Archive for the ‘Print history’ Category

छुवाछूतविरुद्ध विश्वकर्माको प्रयास

दीपक अर्याल

दलित समुदायलाई छुवाछूत गरिन थालेको सयौं वर्ष भयो भने त्यो विभेदविरुद्ध आवाज उठ्न थालेको पनि वर्षौं भयो। दलित समुदायले छुवाछूतविरुद्ध आवाज उठाएको यस्तै एउटा लिखत फेला परेको छ, जुन सन् १९३८ (वि.सं. १९९५) मा प्रकाशित भएको थियो। ‘मदन पुरस्कार पुस्तकालय’ मा रहेको यो लिखतमा ‘सामाजिक कूटनीतिहरू समयानुकूल परिवर्तन गर्न र विश्वकर्मा जातिलाई अछूत जातिको पहिचानबाट मुक्त गर्न’ तत्कालीन राणा शासक जुद्धशमशेरलाई अनुरोध गरिएको छ।

नेपाल बाहिरका विश्वकर्माको तर्फबाट लेखिएको यो पत्रमा ‘हिन्दू तथा गौरक्षक सनातन धार्मिक जाति विश्वकर्माप्रति गरिएको अछूतको व्यवहारले अन्याय भएको र त्यसको अन्त्य गर्दै हिन्दूधर्मको पुनरुत्थान गर्न’ अनुरोध गरिएको छ। अपीलमा भनिएको छ, “वेद, शास्त्र, पुराण, इतिहास इत्यादिमा पाएभर प्रमाण दिई कामी जाति सनातन धार्मिक गौरक्षक जातिमध्येका हुन्, अछूत जातिमध्येका होइनन् भनी दर्शाई दयामय श्री ३ सरकारका श्री चरणकमलमा अघि ४१ वर्षदेखि बिन्तीपत्र बिछ्याउन कामी जातिले छाडेका छैनन्। कारण गोर्खा संसारमा मात्र यस जातिको जस्तो घृणित अवस्था छ, बाँकी हिन्दू संसारमा विश्वकर्मा जातिको परम्परादेखि नै पानी चलेकै छ। जसै भएतापनि यस अछूत जातिले स्वतन्त्र नेपाल मुलुक र सरकारप्रति पूर्ण भक्तिभाव राख्न छाडेका छैनन्।” (more…)

Advertisements

२०१५ सालको चुनावी नारा

दीपक अर्याल

बाचाहरू कसले बढी तोड्ला भनेर गम्दा राजनीतिक दलहरूतिरै धेरैका औंला सोझिन्छन्। त्यसमा पनि चुनावका बेला दलहरूले गर्ने बाचा, पत्याउने कुरै आएन। २०१५ सालको आम निर्वाचनमा ‘नेपाल राष्ट्रवादी गोर्खा परिषद्’ले यस्तै बाचा गरेको एउटा पर्चा प्राप्त भएको छ। जसले, त्यस बेलाको नेपालको अवस्था, जनताको आवश्यकता र राजनीतिक दलहरूको मनस्थितिलगायत धेरै विषय उजागर गर्छ।

हातले निकै राम्रो अक्षरमा लेखिएको गोर्खा परिषद्को त्यो पर्चामा चुनाव जितेमा पाँच वर्षमा दुईसय अस्पताल, दुई हजार पुल र दुई–तीन हजार स्कूल बनाउने बाचा गरिएको छ। त्यो चुनावमा १९ सीट जितेर दोस्रो स्थानमा रहेकोले गोर्खा परिषद्ले बाचा पूरा गर्नै परेन। जुन चुनावमा नेपाली कांग्रेस दुईतिहाइ बहुमत ल्याएर पहिलो बनेको थियो। (more…)

भगवानको पुनर्जन्म

– दीपक अर्याल

8438998615_10bf351190

चित्रकार तथा कार्टुनिष्ट सुवास राईले हिमालका लागि नेपाली आकृतिमा २०५७ सालमा बनाएको महादेव–पार्वती र लक्ष्मीको चित्र।

प्रसिद्ध भारतीय पेन्टर रवि वर्मा (वि.सं. १९०५–१९६३) ले ‘हिन्दू भगवान’को पेन्टिङ नगरेको भए वा ती पेन्टिङहरू मुद्रित, पुनर्म‘द्रित हुँदै प्रिन्टिङ उद्योगको भरपर्दो आम्दानीको स्रोतको रूपमा भारतीय बजारमार्फत नेपाल नछिरेको भए नेपालभित्रका ‘रैथाने भगवानहरू’का रूप कस्ता हुन्थे होलान् ? वा स्थानीय रूप–रङ, आकृति, वस्त्र वा दृश्य झ्ल्कने ‘नेपाली भगवान’ र हाल प्रचलित ‘भगवान’हरूको फोटोमा के समानता वा भित्रता रहन्थ्यो होला ? यी काल्पनिक प्रश्नले हाम्रो पूजाकोठामा पुजिंदै आएका हिन्दू देवदेवी कसरी, कहाँ, कुन उद्देश्यबाट जन्मिएर नेपालीका घर–घरसम्म आइपुगे भत्रे प्रश्नको उत्तर खोज्न सघाउँछ ।
हिन्दू धर्मावलम्बीहरूले मूर्ति वा केही हदसम्म चित्रको रूपमा देखेका भगवानका रूपहरू रवि वर्माको पेन्टिङलाई आधार मानेर लिथोग्राफी प्रेसका माध्यमद्वारा वि.सं. १९५० को दशकमा एक्कासी शहर–बजारमा देखा पर्न थाल्दा अभूतपूर्व प्रतिक्रिया जन्माएको थियो । अक्षरका रूपमा मात्र पढेका वा बुझेका भगवानहरू फोटोका रूपमा प्रकट भएर खास क्षेत्र, वर्ग, सम्प्रदाय र जातको चङ्गुल बाहिर आम जनताको घर–घरमा बस्न र पुजिन थाले । यसरी फोटोमार्फत भगवानको पुनर्जन्म भयो र सबै प्रकारका भेदभाव र उच–नीच हटाउँदै ‘भगवान’ आम जनताको पूजाकोठीमा रहन थाले । शुरूमा वर्माको पेन्टिङले सांस्कृतिक रूपमा सम्भ्रान्त ठानिएका र मध्यम वर्गीय जनतालाई मात्र उत्साहित बनाए पनि वि.सं. १९५० मा बम्बईमा स्थापित रवि वर्मा फाइन आर्ट लिथोग्राफिक प्रेसका माध्यमद्वारा व्यापारिक दृष्टिकोणले भगवानका फोटोेहरूको मेकानिकल उत्पादन, बिक्री र वितरण गर्न थालेपछि यसको लोकप्रियता ह्वात्तै बढ्यो र यसले आफ्नो छुट्टै बजार बनायो । (more…)

संयोगान्त नाटकको चाहना

दक्षिण एशियामा प्रदर्शन हुने फिल्म वा नाटक संयोगान्त देख्न चाहने मानसिकता निकै पुरानो रहेको एक–डेढ सय वर्षअघि अनूदित र मञ्चित विदेशी नाटकहरूले पुष्टि गर्दछन्।

दीपक अर्याल

नेपाली नाट्य परम्पराको चर्चा गर्दा पलमानसिंह स्वाँर, धनविर मुखिया र बालकृष्ण समलाई बिर्सन मिल्दैन। तर स्थानीयस्तरमा यो परम्पराको सुरुआत उहाँहरू भन्दा पहिलेदेखि नै प्रचलित नाट्य मञ्चन र राजा–महाराजाका लागि तयार गरिएका धार्मिक तथा ऐतिहासिक कथामा आधारित नाटकहरूबाट भइसकेको थियो।

नाट्य परम्परालाई निरन्तरता दिने क्रममा नेपालमा विदेशी भाषामा लेखिएका प्रचलित नाटकको अनुवाद र प्रदर्शन पनि भयो। नेपाली नाट्य क्षेत्रमा वि.सं. १९६० को दशकमै खासगरी भारतका विभिन्न भाषामा अनुवाद भई प्रदर्शनमा आएका शेक्सपियरका नाटकहरू देखा पर्न थालिसकेका थिए। अठारौं शताब्दीको शुरूतिर अंग्रेजहरूले मात्र अनुवाद गर्ने गरेका यस्ता नाटकहरू पछि स्थानीय व्यक्तिहरूले पनि गर्न थालेका थिए।

शुरूमा ती नाटकहरूको अनुवाद पठन–पाठनका लागि मात्र हुन्थ्यो, मञ्चनका लागि हुँदैनथ्यो। शेक्सपियरका केही नाटकको १८औं शताब्दीमै उर्दू भाषामा अनुवाद भए पनि स्टेजमा मञ्चन हुन केही समय लाग्यो। नेपाली भाषामा यस्ता नाटकहरू मूल कृतिबाट सीधै अनुवाद भएका थिए वा थिएनन् भन्न कठिन छ, तर वि.सं. १९७४ मा गरिएको शेक्सपियरको किङ्लियर (वि.सं. १६६२) को नेपाली अनुवाद भने उर्दूबाट भएको देखिन्छ। मदन पुरस्कार पुस्तकालय (मपुपु) मा संकलित एउटा पर्चाको शीर्षक शेक्सपियरको उक्त कृतिसँग मिले पनि त्यसमा शेक्सपियरका सम्बन्धमा वा अनुवादका विषयमा कुनै कुरा उल्लेख गरिएको छैन। (more…)