रूपा जोशी (हिमाल खबरपत्रिका)

हरियाली, बिजुली र पानी हेर्न-खेल्न नपाएर रुखिएको मेरो मन पाल्पाको उत्तर पश्चिमी कुनोको अर्गली गाउँ पुगेपछि तृप्त भयो। आँखालाई त्यहाँको हरियालीले मुग्ध पार्योल। जताततै हरियाली छाएको, चाहे त्यो डाँडाको घनाजङ्गल होस्; गाउँभरि छरिएका एकदमै ठूला आँप र पीपलका बोट हुन् वा विभिन्न अन्न र तरकारी बालीले सजिएका खेतबारीका गह्रा र पाटा। ती तरेली परेका खेतबारी हेर्दा कुनै चित्रकारले एउटा ठूलो कुची लिएर विभिन्न थरीको हरियो रङ पोते जस्तो लाग्दथ्यो― कतै आलुका बोटको गाढा हरियो, कतै गहुँबालीको अलि हलुका हरियो त कतै बन्दकोबीको अझै फुस्रो हरियो, अनि कतै कतै उट्पट्याङ रङ छर्किए जस्तै तोरीबारीको पहेँलो धर्सो! फेरि ती हरिया-पहेँला खेतका बीचमा, सानो नदी बगे सरी नागवेली पारेर खेतका आली च्याप्दै बनाइएको चेप्टो सिमेन्टको गोरेटो! कति जानेको!! शहरको टाँ-टाँ र टुँ-टुँबाट निकै पर अर्गलीमा मेरो कानले पनि त्यत्तिकै रम्न पायो! गाउँको बीचबाट गुल्मीतिर जाने राजमार्गमा यदाकदा हुँइकिने सवारी साधनको आवाज बाहेक सुनिन्छ त केवल चराहरूको चिरबिर, अनि जताततै अविरल बगिरहेको खोलो र सिंचाईका कुलाहरूको पानीको कलकल। गाउँको जुनसुकै कुनामा जाँदा पनि बगेको पानीको मधुर आवाजले पछ्याइरहन्छ।

त्यही पानीले गर्दा ती खेत हरिया भएका छन्, अनि त्यस्तै पानीबाट नजिकको रिडी खोलामा चलेको जलविद्युत् आयोजनाले गर्दा गाउँ झ्लमल्ल छ। अर्गलीवासीले पूरै देशलाई सताइरहेको लोडशेडिङको मार खेप्नु परेको छैन।  त्यही पानीका कारण गाउँ एकदमै सफा छ, ‘गुहु आयो त गाउँ आयो’को बखानलाई पूरै लत्याउँदै! झ्ण्डै-झ्ण्डै सबै घरमा बकाइदा चर्पी बनेका छन्, र नयाँ वर्ष नआउँदै अर्गली आफूलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न जुर्मुराएको छ। तर कस्तो बिडम्बना! यस्तो हरियो, उर्वर र रमणीय स्वर्गतुल्य गाउँ छाडेर तन्नेरी पाखुरी अरू नै मुलुकको विकास कार्यमा जुट्न गएका छन्। कोही बाध्य भएर, कोही लहै-लहैमा लागेर। यहाँका अधिकांश युवा साउदीको गर्मीमा रियालको खोजीमा लागेका रहेछन्।

दुई वर्ष विदेशमा काम गरी फर्केर अहिले व्यावसायिक खेतीपातीमा लागेका अर्गलीका एक युवकले भने, “के गर्नु? गाउँको सोच नबदलिएसम्म, यो गाउँको मुख अझै फेर्ने शक्ति भएका युवाहरूको विदेशिने क्रम घट्ने छैन। म यहीँ नै केही गरेर देखाउँछु भनेर लागेको छु, तर गाउँका मानिसहरू मलाई विदेश नगएको हुनाले यसले केही गर्न सकेन भन्छन्!”

उत्तर सिमानामा पूर्व हान्निएर बग्ने कालीगण्डकी र बनारसको विकल्पसरह मानिने हिन्दूहरूको पावन स्थल रिडी र रुरुधाम रहेको अर्गली गाउँमा पर्यटन विकासको निकै सम्भावना छ। यहाँका घरघरमा पर्यटक-पाहुना पाल्ने क्षमता छ। पानी, चर्पी, सरसफाई, बिजुली, तरकारी र फलफूल, हरियाली र रमणीय ठाउँको कमी छैन। अहिले पनि अर्गलीमा पर्यटक नआउने होइन, ट्रेकिङ गर्दै गाउँमा छिर्छन्, तर गाउँमै बस्दैनन्। यो पर्यटन वर्षमा गाउँमा पर्यटकहरूलाई होम-स्टेको सुविधा दिनेतिर ध्यान पुर्या,एर उनीहरूलाई आकर्षित गर्ने खालको कामको थालनी भएदेखि विस्तारै लाहुरतिर पलायन भएका पाइलाहरू पनि अर्गली फर्किएलान् कि!

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: