– दीपक अर्याल

पञ्चायतकालीन शिक्षा नीति अनुसार केही वर्ष पहिलेसम्म नेपालको पूर्व-पश्चिम, उत्तर-दक्षिणतिरका सरकारी स्कुलहरूमा नेपाल सरकारले लागू गरेको पाठ्यपुस्तकमा आधारित शिक्षा दिने गरिन्थ्यो। विस्तारै त्यसभित्र मिशनरी स्कुल तथा २०४६ पछि नीजि स्कुलहरूको वर्चश्व बढ्दै गयो र विद्यार्थीहरूले पढ्ने पाठ्य पुस्तकहरूमा पनि भिन्नता आउँदै गयो र शिक्षा वा ज्ञान पाउने स्रोत, माध्यम र परिवेशमा फराकिलो अन्तर हुँदै गयो। त्यसो त पञ्चायती शैक्षिक नीति तथा पद्धतिले एउटै भाषा नेपालीका माध्यमद्वारा राजनीतिक, सांस्कृतिक वर्चश्व कायम गर्यो र खास क्षेत्र तथा जात-जातिका मान्छेहरूलाई मात्र फाइदा पुर्यायो भन्नेा कुरामा शंका गर्न मिल्दैन। तथापि पछिल्लो चरणको फरक-फरक शैक्षिक क्यालेण्डर, पाठ्यपुस्तक, पढाउने तथा पढ्ने वातावरण तथा सोसँगै भित्रिएको आधुनिक प्रविधिले विद्यार्थी तथा शिक्षकहरूका माझ ठूलो खाडल बढाएको छ र त्यसको प्रत्यक्ष प्रमाणहरू समाजमा देखिन थालेका छन्।

उदाहरणका लागि विज्ञान पढाउने शिक्षकले गुगल, विकिपिडिया, इनकाटा वा अन्य डिजिटल माध्यमद्वारा लिन सक्ने ज्ञानको दायरा हिजो उसले पढेका पुस्तकहरूको भन्दा माथि पुगेको छ। उसले यूट्युबबाट भिडियो डाउनलोड गरेर होस् वा पावर पइन्ट प्रिजेन्टेशनबाट अथवा अडियो-भिडियोका माध्यमद्वारा विज्ञानका सबै कुराहरू आफ्ना विद्यार्थीहरूलाई देखाउन सक्ने भएको छ। ठीक यसै गरी पढाईप्रति उत्सुक विद्यार्थीले कम्युटरमा बसेर यी सबै कुराहरू आफ्ना शिक्षकले भन्दा पहिले पढ्ने वा बुझ्ने सम्भावना रहेको छ। आफ्ना पुस्तकालयमा नभएका, आफ्ना शिक्षकहरूले नजानेका वा नदेखेका हजारौं हजार ज्ञानका भण्डाहरू इन्टरनेटका माध्यमद्वारा विद्यार्थीले पाउने सम्भावना छ, बस, उसले यसको उपयोग, प्रयोग गर्न जान्नु पर्यो।

अब समस्या कहाँ हुन्छ भने- यस्ता सामग्रीहरू कसले खोज्न सक्छ? कसले पढ्न सक्छ? वा कसले बुझ्न सक्छ? मैले उठाउन खोजेको कुरा के भने यस्ता आधुनिक प्रविधिले हामीलाई ज्ञानको अथाह भण्डार दिए पनि त्यसको प्रयोग कसले गर्ने र कसरी गर्ने भन्ने कुरा प्राविधिको चासोको कुरा होइन। उसको काम दिने भए पनि कसैले लिन सक्छन् र कसैले सक्दैनन्। प्रविधि मार्फत् संसारभर छरिएका यस्ता ज्ञानका भण्डारहरूको उपयोग कसैले गर्न सक्छ वा सक्दैन भन्नेस कुराको निर्धारण उसको शैक्षिक वातावरणले मात्र होइन, उसको घरको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थाले गरिदिन्छ। ऊ बसेको समाज, उसले पढेको विद्यालयको अवस्थाले पनि यस्ता सामग्रीहरूप्रतिको पहुँर र प्रयोगमा ठूलो भूमिका खेलिदिन्छ।

यस्ता सामग्रीहरू पढ्ने वा त्यस्ता सामग्रीहरूको वारेमा जान्ने इच्छा हुँदा हुँदै पनि म सँग विजुली, कम्युटर, इन्टरनेट र यी चलाउन जान्नेन ज्ञानको जरूरत पर्छ। यसबाहेक मैले खोज्न चाहेको कुरा वा मैले कम्युटरलाई सोध्न चाहेको कुरा कुन भाषामा सोध्ने? मैले मेरो प्रश्न मगर, तामाङ, गुरूङ, मैथिली वा अवधी भाषामा मात्र होइन नेपाली भाषामै सोधे भने पनि कम्युटरले त्यसको उत्तर दिन सक्दैन किनभने हाम्रा भाषामा यस्ता पढ्ने सामग्रीहरू कम्युटर वा इन्टरनेटभित्र राखिएका छैनन् अर्थात् मैले चाहेको कुरा खोज्न वा जान्नका लागि पनि अंग्रेजी भाषाको प्रयोग मैले गर्नैपर्छ।

अब मैले अंग्रेजी जानेको छु भने मैले अंग्रेजी नजान्ने ले भन्दा धेरै सूचना पाउने भएँ, उसले भन्दा धेरै पढ्न सक्नेा भएँ। यहाँ आर्थिक अवस्था राम्रो हुने अर्थात् घरमा वा स्कुलमा कम्युटर, इन्टरनेट हुने र नहुनेका माझ उनीहरूले पाउने ज्ञानको मात्रमा फरक पर्ने नै भयो। यहाँ कुन भाषाको ज्ञान आफुसँग छ त्यसका हिसाबले पनि थप ज्ञान पाउने कि नपाउने भन्नेम कुराको निर्धारण हुने भयो। एउटा समूहले स्कुलका किताब, शिक्षककले पढाएको कुरा बाहेक आफुलाई चाहिने सामग्रीहरू इन्टरनेटबाट हेर्न सक्ने भए भने अर्को समूह भने स्कुल सकिंदासम्म पनि पुस्तक नआएर वा शिक्षले भट्याएको उहीँ बासी र सडेगलेका कुरा सुनेर परीक्षा दिनका लागि तयार हुनुपर्ने भयो। यसरी हेर्दा प्रविधिको आगमनले सबैलाई सजिलो बनाउँछ र यसको प्रयोगले नयाँ नयाँ जानकारी दिन्छ तथा ज्ञानका लागि बाटो पनि खोलिदिन्छ भन्ने मान्यता राखिए पनि यसको ठीक विपरित नेपाल जस्तो मुलुकमा भने यसले एउटा समूहलाई अत्यधिक फाइदा लिन सक्ने समूहका रूपमा परिणत गर्छ भने अर्कोलाई पुरानै अवस्थामा छाडिदिन्छ।

यसरी प्रविधिको कारणले निर्माण हुने दुई समूह बीचको खाडललाई हामीले ‘डिजिटल डिभाइड’का रूपमा व्याख्या गर्ने गर्छौं। यस बाहेक अर्को समस्या/समाधान भने राजनीतिक पनि देखिन्छ। हिजो पञ्चायतकालमा एउटै भाषा, एउटै पुस्तक पढाएर वा लागू गरेर देशका सम्पूर्ण जात-जातिलाई एउटै टोकरीमा हालेको तथा नेपाली भाषा वाहेक अन्य भाषाको अस्तित्वलाई समाप्त पारेको आरोप लागे पनि वा त्यस शैक्षिक नीतिको विरोध गरेर आफ्नै मातृभाषामा पढाई लेखाई हुनुपर्ने जायज माग भए पनि प्रविधिको हकमा भने त्यसो गर्न गाह्रो छ। प्रविधि धेरैजसो व्यवसायसँग सम्बन्धित हुन्छ र यसले नाफा नहुने ठाउँमा जान मान्दैन। अर्थात्, यसले सरकारले जस्तो खास जात, धर्म, क्षेत्र वा भाषाका लागि खास काम गर्नुपर्छ भन्नेन मान्यता राख्दैन। यसले त नाफा कहाँबाट हुन्छ भन्नेज खोज्छ त्यस अर्थमा नेपालमा अहिले पनि सबैभन्दा प्रचलनमा रहेको नेपाली भाषालाई नै आधार मानेर प्रविधिहरूको निर्माण हुने सम्भावना जहिले पनि रहन्छ जसरी संसारभर अंग्रजी भाषाको प्रयोग गरेर प्रविधिहरूको निर्माण हुन्छ।

यसरी नीजि स्तरबाट हुने प्रविधिको विकास र त्यसले सांस्कृतिक, भाषिक, सामाजिक वा धार्मिक क्षेत्रमा पार्ने असरका विषयमा भने सरकारको विरोध गरे जस्तै विरोध गर्न सम्भव छैन। अर्थात् सरकारको विरोध गर्न सजिलो होला तर नीजि क्षेत्रबाट आउने प्रविधिको विरोध गर्न पनि मिल्दैन र प्रविधि त्यागेर आफ्नै भाषामा मात्र काम गर्छु, लेख्छु वा पढ्छु भन्नध पनि त्यति सम्भव छैन। अर्थात् पञ्चायतले आफ्नो शैक्षिक नीति अनुसार नै सरकारी स्तरबाट नेपाली भाषाको वर्चश्व स्थापित गर्यो भने प्रविधिले सुस्त-सुस्त, थाहै नदिई र कसैको विरोध नहुने गरी एउटा खास भाषा अंग्रेजीको वर्चश्व कायम गरिरहेको छ र गर्नेछ। अब सबै भाषा विर्सिएर अंग्रेजी भाषा सिक्नुहपर्छ वा यसैमा पढाई हुनुपर्छ भनेर सिधै भन्यो भने त विरोध आउला तर सुस्त-सुस्त सबै शिक्षक वा विद्यार्थीहरूले अंग्रेजी भाषा नसिकी उसले चाहे जस्तो शैक्षिक सामग्रीहरू खोज्न, पढ्न सकिंदैन भन्नेस महशुस गर्यो भने त त्यहाँ एउटा भाषाको वर्चश्व लाद्नसका लागि राज्य, प्रशासन, सेना वा शैक्षिक नीतिको जरूरत नै पर्दैन। सबै विस्तारै एउटै भाषा र एकै दिशातर्फ जानेछन्।

(गुरूकुल मासिकका लागि तयार पारिएको)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: