– डा. तारानाथ शर्मा

मेरा यी गोडाहरूलाई भाग्यमानी भन्नु कि अभागी? यिनै गोडाहरूले मेरालागि कुनै दिन टोकियो महानगरीको झल्झलाकार गिँजामा रामरमितो मच्चाएका थिए, प्रकृतिको अति रमणीय यलोस्टोन निकुञ्जमा मसित जी देब्रेदाहिने गरेका थिए र प्यारिसको मुटु शाँजलिजेको झिलिलीमा तिनले मलाई आत्मसात् गराएका थिए । हो, म यिनै गोडाका भरमा उभिएर रोम, ताइपेइ र न्यूयोर्क घुमेको छु, यिनै गोडाले गाडीको पाउदान थिचेर डयालसको, शिकागोको र एघार हजार फुटको उचाइमा स्थित रकी पर्वतमालाभित्र आइसन्हावर सुरुङको छाती चिर्दै हुँइकिएको छु र यिनै गोडाका आडमा विस्कान्सिन विश्वविद्यालयका अध्यक्षबाट पीएचडी उपाधि प्राप्त गर्न औपचारिक शिरपोस र कोटमा सगर्व हिँडेको छु अनि मदन पुरस्कारद्वारा विभूषित हुन रानी जगदम्बाकुमारी राणाका अगाडि उभिएको छु ।

गोडाहरू अहिले पनि यिनै हुन् र पैतालाहरू पनि यिनै हुन् तर समस्त घामको तातो चारैतिरबाट सोहोरिएर मैमाथि खनिएकाले पसिनामा ल्याफ्ल्याफ्ती भिजेर म आरुङखोलाको बगरमा सोझै उत्तर लागिरहेको छु अनि मेरा पैतालाहरू भत्भती पोलिरहेका छन् र मेरा गोडा कटकट गरेर दुखिरहेका छन्। अनुभवीहरू हवाइ चप्पलमा जमेका छन् तर म चाहिँ खेलाडीले लगाउने बुटमा गोडा घसार्दै छु।

बगरको हिँडाइमा सन्तुलन हुँदैन । रोडामा पाइला रड्केर, बालुवामा पैताला भासिएर र चुच्चे ढुङ्गामा चेप्टिएर, घोचिएर र अकस्मात् बज्रिएर सम्पूर्ण शरीर थतर्किइरहन्छ, थतर्किइरहन्छ । दुईतिरका पहाडहरू माथि आकाशबाट घामको तातो बटुलेर तल खोलाको साँगुरो बेँसीमा पोखिरहेछन् । सूर्यको अत्याचारले गर्दा मेरा आँखाहरू टाढा हेर्न सक्तैनन् । धमिलिन्छन् दृश्यहरू, रिङ्छन् प्रकृतिका मनमोहक छटाहरू र बगिरहेको आरुङ खोलाको पानी टल्केर कञ्चट बलकबलक गर्दै दुख्छ, दुखिरहन्छ ।

थामिनु भएन । जीवनमा थामिनु हुँदैन पनि । रुम्सिङ भञ्ज्याङ नपुगी धरै छैन । एउटा छाता छ । म त्यसैलाई ओढिरहेँछु । एउटा पानीको तुम्लेट छ । म त्यसैलाई गलामा भिरिरहेँछु । छाता तातेर उखरमाउलो छ । छाताको बिँड हातका पसिनाले गर्दा समाइसक्नु छैन । पाइलाहरू घसि्ररहेछन् तर तुम्लेट उचालेर बिर्को खोल्ने र बिर्को खोलेर मुखमा मुख पुर्‍याइ ठाडो घाँटी लगाउँदै पानी कुकुल्ढुक गर्ने कुनै हुती ममा छैन । बालुवा कामीको आरन तातेझैँ तातिरहेछ । कस्तो लाग्छ भने समग्र आरुङ ब्याँसी ठूलो कराई हो, मेरो पसिना तेल हो, म आरुङ खोलाबाट निर्दयतापूर्वक समातिएको माछो हुँ, अनि मलाई कराइमा हालेर मेरै पसिनाको तेलमा भुटिँदो छ ।

अहा! आरुङ खोलाको त्यस सलल्ल बग्ने पानीमा झ्वाम्म हाम्फाल्न पाए! अहा!  भङेराजस्तै भुरुर्र उडेर पारिको वनमा गीत गाउने पातलीसित गएर रसिलारसिला गफ गर्न पाए! अहा! माथि रुम्सिङ भञ्ज्याङ पुगेर कोदाको अमिलो जाँड घुटघुट गर्दै पिउन पाए!

तानसेनले तानेर म यस भावरमा परेँ । श्रीनगरको शोभाले धोका दियो मलाई । तानसेन जति राम्रो ठाउँ हाम्रो मुलुकमा अर्को छैन रे । श्रीनगरबाट देखिने दृश्यले हृदयै पगाल्छ रे । म लोभिएँ अनि परेँ फेला पूर्वी पाल्पाका अनकन्टार ठाउँको ।

बाटोमा भँडारी बाहुनको भट्टी भेटिन्छ । मोटा पिँडुला, च्याप्टा अनुहार र निर्दोष मुस्कान बोकेका मगर्नी रमणीहरू बग्रेल्तै बसेका छन् । सुकेको काठजस्ता नाङ्गा तिघ्रा तेस्र्याएर ठडिएका मगरहरू बाटैभरि पसारिएका छन् ।

‘भारीमा के छ नि ?’

‘सुठो हजुर, सुठो!’ मोटा पिँडुला सल्बलाउँछन् ।

‘क्या हो सुठो भन्या ?’

‘अदुवा हो हजुर, अदुवा सुकाएर बनाएको!’ खङ्ग्रङ्ग सुकेको काठ जर्‍याकजुरुक्क उठ्छ ।

जीवन मोटा, रसिला, पिँडुला र सुकेका रसहीन तिघ्राको सङ्गम रहेछ । विरक्त भएर आउँछ तर मोटा पिँडुलाहरूबाट गुनिउँ उचालिँदा देखिएका केराका थामजस्ता चिल्ला र सुक्सुकाउँदा अङ्ग हेर्न पाएर वा आरुङ खोलाको न्यानो पानीमा जु्त्ता र सुरुवालैसहित झ्वाम्म पस्न पाएर हो, मलाई स्वर्गको अनुभूति भयो । साठी पैंसट्ठी पल्ट तिघ्रातिघ्रासम्मको पानीमा पसेर आरुङ तरियो । अनि अदुवाका भारी भेटिइरहे, भेटिइरहे ।

‘अदुवा कहाँ लगेर बेच्नुहुन्छ त ?’

‘आरुङ खोला बजारमा त हो नि!’ पोथी स्वर खितितित्त गर्दै वातावरणलाई रसमय पार्छ ।

”कसलाई बेच्नुपर्छ ?”

”बनियाँलाई बेच्छौँ हजुर!” बुढो मगरवेदना मेरो छातीमा बज्रन्छ ।

”को हुन् नि बनियाँ भनेका ?”

”को हुन्थे हजुर ? उही हिन्दुस्थानका मधेसी बेपारी त हुन् नि हजुर!”

”सबै जना मिलेर यति भाउ दिए मात्र दिन्छौँ भन्नु नि!”

”त्यसो गर्न पाए त हुन्थ्यो नि हजुर” तर अलिक बुझ्‌झ्झकी भन्ने हाम्रा मान्छे अलिकति रक्सी धोक्नेबित्तिकै धुरीमा चढिहाल्छन् र हाम्रो बिजोक भइहाल्छ । सधैँसधैँ यस्तै हो हजुर । हामी मगरहरू यसरी नै लुटिँदै आएका छौँ हजुर ।” एउटा युवक ठुटो चुरोट तान्दै मलाई प्रभाव पार्न खोज्छ । अनि म आरुङ खोलाको पानीमा सारा थकाइ, समस्त तातो र सम्पूर्ण वेदनालाई झ्वाम्म डुबाउँदै आधा शरीर पसाउँछु । आनन्दको चरम चुलीमा पुगेको मलाई अनुभूति हुन्छ । खोलाको पल्लो छेउमा एउटा विशाल चप्लेँटी ढुङ्गो छ । म त्यसमा बस्छु र गोडालाई आधा पानीमा चोबलेर दक्षिण क्षितिजतिर धमिला आँखा हुत्याउँछु ।

एउटा रात्‌रातो बिन्दु मैतिर आइरहेको हो कि जस्तो मलाई आभास हुन्छ । त्यस बिन्दुप्रति मेरो ठूलो स्नेह छ । त्यस बिन्दुले जुन व्यक्तित्वको प्रतिनिधित्व गर्छ, त्यसले आरुङ खोलाको विकट यात्राको त कुरै नगरौँ, एक-डेढ घण्टासम्म काठमाडौँको चक्रपथको पैदल यात्रा गर्नु पनि असम्भव मान्नुपर्छ ।

रातो धर्के कमेजमा गोडा लतार्दै बुङ्चुङ हिँड्ने मदनदेव भट्टराई, घुर्मैलो सेतो कमेज र काबुली चप्पलमा खुइय गर्दै लम्कने टीआर विश्वकर्मा, लुङ्गी र हवाइ चप्पलमा रातापीरा देखिने तर पसिनाले कपाल र दारी पूरै भिजाएर अघि बढ्ने हरिहर विरही, प्यान्टमाथि सारेर घरिघरि जुत्ता फुकाल्दै लाउँदै गोडा चलाउने रमेश तिवारी र हलुका पैतालालाई गतिमय बनाएर सबलाई उछिन्ने नारायण कार्की देशदर्शनको पवित्र भावनाले प्रेरित भएर नै त्यस्तो कहर काट्न तम्सेका थिए । तीसे विरही, तिवारी र कार्की त युवा जोसले दुर्गम स्थानतिर लागेका थिए तर पचास नाघिसकेका भट्टराई र विश्वकर्माले कुन परत्र सपार्ने उद्देश्यले आफ्ना जीउलाई त्यस तातो कराइमा भुटाएका हुन् मैले अझै भेउ पाउन सकेको छैन । त्यहीँमाथि भट्टराईको एउटा गोडाको आधार हाड खिएर काम नलाग्ने भई त्यसलाई निकालेर इस्पातको लौरोभित्र पसाइ शल्यचिकित्सा गरिएको हुँदा उनको त्यो गोडो छोटो भई हिँड्न साह्रै सकस पर्ने कुरो पनि मेरो मनमा हाउगुजी भइरहेको थियो । विश्वकर्मा पनि आन्द्रे घाउ र मधुमेहले पीडित भई अशक्त भएको ज्ञान मेरा टाउकाभरि सल्बलाइरहेको थियो ।

तर थामिनु भने पटक्कै हुँदैन । लक्ष्यमा पुग्नैपर्छ र काठमाडौँबाट तोकिएको समयभन्दा दुई घण्टापछि यात्रा प्रारम्भ गर्नु परे पनि त्यसैदिन हामीले रुम्सिङ भञ्ज्याङलाई कुल्चनैपर्छ । ‘लाल्डढुवा’ (अर्थात् ‘रेडवार्ना’ भन्ने अन्तर्राष्ट्रिय संस्था) को ‘खाए खा नखाए घिच्’को कार्यक्रमलाई अब लत्याउने हुती मेरो त छँदै छैन, मधुमेही विश्वकर्मा, छोट्खुट्टे भट्टराई र सुल्सुलेका जनक विरहीको समेत छैन । ‘लाल्डढुवा’ का हामी पाहुना हौँ र पाहुनाहरूको सत्कार हाम्रो आफ्नै पसिनाको तेलमा ऊ आरुङ बगरे कराइमा भुटेर गरिरहेछ ।

रातो बिन्दुको आत्मबल पनि गजबकै मान्नुपर्छ । उनी गोडाले हिँडिरहेका थिएनन्, फगत आफ्नै भित्री शक्तिले लम्किरहेका थिए । मलाई झ्वाँक चाहिँ एउटा तिघ्रो कुइरेले चलाइदियो । दिनभरि घाममा डढेर ढुङ्गा फोर्ने, ओसार्ने र पहरामा पर्खाल लगाउने मगर कामदार सुक्खा बीस रुपियाँमा पालिएका थिए तर त्यो भुटिभाङ केही नजान्ने सेतो ढेडु भने दुई हजार रुपियाँ दिनहुँ डकार्दो थियो । सेतो रङप्रतिको यो मोह, यो दासता र यो हीनताबोध डाडुपन्यू लिने धेरैहरूको प्रवृत्ति नै भएको देख्ता मेरो पाँसुला बटारिन्छन्, बाउँडिन्छन् ।

आरुङ खोलालाई देब्रेतिर छाडेर केही दाहिने छड्किँदा मुर्ले खोलो डरलाग्दा ढुङ्गाहरू छरेर जिङगि्रङ्ग परिरहेको देखियो । मुर्लेवारि नवलपरासी र पारिपट्टि पाल्पा जिल्ला परे पनि पन्ध्र-बीस पल्ट त्यस खोलालाई तर्नु पर्दा र ढुङ्गेनी बगरमा हिँड्नु पर्दा जीउ छियाछिया भयो । जति उकालिए पनि खोलो टुङ्गिएन र बगर पनि टुङ्गिएन । घाम डुबेर रात झमक्क पर्न थाल्दा बल्ल दमार गाउँको फेदीबाट उकालो लाग्न पाइयो ।

दमार फाँट परेको रहेछ र निकै हिँडेपछि दमार प्राथमिक विद्यालयमा साढे आठ बजेतिर पुगी राति त्यहीँ बास बसियो ।

भोलिपल्ट बिहानै झन्नै तीन घण्टा दुर्दान्त उकालो चढेर मात्र रुम्सिङ भञ्ज्याङ पुगियो । त्यहाँ एउटा निम्न माध्यमिक विद्यालय रहेछ । अनि यी कुराहरू छर्लङ्ग हुँदै गए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: