दीपक अर्याल

सामान्यत: शिक्षकले सबै कुरा जानेको हुनाले पढाउने गर्छन् भन्नेा सोचिन्छ तर वास्तविकता भने त्यस्तो होइन। शिक्षकले विद्यार्थीलाई धेरै सिकाउन वा नयाँ नयाँ कुरा सिकाउनका लागि पनि पढ्नै पर्ने हुन्छ। तर, हामीले भने पढ्ने काम विद्यार्थीको मात्र हो भन्ठान्छौं। यसैको परिणामस्वरूप विद्यालय वा कलेजका कतिपय शिक्षकहरूलाई आफूले पढाउने खास एउटा किताबको प्रत्येक पृष्ठमा के लेखिएको छ वा कुन प्रश्न छ र त्यसको उत्तर के हो भन्ने कण्ठस्थ छ। उनीहरूले त्यही कुरा कैयौं वर्षदेखि पढाइरहेका हुन्छन् त्यसैले त्यो हुनु स्वाभाविक पनि हो तर त्यसबाहेकको पनि संसार छ भन्ने कुरालाई भने हामीले बिर्सिदिन्छौं।

विद्यार्थी वा अभिभावकहरूलाई पनि शिक्षकहरूले सबै कुरा जानेका हुन्छन् भन्ने भ्रम रहेको छ। शिक्षकले अनुभवका आधारमा तथा धेरै कुराहरू पढेको आधारमा बाटो देखाउने मात्र बाटो तय गर्ने काम विद्यार्थीकै हो। कतिपय विद्यार्थीले शिक्षकले देखाएको बाटोबाट हिड्दै जाँदा शिक्षक भन्दा ज्ञान वा अन्य हिसाबले अगाडि पुग्छन्। यो नै शिक्षकको सफलता हो। भनिन्छ शिक्षक त नदी किनारामा डुङ्गा लिएर बस्ने माझी हो, उसले यात्रुहरूलाई वारिपारि तारिदिन्छ तर ऊ भने सधै त्यहीं अवस्थामा त्यहीँ ठाउँमा रहन्छ।

समस्या भने शिक्षकहरूले प्रयोग गर्ने डुङ्गामा देखिन थालेको छ। शिक्षकहरूले आफूले प्रयोग गर्ने डुङ्गामा परिवर्तन ल्याउन नसकेमा विद्यार्थी र शिक्षकका बीचमा दूरी बढ्दै जान्छ। प्रविधिको बढ्दो विकासक्रमले विद्यार्थीहरूलाई शिक्षकले नसिकाए पनि वा जानकारी नदिए पनि धेरै कुराको जानकारी हुन सक्ने र उनीहरूले बुझ्न सक्ने बनाएको छ। यस्तो अवस्थामा उसले आफू हिड्ने डुङ्गा र संसार हिड्ने पानी जहाज वा हवाईजहाजको तुलना गर्न सक्छ। उसले शिक्षकलाई अरू ठाउँमा यस्तो छ हाम्रोमा किन यस्तो भएन भनेर प्रश्न गर्न पनि सक्छ। यो प्रश्नलाई शिक्षकले सहज ठान्नु नै पर्छ र यस्ता परिवर्तनलाई शिक्षकहरूले आत्मसाथ गर्नैपर्छ। यस्तै नयाँ-नयाँ प्रश्नहरूको उत्तर शिक्षकहरूसँग हुनै पर्छ र त्यसका लागि शिक्षकले पढ्नै पर्छ।

पछिल्लो समयमा घर-घरमा पुगेको इन्टरनेट तथा केबल टिभको पहुँचले कैयौं कुरामा विद्यार्थीलाई शिक्षक भन्दा जान्ने बनाएको छ। उनीहरूले शिक्षकका ‘पुराना गफ’ वा पुराना किताबमा आधारित जानकारीलाई पत्याउन छाडिसकेका छन्। यस्तो जटिल परिस्थितिसँग कसरी जुध्ने भन्नेा विषयमा शिक्षकहरूले छिटो भन्दा छिटो सोच्न जरूरी भइसकेको छ। उदाहरणका लागि विज्ञान पढाउने शिक्षकले पढाउने पाठ्यपुस्तकले दिने जानकारी भन्दा धेरै जानकारीहरू विद्यार्थीहरूले इन्टरनेट वा टिभीका माध्यमद्वारा सिक्न सक्ने अवस्था आइसकेको तर्फ शिक्षक सचेत हुन जरूरी छ।

हाल कार्यरत शिक्षकहरूले पहिलोपल्ट मोबाइल चलाउँदा जुन किसिमको धक थियो त्यो हालका बालबालिकामा हुने कुरा भएन किनभने शिक्षकहरूले आफ्नो पछिल्लो कालखण्डमा मात्र त्यस्तो प्रविधिको प्रयोग गर्दै थिए भने बालबालिकाहरूले यस्तो प्रविधि जन्मनासाथ देखेका थिए। त्यसैले शिक्षकहरूको सोचाइ, मान्यता र अनुभव तथा विद्यार्थीहरूको सोचाइ, मान्यता र अनुभवमा आकाश जमिनको फरक परिसकेको छ। यो फरकलाई कसरी व्यवस्थित गर्ने भन्नेथ विषय नै अहिले शिक्षकहरूका लागि सबैभन्दा ठूलो चुनौती हो।

विद्यार्थीहरूसँग यति धेरै प्रश्न तथा जिज्ञासाहरू छन् कि उनीहरूले त्यसको उत्तर खोजिरहेका छन्। उनीहरूका प्रश्नका उत्तर कसले दिने? अभिभावकले, शिक्षकले वा कम्प्युटर र टिभि जस्ता प्रविधिले। यदि शिक्षक र अभिभावकले उनीहरूको जिज्ञासालाई शान्त पार्न नसक्ने हो भने उनीहरू स्वत: प्रविधिको शरणमा पर्नुपर्ने हुन्छ। यसो हुनु भनेको एउटा पुस्ता र अर्को पुस्ताको सम्बन्धमा दरार उत्पन्न हुनु हो। यसरी बिग्रदै जाने सम्बन्धले समाजलाई तुरून्तै हानी गरेको नदेखिएपनि भविष्यमा त्यसको प्रभाव देखिन थाल्नेछ। शिक्षक र अभिभावकबाट टाढा हुँदै गएका विद्यार्थीलाई शिक्षक वा अभिभावकका कुराहरूले छुन छाड्नेछ। उनीहरूसँगको भावनात्मक सम्बन्धमा असर पर्नेछ र पुस्ताहरूका बीच दूरी बढ्दै जानेछ।

बेलैमा यसरी बढ्ने दूरीका विषयमा ध्यान दिन सकिएन भने समाजको एउटा पुस्ता एकलकाँटे बन्दै जानेछ। उनीहरूलाई देशको समग्र सामाजिक, राजनीतिक वा सांस्कृतिक विषयप्रति मतलब हुनेछैन। यस्ता दुरगामी महत्त्वका विषयहरूमा सोच्ने काम भने शिक्षकको नै हो। यस्ता प्रवृत्तिहरूतर्फ सचेत हुँदै विद्यार्थीहरूलाई आफ्नो पहुँचबाट टाढा हुन नदिन शिक्षहरूले वर्तमान सन्दर्भमा भइरहेको विकासक्रमलाई आत्मसाथ गर्नै पर्छ। यस्ता विकासक्रमका विषयमा जान्नै पर्छ र ती पढ्नै पर्छ। शिक्षकले पढ्ने हो भने धेरै कुराको समाधान निस्कन सक्छ।

(गुरूकुल मासिकका लागि तयार गरिएको लेख)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: