दीपक अर्याल

संयुक्त राष्ट्रसंघले विश्व क्षयरोग दिवस मनाउन शुरू गर्नुपूर्व नै नेपालमा यसबारे सचेतना फैलाउन शुरू भइसकेको थियो।

TB awarness article in Gorkhapatra daily, published in 1921

TB awarness article in Gorkhapatra daily, published in 1921

संयुक्त राष्ट्रसंघले सन् १९८२ मा मार्च २४ लाई विश्व क्षयरोग दिवसका रूपमा मनाउने घोषणा गरेसँगै यो दिवस संसारभर मनाइँदै आइएको छ। नेपालले पनि अघिल्ला वर्षमा झै यो वर्ष पनि क्षयरोग दिवस मनायो। पछिल्लो समयमा क्षयरोगको महामारीबाट धेरैजसो मुलुक मुक्त भएका मानिए पनि यो रोगबाट पूर्ण मुक्ति भने मिलेको छैन। कुनै बेला यसलाई निको नहुने ‘असाध्य रोग’का रूपमा लिइन्थ्यो।

नेपालमा हाल पहिचान भएका क्षयरोगीको निको हुने दर ९१ प्रतिशत रहेको मानिन्छ। नेपालभित्र यस रोगबारे चर्चा चलेको पुरानो इतिहास हेर्ने हो भने, आजभन्दा ९१ वर्ष पहिले ११ जेठ १९७८ का दिन गोर्खापत्रले क्षयरोगका लक्षण तथा यसबाट कसरी बच्ने भन्दै यस्तो समाचार छापेको थियो– ‘यस्तो हरेक रोगबाट वचने उपाय जान्नु आवश्यक छ परन्तु जुनरोगीको केही औषधी मालुम हुँदैन उसबाट वचने उपाय जान्नु त परमावश्यक हो। जो बात म तल लेख्दछु सो कुरा गर्नाले यूरोप, अमेरिका देशहरूमा यो रोग दिनप्रति कम हुँदै आइरहेछ। पहिले जोवात याद राखनु पर्दछ सोवात यो हो कि यो क्षयरोग अधिक दुर्वल मानिसलाई सताउँदछ हामीहरूले वा रोगीहरूले पनि यस्तो काम गर्नु पर्दछ कि जुन तरहले भये पनि हृष्टपुष्ट हुन पर्दछ। क्षयरोगीको कफ एक ठूलो खराप वस्तु हो, किनकि त्यो कफमा करोडौं जीवित कीटाणु रहन्छन् जुन अरूको शरीरमा प्रवेश गरेर रोगोत्पादन गर्दछन्। क्षयीले यस्तो गर्नुपर्दछ कि त्यसले कहिले पनि घर्को भित्ता, ढोका इत्यादिमा नथुकनु खोकदामा पनि अर्काको शरीर, कपडा, भोज्यपदार्थ इनिहरूमा कफको छिटा पर्न नजावस। रोगी रहेको स्थानमा यौटा पिकदानी रहनू पर्दछ।’

निकै कम संख्यामा प्रकाशित हुने गोर्खापत्रको यो जानकारीमूलक समाचारबाट कतिले फाइदा उठाए भन्न सकिंदैन तर राष्ट्रसंघले विश्व क्षयरोग दिवस मनाउन शुरू गर्नुपूर्व नै नेपालमा क्षयरोगबारे सचेतना फैलाउन शुरू भइसकेको भन्ने चाहिं प्रष्ट हुन्छ। समाचारमा क्षयरोगको मात्र कुरा गरिएको छैन, बरु यो कसरी लाग्छ र कसरी बच्नुपर्छ भन्ने बारेमा राम्रै व्याख्या गरिएको छ।

नेपालमा आर्थिक वर्ष २०६७/६८ मा करीब ४५ हजार क्षयरोगी पत्ता लागेको र झ्ण्डै ३६ हजारको उपचार भएको तथ्याङ्क छ भने विश्व स्वास्थ्य संगठनका अनुसार विश्व जनसंख्याको एकतिहाई भाग अहिले पनि क्षयरोगबाट ग्रसित छ। खोकी, ज्वरो, तौलमा कमी, खकारमा रगत देखिनु, कमजोर र थकित हुनु तथा छाती दुख्नु यसका लक्षण हुन्। कुनै बेला निको नहुने र औषधि पत्ता नलागेकोका रूपमा परिचित यस रोगको औषधि हाल देशभर निःशुल्क उपलब्ध छ।

जर्मन वैज्ञानिक रबर्ट कोचले सन् १८८२ मा ‘माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस’ ब्याक्टेरियाका कारण हुने क्षयरोगबाट संसारमा असंख्य मानिसहरू मरिरहेको डरलाग्दो तथ्याङ्क प्रस्तुत गरेपछि यसबारेमा धेरैको चासो देखिन थाल्यो। १७औं र १९औं शताब्दीका बीच यो रोगबाट करीब एक अर्ब मानिसहरूले ज्यान गुमाएको अनुमान छ।

गोर्खापत्रको समाचारमा पोषक तत्वको कमीले गर्दा रोगले आक्रमण गर्ने र निको नहुने भएकाले पोषिलो खानेकुरालाई बढी जोड दिइएको छ– ‘जब पौष्टिक भोजनादि यथेष्ट परिमाणमा मिलन सकेन भने शरीर निर्वल हुन जान्छ, रोगनाशक शक्ति पनि बढ्दछ र अनेक प्रकारको रोग हुन जान्छ विशेष क्षयरोग पनि हुन्छ।’

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर स्वयं प्लुरिसी (क्षयरोग हुनुपूर्वको लक्षण) बाट पीडित भएकाले पनि सम्भवतः गोर्खापत्रले यस सम्बन्धी जानकारीमूलक सामग्रीलाई महत्वका साथ प्रकाशित गर्‍यो। यस महामारीका विषयमा चासो बढ्दै गर्दा यसबाट हुने हानिबाट बच्ने उपायस्वरूप १९९४ सालमा क्षयरोग नियन्त्रणको कार्यक्रम लागू गर्ने उद्देश्यले टोखामा ‘टोखा सेनेटोरियम’को स्थापना भयो। तर आज ९० वर्षपछि पनि यस रोगको रोकथामको चर्चा गर्दा आम नेपालीको दैनिक जीवनस्तर र खानपिनको विषय रोगसँगै जोडिएर आउनु दुर्भाग्य नै मान्नुपर्छ।

हिमालखबर पत्रिकाबाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: