मोहन मैनाली

गएको वर्षको अन्तिम हप्ता पाल्पामा बसेका बेला एक दिन पाल्पा जिल्ला बन्द भयो । त्यो बन्द नेपाली कांग्रेसको आह्वानमा भएको भनेर सुन्दा मलाई कांग्रेसको बदनाम गर्न खोजेझैँ लाग्यो । कांग्रेसका एकजना इमानदार कार्यकर्तालाई सोध्दा उनले भने, ‘हो, यो कांग्रेसलाई बदनाम गराउनकै लागि गरिएको हो । र, यो अरू कसैले गरेको होइन नेपाली कांग्रेस आफैँले गरेको हो ।
यो बन्द गर्नाको कारण झन् हाँसो उठ्दो छ भनी सुनाए धेरैले, पाल्पालीले । त्यो यस प्रकार छ:

तीनजना युवालाई रक्सी खान मन लागेछ, खाएछन् । तीमध्ये एकजनालाई लाइसेन्सविनै मोटरसाइकल चलाउन मन लागेछ, चलाएछन् । बाँकी दुईजनालाई त्यही मोटरसाइकलमा चढ्न मन लागेछ, चढेछन् । मोटरसाइकल चलाउने मानिसलाई आफ्नो मोटरसाइकल रोकिराखेको ट्रयाक्टरमा जोत्न मन लागेछ, जोतेछन् ।
जे हुनुथियो त्यही भयो । एकजना ठहरै भएछन् । बाँकी दुईजना घाइते ।

प्रहरीले ट्रयाक्टर धनीबाट एक लाख रुपियाँ क्षतिपूर्ति तिराएछन् । नेपाली कांग्रेसले १० लाख तिराउनुपर्ने अडान लिएछ । यसै मेसोमा यो हड्ताल गरिएको रहेछ ।
यसै हो त भनेर कांग्रेसका ती इमानदार कार्यकर्तालाई सोधेँ ।

यो पनि हो तर यत्ति मात्र चाहिँ होइन –उनले भने ।

उनले भने– यी डिएसपीका अरू कामसँग पनि चित्त नबुझेर हो । उनले पाल्पा बजारमा बाह्रमासेलाई तास खेल्न दिइनछन् । माथि श्रीनगर डाँडामा जाँदा चुरोट सल्काएर काँटी फाल्दा वनमा डढेलो लाग्यो भनेर त्यसो हुन नदिन सलाई लैजान दिइनछन् । त्यहाँबाट फर्कांदा जाँड खाएर गाडी तथा मोटरसाइकल चलाउन दिइनछन् । यसले यहाँका सज्जनहरूलाई मर्का पर्‍यो ।

श्रीनगरमा ‘लभ’ गर्नेहरूलाई पनि अलि मर्का पर्ने काम गरिछन् –उनले भने ।

सके घृणा गर्नेलाई त्यसो गर्न रोक्नु नि’ । त्यसो गर्नेहरू बढ्दै गएर ‘लभ’ गर्ने मान्छे शिला खोज्नुपर्ने बेलामा यसोचाहिँ किन गरेको त ? मैले सोधेँ ।

मान्छेको ‘लभ’ पशुपंक्षीको ‘लभ’ सँग मिल्न आँटेको थियो –उनले जवाफ दिए ।

जंगल मासेका मुद्दा, नियुक्ति, ठेक्कापट्टा अलि धेरै कुरा खाप्चे परेको उनले बताए ।

गैरकांग्रेसीले भनेको भए यी कुरालाई म ‘कपोलकल्पित, झुठा, निराधार, भ्रामक, दूराशयपूर्ण, बदनियतयुक्त, कुत्सित मनसायले गरिएको दुष्प्रचार’ भन्ने थिएँ । तर धेरैजना इमानदार कांग्रेसले भनेपछि के भन्ने ?

यसको जवाफ खोज्न थालिनँ म पाल्पामा । बरु पञ्चायतकालमा त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तहमा पढाइ हुने नेपाल परिचय भन्ने पुस्तक खोज्न थालेँ । यो पुस्तक मैले निकै समयदेखि निकै ठाउँमा खोजिसकेको थिएँ । पाल्पाका किरण कौशलले आश जगाएपछि मैले मलाई चाहिएको अंशको शीर्षक बताएँ– दलीय व्यवस्था असफल हुनाका कारणहरू ।
किरणले त्यस किताबका केही पेज फोटोकपी गरेर ल्याइदिए । त्यसमा नेपालमा दलीय व्यवस्था असफल हुनाका कारणहरू उल्लेख गरिएको थियो :

१. नेतृत्वको खाँचो: ‘दलहरूको आपसी भेदभाव, गुटहरूभित्र नै फुट,’ एउटै पार्टीका मातृका र विश्वेश्वरमा मनोमालिन्य हुनु, पार्टी टुक्रनु,’ दलको सीमित स्वार्थमा लागेर कुनै व्यक्तिले स्वतन्त्र वा राष्ट्रिय विचार त्याग्नु परेको थियो । दलको निर्देशनअनुसार विचार व्यक्त गर्ने र निर्णय लिने गरिन्थे । स्वतन्त्र विचारको गुञ्जाइस थिएन । ‘देशको स्वार्थ होइन व्यक्ति र पार्टीको स्वार्थ नै सर्वाेपरी भएको थियो ।
२. दलगत स्वार्थ: दलहरू आ–आफ्नो अस्तित्व र समृद्धिका लागि राष्ट्रिय स्वार्थ त्यागी जुनकुनै कार्य गर्न तत्पर रहन्थे । बाहिरी प्रभावबाट देशलाई विभाजित गर्ने स्थिति आएको थियो ।
३. विकासमन्दी :’दलगत स्वार्थमा नै जनशक्ति अलमलिएकाले देशको चौतर्फी विकास निर्वाध रूपले गतिशील हुन सकेको थिएन । ‘असहयोग, अवसरवादिताले प्रश्रय पाई विकास गति मन्द बनेको थियो ।

यी र अरू केही बुँदाहरूको अन्त्यमा भनिएको थियो– र, संसदीय व्यवस्थाको अन्त्य भयो ।

पञ्चायतकालमा यी कुरा जुनसुकै विषयका विद्यार्थीले पनि पढ्नुपर्थ्यो । यी कुरा पढ्दा हामी पञ्चायतले फैलाएको ‘कपोलकल्पित, झुटा, निराधार, भ्रामक, दूराशयपूर्ण, बदनियत र कुत्सित मनसाययुक्त दुष्प्रचार’ भन्ने गर्थ्यौँ ।

अहिले प्राय: सबै पार्टीका इमानदार कार्यकर्तालाई सोध्यो भने उनीहरू माथिका दुईवटा शब्दबाहेक अरू कुरासँग सहमत हुन्छन् । असहमत हुने दुईवटा शब्द हुन– मातृका र विश्वेश्वर । यिनका ठाउँमा पार्टीअनुसार कार्यकर्ताले फरकफरक शब्द राख्लान् । प्रचण्ड र वैद्य, सुशील र शेरबहादुर, झलनाथ र माधव, उपेन्द्र र विजय, विजय र जेपी आदि आदि ।

पाल्पामा बन्द भएका दिन माथिका कुरा लेखिएका नेपाल परिचयका दुई पेज अलि ठूला अक्षरमा फोटोकपी गरेर बजारमा टाँसिदिन मन लागेको थियो । तर, प्रतिगामी भनेर पिट्लान भनेर त्यसो गरिनँ ।

पाल्पा त निहुँ मात्र हो । यस मामलामा नेपालका झापा, रोल्पा, डोल्पालगायतका पचहत्तरै जिल्ला पाल्पा हुन् । प्राय: सबै जिल्लामा लोकतन्त्र असफल हुनाका कारण शीर्षक दिएर राजनीतिक दलहरूले माथिका कुरा मानिसका दिलमा लेख्दै छन् । भोलि कुनै निरकुंशलाई नेपाल परिचय पुस्तकको लोकतन्त्र असफल हुनाका कारण लेख्न सजिलो होस् भनेर ।

काठमाडौं यस मामलामा झन् अगाडि छ । हामी कति अगाडि छौँ भन्ने कुराको एउटा उदाहरण जाँड र गाडी चालकको घटनाले देखाएको छ । प्रहरीले जाँड खाएर गाडी चलाउन नदिँदा हामी पत्रकारलाई पनि रिस उठ्यो । त्यसैले हामीमध्ये धेरैले लेख्यौँ– प्रहरीको ज्यादतीले देशको अर्थतन्त्र टाट उल्टन आँट्यो, कसैको व्यवसाय सुक्यो । जँड्याहालाई गाडी चलाउन नदिँदा धर्मराउने अर्थतन्त्र र व्यवसायको मायाले सताउँछ ।

यस्तो उल्टो हिँडाइले कहाँ पुर्‍याउँछ भन्ने कुरा पाल्पामा रहेका दुईजना प्रेस स्वतन्त्रता सेनानीले मलाई बताइदिए । प्रेस स्वतन्त्रता सेनानी कर्णबहादुर कार्कीले प्रभास ताल घुमाउन लगे । बुटवलबाट जाँदा तानसेन पुग्ने उकालो लाग्ने ठाउँमा अर्थात् डाँडाको पुच्छारमा रहेको यो प्राकृतिक तालमा माटो हालेर पुर्ने काम धमाधम भइरहेको थियो । अर्कादिन अर्का प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले श्रीनगरको डाँडामा लगे र अर्का ताल देखाए । कबाज मैदान मासेर खनेको त्यस तालमा एक थोपा पनि पानी थिएन । अघिल्ला दिनमा लगातार परेको पानीले गर्दा अलि गहिरा ठाउँमा एकाध चिसा टाटा मात्र थिए ।
प्रवास तालको सेरोफेरो

यी दुईवटा तालमा उनीहरूले मलाई भएका बहुमूल्य कुरा मासेर नहुने चिज बनाउने अहिलेको नेपाली समाजको अनुहार देखाइदिए ।

२०६९ वैशाख १८ गते सौर्य दैनिकमा प्रकाशित
mohanmainali.blog.com बाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: