Archive for May, 2013

छुवाछूतविरुद्ध विश्वकर्माको प्रयास

दीपक अर्याल

दलित समुदायलाई छुवाछूत गरिन थालेको सयौं वर्ष भयो भने त्यो विभेदविरुद्ध आवाज उठ्न थालेको पनि वर्षौं भयो। दलित समुदायले छुवाछूतविरुद्ध आवाज उठाएको यस्तै एउटा लिखत फेला परेको छ, जुन सन् १९३८ (वि.सं. १९९५) मा प्रकाशित भएको थियो। ‘मदन पुरस्कार पुस्तकालय’ मा रहेको यो लिखतमा ‘सामाजिक कूटनीतिहरू समयानुकूल परिवर्तन गर्न र विश्वकर्मा जातिलाई अछूत जातिको पहिचानबाट मुक्त गर्न’ तत्कालीन राणा शासक जुद्धशमशेरलाई अनुरोध गरिएको छ।

नेपाल बाहिरका विश्वकर्माको तर्फबाट लेखिएको यो पत्रमा ‘हिन्दू तथा गौरक्षक सनातन धार्मिक जाति विश्वकर्माप्रति गरिएको अछूतको व्यवहारले अन्याय भएको र त्यसको अन्त्य गर्दै हिन्दूधर्मको पुनरुत्थान गर्न’ अनुरोध गरिएको छ। अपीलमा भनिएको छ, “वेद, शास्त्र, पुराण, इतिहास इत्यादिमा पाएभर प्रमाण दिई कामी जाति सनातन धार्मिक गौरक्षक जातिमध्येका हुन्, अछूत जातिमध्येका होइनन् भनी दर्शाई दयामय श्री ३ सरकारका श्री चरणकमलमा अघि ४१ वर्षदेखि बिन्तीपत्र बिछ्याउन कामी जातिले छाडेका छैनन्। कारण गोर्खा संसारमा मात्र यस जातिको जस्तो घृणित अवस्था छ, बाँकी हिन्दू संसारमा विश्वकर्मा जातिको परम्परादेखि नै पानी चलेकै छ। जसै भएतापनि यस अछूत जातिले स्वतन्त्र नेपाल मुलुक र सरकारप्रति पूर्ण भक्तिभाव राख्न छाडेका छैनन्।” (more…)

२०१५ सालको चुनावी नारा

दीपक अर्याल

बाचाहरू कसले बढी तोड्ला भनेर गम्दा राजनीतिक दलहरूतिरै धेरैका औंला सोझिन्छन्। त्यसमा पनि चुनावका बेला दलहरूले गर्ने बाचा, पत्याउने कुरै आएन। २०१५ सालको आम निर्वाचनमा ‘नेपाल राष्ट्रवादी गोर्खा परिषद्’ले यस्तै बाचा गरेको एउटा पर्चा प्राप्त भएको छ। जसले, त्यस बेलाको नेपालको अवस्था, जनताको आवश्यकता र राजनीतिक दलहरूको मनस्थितिलगायत धेरै विषय उजागर गर्छ।

हातले निकै राम्रो अक्षरमा लेखिएको गोर्खा परिषद्को त्यो पर्चामा चुनाव जितेमा पाँच वर्षमा दुईसय अस्पताल, दुई हजार पुल र दुई–तीन हजार स्कूल बनाउने बाचा गरिएको छ। त्यो चुनावमा १९ सीट जितेर दोस्रो स्थानमा रहेकोले गोर्खा परिषद्ले बाचा पूरा गर्नै परेन। जुन चुनावमा नेपाली कांग्रेस दुईतिहाइ बहुमत ल्याएर पहिलो बनेको थियो। (more…)

गोर्खापत्र मा सिनेमा

दीपक अर्याल

‘श्री ३ महाराज बाट बेदाम्मा दुनिञा हरूले हेर्न पाउन् भनी टुडिखेल मा प्रोजेक्टास्कोप् अर्थात् मानिस ले चलफिर गर्‍ये को सब काम तसवीर बाट सोही बमोजीम दुरूस्त देखिन्या तमासा वैशाख गते २६ वुधवार देखि हुनेछ। सो तमाशा हेर्न लाई अगाडि केटा केटि हरू, ताहाँपछि नीज केटा केटी हरू का आमा हरू, वाहाँपछि लोग्ने मानिस हरू वाहाँ पछि वग्गी मा आउने हरू अरू लाई नछेकने गरी रहने छन्।’

गोर्खापत्र मा प्रकाशित यो सूचनाले नेपालमा ‘बाइस्कोप’ वा ‘सिनेमा’ वा ‘मूभी’ कहिले भित्रियो भन्ने आधिकारिक जानकारी दिन्छ। त्यो कति लामो वा के विषयमा थियो भन्ने विवरण नभए पनि त्यसपछिका वर्षमा दरबारमा यस्ता फिल्महरू हेर्ने र विभिन्न उत्सवलाई क्यामेराले खिच्ने चलन बसेको भन्न सकिन्छ। जोसेफ निप्से, लुइ डेगोरालगायतका फोटोग्राफी र फिल्मका उत्साही अनुसन्धाता–प्रयोगकर्ताहरूको अन्वेषणसँगै नेपालमा पनि यो प्रविधि लोकप्रिय हुँदै गयो। (more…)