– दीपक अर्याल

ज्ञान के हो वा यसको श्रोत के हो? के ज्ञानका लागि स्कुल, कलेज वा विश्वविद्यालयका शिक्षा अपरिहार्य छन् वा ती नै पूर्ण छन्? सामान्यत: वर्तमान शिक्षा प्रणालीले हामीलाई त्यहीँ सिकाउँछ। हो, पढ्न, लेख्नन आवश्यक छ तर वर्तमान शैक्षिक योग्यता मात्र ज्ञानको श्रोत हो कि होइन? त्यसमा भने विवाद गर्ने प्रशस्त ठाउँ छ। शायद हामीलाई मानसिक रूपमा वर्तमान शिक्षा प्रणाली वा यसबाट प्रात भएको शैक्षिक योग्यता नै ज्ञानको एक मात्र श्रोत हो भन्ने भ्रम पाल्न सिकाइएको छ। शिक्षा आफैमा ज्ञानको श्रोत हो तर त्यसको दायरा भने स्कुल, कलेज वा विश्वविद्यालयमा मात्र सिमीत छैन।

दुई वर्ष अगाडि जुम्ला घुम्न गएको बेला आकाशको बादल हेरेर एउटा बालिकाले “आज हिउँ पर्ला जस्तो छ” भन्दा मलाई अचम्म लागेको थियो। हुन पनि उनले भने अनुसार नै त्यो रात हिउँ पर्यो। मलाई अर्को दिन उनले कस्तो खालको बादललाई हेरेर त्यो भविष्यवाणी गरेकी थिइन् भन्ने प्रश्नले दु:ख दिइरह्यो। यो त सानो प्रतिनिधी उदाहरण मात्र हो। मैले पढेर जानेका भन्दा मेरा बाबु-आमाले नपढेर थुप्रै कुराहरू जान्नुदभएको छ। म सँगै गाउँको स्कुलमा पढेका मेरा साथीहरू ढाकरमा पानी बोकेर वा नाम्लोले घाँस बोकेर उकाली ओराली गर्थे। पानी परिरहेको बेला पुरै चिफ्लिने बाटोमा त्यति ठुला ठुला भारीसँग उनीहरू समथर वा पीच गरेको बाटोमा हिडेजस्तै हिड्दथे। समयले कोल्टो फेरेर जब म शहरिया भई केही साथीहरूसँग काठमाडौं वरिपरिको चन्द्रागिरी, शिवपुरी वा फुल्चोकीको डाँडा उक्लन्छु वा ओर्लन्छु मलाई ती साथीहरूको विलक्षण प्रतिभाको स्मरण हुन्छ। बजारका धेरै साथीहरूलाई कुन ठाउँमा टेक्दा चिप्लिन्छ, कुन ठाउँमा टेक्दा चिप्लिन्न वा कसरी हिड्दा कम चिप्लिन्छ भन्ने कुराको ज्ञान हुँदैन। उनीहरूको हिंडाई निकै ढिलो, भद्दा र जोखिमपुर्ण देखिन्छ। हाम्रो स्कुल, कलेज वा विश्वविद्यालयले हिड्न सिकाउँदैन र यस्तो कुरा सिकाउने हो भन्नेप पनि ठान्दैन। शायद, यस्तो ज्ञान कुनै छतमुनि राखेर कुनै शिक्षकले दिन सक्दैन। वर्षौं वर्षदेखि र कैयौं पुस्ताहरू पछि सिकिने यस्तो ज्ञान वा शिक्षा खास समयमा, खास ठाउँमा, कुनै व्यक्ति वा संस्थाले सिकाउन पनि सक्दैन। तर गाउँघरका यस्ता हजारौं सीपहरू भने मानिसहरूले सिकिरहेका हुन्छन्, जानिरहेका हुन्छन्। यस्ता ज्ञान विना उनीहरूको जीवन चल्दैन पनि।

यी दुई फरक परिस्थितिमा सिकिने वा जानिने ज्ञानहरूका माझ हामीले हाम्रो ज्ञानलाई मात्र उत्कृष्ट, उचित वा सम्पूर्ण भन्न सक्दैनौं। ज्ञान वा शिक्षाका आफ्नै श्रोतहरू हुन सक्छन् र आफ्नै परिवेशमा ती उत्कृष्ट र जीवनोपयोगी हुन सक्छन्। संसारमा सबैसँग सबै कुराको शिक्षा वा ज्ञान पक्कै हुँदैन। सबैले सबै कुरा जान्न सम्भव पनि छैन। तर, हाम्रो शिक्षा प्रणालीले स्कुलमा पढेका, किताबमा पढेका, शिक्षकले पढाएका कुरालाई मात्र ‘ज्ञान’ वा ‘शिक्षा’का रूपमा बुझ्न वाध्य पारिदियो। पढेका, स्कुल/कलेज/विश्वविद्यालय गएका र प्रमाणपत्र भएकासँग ज्ञान भएको र अन्यसँग नभएको भनेर परिभाषित गरिदियो। उनीहरूका बीचमा विभेद गरिदियो। अर्थात्, प्रमाणपत्र नभएकाहरूले भनेका कुरा “अज्ञानी”ले भनेका भनेर “ज्ञानी”हरूले नसुन्नेे वातावरणको सृजना गरियो। प्रत्येक मान्छेमा केही न केही प्रतिभा हुन्छ वा ऊ सँग उसको सांस्कृतिक, सामाजिक परिवेशमा आधारित ज्ञान हुन्छ भन्नेो कुरालाई स्वीकार गरिएन।

म विरामी भएको बेला मेरो हजुरबा-हजुरआमाले दिने कैयौं घरेलु औषधीले म अहिले पनि निको हुन्छु। उहाँहरूले खोजेर ल्याएको जडिबुटी, घाँस-पात वा त्यसमा मिसाएका अन्य घरेलु साधनहरूबाट बनाइएका सामग्रीहरूको प्रचलन हालसम्म पनि छ तर हाम्रो शिक्षा प्रणालीले ती सबैलाई एउटै घानमा हालेर परम्परागत, अवैज्ञानिक ठानिदिन्छ र प्रयोगमा बन्देज लगाइदिन्छ। अनि उहाँहरूमा रहेको ज्ञानको भण्डारलाई भित्र-भित्रै मारिदिन्छ। हामीले अवैज्ञानिक ठानेका त्यस्ता साधनहरू कसरी अवैज्ञानिक भए भनेर वैज्ञानिक अनुसन्धान गर्न जरूरी छ वा ती यस कारणले काम लाग्दैन भनेर बताउन सक्नुपर्छ। अनुभवबाट आर्जित ज्ञान, शिक्षालाई हाम्रो नयाँ शिक्षा प्रणालीले तर्क र अनुसन्धानका आधारमा राम्रो वा नराम्रो भन्न। सक्छ तर अनुसन्धान विना पुरै नकार्न र अस्वीकार गर्न भने पक्कै सक्दैन। अनुभवमा आधारित कैयौं ज्ञान हाल महत्त्वपूर्ण हुन सक्छन्। सयौं वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा, चाल-चलन वा अनुभवका आधारमा सृजित ज्ञान वा शिक्षाको विश्लेषण गर्ने क्षमता र महत्त्व बुझ्नका लागि हालको शिक्षापद्धति अनुसार १०-२० वर्षमा आर्जित हुने शिक्षा यथेष्ट छैन।

तर्क र अनुसन्धानमा आधारित वैज्ञानिक शिक्षा पद्धतिका आधारमा हेर्दा प्रत्येक व्यक्ति, समुदायसँग हुने Indigenous ज्ञानलाई पुन:परिभाषित गर्न जरूरी छ तर त्यसका लागि Indigenous ज्ञान पनि हामीले लिएको शिक्षा जस्तै अनुभवमा आधारित शिक्षा हो र यसको महत्त्व छ भन्नेत कुराको मनन गर्न र बुझ्न जरूरी छ।

(गुरुकुल मासिकका लागि तयार र गुरुकुल मासिकमा प्रकाशित)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: