दीपक अर्याल

पुरुषप्रधालन नेपाली समाजमा लैङ्गिक असमानताको झ्लक दिने थुप्रै कृतिहरूमध्ये भानुभक्तको ‘वधूशिक्षा’ (वि.सं. १९४८) पनि एउटा हो, जसको विभिन्न बेलाका पुनःप्रकाशनहरूले समाजको बदलिंदो स्वरुपलाई पनि उतारेका छन्। मित्र तारापतिको घरका सासू–बुहारीको झ्गडा देखेपछि सबै छोरी–बुहारीलाई अर्ति दिन भानुभक्तले ‘वधूशिक्षा’ लेखेका हुन् भनिन्छ। महिला (छोरी–बुहारी) लाई उनीहरूले गर्नुपर्ने काम–कर्तव्य र अनुशासनको अर्ति–उपदेश दिंदै पुस्तकमा भनिएको छ–
हाँस्नू छैन कदापि नारिहरूले वेश्या हुन्या हाँस्त छन्।

वेश्या लौ न हउन् तथापि घरको काम् ती सबै नास्त छन्।।

एक्लै हाँस्न हुँदैन कोहि न भई आर्को सँगी भो जसै।

हाँस्तैमा दिन जान्छ येही रितले सब् काम बित्छन् तसै।।

नेपाली समाजमा लैङ्गिक विभेद अझै सम्म कायम रहेको सन्दर्भमा १०० वर्ष पहिले यस्तो लेखिनु अनौठो नहोला। भानुभक्तको त्यो मान्यतालाई लामो समयसम्म नेपाली समाजले स्वीकारिरह्यो। ‘वधूशिक्षा’लाई वि.सं. १९८४ मा नेपाली साहित्य सम्मेलन दार्जीलिङले पुनःप्रकाशन गर्‍यो। सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा छापिंदा पुस्तकको महत्वबारे लेखिएको छ–

‘स्त्रीहरूका निम्ती जो शिक्षा यस ग्रन्थमा दिइयेको छ, त्यो अत्यन्त उपयोगी औ लाभदायक छ। वर्तमान समयमा हाम्रो गार्हस्थ्य जीवनको धेरै अवस्था परिवर्तित भयेको छ। तेसकारण हाम्रो स्त्री समाजले यसमा भनेका कुरा एक अक्षर पनी नबिराई ग्रहण पालन गर्न न शके ता पनी यसको भित्री मर्म बुझि पतिपरायणा तथा घरका काममा बाठी भये देखी लाभ बाहेक हानि हुने कदापि सम्भावना छैन। कलहशून्य घर, पतिमा सोह्र आना अनुरक्त औ घरको काममा सिपालु स्त्रीमा नै गार्हस्थ्य आश्रमको सुन्दरता औ गौरव निर्भर छ। औ यसतै घरमा नारीको सर्वप्रकारले आदर र कल्याण हुन्छ।’

महिलाबारे पुरातन मान्यता बोकेको यो पुस्तक त्यसबेलाको नेपाली समाजका लागि यति महत्वपूर्ण भयो कि वि.सं. २०१२ मा मुस्ताङ्गी राजा, अंगोन जेम्पल तेनजिन ट्रदुल पर्वलले आफैं प्रकाशक भएर यसलाई पुनः छापे। तर, यसमा भानुभक्त आचार्यले वधूका लागि दिएको शिक्षामा भीमनिधि तिवारीले लेखेको ‘वरको लागि आवश्यक शिक्षा’ थपियो। त्यसपछि यो पुस्तकको नाम नै ‘वधू–वर शिक्षा’ भयो। प्रकाशक बिष्टले यसमा भनेका छन्–

‘…यसमा भएका वधूशिक्षा र वरशिक्षा घुयूँ ढोक्पो, घमी ढोक्पो (मुस्ताङ्गका दुइटा खोला) जस्तै सदाकाल, अजम्बरी भएर रहिरहलान्।’

पुस्तकको प्राक्कथनमा वरशिक्षा लेखेका तिवारीले भनेका छन्–

“भानुभक्त आचार्यज्यूले ‘वधूशिक्षा’ लेखेर नारी जातिलाई स्थायी उपहार दिनुभयो; म ‘वरशिक्षा’ लेखेर पुरुष जातिलाई समर्पण गर्नेछु। ‘वधूशिक्षा’ पढेकी बुहारी जुन घरमा आउलिन् त्यहाँ ‘वरशिक्षा’ पढेको छोरो रहला। फलतः नेपालीको त्यो घर, घर नभएर मन्दिर होला।”

‘वधूशिक्षा’ पहिलो पटक प्रकाशन भएको ६० वर्षपछि तिवारीले लेखेको वरशिक्षामा आचार्यको भन्दा निकै फरक मान्यता देखिन्छ। जसले, समाज परिवर्तन हुँदै गरेको सङ्केत दिन्छ। ‘वरशिक्षा’ मा भनिएको छ–

गोडाको जल ख्वाउने दिन गए, ती हुन् पुराना कथा।

गोडा खूब मिचाउने चलन रे कस्तो नराम्रो प्रथा!

यस्तो आइरहेछ आधुनिकता, त्यस्तो वृथा गन्थन।

आफैं लोप भएर जान्छ, नगए पारिन्छ उच्छेदन।।

जबकि, हरेक घरलाई मन्दिर बनाउने भानुभक्तको सूत्र यस्तो छ–

प्रातः कालमहाँ उठेर पहिले ध्यान ईश्वरैको गरून्।

सो ईश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरून्।।

भक्तीले पति ईश्वरै भनि बुझन् पाऊ तलैमा परून्।

*पूजा हो पतिको भनेर घरका काम्मा अगाडी सरून्।। *

एउटै कृतिबाट समाजमा आएको परिवर्तन आकलन गर्नु सम्भव नहोला, तर त्यसले पनि समाजमा भइरहेको परिवर्तनको केही संकेत भने गर्छ नै। केही प्रश्नको उत्तर पाउन चाहिं अनुसन्धान नै गर्नुपर्ने ठान्छु। जस्तो, नेपालभन्दा उदार मानिने दार्जीलिङमा ‘वधूशिक्षा’ को आकर्षण किन रह्यो होला तथा हिन्दू धर्म नमान्ने र पितृसत्तात्मक समाज पनि नरहेको मुस्ताङमा यसको आवश्यकता किन पर्‍यो होला?

हिमाल खबरपत्रिकाबाट २७ फागुन २०६९, 10 March 2013

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: