छुवाछूतविरुद्ध विश्वकर्माको प्रयास
दीपक अर्याल
दलित समुदायलाई छुवाछूत गरिन थालेको सयौं वर्ष भयो भने त्यो विभेदविरुद्ध आवाज उठ्न थालेको पनि वर्षौं भयो। दलित समुदायले छुवाछूतविरुद्ध आवाज उठाएको यस्तै एउटा लिखत फेला परेको छ, जुन सन् १९३८ (वि.सं. १९९५) मा प्रकाशित भएको थियो। ‘मदन पुरस्कार पुस्तकालय’ मा रहेको यो लिखतमा ‘सामाजिक कूटनीतिहरू समयानुकूल परिवर्तन गर्न र विश्वकर्मा जातिलाई अछूत जातिको पहिचानबाट मुक्त गर्न’ तत्कालीन राणा शासक जुद्धशमशेरलाई अनुरोध गरिएको छ।
नेपाल बाहिरका विश्वकर्माको तर्फबाट लेखिएको यो पत्रमा ‘हिन्दू तथा गौरक्षक सनातन धार्मिक जाति विश्वकर्माप्रति गरिएको अछूतको व्यवहारले अन्याय भएको र त्यसको अन्त्य गर्दै हिन्दूधर्मको पुनरुत्थान गर्न’ अनुरोध गरिएको छ। अपीलमा भनिएको छ, “वेद, शास्त्र, पुराण, इतिहास इत्यादिमा पाएभर प्रमाण दिई कामी जाति सनातन धार्मिक गौरक्षक जातिमध्येका हुन्, अछूत जातिमध्येका होइनन् भनी दर्शाई दयामय श्री ३ सरकारका श्री चरणकमलमा अघि ४१ वर्षदेखि बिन्तीपत्र बिछ्याउन कामी जातिले छाडेका छैनन्। कारण गोर्खा संसारमा मात्र यस जातिको जस्तो घृणित अवस्था छ, बाँकी हिन्दू संसारमा विश्वकर्मा जातिको परम्परादेखि नै पानी चलेकै छ। जसै भएतापनि यस अछूत जातिले स्वतन्त्र नेपाल मुलुक र सरकारप्रति पूर्ण भक्तिभाव राख्न छाडेका छैनन्।” (more…)