Archive for the ‘Book’ Category

पाठ्य सामग्री र स्थानीयकरणको समस्या

– दीपक अर्याल

विद्यार्थीहरूले के पढ्छन्, के पढ्न मन पराउँछन् वा पढ्न नै मन पराउनन्नन् भन्नेा कुराको जानकारी प्रत्येक शिक्षकले राख्न जरूरी हुन्छ। पाठ्य पुस्तकका एकहोरो सामग्रीहरूलाई विद्यार्थीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने कुरालाई पनि शिक्षकले बाहेक अरू कसैले बुझ्न सक्दैन। त्यसैले पढाउने भनेको पाठ्य पुस्तक पढाउने वा घोकाउने र कक्षा उत्तीर्ण गराउने मात्र होइन बरू विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्ने वा उत्साहित गर्ने पनि हो। के विद्यार्थीहरूलाई अन्य काममा अग्रसर भए जस्तै पढ्ने काममा पनि अग्रसर बनाउन सम्भव छ? त्यसका लागि कुन विधी उपयुक्त हुन सक्छ। उनीहरूलाई पढाइप्रति किन रूचि छैन, हुँदैन वा खास पाठ्य सामग्री वा विषयवस्तुसँग रूचि नभएपनि अन्य विषयसँग रूचि हुन्छ भन्ने कुरा जान्नका लागि लामो अनुसन्धान जरूरी छ। जस्तै कि, चित्र भएका तस्बिरहरू बढी हेर्ने, रमाइला कुराहरू, कथाहरू, कार्टुनहरू, फिल्महरू मात्र पढ्न मन पराउने वा त्यसका कुरा गर्दा खुशी हुने जस्ता विशेषताहरू साना-साना बालबालिकामा मात्र होइन ठूला बच्चाहरूमा पनि भएको देखिन्छ। त्यसमाथि आफ्नो टोल-छिमेकको, आफ्नो धर्म संस्कृति तथा सामाजिक परिवेशका घटना, कथा वा सामग्रीहरू पढ्ने रूचि पनि बढी रहेको पाइन्छ। (more…)

Advertisements

डिजिटल डिभाइड र शैक्षिक भाषाको कुरा

– दीपक अर्याल

पञ्चायतकालीन शिक्षा नीति अनुसार केही वर्ष पहिलेसम्म नेपालको पूर्व-पश्चिम, उत्तर-दक्षिणतिरका सरकारी स्कुलहरूमा नेपाल सरकारले लागू गरेको पाठ्यपुस्तकमा आधारित शिक्षा दिने गरिन्थ्यो। विस्तारै त्यसभित्र मिशनरी स्कुल तथा २०४६ पछि नीजि स्कुलहरूको वर्चश्व बढ्दै गयो र विद्यार्थीहरूले पढ्ने पाठ्य पुस्तकहरूमा पनि भिन्नता आउँदै गयो र शिक्षा वा ज्ञान पाउने स्रोत, माध्यम र परिवेशमा फराकिलो अन्तर हुँदै गयो। त्यसो त पञ्चायती शैक्षिक नीति तथा पद्धतिले एउटै भाषा नेपालीका माध्यमद्वारा राजनीतिक, सांस्कृतिक वर्चश्व कायम गर्यो र खास क्षेत्र तथा जात-जातिका मान्छेहरूलाई मात्र फाइदा पुर्यायो भन्नेा कुरामा शंका गर्न मिल्दैन। तथापि पछिल्लो चरणको फरक-फरक शैक्षिक क्यालेण्डर, पाठ्यपुस्तक, पढाउने तथा पढ्ने वातावरण तथा सोसँगै भित्रिएको आधुनिक प्रविधिले विद्यार्थी तथा शिक्षकहरूका माझ ठूलो खाडल बढाएको छ र त्यसको प्रत्यक्ष प्रमाणहरू समाजमा देखिन थालेका छन्। (more…)

निजि र सरकारी स्कुल तथा गुणस्तरको मापदण्ड

– दीपक अर्याल

निजि र सामुदायिक तथा सरकारी विद्यालयका सकारात्मक तथा नकारात्मक पाटाका विषयमा निकै चर्चा हुने गर्छ। अझ, खासगरी एसएलसीको रिजल्ट आउने वेलामा वा आएपछि त यसका वारेमा गरिएका टिप्पणीहरूले पत्रपत्रिकाका पानाहरू भरिन्छन्। सरकारले सरकारी विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल नआएको, विद्यार्थीहरू बढी फेल हुने गरेको, शिक्षकहरूले बढि राजनीति गरेको वा शिक्षकको क्षमता नभएको मात्र होइन देशको शैक्षिक प्रगतिको आधार नै निजि विद्यालय भएको र यसले मात्र राम्रो नतिजा दिन सकेको तर्क पनि यो समयमा दिइन्छ। खासगरी निजि विद्यालयका वकालत गर्नेहरूले एसएलसीमा सरकारी र निजि विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीहरूको संख्यालाई आधार मानेर निजि विद्यालय सरकारी भन्दा कैयौं गुणा उत्कृष्ट भएको तर्क गर्छन्। यही तर्क प्लस टु वा सो भन्दा माथिका शैक्षिक संस्थाहरूमा पनि लागू हुन्छ। के दुई फरक धारका विद्यालयहरूको शैक्षिक स्तरको तुलना गर्दा “रिजल्ट” मात्र एक आधार हुन सक्छ? के कति प्रतिशत विद्यार्थी कुन श्रेणीमा पास भए भन्ने आधारले मात्र शैक्षिक स्तरको तुलना गर्न सम्भव छ? के यसरी आउने रिजल्ट विग्रनु वा बन्नु का पछाडि ती विद्यार्थी र ती विद्यार्थीका अभिभावकहरूको सामाजिक, आर्थिक वा सांस्कृतिक सहजता वा वाध्यताले पनि ठूलो भूमिका खेल्छ र त्यसले रिजल्टलाई राम्रो वा नराम्रो बनाउन सक्छ भन्ने कुरामा विचार गर्न हुँदैन? (more…)

ज्ञानको श्रोत के हो?

– दीपक अर्याल

ज्ञान के हो वा यसको श्रोत के हो? के ज्ञानका लागि स्कुल, कलेज वा विश्वविद्यालयका शिक्षा अपरिहार्य छन् वा ती नै पूर्ण छन्? सामान्यत: वर्तमान शिक्षा प्रणालीले हामीलाई त्यहीँ सिकाउँछ। हो, पढ्न, लेख्नन आवश्यक छ तर वर्तमान शैक्षिक योग्यता मात्र ज्ञानको श्रोत हो कि होइन? त्यसमा भने विवाद गर्ने प्रशस्त ठाउँ छ। शायद हामीलाई मानसिक रूपमा वर्तमान शिक्षा प्रणाली वा यसबाट प्रात भएको शैक्षिक योग्यता नै ज्ञानको एक मात्र श्रोत हो भन्ने भ्रम पाल्न सिकाइएको छ। शिक्षा आफैमा ज्ञानको श्रोत हो तर त्यसको दायरा भने स्कुल, कलेज वा विश्वविद्यालयमा मात्र सिमीत छैन। (more…)

मेरा नजरमा ‘आमा म र पाल्पा’भित्रका सन्दर्भहरू

कमलराज रेग्मीद्वारा लिखित पुस्तक "आमा, म र पाल्पा"को आवरण पृष्ठ

-डिल्लीराज अर्याल

पाल्पामा जन्मिएर त्यसकै सेरोफेरो हुँदै राष्ट्रिय पहिचान बनाइसकेका वयोवृद्ध व्यक्तित्व हुन् – कमलराज रेग्मी।त्यसो त उनको व्यक्तित्वको एउटै पाटो छैन तर पनि अहिलेसम्मको खास पहिचानको पाटो भने राजनीति नै रहेको छ। तानसेन १ मेहल्धारामा विसं१९८३मा जन्मेका रेग्मीले जीवनको उत्तरार्द्धतिर आएर अतीतको सम्झनालाई लिपिबद्ध गरेका छन्।त्यही शृङ्खलाको नतिजा हो – “आमा, म र पाल्पा” संस्मरणात्मक कृति।यसरी राजनीति र संघर्षबाट परिचित कमलराजको व्यक्तित्वको अर्को पाटो साहित्य बनेको छ।

वाङ्मय प्रज्ञाप्रतिष्ठान पाल्पाद्वारा प्रकाशित उनको संस्मरणसंग्रह “आमा, म र पाल्पा “ यही सेरोफेरोलाई उजागर गर्ने कृतिका रूपमा देखा परेको छ। आमाको काख, मावल, सँगीसाथी र घरपरिवारकै सेरोफेरोमा रुमल्लिएको उनको जीवनयात्रा कसरी एउटा संघर्षशील रूपमा रुपान्तरित भयो? समयक्रममा कसरी पञ्चायतको सेरोफेरोमा पुगेर पनि वामपन्थकै निकट रहने अभ्यास गर्‍‍‍‍‍‍यो र गर्दैछ? भन्ने कुरामा आधारित यो पुस्तक नेपाली राजनीतिलाई पृष्ठभूमि बनाएको संस्मरण-संग्रह हो।

डा‌‍.‍ प्रकाश रेग्मीद्वारा सम्पादित, करिब २७४‌+१२पृष्ठ आयाममा विस्तारित यो पुस्तकमा २४ संस्मरणात्मक लेख,१कविता बाहेक अनुसूचिहरू, केही ऐतिहासिक फोटा र कागजपत्रहरूसमेत छन्। त्यस्तै प्रसङ्गवश आएको सहयात्री ईश्वरीप्रसाद आचार्यको कविता, नेपाली भाषाका विद्वान् डा चूडामणि बन्धु, प्रगतिशील लेखक विष्णु प्रभात, राजनीतिज्ञ मोहन विक्रम सिँह र यज्ञेश्वर निरौलाका मन्तव्यहरू पनि समावेश गरिएका छन् ।

पुस्तकको मुख्य अंश लेखकले देखे-भोगेका, व्यहोरेका र आफू सम्मिलित गतिविधिको संक्षिप्त चर्चा, बाल्यकाल, परिवार, नालनाता, मावली आदिमा केन्द्रित छन्। साथै राजनीतिक चेतनाको प्रारम्भ, काठमाण्डौँ प्रवेश, जयतु संस्कृतम् आन्दोलन, बनारसयात्रा, नेपाल आगमन, २००७ सालको आन्दोलन, त्यसमा खासगरी पाल्पामा गरेका संघर्ष लगायत विविध ठाउँ, घटना र अनेकौँ व्यक्तिसँगको सम्बन्धकेन्द्रित रहेको छ। (more…)

राजा, राष्ट्रियता र राजतन्त्र पुस्तकको भूमिका : गणेशराज शर्मा

पुस्तकको आवरण पृष्ठ

पुस्तकको आवरण पृष्ठ

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।

बीपीका यी विचार र टिप्पणीहरू कुनै औपचारिक वा पूर्वतैयारीका साथ गरिएको सम्बोधन वा प्रवचन थिएन र, यो यसै रुपमा प्रकाशित हुनसक्ने लागेर सङ्कलन गरिएको पनि होइन। अन्तिम पटकको त्यस क्यान्सरले गर्दा, जहाँसुकै र जतिसुकै प्रयत्न गरे पनि, त्यसको महङ्गो र कष्टकर इलाजको आधारमा कम्तिमा दुई हफ्ता र बढीमा छ महिनाको आयु मात्र लम्बिनसक्ने उहाँका चिकित्सकहरूको निदान थियो। दुःख खप्नसक्ने उहाँको मनोबल र चारित्रिक विशेषताको कठिन परीक्षा पुनः शुरू भएको त्यस क्षणका हामी प्रत्यक्षदर्शीहरूका थुप्रै सम्झनाहरू क्रमशः आफूसंगै लोप हुँदै जाने छन्। (more…)