दीपक अर्याल

First Nepali Language book 'The Holy Bible' and Serampur Press
गुटेनवर्ग प्रेसबाट ४२-लाइन बाइबल सन् १४५४ मा प्रकाशन भएपछि संसारमा सबैभन्दा धेरै प्रति मुद्रित, धेरै भाषामा अनुदित तथा वितरित हुने पुस्तकका रूपमा बाइबल प्रसिद्ध छ। नेपालको पछिल्लो जनगणना (२०५८) लाई आधार मान्ने हो भने नेपालमा क्रिश्चियन धर्मावलम्बीको संख्या करिब एक लाख अर्थात् कूल जनसंख्याको ०.४५% छ तर बाइबलको सम्बन्ध भने नेपाली क्रिश्चियन धर्मावलम्बीसँग मात्र होइन ‘नेपाली भाषा र पुस्तक’मा चासो राख्नेथ धेरैसँग जोडिएको छ। जे ए एटनको अ ग्रामर अफ दि नेपलीज ल्याङ्वेज (सन् १८२०) मा प्रयोग भएका शब्द तथा वाक्यहरूलाई छाड्ने हो भने हालसम्म प्राप्त प्रमाणका आधारमा नेपाली भाषामा प्रकाशित पहिलो पुस्तक द होली बाइबल हो र यसको प्रकाशन शेरामपुर बापिस्ट मिसन प्रेसबाट सन् १८२१ (विसं १८७८)मा भएको थियो।

सन् १८००मा भारतको कलकत्तामा स्थापित यो प्रेसले बाइबल मात्र होइन साहित्य, ग्रामर, डिक्सनेरी, इतिहासका पुस्तकहरू प्रकाशन गरेको थियो। प्रेसको मूल उद्देश्य लेटर प्रेसको प्रयोग गरेर क्रिश्चियन साहित्यको प्रवर्धन गर्नु भए पनि यसले विस्तारै व्यापारिक काममा हात हाल्यो र भारतका विभिन्नस भाषा, नेपाली, तिब्बती जस्ता ४० मुख्य स्क्रिप्ट तथा २२५ भाषामा विविध खालका सामग्रीहरूको प्रकाशन गर्यो

मिसिनरी विलियम क्यारी (१७६१-१८३४) र विलियम वार्ड (१७६९-१८२३)ले स्थापना गरेको यस प्रेसमा प्रकाशन भएको नेपाली न्यू टेस्टामेन्ट कूल २४१ पृष्ठको छ। हिन्दी भाषाका लागि प्रयोग भएको स्क्रिप्ट वा फन्टको प्रयोग गरेर यसले नेपाली भाषाको बाइबल प्रकाशन गर्यो। कतै ५,००० प्रति त कतै १००० प्रति मात्र प्रकाशन भएको उल्लेख भएको यस पुस्तक वास्तवमै कति प्रति प्रकाशित भयो र कसरी, कहाँ विक्री तथा वितरण भयो भन्ने कुराको अनुमान गर्न गाह्रो छ।

विलियम क्यारीको पहलमा १८०१ मा प्रकाशित बंगाली भाषाको न्यू टेस्टामेन्ट सहित कूल ३६ वटा भाषामा बाइबल प्रकाशित भएको देखिन्छ। उनकै पहलमा नेपाली भाषाका सहयोगीहरूसँग मिलेर सन् १८१२ देखि नेपाली भाषामा पनि बाइबलको अनुवाद शुरू भयो जुन १८२१ मा प्रकाशित भयो र सन् १८२३ पछि मात्र सार्वजनिक रूपमा वितरण भयो। यसलाई “नेपाल (NEPALA)” भाषाको टेस्टामेन्ट भन्ने गरिन्थ्यो। उनकै पहलमा सन् १८२७ तिर पश्चिम नेपालको स्थानीय नेपाली भाषामा आधारित न्यू टेस्टामेन्टको पनि अनुवाद हुँदै थियो जसलाई ‘पाल्पा’ भनिन्थ्यो। यो अनुदित पुस्तक हाल कतै नभेटिए पनि पाल्पा भेगमा प्रचलित स्थानीय भाषिकामा आधारित यो पुस्तक प्रकाशित भएको तर त्यति प्रचलित नभएकोले खेर गएको भन्ने केही लेख्य सामग्री भने भेटिन्छ। ‘न्यू टेस्टामेन्ट इन पाल्पा’ भन्ने पुस्तक शेरामपुर प्रेसबाट सन् १८२७ मा प्रकाशित भएको उल्लेख ‘बाइबल ट्रान्सलेसन वर्क’ को विविलोग्राफीमा भेट्न सकिन्छ।

मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितका अनुसार सूर्यविक्रम ज्ञवालीले माइक्रोफिल्म तथा फोटोकपि उपलब्ध गराएका कारण जे ए एटनको ‘अ ग्रामर अफ दी नेपालीज ल्याङ्वेज’ (सन् १८२०) तथा ‘द होली बाइबल’ (सन् १८२१) दुवै मदन पुरस्कार पुस्तकालयमा सुरक्षित छन्। यसरी सुरक्षित रहेका यी दुई पुस्तकले नेपाली भाषाका पुस्तकहरूको उत्पादन, प्रकाशन, वितरण र उपभोगका विषयमा अनुसन्धान गर्नेलाई सजिलो बनाएको छ। तथापि, पहिलो क्रिश्चियन धर्मको पुस्तक प्रकाशित भएको २०० वर्षको अवधिमा नेपाली भाषाका करिव ३१ हजार तथा क्रिश्चियन धर्मका करिब १०० वटा पुस्तकहरू मात्र सुरक्षित रहेको देखिन्छ। समयक्रममा पहिलोपटक प्रकाशित बाइबलमा प्रयोग भएको नेपाली भाषा तथा त्यसपछि प्रकाशित क्रिश्चियन धर्मावलम्बीसँग सम्बन्धित पुस्तकहरूमा प्रयोग भएको नेपाली भाषाको रूप, शैली तथा व्याकरणमा धेरै फेरबदल आइसकेको छ तथापि नेपाली जनजिव्रोसँग नजिक रहने गरी सरल तरिकाले बाइबल अनुवाद गर्ने श्रेय भने पादरी गंगाप्रसाद प्रधानलाई जान्छ। वहाँकै योगदानले बाइबल सरल, सहज बन्यो र नेपाली भाषीहरू माझ बढी प्रचलित बन्यो।

सन् १७७० मा उपत्यकाका अन्तिम राजा रणजित मल्ल भक्तपुर छोडेर काशीतिर लागे। गोर्खाली फौजले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा रहेका पादरीहरू लखेटिए तर नेपाल बाहिर रहेका नेपाली भाषीहरूकामाझ भने क्रिश्चियन धर्म र यससँग सम्बन्धित सामग्रीहरू पुग्न छाडेन। बृटिश साम्राज्य सांस्कृतिक, राजनीतिक, व्यापारिक, भौगोलिक वा सैनिक सुदृढिकरणका दृष्टिले विस्तारित हुने क्रममा थियो। १८१४-१६ मा नेपाल-अंग्रेज युद्ध चले जस्तै कतै सैनिक युद्ध चलिरहेको थियो भने कतै सांस्कृतिक अधिनका लागि आवश्यक पूर्वाधार तयार हुँदै थियो। बृटिश राज्यसँग नजिक रहेका विद्वान्हतरू भने प्रत्यक्ष वा अप्रत्क्ष रूपमा सांस्कृतिक वर्चश्वका निम्ति आवश्यक वैचारिक मान्यताहरूको निर्माणमा योगदान दिन सक्ने शैक्षिक तथा प्रकाशन क्षेत्रको विस्तारतर्फ लाग्दै थिए। कैयौं भाषाका व्याकरण, इतिहास, भूगोलका पुस्तक तथा शैक्षिक पाठ्य सामग्रीहरू स्थानीय भाषामा तयार गरेर उनीहरू एकातर्फ व्यापार गर्दै थिए भने अर्कोतर्फ वैचारिक दृष्टिकोणहरू बाँडिरहेका थिए। उनीहरूले आफ्ना छिमेकीहरूलाई बुझ्न मात्र होइन आफ्ना नीति-नियम लागू गराउन र एक आपसमा सम्बन्ध विस्तार गर्न पनि छिमेकमा बोलिने भाषाहरू जान्न जरूरी रहेको तर्क गर्दै विभिन्न भाषाका व्याकरणहरू तयार गरे। त्यसै अन्तर्गत नेपाली भाषाको पहिलो व्याकरण तयार भयो।

जे उद्देश्यका लागि यस्ता पुस्तकहरू प्रकाशन भए पनि यस कामले पुस्तक प्रकाशनको परम्परालाई पश्चिमी मुलुकबाट दक्षिण एसियाली मुलुकमा भित्र्यायो र लोकप्रिय बनायो। बढी श्रुति परम्परामा र हस्तलिखित सामग्रीहरूको बाहुल्य रहेको यस क्षेत्रमा नयाँ प्रविधिले पुस्तक, पत्रपत्रिका, पर्चा-पम्पलेटहरू प्रकाशन गर्ने कामलाई सजिलो बनायो र निजी वा मन्दिर, गुम्बाभित्र सिमित समूह वा व्यक्तिलाई मात्र पहुँच हुने यस्ता सामग्रीहरूलाई सार्वजनिक ठाउँमा पुर्यायो। तर, सार्वजनिक भएका यस्ता पुस्तक, पत्रपत्रिका सबै सुरक्षित रहेनन्। बाइबल वा नेपाली व्याकरण जस्ता केही सुरक्षित पुस्तकले तत्कालिन समयको भाषिक, सामाजिक, राजनीतिक वा धार्मिक वस्तुस्थितिको विश्लेषण गर्न भने पक्कै सघाउनेछ।

सबै प्रश्नको उत्तर यतिखेर आएर खोज्न सम्भव छैन तथापि यस्ता सामग्रीहरूले खुला प्रश्न राख्न, र त्यसका विषयमा तर्क-वितर्क गर्न भने पक्कै सघाउँछ। तत्कालिन समयका नेपाल बाहिर रहेका प्रेस र प्रकाशनहरूबाट प्रकाशित हुने सामग्रीहरूका लागि नेपालमा रहेका विविध भाषामध्ये “नेपाली” भाषालाई किन प्राथमिकतामा राखियो भन्नेा प्रश्नका फरक-फरक उत्तरहरू आउन सक्छन् तर पूर्णत: हिन्दू राज्यका रूपमा रहेको नेपाली समाजमा बाइबलहरूको प्रवेश भयो वा भएन, प्रवेश भयो भने कसरी भयो र त्यसले कानूनी वा सामाजिक वाधा-अड्चनहरू झेल्नु पर्यो वा परेन भन्ने कुरा पनि खोजीको विषय हुन सक्छ। त्यसो त नेपाल बाहिर पनि नेपाली भाषीको संख्या प्रशस्त भएकाले सो क्षेत्रमा बाइबलको वितरण राम्रोसँग भएको र नेपालभित्र यसको प्रभाव कम रहेको हुन सक्छ। तर, नेपाली भाषामै पनि फरक-फरक भाषिक क्षेत्र (पाल्पा र अन्य) लाई आधार मानेर बाइबलको अनुवाद तथा प्रकाशन भएकोले सकेसम्म धेरै क्षेत्रलाई समेट्ने र वितरणलाई व्यापक बनाउने उद्देश्य भने पक्कै लिइएको थियो।
बाइबलको प्रकाशन वा वितरणको जे उद्देश्य भए पनि यसले एकातिर नेपाली भाषाको पुस्तक प्रकाशनको इतिहासलाई अझै लामो र व्यापक बनाइदिएको छ भने अर्कोतर्फ यसले क्रिश्चियन धर्मको प्रचार-प्रसारसँगै नेपाली भाषाको प्रयोग र प्रचलनलाई पनि व्यापक बनाउन सघाएको छ।

हिमालखबर पत्रिका १-१५ मङ्सिर, २०६९मा प्रकाशित

Advertisements
%d bloggers like this: