– डा. सुमन राज ताम्रकार (समकालीन साहित्य) 

कफी, करुवा, ढाका, अदुवाको लागि प्रख्यात थलो पाल्पा जान निम्तो पाएपछि सहजै स्विकारें । कारण एक त नेपालको पहाडकी रानी मध्ये एक, त्यसमाथि बालसाहित्य सम्बन्धी कार्यक्रम । २०४८ ताका पहिलो चोटी हेल्थ असिस्टेन्ट कोर्स सकिनै लाग्दा जागिर खोज्न र २०५५ मा दोश्रो चोटी हनिमुन ट्राभल्सको सिलसिलामा धनकुटा, झापा, इलाम, दार्जिलिङ्ग, विराटनगर, भैरहवा, बुटवल पोखरा जाने सिलसिलामा पाल्पा हुँदै गएका थियौं । यो पटक पाल्पा जान बिहान चार बजे नै उठेर काठमाण्डौ लागें ।

पोहोर घान्द्रुक जाने बेलामा जस्तै यसपटक पनि ठूल्ठूला बसको व्यवस्था गरिएको रहेछ । बिहान सवा आठमा काठमाण्डौबाट हिँड्यौं । बाटोभरि साहित्यकार मित्र अमर न्यौपानेको साथ पाइयो । र, एक अर्का बीच पोहोर घान्दु्रक देखिका सिर्जनात्मक कार्यबारे छलफल ग¥यौं । कुरिनटार (त्रिशुली छेउ) मा भोजनको व्यवस्था गरिएको रहेछ । त्यहाँबाट मुगलिङ, नारायणघाट हुँदै बुटवल पुग्दा साँझ पर्न थालिसकेको थियो । त्यहाँ चिया र हल्का नास्ता भ्याएर पाल्पा तर्पm लाग्यौं । प्रभास पुग्दा बाटैबाट लुम्बिनी मेडिकल कलेज देख्यौं । साथीहरुको लगानी र काम गर्ने थलो भएको कारणले पनि चाख मानेर हेरें ।

बर्तुङ हुँदै पाल्पा बसपार्कमा पुग्दा ८ बज्यारहेछ । बासको टुङ्गो चाहिँ सिल्खान टोल (?खै किन यसो भनिएको) स्थित होटल ह्वाईटलेकमा रहेछ । सफा भएकोले मन प्रफ्फुलित भयो र हुम्लाको साथी के बी सिम्पलसँगै कोठाको व्यवस्था रहेछ । रातीको खाना दन्काएर वरिष्ठ चित्रकार टेकविर मुखियासँग भलाकुसारी गरियो ।

बिहानको ब्रेकफास्टपछि कान्तिपुरका चित्रकार मित्र कृष्णगोपाल श्रेष्ठसँग फोटो सेसन ग¥यौं । उद्घाटन कार्यक्रमको लागि पाल्पा नगरपालिकामा जाने क्रममा द्वन्द्वकालताका ध्वस्त बनाइएको तानसेनको प्रसिद्ध दरबार परिसर अनि रणउजीरेश्वरी भगवती मन्दिर हुँदै गयौं ।

त्यहाँ सकेर दिउँसोको खाना खाइवरि पहिलो दिनको कार्यपत्र प्रस्तुतीकरण तथा त्यसमाथिको छलफलका लागि धवल पुस्तकालयको प्राङ्गणमा गयौं । वि. सं. १९८३ मा अम्बिका प्रसाद लाकौलको पहलमा आफ्नै घरमा ‘पुस्तक पढ्ने दलान’ भनि शुरु गरेपनि स्थानीय प्रशासनले बन्द गराएपछि वि. सं. २००३ साल कार्तिक महिनाको कोजाग्रत पूर्णिमाका दिन स्थानीय जागरुक युवाहरुको पहलमा स्थापित धवल क्लबले नै धवल पुस्तकालयमा परिणत गरेका थिए । कार्यक्रम चल्दाचल्दै पानी दर्किन थालेको कारण पुस्तकालय भित्रै सर्नुप¥यो । कार्यक्रम सकेर केबी सिम्पल सँगै पाल्पा बजार घुम्न निस्कियौं ।

तानसेन दरबार परिसर अनि रणउजीश्वरी भगवती मन्दिर:-
दरबार परिसरमा बग्गी ढोका, कलात्मक स्तम्भ पाल्पालाई पूर्वपश्चिम आधा आधा हात्ती बाँध्ने खम्बा, विजयीस्तम्भ, तीन साँचा, निशानस्थान दशैंघर, भ्mयाली राख्ने मन्दिर सिलखानको विहंगम भवन पनि छन् । बद्रीनरसिंहको पालामा बनाउन शुरु गरी खड्ग शमशेरको पालामा निर्माण पूरा भएको उक्त दरबारको १०० वर्ष अघिको फोटोमा बग्गी ढोकाबाट सिंलेहखान घरसम्म सिधा बग्गी हिँड्ने बाटो पनि देखिन्छ । बग्गी ढोकाको उचाई ३० फिट र चौडाई १२ फिट भएका कारण नेपालको सबभन्दा अग्लो ढोका मानिन्छ यसलाई ।

नेपाल अंग्रेज युद्ध (वि. सं. १८७१ देखि ७२) ताका अमरसिंह थापाको निधनपछि उजीर सिंहको काँधमा बुटवलको सुरक्षा र पाल्पाको प्रशासन चलाउने जिम्मेवारी आएको थियो । अंग्रेजहरु विरुद्ध विजय प्राप्त गर्न शक्ति देउ भनी उक्त भगवतीको आराधना गरे । अंग्रेज माथि विजय प्राप्त गरेपछि वाचा अनुसार त्यहाँ विशाल मन्दिर निर्माण गर्न लगाई उक्त भगवतीको महिमा चारैतिर पैmलाए । शुरुमा निकै अग्लो मन्दिर निर्माणको १४ वर्षमै क्षति पुगेपछि वि. सं. १८८६ मा माथवर सिंहले जिर्णोद्धार गर्न लगाएका थिए ।

अष्ट धातुबाट बनाइएको यो मूर्ति (मनकामना देवी) को मूर्ति महिषासुरमर्दिनीको मूर्ति हो । एक बाहु वर मुद्रामा रहेकी उक्त देवीलाई मनोकामना पूरा गरिदिने भगवतीको रुपमा पनि लिइन्छ । मुख बाएर जिब्रो काढेकी दुब्ली पातली भगवतीको प्रचण्डको रुप नै यस मूर्तिको विशेषता हो । दायाँ खुट्टा सिंहको पिठ्यूँमा देब्रे खुट्टा राँगाको पिठ्यूँमा राखेकी भगवतीले विभिन्न प्रकारको आयुध धारण गरेको देखिन्छ । गलामा नरमुण्ड माला विभिन्न आभुषणहरु सहित देब्रे तिर त्रिशुल रोपेर महिषासुरको वध गरेको देखिन्छ । उक्त मन्दिर परिसरमा विष्णु, शिव, सूर्य, गणेश र दुर्गाको गरी पञ्चदेवको स्थापना पनि गरिएको छ ।

रानीघाट दरबारको निर्माण खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बराङ्दी खोला र कालीगण्डकीको संगमस्थलमा वि. सं १९५० देखि ४ वर्ष लगाएर बनाउन लगाएका थिए । नेपालको ताजमहल भनेर चिनिने रानीमहल जान निकै उत्सुक थिएँ । पाल्पा पुगेको पर्सीपल्ट बिहानै रानीमहल घुम्न जाने कार्यक्रम तुहिएपछि तानसेन बजारबाट ३ किमि टाढा रहेको भैरवस्थानसम्म भएपनि जाने निधो भएकोले सबेरै तयार भएको थिएँ तर गाडी नआएकोले त्यो पनि तुहियो । अन्य साथीहरु श्रीनगरको डाँडा (१५०० मिटर) मा भएपनि जाने कार्यक्रम बनाएपनि म भने गइनँ । मलाई त पाल्पाको अघिल्ला भ्रमणहरुमा हेर्न नपाएको कुरा हेर्न जानु थियो । त्यसैले क्यामेरा बोकी अमर नारायण मन्दिर, पाल्पाली करुवा बनाउने ठाउँ तथा ढाका कपडा बुन्ने ठाउँ हेर्न गएँ ।

नेपालको एकीकरण अनि अमरनारायण मन्दिर:-
पाल्पाली राजा पृथ्वीपालसेन लाई उनकी बहिनी रणबहादुर शाहको विवाह गरिने भनी विश्वासमा काठमाण्डौमा बोलाइयो । बहादुर शाहले आफ्ना ससुराली खलक पृथ्वीपालसेनले दामोदर पाण्डे सँग मिली षडयन्त्र गरेका र दुवैले मिलेर गोर्खाली राजा गिर्वाणयुद्ध विक्रम शाहलाई विस्थापित गरी नेपालको राजा हुन खोजेको भनी हत्या गरियो । यसरी राजा विहीन पाल्पा माथि अमरसिंहको नेतृत्वमा गोर्खाली फौजले आक्रमण गरी वि. सं १८६१ म पाल्पा नेपाल भित्र समेटियो ।

नेपाल एकीकरणको सिलसिलामा सबैभन्दा पछि मात्र विलय भएको पाल्पा राज्यको प्रशासन चलाउन प्रथम बडाहाकिमको रुपमा जनरल अमरसिंह थापा आएका थिए । यिनैले वि.सं. १८६३ मा वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी यो अमर नारायणको मन्दिर निर्माण गराएका थिए । यो मन्दिर बनाउन काठमाण्डौका नेवार कालीगढहरु झिकाएका कारण पनि तानसेनमा काठमाण्डौमा जस्तै असन, टुँडिखेल, मखन आदि नामका ठाउँहरु छन् । पाल्पाको अमरनारायण मन्दिर टाढैबाट पनौतीको कृष्ण मन्दिर जस्तै दुरुस्तै देखिन्छ एकछिन झुक्किएँपनि । यहाँ पनि किर्तीपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रिडाका चित्रहरु कुँदिएका छन् । यसो गरे चिर्को वा बज्र पर्दैन भन्ने मान्यता छ । तर जे भएपनि हनिमुनमा गएका जोडीले छुटाउनै नहुने रहेछ यो मन्दिर ।

पाल्पाली करुवा अनि ढाका कपडा उद्योग:-
त्यसो त पाल्पामा अरु पनि कुटीर उद्योगहरु नभएका होइनन् तर ढाका कपडा र करुवा पर्याय जस्तै भैसकेको छ । आधा शताब्दी अघिका प्रख्यात गायक मित्रसेनले रचेको तलको कविताबाटै त्यसबेला नै तानसेनमा पाल्पाली धातु उद्योग विकसित भैसकेको प्रमाणित हुन्छ ।
सिलखान पर टक्सार टोलमा बस्ने रहेछन् बाँडा
झिली र मिलि थाल कचौरा बनाउँछन् नेपाली भाँडा

पाल्पाली करुवा बनाउने ठाउँ हेर्न जाँदा सुरेशमान बज्राचार्य उहाँका दाई प्रदीपमान बज्राचार्य र ७२ वर्षीया आमासँग भेट भयो । संयोगले उहाँहरुकै परिवारजनले हालसम्म पाल्पाको सबभन्दा ठूलो करुवा बनाउनुभएको रहेछ । ४ लाख मूल्य पर्ने १३५ किलो काँस लागेको उक्त करुवा बनाउन ७, ८ जनाको कालिगढ परिवारलाई ६ महिना बढी समय लागेको थियो रे । त्यसो त करुवा बनाउन देवल माटो (नेवारीमा मेसिंचा), गोबर त्यसपछि रातोमाटो, कालोमाटो, मोटो भुसको प्रयोग हुने रहेछ । साँचा बनाउन राम्रो र गुणस्तरीय मैन चाहिने हुनाले भारतबाट ल्याउनु पर्ने बाध्यता रहेछ । एउटा साधारण करुवा बनाउन नै हप्ता दिन देखि १ महिना लाग्दो रहेछ । उहाँहरुका अनुसार करुवा बनाउने प्रक्रिया लामो रहेछ । पाल्पा बाहेक अन्यत्र कमसल खालको करुवा मेशिनबाट दिनकै २५, ३० वटा बनाईन्छ रे । हाल पाल्पाली करुवाको अलावा हुक्का, सुकुन्दा, झल्लरी पानस आदिपनि बनाईन्छ ।

त्यसपछि सरस्वती ढाका कपडा बुन्ने ठाउँ हेर्न गइयो । म त्यहाँ पुग्दा मैयाँ गुरङ्ग अनि ५ वर्षीया छोरी स्वस्तिका सँगै सावित्रा रसाईली ढाका बुन्न ब्यस्त थिए । त्यहाँ जेकार्ड मेशिन देखेपछि मैलै पुराना स्कुले दिनहरु सम्भेmँ । त्यो बेला स्कुलबाट फर्किनासाथ खाजा खाएर बुबा (पुष्पराज ताम्राकार) ले कोरेको डिजाइन अनुसार बाक्लो पत्तामा प्वाल खोप्नु, जेकार्ड मेशिनमा राख्नको लागि छेउमा सिलाएर मिलाउनु अनि डिजाइन अनुसारको ढाका कपडा बुन्नु त्यसपछि बुबाले नाप अनुसारको काटीवरी तयार पारेको ढाका टोपीमा ईस्तिरी लगाई बिक्रीका लागि ठिक्क पार्नु मेरो दिनचर्या थियो ।

यस अघि धागो गनेर बुट्टा निकाल्ने गरेकोमा बुबाले भारतबाट आउनु भएका प्रशिक्षक नासिर अहमद अन्सारीबाट बनेपामा जेकार्ड मेशिन सम्बन्धी घरेलु तालीम लिनु भएपछि बुबाले सो प्रविधिलाई निकै परिमार्जित गरी ढाका कपडा बुन्न धेरै सजिलो बनाउनु भयो । यसरी उत्पादित ढाका कपडा काभ्रे जिल्ला स्तरीय घरेलु उत्पादनमा प्रथम हुन सफल भएको थियो । त्यहि प्रविधि हाल पाल्पामा प्रयोजनमा आईराखेको रहेछ । उनीहरुका अनुसार प्रतिमिटर १७० रुपैयाँ ज्याला पाइने रहेछ भने एकदिनमा एक हात बढी बुन्न नसकिने रहेछ ।

पाल्पाली ढाका उद्योगको इतिहास खोतल्ने हो भने मगर भाषामा टानसिङ भन्नाले कर्घा बनाउने रुख (काठ) बुझिन्छ । तानसेन वरिपरि कर्घा बनाउने रुख पाइने र कर्घा बनाई घरबुना (कपडा) बनाउने चलन मगराँती राज्यकालमै थियो । दुई चार दशक अघिसम्म अस्तित्वमा थियो यस्तो घरेलु तान । पछि वि. सं. १९८४ – ८५ तिर बाट फ्रेम वाला परिष्कृत तानबाट कपडा बुन्ने थालनी भयो । चन्द्रकामधेनु चर्खाप्रचारक महागुठीका आयुक्त तुलसी मेहरको सम्पर्कमा आएर पाल्पाका देवी प्रसाद प्रधानको सक्रियतामा काठमाण्डौबाट ४ जना कपडा बुन्ने कालीगढ झिकाई पाल्पामा कपडा बुन्न शुरु गरेको थियो ।

पछि वि.सं. २०१५ भारतमा तालीम लिई फर्केका गणेशमान महर्जनले हाते तान राखी कपडा बुन्ने कार्यको थालनी ग¥यो । तर मनमा भेट्ने उत्कण्ठा भएपनि गणेशमानलाई भेट्न भने पाइएन । उहाँले वि.सं.२०१९ मा काठमाण्डौमा तालीम लिन गएका बंगाल प्रदेशको ढाका भन्ने ठाउँमा बुनिने रङ्गीचङ्गी मिहीन मूल्यवान ढाका कपडा बुन्ने तरिका सिक्नुभयो । जुन सीपका कारण वि.सं. २०२४ बाट पाल्पाली ढाकाले ख्याती पायो । शुरुमा सुती धागो मात्र प्रयोग गरी बुनिने ढाका कपडाको लागि वि.सं. २०३४ देखि चम्किलो कृत्तिम धागो (एक्रेलिक धागो) प्रयोग हुन थाल्यो । फ्रान्सको ल्योंका जोसेफ मेरीन जेकार्ड (ई. सं. १७५२ – १८३४) ले आविष्कार गरेको जेकार्ड लुम मेशिनको प्रचलनले पाल्पाली ढाका बुनाईमा पनि कायापलट ग¥यो । अहिले ढाका कपडाबाट क्याप, टाई लगायतका विविध वस्तु बनाउने गरेको छ ।

पाल्पाली करुवा अनि ढाका उद्योग हेरि फर्केर नेपालको सबभन्दा अग्लो ढोका भएको पाल्पाको दरबार नजिकको सित्तलपाटी परिसरमा आएँ । नाङ्गलो बेकरीको नर्थ आउटलेट एकछिन हेरें । खुशी लाग्यो, आफ्नो थलो नबिर्सेकोमा । स्व. रामलाल कक्षपतिले शुरु गरेका रहेछन् यो व्यवसाय । काठमाण्डौमा जस्तो बिक्री नहोला तर आफ्नै थातथलोको लाई पनि आफ्नो पौरखको स्वाद चखाउन सो पसल खोलिराखेका रहेछन् ।

पाल्पा अनि तानसेनको नामाकरण:-
काठमाण्डौबाट पोखरा भएर ३२६ किमिको दूरीमा अनि नारायणघाट भएर ३०६ किमिको दूरीमा पर्ने पाल्पा बुटवलबाट चाहिँ केवल ३९ किमिको दूरीमा रहेछ । पाल वंशका शासकहरुले शासन गरेको ठाउँ वा क्षेत्र भएकोले पाल्पा नामाकरण गरिएको रे । स्थाननामकोशमा उल्लेख गरे अनुसार तिब्बती भाषामा पाल (वाल) को अर्थ उन वा पश्मिना र पा (बा) को अर्थ देश हुने रहेछ अर्थात् हिमालय भन्दा उत्तरतिर पश्मिना बनाउने भूभाग (देश) भएकोले पाल्पा नाम रहन गएको रे ।

पाल्ही माझ खण्डको रुपमा प्रख्यात यसै क्षेत्रका अर्थात् छिमेकमा जन्मिनु भएका गौतम बुद्धले पाली भाषाको माध्यमबाट आफ्नो उपदेश दिनु भएको थियो । केशर पुस्तकालयमा भएको नेवारी टीका सहितको ग्रन्थ ‘नारद स्मृति’ मा पाल्पालाई प्रपा नै उल्लेख गरिएको छ । यसरी नेपाल भाषामा पाल्पालाई कतै ‘प्रपा’ उल्लेख गरिएको छ भने कतै ‘पारुपा’ । विभिन्न समयमा विभिन्न नामले चिनिएको खास पाल्पाले पाल्पा षडलुकपाला, माझटोल हटिया गाउँ पञ्चायत, भैरवस्थान गाउँ पञ्चायत पनि नाम पायो ।

त्यस्तै तानसेनको नामकरण पनि टानसिङ वा सिङतानबाट अपभ्रंश भई तथा त्यो बेलाका लोकप्रिय सेनवंशी राजा ताम्रसेनबाट गरिएको रे । मगर जातिको प्रशस्त बस्ती भएको पाल्पाको मगराँती भाषामा तानको अर्थ ठूलो र सिङ अर्थ बस्ती ठूलो बस्ती हुने हुनाले त्यसैको भावार्थमा तानसेनको नामाकरण गरिएको रे । एक अर्को भावार्थ अनुसार ‘तानतानते’ को अर्थ अग्लो सुरिलो तथा सिङ को अर्थ रुखबाट सुरिला रुखहरु भएको जङ्गल भएको ठाउँलाई तानसेन नाम दिइएको रे ।

नेपालमा प्रजातन्त्रको पुनस्र्थापना पछि पाल्पाले संचार जगतमा ठूलो फड्को मा¥यो । गाउँले देउराली पत्रिका, भित्ते पत्रिका प्रकाशन, हवाई साहित्य र मदनपोखरामा सामुदायिक एफएमको थालनी यस्तै केही उदाहरणहरु हुन् ।

कार्यक्रमको दोश्रो दिन पनि कार्यपत्रहरु प्रस्तुतीकरण भयो । ती कार्यपत्रहरु माथि विभिन्न व्यक्तिहरुले टिप्पणी गर्नुभयो । यसै दिन स्थानीय विद्यालयका विद्यार्थीहरु बीच चित्रकला, कथा, निबन्ध तथा बाल भित्तेपत्रिका प्रकाशन प्रतियोगिता पनि भयो । कार्य व्यस्तताले यस पटकको बालसाहित्य सम्मेलनको समापनसम्मै बस्न पाईएन अनि साथीहरुसँगै मदनपोखरामा होमस्टेमा पनि जान पाईएन । सूचना आयोगका आयुक्त विनय कुमार कसजू तथा गङ्गा कसजूसँगै काठमाण्डौ फर्किनुको विकल्प रहेन । तर तानसेनबाट झरे लगत्तै सेलरोटी, बटुक (बारा) अनि दाउन्नेको नास्ता, नारायणघाटको सुन्तला, मलेखुको माछाभात खाँदै, पृथ्वी राजमार्गमा जाम खेप्दै काठमाण्डौ पुग्दा मध्यराती पौने बाह्र पो भैसकेको रहेछ । ईतिश्री

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: