-यमबहादुर दुरा

मेरा जीवनका आयामहरुसंग मितेरी गाँस्ने थुप्रै अनुभूतिहरुका महासागरमा एउटा पक्ष संधैजसो छाल बनेर मनको अन्तरकुन्तरलाई छुन आउँछ। त्यो हो, मेरो बाल्यकाल र हाम्रो सामाजिक परिवेशसंग नाता गास्ने तुर्लुङकोटको लाँकुरी बोट। कुरा यहीनेरबाट शुरु गरौं। लमजुङ दुराडाँडाको सिरानतिर ऐतिहासिक महत्व बोकेको एउटा लाँकुरीको बोट छ। परैबाट सजिलै देखिने फिरिक्क परेको। शाहवंशीय राज्य स्थापनाको सुदूर इतिहासदेखि हलो क्रान्ति र शैक्षिक क्रान्तिको निकटतम् इतिहासलाई काखीमा च्यापेर र्सलक्क बसेको दुराडाँडामा त्यो लाँकुरीको बोट स्थानीय जीवनशैलीको विम्ब बनेको छ। त्यो लाँकुरीको बोट वनपात गर्ने र बाटोघाटो हिंड्नेहरुको मन मनको भारी बिसाउने मनको चौतारी हो, भारी बोक्नेहरु सुस्ताउने र भारी बिसाउने थलो हो।

फेरि पनि त्यही लाँकुरीको बोटकै कुरा गरौं। दुराहरुको बस्ती रहेको तुर्लुङकोट गाउँको थक्क पश्चिमतिर सलल परेको चौरमा लाँकुरीको बोट छ, जुन ठाउँ स्थानीय रुपमा भयँरथला नामले परिचित छ। त्यहाँको लाँकुरी बोट गोरखा, तनहूँ र लमजुङको विभिन्न भू-भागबाट छर्लङ्गै देखिन्छ। त्यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्यहरु नितन्त मनमोहक देखिन्छन्। यसैगरी त्यस ठाउँबाट गोरखा, तनहूँ, कास्की र लमजुङकै सुन्दर भू-दृश्यहरुको दृश्यापान गर्न सकिन्छ। त्यो लाँकुरीको बोट नजिकबाट तलतिर हेर्दा पाउँदी खोला सर्पाकार रुपमा बग्दै मर्स्याङ्दीलाई भेट्न पूर्वतिर हान्निएको देखिन्छ। बाइसे चौबीसे राज्यका भुरेटाकुरे राज्यका गढी र माछीकाँडे डाँडाकाँडाहरु यहाँबाट देख्न सकिन्छ। हालका दिनहरुबाट डोजरद्वारा खनिएका र पहिरोको स्रोत मानिएका ग्रामीण सडकका धर्साहरु पनि त्यहाँबाट देखिन थालेका छन्। त्यहाँबाट देखिने भूदृश्यहरु मन भुलाउने खालका छन्। यस्ता दृश्यहरुले स्वदेशी र विदेशी पर्यटकको मन लोभ्याउँछ। तर यो ठाउँ पर्यटकको क्यामराबाट टाढा छ।

तुर्लुङकोटको लाँकुरी बोटले स्थानीय जीवनशैलीसंग गहिरो नाता गाँसेको छ। त्यो लाँकुरीको बोट बटुवा, बेसाहा बोक्ने भरिया, वनपात गर्नेहरु एवम् खेताला-गोठाला सबैको मन-मन्दिरमा बिराजमान छ। यसले थुप्रै बटुवा र भरियाहरुलाई आश्रय र छहारी दिएको छ, धेरैका थकानका र सुस्केराहरु सुनेको छ। त्यसैले त्यो वृक्ष सबैका लागि परिचित छ, प्यारो पनि।

त्यस लाँकुरीको बोट विगतमा धेरै बटुवाहरु एवम् भरियाहरुका लागि पानीजहाजको प्रकाश स्तम्भजस्तै बनेको थियो। त्यही लाँकुरीको बोटलाई आधार बनाएर बटुवाहरुले गन्तव्य निर्धारण गर्थे। डुम्रे-बेंसीशहर मोटरबाटो नबन्दाम्मको कुरा बेग्लै थियो। त्यतिबेला डुम्रे, भन्सार र कालीमाटी जस्ता तनहूँका व्यापारिक केन्द्रहरुबाट मालसामानको भारी बोकेर आउने भरियाहरु त्यही लाँकुरीको बोटलाई निशाना बनाएर पाइला अघि बढाउँथे। यसलाई ख्याल गरेर उनीहरु हिंडाइको गति बढाउने वा घटाउने कुरा विचार गर्थे।  मैले पनि यस्तै अनुभव संगालेको छु। म सानैछँदा चामल बेसाउन बासंग सुन्दरबजार पुग्थें। टोपीले पसिना पुछ्दै चामलको भारी बोकेर बाको पछिपछि उकालो लाग्थें। त्यही लाँकुरीको बोटलाई निसाना बनाएर। लाँकुरीको बोटमा कतिबेला पुगिएला र थकाइ मार्न पाइएला भन्दै पसिनाले भिजेको शरीरलाई गन्तव्यतिर धकेलेको सम्झना मानसपटलमा ताजै छ। लमजुङको सुन्दरबाट चामलको भारी बोकेर घरतिर उकालो लाग्दा त्यही लाँकुरीको बोटलाई ताकिन्थ्यो। कसैले घर कहाँ हो भनी सोध्यो भने उत्तर हुन्थ्यो- ”उ त्यही पर फिरिक्क परेको लाँकुरीको बोटैनेर। तुर्लुङकोट नजिक।” अहिले गाउँ-गाउँमा धुले मोटरबाटो बनेपछि स्थिति बदलिएको छ। विगतका पलहरु विस्मृत बन्दैछन् र पहिलेका पाइलाका डोबहरु मेटिंदैछन्।

विगतमा सम्झना, बिर्सना र निशाना पनि त्यही लाँकुरीको बोट बन्ने गथ्र्यो। खासगरी छुट्टी पूरा गरेर लाहुर फर्किन लागेका लाहुरेहरु र रोटो र भोटोका निम्ति मुग्लान पस्नेहरका लागि। उनीहरु घरबाट बिदा भएर नेटो काट्ने बेलामा परबाट लाँकुरीको बोटलाई अन्तिम पटक आँखाभरि पिएर आँसु पुछ्दै बाटो लाग्थे। घरमा लाहुरबाट नासो पुर्‍याउन पठाइएका साथीहरुलाई दिइएका स्थान पहिचानसम्बन्धी मुख्य निशानाहरुमध्ये त्यो लाँकरीको बोट नै पर्‍थ्यो।

तुर्लुङकोटको त्यो लाँकुरीको बोटको महत्व र वृतान्त यतिमा मात्र सकिन्न। चैत बैशाखको गर्मी याममा चिसो हावा खाँदै चोया-बाता गर्ने घरबारेहरुको प्यारो थलो थियो, त्यो लाँकुरीको बोट। वनपात गर्नेले दाउरा-घाँसको भारी बिसाएर सुस्ताउने र गीत गुनगुनाउने थलो पनि हो। चार-पाँच गाउँका भद्रभलाद्मीहरुबीच सभा-कहचरी गर्ने थलो पनि त्यही हो। भर्ती भएर छुट्टीमा आएका र भर्ती हुन चाहने नौजवानहरुले शारीरिक अभ्यास गर्ने ठाउँ पनि हो। गाउँमा बाघ नलागोस् भनेर  प्रत्येक वर्षो फागनु महिनाको कुनै मंगलबार बाघको पूजा गरिन्छ, जुन ‘भयँर पूजा’ नामले परिचित छ। त्यति बेला गाउँबासीहरु भेला भएर भोज खाने थलो पनि त्यही लाँकुरीको बोट बन्ने गर्छ।

मध्यपहाडी भागका गाउँबस्तीहरुमा लाँकुरीको बोटको विशिष्टतम् सामाजिक एवम् आर्थिक महत्व छ। त्यसमा पनि लमजुङको दुरा बस्तीमा यसको महत्व झन उच्च देखिन्छ। गाउँबस्तीमा नचाइने घाँटु नाँचलाई लाँकुरीको बोट भएको चौतारीमा नै सेलाइन्छ। त्यतिबेला घाँटुसारे (घाँटुका नर्तकी) हरुले लगाएका श्रीपेचलगायतका वस्तुहरु त्यही लाँकुरीको बोटलाई अर्पिने चलन छ। कतिपय अवस्थामा त घाँटु हेर्न आउने पाहुनालाई त्यही लाँकुरीको फेदमा गुन्द्री ओच्छ्याएर अतिथ्य दिइन्छ।

