– अभि सुवेदी

अन्धकार रात। पाल्पा सहर निदाएको मात्र छ। अकस्मात् बिजुलीका चिरा उड्छन् त्यो पुरानो सहरको आकाशमा। तलतिर राणाले बनाएको पाल्पा दरबार छ। कवि एकनारायण पौड्यालका शब्दमा त्यहाँ ‘बद्री, खड्ग, प्रताप शमशेरका आत्माहरू’ त्यो रात आन्दोलित भएर उठ्छन्। डिलमाथिबाट बम गोलाहरू प्रशासकीय थलो त्यो राणादरबारमाथि बर्सिन्छन्। सायद यो पाल्पाको एउटा अकिञ्चन सिंहदरबार थियो जो अनेकौं पटक जीवन, समय र समाजभन्दा ठूला अनिशक्तिको उन्माद भएका सपनाहरू लिएर बस्ने राणाहरूको घर भएको थियो। त्यो अन्ठाउन्न साल माघ १९ को रात। माओवादी छापामारले हमला गरेको रात।

हामीले पनि सुनेका थियौँ समाचारहरू जो आमसञ्चारबाट तरङ्गित हुन्थे। पाल्पाका मानिस त्यो भयावह रातभरिको युद्धका आवाज सुनेर इतिहासको कुनै कालखण्डले ल्याएको समयमा च्यापिएर बसे तर त्यो कवि व्यथितको आँधीकविताजस्तो भयो। रातभरिको त्यो भयानक स्वर्ग खसेको रात। कवि व्यथित भन्छन्- “भोलिपल्ट हेर्न ब्युँझें देशमा इन्क्लाब भएको। बिहान थाहा भयो कोही नागरिक हताहत भएनन्।“ ‘विमर्शका स्पर्शहरू’ (-२०६७) भन्ने कलाविमर्श केन्द्र पाल्पाको पाँच कविता सङ्कलनको एकनारायण पौड्यालको पहिलो कविता बोल्छ, ‘चानेचुने रात थिएन त्यो/चौबीस घन्टाको लामो थियो/कालोकालो, मोटोमोटो थसुल्लो थियो’। एकनारायणका कविताका विषय इतिहास र समकालीन चेतनाका अभिव्यञ्जना हुन्। अनुभृ्तिका ससाना क्षणहरूको नाटकीय चरित्र भेटिदोरहेछ उनका कवितामा।

पाल्पाको साहित्यिक विगत छ। कवि माधवप्रसाद देवकोटा, कुलमणि देवकोटा र अयोध्याप्रसाद प्रधानको तानसेन नगरी। त्यस नगरका पाँच युवाकविहरूका कविताको सङ्कलन मैले साँझमा पाएँ अनि रातभरि क्रिस्चियानो रोनाल्डोको फुटबल खेलको गतिसँग पढेँ, पढ्दै गएँ। पाल्पाको समय अहिले त्यही रात भग्न दरबारलाई हिजोकै सुर्की, इँटा र काठले बनाएर राणाकै भए पनि आफ्नो इतिहासलाई म्युजियमभित्र लगेर सुरक्षित गर्न व्यस्त छ तर काल्पनिकीहरू जटिल बन्दै गएका छन्। एक आयामिक काल्पनिकीमाथि अब चुनौती आएको छ। अब नवऐतिहासिक आँखाले हेर्छ कवि। केशव चालिसे लेख्छन्, ‘इतिहास मूर्ति बन्यो विगतको/ एउटा कलाकारको सीपमा/कुँदिएको इतिहासको मूर्तिमा/बुट्टाहरू कुँदिए एउटै रङ्ग र स्वरूपका/ विविधता देखिएन समयको’। त्यो विविधता खोज्न उठेको छ तानसेन पाल्पा। शिखरिणी र शार्दूलमा सुन्दर कविता लेख्‍ने कवि टंकप्रसाद पन्थका कविता समय संचेतनाको उद्‍घोष गर्दारहेछन्। ती लेख्छन् ‘नेपालमा हर्षउमङ्ग छायो। हाम्रै बुताले गणतन्त्र आयो।। नयाँनयाँ आश अझै पलाए/ आजाद खोज्दै सब सल्बलाए।।’ उनका अरू कवितामा मङ्गलमय र राजनीतिक चेतनाको लयात्मक प्रवाह देखेँ। छन्द, काव्य र समय संचेतनामा साम्य छैन भन्ने समालोचकका भनाइ विनिर्मित हुन्छन् धेरै नेपाली छन्द कविताहरूमा। रूप र विचारको कवितामा के सम्बन्ध हुन्छ भन्ने कुरा अमेरिकी समालोचक र साहित्यशास्त्री फ्रेडरिक जेमिसन् भन्छन् रूपले विचार र वस्तुताको अवचेतन बुझाउँछन्। छन्दमा लेख्‍नेले एक पुरातन मनोगत रचनाको मात्रै उद्घोष गर्छ भन्नु ठीक कुरा देखिएन।

पाल्पा तानसेनको काव्यमा वौद्धिक चिन्ताका सघन स्वरूपहरूको रचना गर्दारहेछन् कवि नेत्रप्रसाद न्यौपाने। तिनका कवितामा राष्ट्रको चिन्ता, स्वतन्त्रता गुम्न सक्ने डरलाग्दा सम्भावना अनि पुरूष चेतनाजनिन सृष्टिका संवेगहरूको सन्धि हुँदोरहेछ। बिम्बका घना प्रयोग भएका तिनका कविता खेलको मैदानमा निस्केका हरफहरू त्यो फुटबलको रात यसरी पढेँ, ‘त्यसैले खेल/विधिमा बाँधिनुपर्छ/ विधिमा खेलिनुपर्छ/खेल हो अनुशासन/खेल हो अनुगमन/ त्यसैले/सुन्दरकला र कौशलको खेलमा/तेल पर्दा/ खेलाडी म्याराडोना बन्नसक्छ/ खेलाडी पेले बन्नसक्छ।’ गर्धनमा हात राखेर आपmना खेलाडीको खेलमा जीवन र जगत्को स्पन्दन नाप्न अधिर त्यो आर्जेन्टिनाको कोच म्याराडोना पाल्पाका सघन बिम्ब संयोजन र विधिको चिन्ता राख्ने कविको काव्यको कर्नर हान्न प्रवेश गरेको कुरा अत्यन्त चाखलाग्दो भयो। शङ्करप्रसाद गैरे अग्ला, विचलन नभएका युवाकवि गजलले समय नाप्नेरहेछन्। छन्दकाव्य र गजलको विषयमा रूपका उनै कुरा उठ्छन्। धेरै चल्तीको र अहिले सयपत्री फूलजस्तो सबैका गमला वरिपरि रोप्नै पर्ने फूल भएको छ गजल। वनमारा झार होइन। गैरेका गजलका चिन्ता समसामयिक छन्। काठमाडौं र मोफसलको विषय उठेकै छन् तर गैरे भन्छन्, ‘जुन रङमा ढाली हेर्छौं उस्तै काठमाडौं छ।/ एक्लै खान्छ तर पनि भोकै काठमाडौं छ।।/ हर नेपाली काठमाडौंमै बस्ने रहर गर्छ।/तर पनि कुन्नि किन एक्लै काठमाडौं छ।।’

काठमाडौं र मोफसलका विषय निकै कवितामा छन् तर मैले हेर्ने तरिका अलिक भिन्न छ। म काठमाडौं बाहिरका कविहरूका काव्यको सोझै भन्ने उक्ति पद्धति, तिनका काव्यमा पाइने इमानदारीमा शक्ति देख्छु। काठमाडौंबाहिरका कविहरू रूप र विषयका अत्यन्त मौलिक सन्धि गरेर कविता लेख्छन्। मलाई तानसेनको अर्को थलो हेर्न मन थियो। सम्बत् १९८३ मा नै आरम्भ भएको पुस्तक पढ्ने दलानको २००३ मा धबल पुस्तकालय नामकरण भएका कथा पढेको थिएँ। शिक्षासेवी अम्बिकाप्रसाद लाकौलले ठाडो गल्लीमा पढ्ने थलोको रूपमा खोलेको यो दलान पुस्तकालय थियो। यो उज्यालो बस्ने कुनोको कथा हो। पढ्न पनि राणा प्रशासनसँग डराउनुपर्ने बेलामा पनि पढेरै छाड्ने साहस बोकेका मानिसहरूको कथा हो। त्यसको चार वर्षपछि लाइब्रेरी पर्वमा कवि लक्ष्मीप्रसाद देवकोटाहरू राणाशासनको कोपमा परेको इतिहास छ तर पहिले नै सुरू भएको यो पढ्ने दलानमा गएपछि मलाई एउटा कुनै महान् अनुष्ठानमा पुगेजस्तो लाग्यो। युवा भाइबहिनीहरूले मलाई यो पुस्तकालयको परिचय गराए। वाचाल र अत्यन्त उत्साह भएका राजेशकुमार अर्यालले मलाई युवाहरूका योजना सुनाए। देवकोटा, सम, गुरुप्रसाद मैनालीदेखि लिएर राजनीतिज्ञहरू पुष्पलाल, मदन भण्डारी, प्रचण्ड, बाबुराम भट्टराई आएर पुस्तिकामा लेखेर जानु एक ऐतिहासिकी हो तर पुस्तकालयमा हजारौं पुस्तक अहिलेसम्म चाङ लागेर बस्नुको नियतिलाई अर्याल भाइले यो थलोको उचित सम्मान नभएको कारणले भएको कुरा सुनाए तर यी युवाहरूले इन्टरनेट, सम्पर्कका नयाँ सूत्र र योजना लिएर काम गर्न थालेको कुराले मलाई अत्यन्त खुसी लाग्यो।

साहित्यिकहरूको भेलामा कविता पाठ हुनु एक समारोहजस्तै रहेछ तानसेनमा। अनेकौं शैलीका कविताहरूका पाठ हुनु अनि विषयको छनोटमा राजधानीमा आएका अनेकौं वैचारिक आग्रहका कुनै सीमाभित्र नबसेर लेख्नु यहाँको काव्यसाधनाको विशेषता रहेछ। कविता पाठ गर्न उठेकी एक भावना खनाल नामधारी युवतीले गीत कविता सुनाउँदा म खुसीले झस्केँ। तिनको स्वरको बहुल आयाम, तिनको सहज लोकगायनको आरोहअवरोह र आकर्षक मेलोडी सुन्दा थाहा पाएँ ती युवती एक प्रतिभाशाली गायक हुन् तर सायद गायन उनको एकाध गोष्ठीमा गएर गाउने केवल सौख हो।

सार बाह्र सत्सट्ठी सालको त्यो दिन एक राम्रो अनुभूति भयो मेरा निम्ति। फुटबल र काव्यको गतिमा रातभरि ननिदाएको अनुभव र अघिल्लो दिन सल्लाघारीबाट सोझै माथि चढेर पहाडी ओरालोमा बसेको त्यो ऐतिहासिक सहर हेरेका संवेग थिए। पटकपटक अन्तर्द्वन्द्वबाट उछिट्टिएका राणा प्रशासकहरूका आगमन, तिनका शक्ति र प्रेमका थलोहरू बनाउने चाहना अनि ती सबैको इतिहास पाल्पाका नरनारीले श्रुति र स्मृतिमा राखेर आफ्नो ऐतिहासिकी बनाएका कुरा मैले अत्यन्त चाखले बुझ्ने प्रयास गरेँ।

कविहरूले शिक्षाका दलानहरूमा लगे मलाई। ठाडो उकालोमा रहेका भवनहरूमा लगे। कार्यक्रममा एक बयानब्बे वर्षका शिक्षासेवी लाकौल बसिरहे। यो पाल्पा तानसेनमा दलानको इतिहासदेखि नै शिक्षाको उज्यालो फैलाउने काममा त्यस सहरका नेवारहरूले दिएको योगदान जताततै इतिहास र स्मृतिहरूमा अङ्कित रहेछ। दलानमा सात साल पहिले प्रजातान्त्रिक राजनीतिज्ञहरूले बसेर अध्ययन गरेका कथा भन्दै गए कविहरू। मैले पाल्पा तानसेनको काव्य, इतिहास, उज्यालो र सुन्दर परिवेशको एउटा चित्र बनाएँ अनि पाल्पाको खुकुलो टोपी लाएर हिँडेँ। सम्झना छन्।

Advertisements

Comments on: "पाल्पा, कविता र दलान" (1)

  1. Binaya Raj Bajracharya said:

    Sundar, ati sundar, jati sundar Tansen, Palpa, tyo bhanda pani yanha ko gungan sundar. Abhari 6u Palpali ka haisiyat le.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: