…म काठमाडौं छिर्दा ‘प्राइवेट कलेज’हरूको बहार आएको थियो। यहीँ बहारमा मैले आफुलाई पनि होमिदिएँ। पैसा भएर वा सम्पन्न भएर होइन; पढेर ‘ठूलो’ मान्छे सपना र नयाँ-नयाँ कलेजहरूमा नयाँ विषयको आगमनसँगै मेरो पढ्ने चाहनालाई मेरा घरका तमाम वाध्यताहरूले छेक्न सकेन। मेरा आमा-बाबुले आफ्ना सपनाहरूलाई तिलाञ्जली दिए र आफ्नो छोराको सपनालाई आफ्नै सपना ठानिदिए। मध्यमवर्गीय परिवारमा पढाइको लागि मात्र पैसाको समस्या थिएन होला तर सबै कमाईहरू पढाइमा होमिदिंदा अन्य धेरै रहर र चाहनाहरूले शहीद बन्नु पर्यो। तैपनि छोराको पढ्ने रहरलाई पुरा गरेन भने समाजले के भन्ला वा बाबु-आमाले छोराले रोजेको र खोजेको विषय पढाउन सकेनन् भनेर कति कुरा काट्ला भन्ठानेर आफ्नो जीवनभरको कमाई मेरो भविष्यका लागि बिस्कुन फिंजारे जस्तै फिजारिदिए। तर, म भने काठमाडौंको पढाइले, काठमाडौंको बसाइले र यहाँको परिवेशले अल्मलिरहेको थिएँ। नाम चलेको कलेज छिरेर पनि मैले मेरो १ वर्ष विना उपलब्धी फालिसकेको थिएँ। मलाई कुनै नयाँ कुरा सिके जस्तो लाग्दैनथ्यो। मलाई कुनै सपना पुरा गर्छु जस्तो लाग्दैनथ्यो अनि यही पढाईले कतै पुग्छु भन्ने पनि लाग्दैनथ्यो। सायद मास्टर गरेर सर्टिफिकेट लिने समय कुरेर बसिरहेको थिएँ। केही कन्फरेन्स, केही वर्कसप र केही पढाई बाहेकका अनौपचारिक कार्यक्रममा सहभागीता जनाउनु बाहेक मैले पढ्नुको खास उद्देश्य के थियो भनेर भेउ पाउन सकिरहेको थिइन। जे होस्, मैले पढ्दै थिएँ अनि घरबाट ल्याएर भए पनि घरवेटीलाई भाडा, कलेजलाई फि र रेष्टुरेन्ट तथा भट्टि पसलहरूलाई खाना तथा दारू-पानीको पैसा तिर्दै थिएँ। कहिलेकाँही सिनेमा हल, अनि कहिलेकाँही पुस्तक पसलहरूमा पनि मेरा केही लगानीहरू परिरहेकै थिए।

दोस्रो वर्ष अथवा दोस्रो सेमेस्टरमा पुग्दा तिमी कलेजमा नयाँ विद्यार्थीका रूपमा देखा पर्यौ। त्यसो त तिमीबाहेक अन्य कैयौं नयाँ अनुहारहरू कलेजमा छिरेका थिए तर धेरै हिसाबले चर्चाको केन्द्रमा भने तिमी नै रह्यौ। कलेजमा दैनिक जसो भेट-घाट भएर कहिलेंकाहीं आँखा जुधे पनि बोल्ने र चिनजान गर्ने गरी हाम्रो भेट कहिल्यै भएन। कहिलेकाँही कुनै कलेजका खास कार्यक्रममा पनि तिमीलाई भेटेको मलाई याद छ तर सायद गम्भीर प्रकृतिको भेटघाट र चिनजानका लागि हामी दुवैसँग कुनै समय थिएन। मैले तिमीलाई जतिपटक देंखे वा भेटें तिमी मनभरिको घाउ र पीडालाई लुकाएर बाध्यताले मुस्काएको वा हाँसेको मात्र देखें। यो मेरो भ्रम पनि हुन सक्थ्यो। तिमी कम बोल्थौ, कम हाँस्थ्यौ र तिमी लगभग एक्ली थियौं। अरूका प्रश्नहरूका उत्तर दिने बाहेक तिमी आफै अग्रसर भएर बोलेको वा सोधेको मैले देखिन। त्यसो त केही क्षणका लागि मात्र देख्दा मलाई सबै कुरा थाहा हुने कुरा पनि थिएन।

एउटै कलेजमा एक कक्षा सिनियरका हिसाबले म तिमीसँग बोल्न जरूरत ठान्दिनथे। तिमी काठमाडौंकी भएकीले बाहिरबाट आएकोसँग बोल्न जरूरी थिएन। कलेजमा ड्राइभर सहित वा ड्राइभर विना पनि कार लिएर आउने विद्यार्थी तिमी मात्र थियौं। त्यसैले तिमीलाई चिन्नु र तिम्रा राम्रा-नराम्रा कुरा चल्नु सामान्य लाग्थ्यो। साथीहरू तिम्रा पछि लागेका वा तिम्रो नजिक हुन चाहेको कुराले मलाई न त हर्षित बनाउँथ्यो न त विस्मात् नै। म त आफ्नै धुनमा हुन्थे।

जिल्लामा केटीहरूसँग बोल्न र सँगै हिड्न लगभग वर्जित थियो। बाटोमा कोही हाँसीदेला, बोलीदेला र अर्को दिन स्कुलमा साथीहरूले मजाक गर्लान् वा उडाउलान् भन्ने पीरले सधै सताउँथ्यो। क्याम्पस पनि यस्तै परिस्थिति भन्दा फरक गरि गुज्रिएन। मनमा पढ्ने भूत सवार थियो। केटीहरूका पछि लाग्ने र केटीहरूसँग हरेक पल झगडा गर्ने वा केटीहरूलाई “शत्रु”का रूपमा हेर्ने दुई समूहका लागि म अपवाद थिएँ। मेरो आफ्नो छुट्टै कुनै मान्यता थिएन, विचार थिएन तर समयक्रममा विस्तारै केटीहरूप्रति नकारात्मक भावना राख्ने समूहमा म आवद्ध भएँ। समूहमा केटीहरूको सकारात्मक होइन नकारात्मक चर्चा हुन्थ्यो। केटीहरूलाई केटाहरूको प्रगति, उन्नती रोक्ने वाधक र खुशी खोस्ने मूल शत्रुहरूका रूपमा चित्रित गर्थ्यौं र त्यसमै रमाउँथ्यौं। हामीलाई बिहे नगरेर प्रगति गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका मानिसहरूको नामावली कण्ठ थियो। यी व्यक्तिहरू हाम्रा लागि आदर्श थिए। त्यसैले हामीहरू केटीहरूलाई दिनुपर्ने समय कुनै चियापसल वा भट्टीपसलहरूलाई दिन्थ्यौं। मध्यमवर्गको परिवार, मध्यम कमाई र मध्यम खालको अनुशासनले धेरै पैसा खर्च गर्ने, धेरै विग्रने वा धेरै रक्सी खाएर घर आउने अनुमति थिएन। म रक्सी खाएको दिन साथीहरूको कोठामा फालिन्थे र अर्को दिन घर गएर ‘कम्बाइन स्टडी’को बहाना बनाउँथे।

यो क्रम काठमाडौं आएपछि पनि चल्यो। काठमाडौं आएपछि त ‘कम्बाइन स्टडी’का स्वरूपहरू फेरिदै गए। तिमीसँग भेट भएर संगत नहुँदासम्म साथीहरूसँग हारती, बाजेको सेकुवा, कीर्तिपुर, भक्तपुर र पाटनका गल्लीहरूमा कम्बाइन स्टडी भयो भने तिमीसँग हिड्न थालेपछि कम्बाइन स्टडीको क्रम साथीहरूसँगबाट छुट्टियो अनि रेष्टुरेन्ट र भट्टीहरूको सट्टा तिम्रो त्यो विशाल घर, ठमेल, नगरकोट, दरवारमार्ग र केहीस्टार होटलहरूमा हुन थाल्यो। मेरो जीवनको यो परिवर्तनले मैले मेरा थुप्रै साथीहरू गुमाएँ जो सँग म वर्षौदेखि सँगै थिएँ र जोसँग काठमाडौंमा संघर्ष गर्ने र प्रगति गर्ने वाचा खाएको थिएँ। तर, मैले नयाँ साथीहरू कमाएँ। धेरै अर्थमा यी नयाँ साथीहरूसँग मेरो सम्बन्ध लामोसमयसम्म टिक्न सकेन, गाढा बन्नध सकेन तर साथीहरू भने प्रशस्तै बने र बनाएँ। मेरो जीवनको लक्ष्यको लागि, मेरो सपनाका लागि र मेरो वर्तमान अनि त्यो समयको भविष्यका लागि मैले मेरा पुराना साथीहरूलाई छाड्न र नयाँ साथीहरू बनाउन जरूरी ठानें। त्यसैले थुप्रै साथीहरू क्रमश: म बाट टाढिए अनि कैयौं नयाँ साथीहरू मसँग जोडिन आइपुगे।

साँच्चै, काठमाडौं आएदेखि मेरा मानसिकताहरू परिवर्तित हुँदै थिए। मैले काठमाडौंको प्रगति, उन्नती, र विकासलाई बुझ्दै थिएँ। मैले काठमाडौंका ठूला-बडाको काम उनीहरूको आचार, विचार र व्यवहारलाई नियाल्दै थिएँ, बुझ्दै थिएँ । मैले यहाँका सभ्यहरूको ‘सभ्यता’, यहाँका पढैयाहरूको पढाइ र विचार, यहाँका प्रजातन्त्रवादीहरूको ‘प्रजातन्त्र’ र कम्युनिष्टहरूको ‘सर्वहारा मानसिकता’ बुझ्दै थिएँ। मैले काठमाडौंको माया, प्रेम, मिलन, विछोड, दु:ख, पीडा, हाँसो र आशुको वास्तविक र अवास्तविक आवरणहरू बुझ्दै थिएँ। मलाई मेरो मान्यताहरूमा विचलन आएको महशुस हुँदै थियो। मेरो सोचाइ, मेरो विचार, मेरो आदर्शहरूमा काठमाडौंको प्रभाव पर्दै थियो। यो काठमाडौं थियो जसले देशको प्रतिनिधित्व गर्थ्यो। यो काठमाडौं थियो जसले देशका शासक, प्रशासक, पढैया-वुद्धिजीवी, नेता र आम नागरिकहरूको वास्तविक मानसिकताको प्रतिनिधित्व गर्थ्यो।

मलाई काठमाडौंले, काठमाडौंमा संघर्ष गर्नका लागि अपनाउनु पर्ने रणनीति सिकाउँदै थियो। मलाई काठमाडौंले बाँच्न र प्रगतिका लागि अपनाउनु पर्ने चोरी, ठगी, चाकरी, चिनजान र पहिचानको बाटो सिकाउँदै थियो। यसले मलाई र मेरो मानसिकतालाई त्यहीँ दिशातर्फ धकेल्दै थियो। मलाई यहाँका खास मान्छेका व्यवहारसँग भिज्नलाई गाह्रो हुँदै थियो तर मलाई कुनै पनि हालतमा जिल्ला फर्कनु थिएन। मैले काठमाडौंलाई जित्नु थियो। मैले काठमाडौंका खास-खास व्यक्तिहरूलाई जित्नु थियो।मलाई मैले वर्तमानमा पाएको दु:ख, मैले भोगेको पीडा, मैले सहेको अपमानित पलहरूको बदला लिनु थियो।

सानैदेखि केटीहरूलाई विश्वास नगर्ने मेरो बानीले तिमीसँग नजिक हुन पनि धेरै समय लाग्यो तर जे भयो राम्रो भयो। “केटीहरू भनेको तिम्रा छायाँ हुन्, तिमी पछि लागे ती भाग्छन् र तिमी अगाडि लागे तिमीलाई पीछा गर्छन्” भन्ने भनाईले मेरो जीवनमा ठूलो प्रभाव पार्यो। मेरा साथीहरूको संगतले मैले यस्तो कुरा राम्रोसँग सिकेको थिएँ, जानेको थिएँ र त्यसलाई अपनाएको थिएँ। त्यसैले यो मान्यता तिमीसँग भेट हुँदासम्म पनि लागू नै थियो। त्यसैले म तिम्रो मात्र होइन कसैको पछि लागिन। मेरो एउटा धुन थियो। त्यो धुनमा मैले वास्तविक संसारका असंख्य तामझाम, रमझम र मायाप्रिति तथा उठबसका कुरा बिर्सेको थिएँ। मेरो धुन थियो, मेरो उद्देश्य र लक्ष्य पनि थियो तर बाटो थिएन। मलाई कलेजका नयाँ साथीहरूले भनेका कटु वचनले पिरोल्थ्यो। मलाई मेरा ती साथीहरूसँग रहेको सङ्गत, जान-पहिचान र सोर्सका कुराले पीडा दिन्थ्यो। मलाई उनीहरूले गरेको ‘लिङ्क’ का कुरा र आफन्तका कुराले पढाईमा होइन, आफ्ना मान्छे खोज्नमा प्रेरित गर्थ्यो। मेरा शिक्षकहरूले मलाई कुनै आदर्श सिकाएका थिएनन्। संघर्ष गरेर सफलता प्राप्त गर्ने कठीन बाटो सिकाएका थिएनन्। उनीहरूले यसका लागि उत्प्रेरित गर्न पनि सकेनन्। कतिपय शिक्षकले “आफ्नो मान्छे” नभएको कारणले दु:ख पाएको कुरा गर्थे। कतिपयले विदेश जानलाई उत्प्रेरित गर्थे अनि कतिपयले देशमा पढेर र बसेर केही नहुने निराशजनक कुरा गर्थे।

मेरा साथीहरूले “आफ्ना मान्छे”का भरमा जागिर खान्थे, छाड्थे र फेरि नयाँ ठाउँमा जागिर खान्थे। सधैं पछाडि बसेर हल्ला गर्ने, नपढ्ने तर शिक्षकहरूलाई दश हात परबाट नमस्ते गरेर चिल्लो घसेपछि प्राक्टिकल र एसाइनमेन्टमा नम्बर पाउने गर्थे। हामीले केही साथीहरूलाई जिस्क्याउनु पर्दा “आज, कपाल बिग्रेको छ यार, झोलामा तेल राखेको छस्?” भन्थौं। हाम्रो व्यग्यलाई उसले सहजताका साथ,- कलेज आउँदा पनि कसैले तेल बोकेर आउँछ?” भनेर उडाउने प्रयास गर्थ्यो। हामीहरू भने मुखा-मुख गर्दै तर मन मनै, “सरको खुट्टामा मालिस गर्नका लागि त ल्याएको होलास् नि!” भन्थ्यौं। शायद यस्ता सबै पक्षबाट पनि उनीहरूका अगाडि दुर्बल ठहरिन्थे। असहाय बन्दथें। जागिरका प्रत्येक ‘एप्लीकेशन’ले रेफरेन्स माग्थ्यो। मलाई यो शब्दसँग घृणा जाग्थ्यो। यो जागिरको वान्टेडसँग घृणा जाग्थ्यो। थुइक्क तेरो पढाई। जति नै पढे पनि रेफरेन्स आवश्यक पर्ने तेरो पढाइले केही लछार्दैन, तेरा सर्टिफिकेटले केही लछार्दैन भन्नेप लाग्थ्यो। मलाई रेफरेन्सका लागि मास्टरको चाकडी गर्नु पर्ने पढाईदेखि दिक्दारी लाग्थ्यो। मलाई जागिरका लागि कसैको नाम, ठेगाना र फोन नम्बर दिएर सोर्स लगाउनु पर्ने बाध्यतादेखि झोक चल्थ्यो।

चापलुसी गर्दै नमस्ते गर्ने कलेजका साथीहरूका निम्ति रेफरेन्सका लागि न त “आफ्ना मान्छे”बाट समस्या भयो न त कलेजका पढैया गुरूहरूबाट। म नाथे भुनभुनिन्थे। एकपटक होइन, दुईपटक होइन, कतिपटक रेफरेन्स लिएर कति ठाउँ, कति पटक जागिरका लागि निवेदन हाल्नु? आखिर एकपटकको रेफरेन्सले, एकपटकको निवेदनले जागिर पाउने पनि त होइन। जतिपटक निवेदन हाल्न खोज्यो त्यतिपटक रेफरेन्सका लागि अनुनय-विनय गर्नु पर्ने वाध्यताले मलाई पिरोल्थ्यो।मलाई मेरो पढाईप्रति, मलाई मेरो हैसियत प्रति, मेरो आत्मविश्वास र भविष्यप्रति शंका लाग्न थाल्यो। तैपनि निवेदन हाल्न छाडिन।

अचानक एकदिन म कुनै कर्पोरेट मिडिया हाउसबाट अन्तर्वार्ताका लागि डाकिएँ। अन्तर्वार्ताका लागि तयारी गर्नु पर्ने थियो, गरें। शुक्रबारको दिन थियो। ठीक समयमा म कार्यालयमा पुगें। ११ बजे डाकिएपनि १२ बजेसम्म मेरो पालो आएको थिएन। लाइनमा बस्न र कुर्नका लागि अभ्यस्त भइसकेको मेरा लागि यो कुनै नौलो कुरा थिएन र यसबाट दु:ख मान्नु पर्ने पनि थिएन। सफा सेता मार्वल विछ्याइएको भुई, एक साइडमा ३ वटा गमलामा रहेका यूका, फिसटेल पाम र इरिका पामका विरूवा। ढोकाबाट ठीक भित्र छिर्दा-छिर्दै २ वटा कम्युटरसँग मन्द मुस्कानका साथ बसिरहेका युवतीहरू। आधा अंग्रेजी-आधा नेपालीमा बोल्ने यी युवतीहरूलाई फोनको निरन्तर घण्टीले एकैछिन पनि फुर्सद दिइरहेको थिएन। कसैको फोन लगाइदिँदै, अनि कसैलाई बाहिरबाट आएको फोन पास गर्दा-गर्दै बाहिर बसिरहेका हामीहरूलाई हेर्ने र ख्याल गर्ने फुर्सद पनि थिएन। साइडको एउटा कोठाबाट कसैले नाम बोलाउँथ्यो र अन्तर्वार्ताका लागि भित्र जानु पर्थ्यो। रिसेप्सन डेस्कको ठीक पारिपट्टिको भित्तामा विशाल पेन्टिङ झुण्डिरहेको थियो। पेन्टिङको अर्थ के थियो र यसले के अर्थ राख्थ्यो मैले बुझिन तर यसको मूल्य लाखौं पर्न सक्छ भन्ने र मौद्रिक हिसाबले हेर्दा यो मूल्यवान छ भन्ने कुरा बुझिरहेको थिएँ।

पालो कुरी वस्ता नेपथ्यबाट कोही भित्र आइरहेको छ भन्ने आभाष भयो। सेण्डीलको आवाज आइरहेको थियो र विस्तारै नजिकिदै जाँदा यो अझ टड्कारो रूपमा सुनिन्थ्यो। अन्तर्वार्ताका लागि नै कोही आयो होला भन्नेल मेरो अनुमान थियो तर त्यो अनुमान विपरित एउटा चिरपरिचित अनुहार मेरो सामुन्ने देखा पर्यो। त्यो तिमी नै थियौ। तिमीले मलाई र मैले तिमीलाई हेर्दा नहेर्दै रिसेप्सनका सबैले ‘नमस्कार म्याडम’ भनेर सम्बोधन गरेपछि तिमी जागिरका लागि होइन भन्ने थाहा भयो तर अफिससँग तिम्रो के साइनो छ? भन्ने् कुराले भने मेरो मनमा खुल्दुली जन्माइदियो।

तिमी मेरो नजिक आएर, ‘के अन्तर्वार्ताका लागि आएको हो?’ भनेर सोध्यौ। मैले हो त भने तर तिमीले ‘तिमी’ भनेर गरेको सम्बोधनले मेरो अहंलाई ठेस पुर्याएको थियो। के पुरूष भएका नाताले मैले यो अहं पालेको थिएँ? के म एक ब्याच सिनियर भएकाले तिमीबाट ‘तपाई’ को अपेक्षा राखेको थिएँ? प्रश्नहरूको उत्तर खोज्दा नखोज्दै वा मैले कुनै पनि अनुमान नगर्दै तिमीले मलाई कतै आउने इशारा गर्यौ।

“मैले उसलाई लग्छु है। भित्रबाट नाम आयो भने मसँग ५ मिनेटलाई बाहिर गएको छ भनिदेउ।“ तिमीले रिसेप्सनमा बस्नेलाई अर्डर दियौं.।

म पूर्णरूपले शुन्य थिएँ। जागिर मेरो प्राथमिकता थियो। यसका लागि अन्तर्वार्ता दिन जरूरी थियो र अन्तर्वार्ताका लागि भित्रबाट बोलाउने बेला समेत भएको थियो तर कुन्नि किन हो, म तिम्रो पछि लागें र बाहिर बरण्डामा पुगें।

बाहिर पुगेपछि छेउको कुर्सीमा तिमी बस्यौ र मलाई पनि बस्ने आदेश दियौं। तिमीलाई त्यो आदेश थिएन जस्तो लाग्ला तर मैले त्यतिखेर तिम्रो आदेश मान्दै सबै कुरा चुपचाप सुनिरहेको, मानिरहेको थिएँ।

कहाँ, कोसँग बस्छौ? तिमीले ठाडो गरी सोध्यौं। मैले केही बुझिरहेको थिइन तर उत्तर दिएँ,
“घट्टे कुलो, साथीहरूसँग”।
ए! ठीकै छ। के जागिर गर्ने हो? तिमीले अर्को प्रश्न गरेपछि भने मलाई अलि रीस उठ्यो तर रीसलाई कावुमा राख्दै भने, “जागिर त पाए खाने हो तर अन्तर्वार्ता नै चाहिने ठाउँमा नदिएर बाहिर दिएपछि कसरी जागिर खाइएला?”

मेरो यो उत्तरले तिमी खुब हाँस्यौं। तिमीलाई यति जोडले, खुशीसाथ हाँसेको देखेको थिइन। मलाई रमाइलो लाग्यो र तिमी हाँसेको हेरिरहें।
ल! मिल्ने सहयोग म गरिदिन्छु। यहाँ मैले केही मान्छे चिनेको छु।
मलाई त्यति धेरै विश्वास लागेन। तिमीले भनेर नोकरी पाउँछु वा पाउँदिन, तिम्रो उमेरका हिसाबले तिमीले भनेको यहाँका मान्छेले मान्छन् वा मान्दैनन्, यस अफिसमा तिम्रो भूमिका र हैसियत के छ? मैले मनमनमै प्रश्नहरू गरें मात्र।

तिमीले तिम्रो रूममा फोन छ? भनेर सोधेपछि मैले मेरो रूममा त होइन घरवेटीकोमा छ, उसले बोलाइदिन्छ भन्ने जानकारी दिएँ।
तिमीले मेरो फोन मागेर डिजिटल डायरीमा टिप्यौं। तिमीले लिएको यो साधनको नाम पनि थाहा थिएन मलाई त्यतिवेला। मैले कहिल्यै कतै देखेको पनि थिइन। जे होस् तिमीले मेरो फोन नम्बर टिप्यौं। मैले तिम्रो फोन नम्बर माग्ने कुरा पनि थिएन र मलाई म त्यो हैसियतको मान्छे हो जस्तो पनि लाग्दैनथ्यो।

त्यसपछि हामी उठ्यौं र रिसेप्सनतिर लम्कियौं। तिमीले मलाई रिसेप्सनमा छाड्दै, शम्यक, Good luck. I will call you.भन्दै भित्र कतै पसेर हरायौं। तिमीसँगको यो मेरो पहिलो भेट थियो। विस्तारमा। तिमीलाई मेरो नाम कसरी थाहा भयो? मलाई थाहा थिएन बरू तिम्रो नाम मलाई थाहा हुनु कुनै अनौठो थिएन किनभने मेरा सबै साथीहरू तिमीलाई टाढैबाट भएपनि नामले नै चिन्दथे।

केही समयमै मलाई भित्रबाट बोलाइयो। औपचारिकताका हिसाबले जागिर गर्न इच्छुक हो कि होइन र ‘अड आवर जब’ भएकाले समय मिल्छ वा मिल्दैन भनेर प्रश्न गरियो। मैले सकारात्मक उत्तर दिएँ र बाहिरिएँ। बाहिर निस्केपछि रिसेप्सनमा तिम्रो बारेमा सोधुँ कि जस्तो पनि लागेको थियो तर सोधिहाल्ने आँट भने भएन।

१ बजे बाहिर निस्कँदा साथीहरूले पर्खिरहेका थिए। त्यसपछि हामी सिधै मम: खान पुतलीसडकतिर हानियौं। केही क्षण त्यहाँ बसेपछि रक्सी खानका लागि पाटन जाने सल्लाह भयो र २६ नम्बरको ठूलो, पुरानो र लामो भद्दा बस चढेर पाटनतिर लाग्यौं। करिब ३ बजेदेखि ७ बजेसम्म बसिसकेपछि हामी घरतिर वा कोठातिर लाग्यौं। घर आईपुग्दा रातको ८ बजेको थियो। म बस्ने घरमा घरबेटीको किराना पसल भएकोले त्यो पसल खुला नै थियो र साहुजी त्यही थिए। रक्सीको तापको राप कम पार्न हामीले कोकको सहारा लियौं। कोक खाँदानखाँदै घरवेटीले ५-६ बजेतिर कुनै केटीको फोन दुईपटक आएको र म नभएपछि आफ्नो फोन नम्बर दिंदै फोन गर्न लगाएको कुरा सुनाए। मैले कागजको सानो चिर्कटोमा लेखेको फोन नम्बर लिएँ र फोन गरें। मन ढुक्कसँग फुलिरहेको थियो। को होला, के होला भनेर मेरा हातहरू र ओँठ नजानिदो पाराले काँप्दै थिए।

फोन गएको दोस्रो घण्टीमै फोन कसैले उठायो। मैले यो नम्बरबाट फोन आएको र मलाई खोजेको भनेपछि “सानो स्वरमा म्याडमको फोन“ भन्नेय आवाज सुनियो। त्यसपछि तिमीले फोन उठायौ र खाना खायौं? भनेर सोध्यौं।
मैले खाएँ भनिदिँए। मैले खानाभन्दा पनि अन्य धेरै कुराहरू खाएर र पिएर आइसकेको थिएँ।
“जागीर पाएमा पार्टी दिन्छौं?” तिमीले सोध्यौं।
“दिन्छु, तर पहिले जागीर त पाउनु पर्यो नि।“ मैले भने।
“कहाँ?”
मैले यसै भन्न सकिन। म अड्किएँ।
“ल भैगो, दिनु पर्दैन। कतै कफी खाउँला।“
‘हुन्छ तर नाम निस्कन बाँकी नै छ।‘
“कति पीर मानेको ? निस्कन्छ। फरकै पर्दैन। फोन आएर अफिस जोइन गर्न मात्र बाँकी हो।“ तिमीले ढुक्कसँग भन्यौ।
तिमीलाई कसरी थाहा भयो?
“थाहा छ। मैले त्यहाँका धेरैलाई चिन्छु।“
“चिन्नु र निस्कनुमा त भिन्नता छ,” मैले तर्क गरें।
“यो नेपाल हो। चिन्नुको अर्थ निस्कनु पनि यो।“ तिमीले जिद्दी गर्यौ।
“मैले चिन्नु पो निस्कनु हो त। तिमीले मलाई चिनेको छैन र तिमीले जसलाई चिनेको छ त्यहाँ तिमीलाई नाम निकाल्नु छैन, जागिर खानु छैन, फेरि कसरी चिन्नु र नाम निस्कनुको सम्बन्ध रहन गयो?” मैले पनि जिद्दी गरें।
“तिमीलाई मैले चिनेको छु र “जब (जागिर) दिनेलाई पनि मैले चिनेको छु भने त्यहाँ सम्बन्ध किन रहेन?” तिमीले प्रतिप्रश्न गर्यौं।
मैले कुरा फेरें, “मलाई कसरी चिनेको?”
“कलेजमा। मलाई तिम्रो बारेमा धेरै थाहा छ। पछि कुनै दिन भनुँला।“ तिमीले पुरै कुरा भन्न चाहिनौं।
हामीले यस्तै-यस्तै कुरा गर्यौं। हाम्रो घरवेटी र साथीहरू मेरा लामो र विना अर्थको गफले वाक्क भइसकेका थिए। त्यसभन्दा पनि कुनै केटीसँग म यति लामो गफ गरेकामा उनीहरू मुखा-मुख गर्दै थिए।

रिजल्ट निस्केपछि कफी खाने बाचा सहित, हाम्रो फोनवार्ता टुङ्गियो। मैले नजानिदो पाराले घरवेटीले दिएको फोन नम्बरलाई मेरो पर्समा राखें। (हाल भएको भए पक्कै त्यो मेरो मोबाइलमा रहन्थ्यो। मोबाइलको वारेमा कुनै कल्पना पनि थिएन। बरू कर्डलेसको प्रयोग भने व्यापक थियो।)

अर्कोदिन विहान उठ्दा हल्का टाउको दु:खीरहेको थियो। रक्सी खाएको साझँ टन्न पानी पिउनु पर्नेमा पानी राम्रोसँग पिउन पाइएन। काठमाडौंमा पिउने पानीको समस्या भएर भन्दा पनि हामीहरूको अव्यवस्थित बसाइ र व्यवस्थापनको कमीका कारण ठीक समयमा पानी भर्ने र सङग्रह गर्ने चलन नभएकाले चाहेजति पानी पिउन सकिएन। टाउको दुख्नुको एउटा कारण यो हुन सक्छ भने रातभर केटाहरूले सुत्न नदिएकाले पनि टाइको दुखेको हुन सक्छ।

मैले मेरा साथीहरूलाई तिम्रा बारेमा भन्नुस पर्ने भयो। उनीहरूलाई म कुनै केटीसँग “फस्न” लागेकोमा डर थियो। कोही साथीको सम्बन्ध केटीहरूसँग भएमा उसले केटाहरूलाई धोका दिने वा केटाहरूमाझ रहेको सम्बन्ध विग्रिने भएकाले कसैले पनि ‘सिरियस लभ’ गर्न नपाउने भनेर हामीहरूका विचमा एउटा अघोषित सम्झौता भएको थियो। अझ धेरैका विचारमा त केटाहरू र केटीहरूको सम्बन्ध हुनु भनेको केटाहरूले दु:ख पाउनु हो वा केटाहरू फस्नु हो त्यसैले आफ्ना साथीहरूलाई यस्ता दुखबाट वा फस्नबाट बचाउनु उनीहरूको कर्तव्य हो। उनीहरू त्यसै गर्दै थिए। मैले तिमीलाई नचिनेको र तिम्रो वारेमा राम्रोसँग थाहा नभएको तथा तिम्रो सहानुभूति वा मायाका वारेमा पनि नबुझेको भनिरहें। उनीहरूले पत्याएनन्। उनीहरूले मलाई रातभर जस्तै सुत्न दिएनन् भन्दा हुन्छ।

विहानपख निद्रा त लाग्यो तर प्यासले छिटो उठ्न वाध्य बनायो। उठेर बोतलमा रहेको पानी खान खोजे तर पानी भेटिएन र पानी नपिई फेरि सुतें। ओछ्यानमा ब्यूँझिदा करिब ८ बजेको थियो। एकछिन अल्छी मान्दै सुतिरहें। मुख सुकेको थियो। पानी खोज्न वा सापट माग्न घरवेटीकोमा पुग्ने विचार गर्दा गर्दै घरेवेटीको छोराले ढोका ढक्ढक्याएर फोन आएको जानकारी दियो। हतार-हतारमा कपडा भिरेर पसलतिर दौडिए। फोन उठाएर हेलो भन्ना साथ, ‘गुड मर्निङ शम्यक‘ को आवाज आयो। यो तिम्रो चिरपरिचित आवाज थियो।
आज केही प्लान छ? तिमीले सोध्यौं।
“मैले केही छैन, आज शनीबार घेरवेटीले पानी दिएमा कपडा धुने विचार गरेको छु”, भने।
“बोर भयो नि। दिउसो हिड्न मिल्दैन? एउटा गुड न्यूज सुनाउँछु” तिमीले जोड गर्यौं।
“हिड्नै नमिल्ने त होइन। अली अल्छी लागेकोले बाहिर जाने मन नभएको मात्र हो” मैले भने।
“मिल्छ भने जाउँ न। बरू कफी मैले खुवाँउछु र गुड न्यूज पनि सुनाउँछु।“
गुड न्यूजको कुराले हो कि एक जना केटीको प्रस्ताबले हो, म तिम्रो प्रस्तावमा आकर्षित भएँ र आउने सहमती जनाएँ।
“अनामनगर हनुमान थान मोडमा ठीक ११ बजे आउ है। त्यहाँबाट निस्कौंला। “ तिमीले समय तोकिदियौ।
“हुन्छ” मैले सहमति जनाएँ।

मलाई अनामनगर हनुमानथान मोडमा पुग्नलाई हतार हुन थाल्यो। मैले आफैलाई बुझिरहेको थिइन। मेरा छट्पटाहट, आतुरी वा हतारलाई बुझिरहेको थिइन। जे होस्, म सबै हिसाबले तयार हुँदा करिब १० बज्यो। मलाई त्यो मोडमा पुग्न करिब १५ मिनेट लाग्थ्यो। मैले आफूलाई सक्ने हिसाबले तयार पारें। मिलेसम्म कपडा राम्रो लगाएँ, कपाल भिजाएँ। तेल लगाएँ र डियोड्रेन्ड छर्किएँ। तैपनि समय कटेको थिएन। समय ढिलो वित्दै थियो। घडी ढिलो चले जस्तो लागेको थियो। मैले पल्लो रूममा भएको साथी रोशनलाई म केही समयको लागि बाहिर जानु पर्ने भएकोले हिडें भन्ने जानकारी दिएँ र हिडें। शनिवार भएकाले होला उनीहरू सबै सुत्दै थिए।

म हनुमानथान मोडमा ५ मिनेट पहिले नै पुगिसकेको थिएँ। तिमी ३ मिनेट जति ढिला आयौ। कुराईको पीडा हरायो। तिमीले गाडीको अगाडिको ढोका खोलिदियौ र बस्ने सङ्केत गर्यौ। म गाडी भित्र छिरें र तिमीसँगै बसें। काठमाडौंमा म पहिलोपल्ट प्राइभेट गाडी चढ्दै थिएँ। गाडी भित्र छिर्नासाथ कुनै मिठो गन्ध आइरहेको थियो। यो पर्फ्युम र स्प्रेहरूको मिश्रण थियो। जीवनमा पहिलो पल्ट आफूलाई अनौठो संसारमा पाइरहेको थिएँ। बाहिरको धुँवा, धुलो र गर्मीबाट जोगिएर मैले आफैलाई “ठूलो मान्छे” भएको महशुस र घमण्ड गरिरहेको थिएँ। हिजोसम्म म हिड्ने सार्वजनिक सवारीसाधनहरू फोहर, मैलो, असुविधाजनक र भिडभाडयुक्त लाग्न थालेको थियो। उभिएर, कहिले अरूको खुट्टा कुल्चदै अनि कहिले आफ्नो खुट्टा कुल्चाउँदै, गाली खाँदै र गाली गर्दै यात्रा गर्ने हिजोको दिन र आजको यो क्षणको तुलना गर्दै थिएँ। म पुरै भ्रममा थिएँ, म पुरै सपनामा थिएँ।

तिमीले सीट बेल्ट बाँध्न पठाएपछि म झस्किएँ। सीट बेल्टका वारेमा सामान्य कुरा सुने पनि के हो र कसरी बाँध्ने थाहै थिएन। म अलमलिएँ। तिमीले सीटसँगै रहेको “फिता देखायौ, तर कसरी बाँध्ने सिकाइनौ। मैले तानेर त्यसैमा आफैलाई बेरिदिएँ तर यो मिलेनछ। तिमी खिसिक्क हाँस्यौ र गाडीलाई साइड लगाएर रोक्यौ। तिमीले सीट वेल्ट बाँधी दियौं। यसरी तिमीले सीटवेल्ट बाँधिदिँदा मेरो शरीरमा परेको तिम्रो स्पर्श मेरा लागि अनुपन थियो र अविस्मरणीय थियो।

धेरै हिसाबले रोमाञ्चित हुँदै थिएँ। सपना देख्दै थिएँ। तिमीले गाडी अगाडि बढाइसकेको पत्तै भएन । तिमी पुतलीसडकको ट्राफिक लाइटमा रोकियौ। साइडबाट आएको मोटरसाइकल जबर्जस्ती अगाडि घुस्यो। अगाडि छिर्दा नछिर्दै उसले तिमीलाई खुब घुरेर हेर्यो। मलाई उसको हेराइले च्वास्व छोयो। तिमी भने कतै अन्तै हेर्दै थियौं, वास्तै गरिनौ वा थाहै पाइनौ। अगाडि हरियो बत्ती बल्यो। हामी अगाडि बढ्यौं। यहाँ आइपुग्दा मैले तिमी र म बीच रहेको दूरीको अन्त्य गर्दै हामी भनें। साँच्चै मलाई अब हामी हुने रहर वा लोभ जागिसकेको थियो। साँच्चै मलाई विस्तारै तिमीसँग नजिकिन मन लागेको थियो। तिमी राम्रो र आफ्नो लाग्दै थियो।

किन आफै ड्राइभ गरेको? मैले केही बोल्ने बहाना खोज्दै तिमीसँग सोधें।
“तिमीसँग आउँदा अरूलाई ल्याउन मन लागेन”, तिमीले सिरियस तरिकाले भन्यौं।
“मजाक!” मैले मलाई लागेको मेरो मनको कुरा भनें।
“होइन, सिरियस नै हो। म तिमीसँग छु र तिमीसँग केहीसमय हुन्छु भनेपछि अरूलाई किन दु:ख दिने?” तिमीले उस्तै पाराले भन्यौं।
मैले विश्वास गरें। गाडी पुतलीसडकको बाटो सिधा अगाडि जाँदै थियो।
मैले फेरि सोधें, हामी कहाँ जान लागेको?
“दरबारमार्ग।“
किन? मैले पुन: प्रश्न गरें।
“कफीका लागि।“
मेरो लागि यो कफी महङ्गो पर्ला जस्तो छ, मैले मेरो वाध्यता प्रष्टसँग राखे।
“पीर नमान अहिले म ‘पे’ गर्छु। तिम्रो ‘जब’ भएर पहिलो ‘स्यालरी’ बुझेपछि तिमीले ‘पे’ गर्नुपर्छ।“
तिमीले किन ‘पे’ गर्ने? हाम्रो सर्त यस्तो थिएन।
“मलाई खुवाउन मन छ। के मसँग कफी खान तिमीलाई कुनै आपत्ती छ?”
होइन, मैले त्यस्तो भनेको होइन। म आत्तिएर जवाफ फर्काएँ।
“ठीकै छ, गुड न्यूज पनि त्यहीँ सुनाउँला।“
मलाई अहिले आएर के लाग्छ भने म तिमीसँग हिड्न पाउँदा मख्ख थिएँ वा म तिमीले बोलाएको कारणले तिमीसँग गएको थिएँ, गुड न्यूजको लागि होइन। यति समयसँगै हिड्दा सम्म मैले त्यो गुड न्युजका विषयमा केही सम्झिएको थिइन।
हामी दरबारमार्ग पुग्यौं। गाडी पार्किङ गरेपछि हामी रोयल कफी हाउसमा छिर्यौं। भित्र छिर्नै लाग्दा गार्डले हात उठाएर फुर्तिका साथ सैल्युट हान्यो। अनि सिसाको गेट खोलिदिदै वेलकम मेडम, वेलकम सर भन्यो र हामीलाई भित्र छिरायो।

वाह, क्या गजब। क्या अनौठो। सबै कुरा नयाँ लाग्दै थिए। सबै परिवेश, सबै माहोल मेरा लागि नयाँ थिए। म एक्लै आएको भए पक्कै आत्तिन्थे यहाँ तर तिम्रो पछि-पछि लागेकाले मैले सबै कुरा सिक्न पाएको थिएँ।
यो माहोल र यो वास्तविकता मैले हिन्दी र अंग्रेजी फिल्महरूमा मात्र देखेको थिएँ। दरबारमार्गको बाटो हिड्ने बाहेक त्यहाँ रहेका होटल, रेष्टुरेन्ट वा कफी हाउसमा छिर्ने आँट र हैसियत म मा थिएन। मलाई त्यो परिवेश, माहोल र ठाउँ मेरो वा हाम्रो लागि होइन नै भन्ने लाग्थ्यो। यसपाली भने म छिरें। तिम्रो सहारामा।
तिम्रो पछि लागेर म अगाडि बढ्दै थिएँ।
तिमीले कुनाको दुई कुर्चि र एक टेबल रोज्यौं। हामी आमने-सामने थियौं।
मलाई तिमीलाई राम्रोसँग हेर्ने चाह भयो। मैले एकटकले तिमीलाई हेरिरहें। तिमीले वेटरलाई कुरिरहेकी थियौ। ऊ पनि चाहिने भन्दा छिटो नै आइदियो र अर्डर लिन थाल्यो।

कफी हलका चारैतिर जोडीहरू एक आपसमा गफ गर्दै आफैमा मस्त थिए। सुस्त पुरानो अंग्रेजी म्युजिक बजिरहेको थियो। मिल्ने जति ठाउँमा गमलाहरू राखिएको थियो। हलको ठीक विचमा ठूलो गमलामा साइकसको ठूलो बोट थियो। बोटको फेंद मोटो भएकाले होला यसले सबैलाई सबैतिर बाँडे जस्तो देखिन्थ्यो। अर्थात् यसले धेरै कुराहरू छेकिदिन्थ्यो। एक छेउमा रिसेप्सन, एक भित्तामा टीभी स्क्रिनअनि अर्को भित्तामा राणाकालिन समयका ऐतिहासिक फोटोहरूले हल सजिएको थियो।

वेटर मेनु अनुसार अर्डर माग्न तयार थियो। म पुरै मेनु पढ्दा पनि आफुले सुनेको जानेको वा चिनेको १-२ वटा कफीको आइटम बाहेक केही देख्दिन। मलाई आफ्नो मनले केही माग्ने आँट आउन्न। तिमीले मेरो मुख हेर्छौ र मबाट हुने अर्डरको आश गर्छौं। म भने असहाय छु र तिमीबाट केही अर्डर हुने आशा गर्छु।

कुनै उपाय लागेन र मैले भने म कफी खान आएकोले कफी खान्छु, मेरो कुनै च्वाइस छैन।
तिमीले यहाँ कफी बाहेक अरू केही नपाइने जानकारी दिंदै कुन कफी भनेर सोधेपछि म झस्किएँ र केही लजाए पनि।
के कफीहरूका पनि यति धेरै भेराइटीहरू हुन्छन्? मैले ४ पेजको मेनुमा लेखिएका कफीका आइटम हेरेर मनमनै प्रश्न गरें। मेरो लागि त कफी भनेको सामान्य कफी मात्र थियो। त्यसमाथि ‘इन्स्ट्यान्ट कफी’ नै मेरो लागि असली र एकमात्र कफी थियो। पछि तिमीले “कोल्ड कफी विदभेनिला फ्लेवर” भनेपछि म ढुक्क भएँ।
(अहिले आएर कफीहरूको भेराइटी र म मा जागेको कफीको शोख देख्दाभने त्यो पल सम्झेर एक्लै हाँस्छु। सँगै हास्ने साथी पनि त हुनुपर्यो नि?)

आखिर समय वित्नो कति पो लाग्दो रहेछ र? सबै कुराहरू हिजो मात्र भए जस्तो लाग्छ।
कफी खाँदा खाँदै मैले गुड न्यूज के हो भनेर सोधे। तिमीले त्यसको बदलामा “के दिने वा के गर्ने” भनेर सोध्यौं। मैले तिमीले मागेको कुरा र मैले दिन सक्ने कुरा दिन्छु भने। तिमीले “प्रोमिश”? भनेर वाचामा बाँध्न चाह्यौ। मैले प्रोमिशहरू तोड्नका लागि गरिन्छन् तर मैले नतोड्न शर्तमा वा त्यो नियत विना नै तिमीले मागेको कुरा दिन्छु भने।
तिमीले, “अहिले माग्दिन, चाहिएमा कुनै समयमा सहयोग माग्छु” भन्यौ र मेरो जागिर भएको कुरा सुनायौ।
तिमीले कसरी थाहा पायौ? मैले सोधें।
“मैले त पहिले नै हुन्छ भनेको होइन र?” तिमीले उल्टै सोध्यौं।
म केही बोलिन।
“भोलि पर्सीतिर फोन आउला।“ ढुक्क भए हुन्छ।
‘जब’ भए त राम्रै हुने थियो, म अनकनाएँ।
“ल, ल अब राम्रोसँग गर। तर, सधै दौडधुप गर्ने जागिर रमाइलो हुन्छ र?”
खै, जिन्दगी त्यसै पनि त दौडधूपमा वितेको छ। त्यसमाथि यो थपिंदा के फरक पर्ला र?
हामी माझ कुरा कम र हेराहेर ज्यादा चल्यो। बोल्ने कुराहरू सकिएका थिए शायद। हामीहरू धेरै वेर टिक्म सकेनौं। करिब १ घण्टाको त्यो कठिन तर महत्त्वपूर्ण ‘परीक्षा’ सकियो। पर्सिपल्ट मेरो रिजल्ट भयो। मलाई अफिस डाकियो र रिपोर्टिङका लागि विट दिइयो। विजनेस रिपोर्टिङका लागि तोकिएको भएपनि त्यसवारेमा कुनै जानकारी थिएन। आफ्ना शाखा सन्तान नै त्यो पेशातिर थिएनन्। अब कसरी र के गर्ने भन्ने चिन्ताले सताउन थाल्यो। त्यसो त केही सिनियरहरूले हौसला दिंदै थिए अनि केही सिनियरहरूले विगतका कठिन दिन सुनाउँदै अत्याउन हालेका थिए।
मसँग जागिर गर्नुबाहेक कुनै उपाय थिएन।

Advertisements

Comments on: "उसको लागि जन्मिएको छोरो" (3)

  1. याहाँ सम्म पढ्दाखेरी ध्यान अन्त कतै मोड्नै मन लागेन मिठो तरिकाले लेख्नु भएको छ। जति पढ्दै गयो उति पढौं पढौं लाग्यो तर सर काठमाण्डौं आएपछि को संघर्ष र दुख लाइ अलिकति फराकिलो बनाउदा के होला ?

  2. संघर्षकेा दैारानमा कहिलेकाहि भेट हुन्थ्येा तर अान्तरिक कुरा कहिल्यै भएनन् । अाज धेरै कुराकेा जानकारी भयेा । येा अार्टिकलले मन हल्का पक्कै भयेा हेाला । अबकेा भाग २ मा अरू केहि थप जानकारी अाउछ हेाला ।

  3. KRYSNA NEPAL said:

    WHAT HAPPEN AFTER THAT??

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: