– दीपक अर्याल

निजि र सामुदायिक तथा सरकारी विद्यालयका सकारात्मक तथा नकारात्मक पाटाका विषयमा निकै चर्चा हुने गर्छ। अझ, खासगरी एसएलसीको रिजल्ट आउने वेलामा वा आएपछि त यसका वारेमा गरिएका टिप्पणीहरूले पत्रपत्रिकाका पानाहरू भरिन्छन्। सरकारले सरकारी विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल नआएको, विद्यार्थीहरू बढी फेल हुने गरेको, शिक्षकहरूले बढि राजनीति गरेको वा शिक्षकको क्षमता नभएको मात्र होइन देशको शैक्षिक प्रगतिको आधार नै निजि विद्यालय भएको र यसले मात्र राम्रो नतिजा दिन सकेको तर्क पनि यो समयमा दिइन्छ। खासगरी निजि विद्यालयका वकालत गर्नेहरूले एसएलसीमा सरकारी र निजि विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीहरूको संख्यालाई आधार मानेर निजि विद्यालय सरकारी भन्दा कैयौं गुणा उत्कृष्ट भएको तर्क गर्छन्। यही तर्क प्लस टु वा सो भन्दा माथिका शैक्षिक संस्थाहरूमा पनि लागू हुन्छ। के दुई फरक धारका विद्यालयहरूको शैक्षिक स्तरको तुलना गर्दा “रिजल्ट” मात्र एक आधार हुन सक्छ? के कति प्रतिशत विद्यार्थी कुन श्रेणीमा पास भए भन्ने आधारले मात्र शैक्षिक स्तरको तुलना गर्न सम्भव छ? के यसरी आउने रिजल्ट विग्रनु वा बन्नु का पछाडि ती विद्यार्थी र ती विद्यार्थीका अभिभावकहरूको सामाजिक, आर्थिक वा सांस्कृतिक सहजता वा वाध्यताले पनि ठूलो भूमिका खेल्छ र त्यसले रिजल्टलाई राम्रो वा नराम्रो बनाउन सक्छ भन्ने कुरामा विचार गर्न हुँदैन?

निजि विद्यालयको आवश्यकता छैन वा सरकारी स्कुल राम्रो छ भन्नेो धेय मेरो होइन। यी दुवैका आ-आफ्नै आवश्यकता र महत्त्व छन् र यी दुवैले आफ्नो क्षेत्रबाट शैक्षिक क्षेत्रमा योगदान पुर्याइरहेका छन् तर जुन तरिकाले सरकारी विद्यालयको वदनाम गरिन्छ र निजि विद्यालयको प्रशंसा गर्दै शैक्षिक व्यापारलाई प्रोत्साहन गरिन्छ त्यसका सन्दर्भमा केही कुराहरू उल्लेख गर्न आवश्यक देखिन्छ।

एसएलसीको रिजल्टलाई हेर्दा सरकारी विद्यालयहरू किन कमजोर देखिए? के त्यहाँ राजनीति मात्र घुसेको हो? के त्यहाँ शिक्षकहरूले नपढाएको, ठगेको वा नजानेको मात्र हो? के त्यहाँ भौतिक सुविधा नभएर त्यस्तो भएको हो? के राजनीति नहुने, शिक्षकहरू दक्ष हुने तथा वा अन्य भौतिक सुविधा हुने हुनाले निजि विद्यालयहरूको नतिजा उत्कृष्ट आउने गरेको हो?

सामान्यत: यसको उत्तर “हो” मा आउँछ। अझ निजि विद्यालयका वकालत गर्ने वा यसबाट पैसा कमाइरहेकाहरूले त “सरकारले हामीलाई केही दिएको छैन, तर रिजल्ट भने हामीले राम्रो दिइरहेका हुन्छौं जबकि सरकारी विद्यालयलाई पैसा दिन्छ र सरकारी कृपा हुँदा-हुँदै पनि परिणाम राम्रो छैन” भन्ने तर्क गर्छन्।

यसमा शैक्षिक वातावरण वा शैक्षिक प्रगतिका समाजशास्त्रीय चिन्तन र अनुसन्धानहरूको व्याख्याको अभाव छ त्यसैले उनीहरूका यस्ता सामान्य तर्कलाई धेरैले पत्याइदिन्छन्। जसले बुझेको छ उनीहरू बोल्दैनन् जसले बुझेको छैन उनीहरूका लागि निजि विद्यालयले एसएलसीमा ल्याउने नतिजा नै बजार विज्ञापन र वास्तविकता पनि हो।

यदि निजि विद्यालय सबै हिसाबले राम्रो हो भने र सरकारी विद्यालय सबै हिसाबले खराब हो (संस्था वा केन्द्रका रूपमा) भने हाल सरकारी विद्यालयमा पढिरहेका विद्यार्थी र निजि विद्यालयमा पढेका विद्यार्थीहरू एक-आपसमा साटिने हुन् भने हाल राम्रो भनिएका निजि विद्यालयको रिजल्ट हालको सरकारीको जस्तो र हाल खराब भनिएका सरकारी विद्यालको रिजल्ट हाल राम्रो भनिएका निजिको जस्तो हुन सम्भव छ। त्यही संस्था, त्यही विद्यालयको भौतिक सुविधा र त्यही शिक्षकहरूको योग्यता भएपनि अभिभावकसहितका विद्यार्थी साटिने हुने भने परिणाम पनि त्यसैगरी अहिलेको उल्टो आउँछ। के हालका अभिभावक र विद्यार्थीहरू एक आपसमा साटिए भने निजिको रिजल्ट विग्रने र सरकारीको रिजल्ट बन्ने सम्भावना हुन्छ? प्रश्न उठ्नु स्वाभाविक नै हो तर मेरो तर्क के हो भने अहिले भनिएका राम्रा रिजल्ट वा खराव रिजल्टका पछाडिका कारण शिक्षक, भौतिक पुर्वाधार, राजनीतिकरण आदि मात्र होइनन्। रिजल्ट विग्रनु वा बन्नुपका पछाडिको सबैभन्दा ठूलो कारणहरू मध्येको एक अभिभावकको भूमिका हो। अभिभावकको उपस्थिति, प्रेरणा सहयोग वा अभिभावकले दिने वातावरण र अभिभावकको चाहना अनुसार विद्यार्थीले पढ्ने/नपढ्ने, वा पढाईलाई गम्भिरतासाथ लिने नलिने हुन सक्छ। त्यसबाहेक अभिभावकले गर्ने काम, समाजमा अभिभावको भूमिका र अवस्था, तथा अभिभावक र विद्यार्थीवीचको सम्बन्धले पनि विद्यार्थीहरूले शैक्षिक योग्यता हासिल गर्ने वा नगर्ने भन्ने कुरालाई प्रभाव पारिरहेको हुन्छ। पढाइ मात्र होइन, पढाइ पछि गाँसिने अवसरहरू पनि अभिभावककै कारणले सृजित हुने वा नहुने हुन सक्दछन्। त्यसैले विद्यार्थीहरूका माझ आउने “पढेर के हुन्छ?, मेरा मान्छे छैनन्, हामीले त आखिर बाउ-बाजेकै पेशा अपनाउने हो” भावनाहरू समाजकै प्रतिविम्बहरू हुन्।
विद्यार्थी साटिए पनि विद्यार्थीसँगै उसको अभिभावको सामाजिक, आर्थिक वा सांस्कृतिक सम्बन्धहरू भने सँगै रहन्छन्। त्यसैले हाल निजि विद्यालयमा पढाउने अभिभावका विद्यार्थीहरू सरकारी स्कुलमा नै पढे भने पनि उनीहरूलाई अभिभावकले ,पढ्नुपर्छ भनेर प्रेरणा दिने मात्र होइन उनीहरूका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने, समय उपलब्ध गराउने, पढ्नका लागि प्रेरित गर्ने र अन्य काम गर्नु नपर्ने वातावरणको सृजना गरिदिन सक्छन् तर यसको ठीक विपरित अहिले सरकारी विद्यालयमा पढेका विद्यार्थीहरू निजि विद्यालयमै पढे पनि उनीहरूका बाबु-आमाले गर्ने काम, भारी बोक्ने, घाँस-दाउरा काट्ने, मेला-पात गर्ने, गाई भैंसी पाल्ने जस्ता दैनिक जीवनका कामहरू गर्नुनै पर्ने हुन्छ। यसका अतिरिक्त उनीहरूका अभिभावकलस विद्यार्थीलाई पढ्नका लागि प्रेरित कम गर्ने वा कामका लागि बढि प्रेरित गर्ने, शैक्षिक सामग्रीहरूको उपलब्धता गराउन नसक्ने पनि हुन्छन्। अर्थात् विद्यार्थी र उसका अभिभावकसँग हुने सामाजिक (Social Capital), सांस्कृतिक (Cultural Capital), आर्थिक वा शैक्षिक पूंजीले पनि शैक्षिक ज्ञान हासिल गर्ने वा नगर्ने भन्नेC कुरामा महत्त्वपूर्ण भूमिका खेल्छ। जसले गर्दा जति नै सम्पन्न स्कुलमा पढे पनि वा जति नै राम्रो शिक्षकले पढाए पनि एउटा समूहको विद्यार्थी अर्कोलाई समूहको विद्यार्थीले जस्तै सजिलोसँग पढ्न सक्दैन। उसले गर्नुपर्ने दैनिक काम घाँस काट्ने, पानी ल्याउने, मेलापात गर्ने वा दाउरा काट्ने र अन्य सामाजिक कार्यक्रममा हिंड्ने गर्नुनै पर्छ। यसबाट समय भएपछि, फुर्सद निकालेर उसले पढ्नु पर्छ। पढ्नका लागि उसका उसका आमाबाबुले उत्प्रेरित गर्न कम सक्छन् किनभने यो समूहका विद्यार्थीहरूका आमाबाबुहरूको पढाइ, जागिर, समाजमा मान-सम्मान वा प्रतिष्ठा कम हुन्छ। उनीहरूका लागि दैनिक जीवन चलाउने कुराले प्राथमिकता पाउँछ। उनीहरूसँग अर्को समूहले जस्तो छोरा-छोरी पढाउने, ठूलो मान्छे बनाउने, डाक्टर-इन्जिनियर बनाउने वा विदेश पठाउने र यस्तो गर्ने भन्नेर कुनै योजना हुँदैन र त्यो अनुसार प्रेरित गर्न सक्दैनन्। तर एउटा समूह भने आफ्ना छोरा-छोरीका लागि आवश्यक पर्ने सबै खालका शैक्षिक सामग्रीहरूको व्यवस्थापन गरिदिन, सो अनुसारको समय दिन, सो अनुसार प्रेरित गर्न सक्छन् र उनीहरू आफू पनि पढेलेखेको तथा समाजमा केही न केही सामाजिक, सांस्कृतिक पूंजी रहेका व्यक्ति हुन्छन्। त्यसैले उनीहरूका छोरा-छोरीले राम्रो पढ्नु वा रिजल्ट ल्याउनु त्यति ठूलो कुरा होइन जबकि यस्ता सामाजिक वा सांस्कृतिक पूंजी नभएका वा आर्थिक रूपले सम्पन्न नभएका अभिभावकहरूका विद्यार्थीहरूले भने यो अवसर पाउँदैनन्।

समाजशास्त्री पियर बर्डु (Pierre Bourdieu) ले “द स्टेट नोबिलिटि : इलिट स्कुलस् इन त फिल्ड अफ पावर” (The State Nobility Elite Schools in the field of Power)मा किन र कसरी मध्यम वर्गीय परिवारका विद्यार्थीले निम्न वर्गीय परिवारका विद्यार्थीले भन्दा राम्रो पढ्छन् र राम्रो अवसर पाउँछन् भन्ने कुराको व्याख्या गरेका छन्। त्यसैले विद्यार्थीले राम्रो पढ्नु वा नपढ्नु, राम्रो रिजल्ट ल्याउनु वा नल्याउनुमा केही अपवाद वाहेक विद्यार्थी, शिक्षक र स्कुलभन्दा पनि घरको वातावरण र शिक्षाप्रति घरको धारणा र घरका मान्छेले दिने उत्प्रेरणा, समय तथा सहयोगले बढी काम गर्छ।

(गुरुकुल मासिकका लागि तयार पारिएको तथा प्रकाशित)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: