उसको लागि जन्मिएको छोरो
…म काठमाडौं छिर्दा ‘प्राइवेट कलेज’हरूको बहार आएको थियो। यहीँ बहारमा मैले आफुलाई पनि होमिदिएँ। पैसा भएर वा सम्पन्न भएर होइन; पढेर ‘ठूलो’ मान्छे सपना र नयाँ-नयाँ कलेजहरूमा नयाँ विषयको आगमनसँगै मेरो पढ्ने चाहनालाई मेरा घरका तमाम वाध्यताहरूले छेक्न सकेन। मेरा आमा-बाबुले आफ्ना सपनाहरूलाई तिलाञ्जली दिए र आफ्नो छोराको सपनालाई आफ्नै सपना ठानिदिए। मध्यमवर्गीय परिवारमा पढाइको लागि मात्र पैसाको समस्या थिएन होला तर सबै कमाईहरू पढाइमा होमिदिंदा अन्य धेरै रहर र चाहनाहरूले शहीद बन्नु पर्यो। तैपनि छोराको पढ्ने रहरलाई पुरा गरेन भने समाजले के भन्ला वा बाबु-आमाले छोराले रोजेको र खोजेको विषय पढाउन सकेनन् भनेर कति कुरा काट्ला भन्ठानेर आफ्नो जीवनभरको कमाई मेरो भविष्यका लागि बिस्कुन फिंजारे जस्तै फिजारिदिए। तर, म भने काठमाडौंको पढाइले, काठमाडौंको बसाइले र यहाँको परिवेशले अल्मलिरहेको थिएँ। नाम चलेको कलेज छिरेर पनि मैले मेरो १ वर्ष विना उपलब्धी फालिसकेको थिएँ। मलाई कुनै नयाँ कुरा सिके जस्तो लाग्दैनथ्यो। मलाई कुनै सपना पुरा गर्छु जस्तो लाग्दैनथ्यो अनि यही पढाईले कतै पुग्छु भन्ने पनि लाग्दैनथ्यो। सायद मास्टर गरेर सर्टिफिकेट लिने समय कुरेर बसिरहेको थिएँ। केही कन्फरेन्स, केही वर्कसप र केही पढाई बाहेकका अनौपचारिक कार्यक्रममा सहभागीता जनाउनु बाहेक मैले पढ्नुको खास उद्देश्य के थियो भनेर भेउ पाउन सकिरहेको थिइन। जे होस्, मैले पढ्दै थिएँ अनि घरबाट ल्याएर भए पनि घरवेटीलाई भाडा, कलेजलाई फि र रेष्टुरेन्ट तथा भट्टि पसलहरूलाई खाना तथा दारू-पानीको पैसा तिर्दै थिएँ। कहिलेकाँही सिनेमा हल, अनि कहिलेकाँही पुस्तक पसलहरूमा पनि मेरा केही लगानीहरू परिरहेकै थिए।
(more…)