Archive for the ‘Research’ Category

२०१५ सालको चुनावी नारा

दीपक अर्याल

बाचाहरू कसले बढी तोड्ला भनेर गम्दा राजनीतिक दलहरूतिरै धेरैका औंला सोझिन्छन्। त्यसमा पनि चुनावका बेला दलहरूले गर्ने बाचा, पत्याउने कुरै आएन। २०१५ सालको आम निर्वाचनमा ‘नेपाल राष्ट्रवादी गोर्खा परिषद्’ले यस्तै बाचा गरेको एउटा पर्चा प्राप्त भएको छ। जसले, त्यस बेलाको नेपालको अवस्था, जनताको आवश्यकता र राजनीतिक दलहरूको मनस्थितिलगायत धेरै विषय उजागर गर्छ।

हातले निकै राम्रो अक्षरमा लेखिएको गोर्खा परिषद्को त्यो पर्चामा चुनाव जितेमा पाँच वर्षमा दुईसय अस्पताल, दुई हजार पुल र दुई–तीन हजार स्कूल बनाउने बाचा गरिएको छ। त्यो चुनावमा १९ सीट जितेर दोस्रो स्थानमा रहेकोले गोर्खा परिषद्ले बाचा पूरा गर्नै परेन। जुन चुनावमा नेपाली कांग्रेस दुईतिहाइ बहुमत ल्याएर पहिलो बनेको थियो। (more…)

भगवानको पुनर्जन्म

– दीपक अर्याल

8438998615_10bf351190

चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमालका लागि नेपाली आकृतिमा २०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।
हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो । (more…)

संयोगान्त नाटकको चाहना

दक्षिण एशियामा प्रदर्शन हुने फिल्म वा नाटक संयोगान्त देख्न चाहने मानसिकता निकै पुरानो रहेको एक–डेढ सय वर्षअघि अनूदित र मञ्चित विदेशी नाटकहरूले पुष्टि गर्दछन्।

दीपक अर्याल

नेपाली नाट्य परम्पराको चर्चा गर्दा पलमानसिंह स्वाँर, धनविर मुखिया र बालकृष्ण समलाई बिर्सन मिल्दैन। तर स्थानीयस्तरमा यो परम्पराको सुरुआत उहाँहरू भन्दा पहिलेदेखि नै प्रचलित नाट्य मञ्चन र राजा–महाराजाका लागि तयार गरिएका धार्मिक तथा ऐतिहासिक कथामा आधारित नाटकहरूबाट भइसकेको थियो।

नाट्य परम्परालाई निरन्तरता दिने क्रममा नेपालमा विदेशी भाषामा लेखिएका प्रचलित नाटकको अनुवाद र प्रदर्शन पनि भयो। नेपाली नाट्य क्षेत्रमा वि.सं. १९६० को दशकमै खासगरी भारतका विभिन्न भाषामा अनुवाद भई प्रदर्शनमा आएका शेक्सपियरका नाटकहरू देखा पर्न थालिसकेका थिए। अठारौं शताब्दीको शुरूतिर अंग्रेजहरूले मात्र अनुवाद गर्ने गरेका यस्ता नाटकहरू पछि स्थानीय व्यक्तिहरूले पनि गर्न थालेका थिए।

शुरूमा ती नाटकहरूको अनुवाद पठन–पाठनका लागि मात्र हुन्थ्यो, मञ्चनका लागि हुँदैनथ्यो। शेक्सपियरका केही नाटकको १८औं शताब्दीमै उर्दू भाषामा अनुवाद भए पनि स्टेजमा मञ्चन हुन केही समय लाग्यो। नेपाली भाषामा यस्ता नाटकहरू मूल कृतिबाट सीधै अनुवाद भएका थिए वा थिएनन् भन्न कठिन छ, तर वि.सं. १९७४ मा गरिएको शेक्सपियरको किङ्लियर (वि.सं. १६६२) को नेपाली अनुवाद भने उर्दूबाट भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालय (मपुपु) मा संकलित एउटा पर्चाको शीर्षक शेक्सपियरको उक्त कृतिसँग मिले पनि त्यसमा शेक्सपियरका सम्बन्धमा वा अनुवादका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन। (more…)

१०० वर्ष पुरानो विज्ञापन

दीपक अर्याल

छोटो, सरल, आकर्षक र पाठकको ध्यान खिच्न सक्ने जानकारी समेट्ने प्रयास हुने गर्छ― हिजोआजका विज्ञापनमा। तर भएसम्मको जानकारीसहित आउने पुराना विज्ञापन भने निकै लामा र भद्दा हुन्थे। नेपाली विज्ञापनको इतिहास पनि यस्तै खालको विस्तृत जानकारी समेटिएका विज्ञापनहरूबाट शुरू हुन्छ। वि.सं. १९५८ देखि प्रकाशन शुरू भएको गोर्खापत्र मा घडी, फाउन्टेन पेनका विज्ञापनहरू केही हदसम्म आकर्षक र छोटा भए पनि पर्चा, पम्प्लेटका रूपमा प्रकाशित र वितरण हुने अरू विज्ञापन भने निकै पट्यारलाग्दा हुन्थे। जसमा टेक्स्ट (अक्षरहरू) को प्रयोग ज्यादा हुन्थ्यो।

वि.सं. १९७० को दशकमा गाई–भैंसीको औषधी, आयुर्वेद तथा ज्योतिषीसँग सम्बन्धी पसल र विभिन्न सामानका लामा–लामा विज्ञापन प्रकाशित तथा वितरित भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालयको सङ्कलनमा रहेका करीब ३० वटा यस्ता विज्ञापनमध्ये एउटा राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको यूरोप यात्रा सम्बन्धी पुस्तकको प्रचार–प्रसारसँग सम्बन्धित छ।

पुस्तक प्रकाशक, लेखकका रूपमा परिचित नरदेव मोतिकृष्ण शर्माद्वारा प्रकाशित यस विज्ञापनमा चन्द्रशमशेरको यूरोप यात्रा (१९६४–६५) को वर्णन गरी लेखिएको पुस्तक यूरोप यात्रा बारे जानकारी दिइएको छ। १९६७ सालमा पर्चाका रूपमा प्रकाशित र वितरित यो विज्ञापनको साइज ४८138२८ सेमी छ। पद्यात्मक शैलीमा लेखिएको ९२ लाइनको यस विज्ञापनले पुस्तकभित्रका विषयवस्तुसँगै लेखक, प्रकाशक, प्रेस, मूल्य जस्ता तमाम जानकारी दिएको छ। विज्ञापनले पुस्तकको साज–सजावट, कागजको रङ, कभर आदिको जानकारी यसरी दिन्छः (more…)

२००७ सालताकाको कर्मचारी आन्दोलन

दीपक अर्याल

सरकार परिवर्तनसँगै प्रधानमन्त्रीले कर्मचारीहरूलाई आश्वस्त पार्न सम्बोधन गर्ने र नयाँ सरकारलाई सहयोग गर्न अनुरोध गर्ने प्रचलन जहाँसुकै हुन्छ। नेपालमा २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि भएको कर्मचारी आन्दोलनपश्चात् यो परम्पराले व्यापकता पाएको छ। तर, सरकार र कर्मचारीमाझ् यस्तो खटपट र अविश्वास २००७ सालको परिवर्तनपछि नै देखापरेको थियो।

२००७ सालमा न्यून वैतनिक कर्मचारीको हकहितका निम्ति भनेर ‘अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघ’ स्थापना भयो। संघको शुरूको पर्चाले राणा–कांग्रेस गठबन्धनको अन्तरिम सरकार, कर्मचारी संघ र प्रजातन्त्रलाई बलियो बनाउन सदस्य बन्न आह्वान गरेको थियो। तर, पछि यसै संघमार्फत कर्मचारीहरूले हडताल गरे र सरकारले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेपछि मात्र हडताल टुङ्गियो। (more…)

नेपालीमा पहिलो पुस्तक

दीपक अर्याल

First Nepali Language book 'The Holy Bible' and Serampur Press
गुटेनवर्ग प्रेसबाट ४२-लाइन बाइबल सन् १४५४ मा प्रकाशन भएपछि संसारमा सबैभन्दा धेरै प्रति मुद्रित, धेरै भाषामा अनुदित तथा वितरित हुने पुस्तकका रूपमा बाइबल प्रसिद्ध छ। नेपालको पछिल्लो जनगणना (२०५८) लाई आधार मान्ने हो भने नेपालमा क्रिश्चियन धर्मावलम्बीको संख्या करिब एक लाख अर्थात् कूल जनसंख्याको ०.४५% छ तर बाइबलको सम्बन्ध भने नेपाली क्रिश्चियन धर्मावलम्बीसँग मात्र होइन ‘नेपाली भाषा र पुस्तक’मा चासो राख्नेथ धेरैसँग जोडिएको छ। जे ए एटनको अ ग्रामर अफ दि नेपलीज ल्याङ्वेज (सन् १८२०) मा प्रयोग भएका शब्द तथा वाक्यहरूलाई छाड्ने हो भने हालसम्म प्राप्त प्रमाणका आधारमा नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक द होली बाइबल हो र यसको प्रकाशन शेरामपुर बापिस्ट मिसन प्रेसबाट सन् १८२१ (विसं १८७८)मा भएको थियो।

सन् १८००मा भारतको कलकत्तामा स्थापित यो प्रेसले बाइबल मात्र होइन साहित्य, ग्रामर, डिक्सनेरी, इतिहासका पुस्तकहरू प्रकाशन गरेको थियो। प्रेसको मूल उद्देश्य लेटर प्रेसको प्रयोग गरेर क्रिश्चियन साहित्यको प्रवर्धन गर्नु भए पनि यसले विस्तारै व्यापारिक काममा हात हाल्यो र भारतका विभिन्नस भाषा, नेपाली, तिब्बती जस्ता ४० मुख्य स्क्रिप्ट तथा २२५ भाषामा विविध खालका सामग्रीहरूको प्रकाशन गर्यो (more…)

हराएको इतिहास खोज्दै जाँदा : डिल्लीराज अर्याल


आफ्नै हातमा कलम हुनेहरू पनि आफ्नै इतिहास लेख्नि बसे भने बडो असमञ्जसमा पर्न सक्छन् किनकि इतिहास सोझो वा सरल हिसाबले लेख्नेन गरिएको छैन। व्यवहारबाट इतिहास निर्माण गर्नेहरूले भने इतिहासका पन्ना कलमले कोर्दैनन्। कलमले इतिहास कोर्नेहरूले व्यवहारमा इतिहास निर्माण गर्न वा नगर्न पनि सक्छन् तर तिनका कलमले इतिहासका नाममा कागज कोरेकै हुन्छन्। हामीले भन्दै् र पढ्दैस आएको इतिहासमा गरिखानेको भन्दा बसिखानेको पक्षमा बढी लेखिएको त्यसै भएर पनि हुनसक्छ।

हामीले मान्दै आएको इतिहासमा वास्तविक इतिहास निर्माण गर्नेहरूका अनुहार झल्याकझुलुक मात्र देखापरेका र कतिपयका त नपरेका नै छन्। आज पनि हामीले त्यही मानसिकता र परम्परा बोकेर उदास मनस्थितिमा बनावटी हाँसो देखाएर बाँचेका र वास्तविकताको एउटा पक्षमा, एउटा कोणमा मात्र आधारित भएर इतिहासका कुरा कागजका पन्नामा कोर्ने गरेका छौं।

भन्ने नै हो भने हामीकहाँ संघसंस्था निर्माण गर्ने, गठन गर्ने, त्यसको परिकल्पना गर्ने एउटा र त्यसलाई आफ्नो बनाउने अर्को हुन्छ। जसरी खेतबारी र बाटो खन्नेर एकथरि र तिनको उपयोग गर्ने ,त्यहाँबाट लाभ लिने अर्काथरि हुन्छन्। धेरैजसो क्षेत्रमा काम एउटाको, नाम अर्कैको, स्वामित्व अर्कैको, ऐश आराम अर्कैको हुनेगर्छ।यो हाम्रो परम्परा बनिसकेको छ त्यसैले हामी यसलाई सहज रूपमा स्वीकार्न तयार पनि छौँ। (more…)