– दीपक अर्याल

१९९७-९८ सालतिर एउटा १०-१२ वर्षको केटो रानीपोखरी स्थित दरबार हाईस्कुल पढ्ने क्रममा घरबाट खाजाका लागि दिइएको पैसाले त्यतिवेला खाजाका लागि चल्तिमा रहेको आलुचा र पुष्टकारी किन्नुभन्दा भोटाहिटीस्थित मान दास चित्तधरको पुस्तक पसलमा गएर किताब किन्ने गर्थे। त्यो उमेरमा मिठो-मिठो खाने कुरा किनेर साथीभाईसँग रमाइलो नगरी कुन उद्देश्यका लागि किताब किनियो? भन्ने कुराको प्रष्ट उत्तर त अहिले पनि आउँदैन तर अंग्रेजी किताबहरू किन्दा महङ्गो पर्ने भएकाले नेपाली भाषाका किताब किन्दै, पढ्दै र थुपार्दै गरेको भने सम्झना भने उनलाई छ। खाजाको पैसाले किताब किन्दा वा घरमा नयाँ किताब आउँदा कसैलाई मतलब थिएन। न त उनलाई कसैले गाली गरे न त हौस्याए नै! तर उनले भने एकसुरमा नेपाली किताबहरू किन्दै थुपार्दै गर्न थाले। यसरी सङ्कलन भएको किताबलाई पछि “कमलको नेपाली सङ्ग्रह” नाम दिएर व्यक्तिगत पुस्तकालय बनाउने व्यक्ति कमलमणि दीक्षित थिए र त्यसरी जम्मा भएका किताबहरूका आधारमा थप किताबहरू माग्दै, किन्दै र सङ्कलन गर्दै स्थापित भएको पुस्तकालय मदन पुरस्कार पुस्तकालय (मपुपु) हो। दीक्षितका अनुसार, “मदन पुरस्कार गुठीको स्थापना भइसकेको थियो र सोही गुठीको नामलाई फैलाउनका लागि भन्दै आफ्नो सङ्कलनमा रहेको पुस्तकहरूलाई मदन पुरस्कारको पुस्तकालयको नाम दिइएको थियो जसलाई पछि मदन पुरस्कार पुस्तकालय नामाकरण गरियो”। यसरी विसं २०१३ सालमा मदन पुरस्कार पुस्तकालय (मपुपु) विधिवत रूमा खडा भयो। सो समयदेखि निरन्तर खटिरहेका ८४ वर्षीय दीक्षित अहिले पनि विहान ७ बजे कार्यालयभित्र पसेर पुस्तकालयमा आइपुगेका पुस्तक, पत्रपत्रिकाको विवरण अनलाइन राख्छन्। कतिपय लेखक, कवि तथा साहित्यकारलाई उनीहरूले प्रकाशन गरेको सामग्री पुस्तकालयमा आएको जानकारी फोनबाट दिन्छन् भने कतिलाई इमेलबाट। कुनै वेला पुस्तकालयमा आउने सबै सामग्रीका लागि दीक्षितले धन्यवाद दिंदै व्यक्तिगत रूपमा चिठ्ठी पठाउँथे भने आजकाल त्यो काम इमेलबाट शुरू भएको छ। त्यसो त मपुपुले पुस्तक तथा पत्रपत्रिकाको सङ्कलन र संरक्षण बाहेक युनिकोड नेपाली, नेपालिनक्स, अनलाइन नेपाली डिक्सनेरी, हिज्जे परीक्षण आदिमा पनि काम गरेको छ। तर, यस्ता अनुसन्धानमुलक प्राविधिक कामले आफ्नो प्रभाव देखाउन भने अझै केही समय लाग्ने देखिन्छ।

उमेर ढल्कँदै जाँदा पनि पुस्तकालय प्रति दीक्षितको लगाब घटेको छैन। उनी भन्छन्,- “पुस्तकालय नभएको भए कमल दीक्षित आज कहाँ कमल दीक्षित भनेर चिनिन्थ्यो र?” एउटा व्यक्तिको लगन, खटन र चाहनाले मात्र पनि भाषा-साहित्यका कैयौं धरोहरहरू सुरक्षित हुन सक्दो रहेछ। के अन्य भाषा, साहित्य र सांस्कृतिक धरोहर जोगाउन हामीले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न सकौंला? पुस्तकालयको एउटा मात्र उद्देश्य प्रकाशित भएका नेपाली भाषाका पुस्तक-पुस्तिका, पत्रपत्रिका, पर्चा-पम्पलेट, अडियो-भिडियो तथा तस्बीरहरूको सङ्कलन गर्ने, त्यसको सुरक्षा गर्ने (डिजिटल, माइक्रोफिल्म वा अन्य प्रविधीबाट) तथा त्यसलाई सार्वजनिक गर्ने हो। उदाहरणका लागि नेपाली साहित्यकार तथा नेपालसँग सम्बन्धित ऐतिहासिक फोटो हेर्नका लागि http://www.flickr.com/photos/mpp_flr/ हेर्नुभए हुन्छ।

मदन पुरस्कारसँग जोडिएर स्थापित भएको मदन पुरस्कार पुस्तकालयमा हाल ३१,००० भन्दा धेरै नेपाली भाषका पुस्तक तथा ५४६८ शिर्षकका पत्रपत्रिकाहरू सङ्कलित छन्। दैनिक रूपमा आउने पत्रपत्रिका तथा पुस्तकहरूले पुस्तकालयमा काम गर्नेलाई एकातिर उत्साहित पार्छ भने अर्कोतिर यी सामग्रीहरू सङ्कलन गर्ने ठाउँको अभाव बढ्दै गएकोमा चिन्तित पनि बनाउँछ। सरदर दैनिक १५० वटा पत्रपत्रिका आउने पुस्तकालयमा गएको ३ वर्षदेखि सबै पत्रपत्रिकालाई तुरून्तै डिजिटाइजेसन गर्ने र पाठकहरूको प्रयोगका लागि मूल प्रतिको सट्टा डिजिटल प्रति दिने व्यवस्था गरेको छ। यसले स्थान अभावको समस्यालाई केही हदसम्म न्युनिकरण त गरेको छ तर वर्षमा करिब १००० वटा पुस्तक तथा दैनिक रूपमा १५० वटा पत्रपत्रिकाहरू भित्रिने यस संस्थामा यी सामग्रीहरू कसरी, कहिलेसम्म राख्दै जाने र कति ठाउँ छुट्याउनु पर्ने हो भन्ने कुराको अनुमान गर्न भने गाह्रो छ।

पुस्तकालयका चुनौतीहरू पनि उत्तिकै छन्। महङ्गो प्रविधी र प्राविधिकहरूको कमी, अनुसन्धान, पुस्तक वा पत्रपत्रिकामा लगानी गर्नुपर्छ भन्ने चेतनाको अभाव, दैनिक रूपमा थुप्रिने कागजात (पुस्तक, पत्रपत्रिका, पर्चा-पम्पलेट)को क्याटलगिङ, डिजिटाइजेसन र त्यसको उपलब्धताका लागि चाहिने समय, प्रविधी तथा मानव संशाधनसँग जोडिने आर्थिक पक्षले पुस्तकालयलाई खर्चिलो बनाएको छ। प्रविधीसँग नजिक हुँदै जाँदा पुस्तकालयको प्रयोग गर्नेको संख्यामा पनि वृद्धि हुन थालेको छ। फलस्वरूप मपुपुमा सङ्कलित ऐतिहासिक फोटोहरू अनलाइन राख्न थालेको ६ महिनाभित्र नै एक लाख पचास हजारभन्दा बढीले उक्त वेवसाइट हेरिसकेका छन्।

विशेषत: आफ्ना पुर्खाद्वारा सृजित सामग्री भोलिका पुस्ताले हेर्न, पढ्न वा उपयोग गर्न पाउने कि नपाउने भन्ने प्रश्न नै यक्ष प्रश्न हो। मदन पुरस्कार आफैमा प्रशस्त छैन र यसले नै सबै कुरा गर्न सक्दैन तर यस्तै खालको काम स्थानीय वा क्षेत्रीय तहमा हुन सक्यो भने र सरकारी निकाय तथा दाताहरूको पनि ध्यान गयो भने नेपालका सबै खालका सामग्रीहरू सुरक्षित हुने कुरामा भने कुनै सन्देह गर्नु पर्दैन।

अन्नपूर्ण पोष्टमा प्रकाशित FURSAD 4-5

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: