार्य छन् वा ती नै पूर्ण छन्? सामान्यत: वर्तमान शिक्षा प्रणालीले हामीलाई त्यहीँ सिकाउँछ। हो, पढ्न, लेख्नन आवश्यक छ तर वर्तमान शैक्षिक योग्यता मात्र ज्ञानको श्रोत हो कि होइन? त्यसमा भने विवाद गर्ने प्रशस्त ठाउँ छ। शायद हामीलाई मानसिक रूपमा वर्तमान शिक्षा प्रणाली वा यसबाट प्रात भएको शैक्षिक योग्यता नै ज्ञानको एक मात्र श्रोत हो भन्ने भ्रम पाल्न सिकाइएको छ। शिक्षा आफैमा ज्ञानको श्रोत हो तर त्यसको दायरा भने स्कुल, कलेज वा विश्वविद्यालयमा मात्र सिमीत छैन। (more…)

विश्वास जगाऊ

गएको महिना चारदिने नेपाल भ्रमणमा आएकी सन् २००९ मा अर्थशास्त्रमा नोवल पुरस्कार विजेता एलिनोर अस्ट्रमसँग नेपालको ऐतिहासिक रूपले सफल सामुदायिक स्रोत व्यवस्थापन प्रणालीबारे कनकमणि दीक्षितले गरेको कुराकानी।

जल, जङ्गललगायतका साझा स्रोतको व्यवस्थापन आदिकालदेखि हुदै आएको भए पनि नेपालमा सफलताहरूको यथोचित कदर हुनसकेको छैन। स्थानीय स्वशासन मृतप्रायः छ। सामुदायिक वनसमेत आलोचित बन्दैछ। लाग्छ, हाम्रा नीति-निर्माता र विचार निर्माताहरूमध्ये केही विगतका आफ्नै सफलतालाई देख्यानदेख्यै गरिरहेका छन्।
त्यस्तो लाग्नु अस्वाभाविक हैन। त्यसैले त विश्वभरका विद्वानहरूलाई दैनन्दिन खेती गर्ने किसान, माछा मार्ने माझ्ी र वन व्यवस्थापन गर्ने उपभोक्ताहरूले स्रोतको अति दोहन गर्छन् भन्ने कल्पना गर्न गाह्रो भएन र सन् १९६८ मा ग्यारेट हार्डिनले आफ्नो लेखमा गरेको जनसाधारणको विपत्ति (दि ट्र्याजेडी अफ कमन्स्) को चर्चाले त्यत्रो महत्व पायो। तर, नेपालमा समुदायहरूले गजबको काम गरेको इतिहास छ। मानिसहरू प्रायः बजार वा राज्यले दिने समाधानका कुरा गर्छन्, जुन स्रोतहरूको निजीकरण वा तिनमा राज्यको पूरै नियन्त्रण हो। तर, नेपालमा स्रोत व्यवस्थापनको स्थानीय परिपाटीलाई बिर्सनु हुँदैन। यसरी हेर्दा विज्ञानसँगै रैथाने ज्ञानको उपयोग गर्नैपर्छ। (more…)

रुम्सिङ भञ्ज्याङतिर उक्लिँदा

– डा. तारानाथ शर्मा

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए । हो, म यिनै गोडाका भरमा उभिएर रोम, ताइपेइ र न्यूयोर्क घुमेको छु, यिनै गोडाले गाडीको पाउदान थिचेर डयालसको, शिकागोको र एघार हजार फुटको उचाइमा स्थित रकी पर्वतमालाभित्र आइसन्हावर सुरुङको छाती चिर्दै हुँइकिएको छु र यिनै गोडाका आडमा विस्कान्सिन विश्वविद्यालयका अध्यक्षबाट पीएचडी उपाधि प्राप्त गर्न औपचारिक शिरपोस र कोटमा सगर्व हिँडेको छु अनि मदन पुरस्कारद्वारा विभूषित हुन रानी जगदम्बाकुमारी राणाका अगाडि उभिएको छु ।
(more…)

तुर्लुङकोटको लाँकुरी बोट

-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ। त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट। कुरा यहीनेरबाट शुरु गरौं। लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ। परैबाट सजिलै देखिने फिरिक्क परेको। शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ। त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो। (more…)

सम्भावनाको मार्गमा एउटा दौड

– डिल्लीराज अर्याल

ताश खेल्ने वा खेलेको हेर्नेका छोराछोरी रुखका पात टिपेर पनि खेल्न शुरु गर्छन्। रक्सी खाएर हिड्ने वा उसका छिमेकीका छोराछोरी गिलासमा पानी राखेर पनि रक्सी खाएको अभिनय गर्छन्। यस्तो अभिनयले कैयौं कैयौंलाई कलाकार बनाइदिने गरेको छ। कतिपयले भने मुख्य पात्रको चरित्रबाट वाक्क भएर, तिनका परिवारले भोगेका पीडा, पिएका आँसुबाट दुःखित भएर रक्सी ताशप्रति वितृष्णा जागेका भाव ब्यक्त गरेका पनि पाइन्छन्।

जीवनको भोगाइ दुःख-सुख र राम्रा-नराम्रा दुवै खाले हुन्छन्। त्यस्ता भोगाइमा आफ्ना कमी कमजोरीलाई सम्झने र देखाउने कुरा छन् भने नरमाइलो मान्नुपर्ने केही छैन तर कतिपयले त्यसो गर्दैनन्। उनीहरूको अभिप्राय जे भए पनि त्यस्ता कुराको विवेचना गर्नु मेरो अभिप्राय पनि हुने हुनाले आफ्नो कमजोरीलाई पनि देखाउनु राम्रै लाग्छ। त्यसैले मैले त्यस्तो कमजोरी पनि लेख्ने र देखाउने गरेको छु। (more…)