उता, हरेक वर्षको वैशाखपूर्णिमा निश्चित लाँकुरीबोट मुनिको चौतारीमा चण्डीपूजा गरिन्छ। यसलाई स्थानीय लवजमा चन्नी पूजा भनिन्छ। चण्डीपूजा  गर्ने क्रममा चौतारीको छपनी ढु्रँगामुनि कुखुराको फुल राखिन्छ। अर्को वर्षो बैशाखपूर्णिमामा खोलेर हेरिन्छ। फुलको अवस्थालाई ख्याल गरेर चालू वर्षमा सहकाल वा अनिकाल के हुने?  भन्ने कुराको भविष्यवाणी गरिन्छ। हरेक वर्ष दशैं हालिने प्रायजसो पिङ लाँकुरीको बोटको छेउछाउ नै हुने गर्छ। लाँकुरीको फूलले दिने शोभा अवर्णनीय छ। पहिले पहिले लाँकुरीको पूल फुल्ने बखतमा गाउँका छोरीचेलीहरुको चुल्ठो र छोरामान्छेहरुको कान लाँकुरीको फूलले सजिन्थे र मनमनै आफूले आफूलाई नै सुन्दर सम्झन्थे।

लाँकुरीको एउटा मीठो विशेषता छ। हामी सबैलाई थाहा छ, हिउँदमा छहारीको खाँचो पर्दैन। त्यति बेला लाँकुरीले आफ्नो शरीरको सबै पात झारेर स्रि्रो बन्छ। जतिबेला घाम चर्किन्छ र बटुवालाई छहारीको खाँचो पर्छ, त्यतिबेला लाँकुरीको बोटमा पात पलाउँछ। यसबाट बटुवा र आश्रय खोज्नेहरुले लाँकुरीको बोटबाट समयानुकूल  र वातानुकूल लाभ पाउँछन्। लाँकुरीको यही विशेषताका कारण त्यस भेगका प्रायजसो चौतारीहरुमा बरपिपलको सट्टामा लाँकुरीलाई सार्ने चलन छ। सम्भवतः भूगोलले निर्धारण गरेको सामाजिक एवम् साँस्कतिक परिवेश हो।

٭٭٭

दुराडाँडामा जन्मेकी लोकगायिका बीमाकुमारी दुराको पनि त्यो लाँकुरीको बोटसित गहिरो नाता छ। त्यही लाँकुरीको बोटलाई लिएर गीत गाइन् -”तुर्लुङडाँडा लाँकुरी चौतारी, छुट्यो मेरो हितैको दौंतरी।” यही गीत गाएर उनले २०४७ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा सबै प्रतियोगीलाई उछिनेर प्रथम स्थान हाँसिल गरिन्। यहीबाट वास्तविक रुपमा उनको संगीतिक यात्रा शुरु भयो। उनी लोकसंगीतप्रेमीहरुका माझमा सुमधुर स्वरकी धनीको रुपमा परिचित भइन्। उनले थुप्रै प्रशंसकहरु बटुलिन्। उनको सांगीतिक यात्रामा यो वा त्यो रुपमा तुर्लुङकोटको लाँकुरी बोट जोडिन आउँछ। उनको गीतमा त्यहाँको माटोको सुवास भेटिन्छ। उनको गीतले त्यहाँको सामाजिक परिवेश पनि बोल्छ।

सांगीतिक यात्रामा ख्याति कमाउँदै जाँदा बीमाकुमारी दुराले एउटा अर्को चर्चित गीत गाइन्। त्यो गीतमा पनि उनले तुर्लुङकोट त्यही लाँकुरीको बोटलाई सम्भिइन्। यतिञ्जेलसम्म उनको नीजि जिन्दगीले पनि निर्णायक मोड लिइसकेको थियो। हुनसक्छ, त्यस गीतमा उनको नीजि अनुभूतिहरु समेटिएको होस्। चिनो नामको अल्बममा रहेको गीतको बोल थियो- ”लमजुङ तुर्लुङकोट, सरर हावा चल्यो लाँकुरीको बोट…” यो गीत धेरैका लागि प्रिय छ। जन्मस्थान छाडेर एउटा बेग्लै परिवेशमा घरजम गर्न जाने छोरीचेलीको अनुभूतिलाई त्यस गीतले मुख्य रुपमा समेटेको छ। उनले स्टेजमा त्यो गीत गाउँदा गाउँ छाडेर आएकाहरुका मनमा गाउँको सम्झनाको ज्वारभाटा चल्न थाल्छ। धेरैको मनभित्र भूइँचालो जान थाल्छ। उनीहरु द्रविभूत हुन्छन्। गीतमा गीत सुन्दा कतिपयको परेली न्रि्रुक्कै भिजेको दृष्टान्तहरु छन्। यसो हुनुमा कुनै न कुनै रुपमा तुर्लुङकोटको लाँकरी बोट र त्यसले समेटेको सामाजिक एवम् साँस्कतिक परिवेश जिम्मेवार छ भन्न करै लाग्छ।

٭٭٭

अहिले समयले कोल्टो फेरिसकेको छ। गाउँबस्तीको स्वरुप हिजोको जस्तो छैन। बाहुनले हलो जोत्न हुन्छ भनेर हलो क्रान्ति गर्ने, जनताका छोराछोरीले तेस्रो आँखा पाउनुपर्छ भनेर शैक्षिक जागरण ल्याएर बेग्दै इतिहास रच्ने दुराडाँडा अहिले निरन्तर रित्तो बन्दैछ। जनसांख्यिक एवम् बौद्धिक दुबै हिसाबले। हिजोका वैभवशाली दिनहरुलाई वर्तमानले पछ्याउन छाडेको छ। आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ। हुन यो विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिंदैनन्। आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरु नभेटिने खतरा बढेको छ। युवाहरु रहर र वाध्यता दुबै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन्। पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन्। तर उनीहरुले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन्।

गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरुले सोसल नेटवर्किङ साइट ‘फेसबुक’ र अन्य सामुदायिक साइटहरुमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन्। त्यसमा हृदय नै टाँसेर भावुक ‘कमेन्ट’  गर्छन्। तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ। उनीहरुको हविगत सात समुन्द्रपारि अलग-थलग अवस्थामा रहेका अनलाइन प्रेमी-प्रेमिकाको जस्तो छ। एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट भने कहिल्यै हुँदैन। गाउँघर र उनीहरुको सम्बन्ध पनि त्यस्तै भएको छ। इन्टरनेटको ‘भर्चुअल’ दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ। गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ। उनले स्थानीय लवजमा भनेकी थिइन्, “हाइँ मोरेपछि यो धाराको पानी कोले खाला ?”

अहिले रित्तिंदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, तुर्लुङकोटको लाँकुरीको बोट। लाँकुरीको फेदमा बसेर ठाडो भाका र अन्य लोकलयमा मनको बह पोख्ने पारखीहरु आजकल भेटिंदैनन्। गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरु आजकल गाउँमा छैनन्। वनपाखा शून्य छ। बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट। लाँकुरीको फेदमा हुने सभा-कहचरी र दगलफसल हुन छाडेको छ। लाँकुरीको फेदमा दाउरा-घाँसको भारी बिसाउने क्रम मत्थरिंदै गएको छ। लाँकुरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन्। बटुवाहरु भेटिन छाडेका छन्।

अहिले लाँकरीको बोट एक्लो छ। लाकुरीको बोटलाई हृदयको एउटा कुनामा सजाएर गीत गाउने बीमाकुमारी दुराले गाउँ छाडेको वर्षौं बितिसक्यो। लाँकुरीको बोट सारेर इतिहास रच्ने खलाघरे जेठाले २०२२ सालतिरै सुखको खोजीमा चितवन झरेका हुन्। दुइ बर्ष अघि उनी संसारबाट बिदा पनि  भइसकेका छन्। दुराडाँडामा २००६ सालमा हलो क्रान्तिसंगै सामाजिक क्रान्ति र शैक्षिक क्रान्तिको शंखघोष गरेर गाउँबस्तीलाई ब्युँझाउने श्रीकान्त अधिकारीले पनि दुराडाँडा छाडिसकेका छन्। उनी पनि राजधानीमा नै सुस्ताउँदैछन्।

वि.सं. २००९ सालमा स्थापना भएको सर्वोदय माविको भवन जीर्ण अवस्थामा पुगेकोले दुर्घटना निम्तिने डरले विद्यालय भवन भत्काइएको छ। भत्किएको अवस्थामा रहेको विद्यालय भवनले यसका उपजहरुसित सहयोगका लागि हात फैलाइरहेको छ। कुनै बेला सामाजिक चेतना र शैक्षिक उन्नतिका दृष्टिले गुल्जार ठहरिएको दुराडाँडा अहिले शून्यतातिर लम्किंदैछ। स्थानीय जीवनशैली र संस्कृतिको अमूल्य निधिको रुपमा लाँकुरीको बोट र त्यसले समेटेको हराभरा परिवेश क्रमिक रुपमा उजाडिंदै छ। संधैभरि लाँकुरीको बोटमा जाल बुनेर बस्ने माकुरी पनि आजकाल त्यहाँ भेटिंदैन। शुन्यतातिर लम्किंदै गएको त्यहाँको समग्र परिस्थितिको शब्दचित्र तयार पार्न गाह्रो छ। वर्तमानमा तुर्लुङकोटको लाँकुरी बोट र दुराडाँडाको समग्र परिवेशमा छाएको शून्यतालाई कुनै बेला रेडियो नेपालबाट गुञ्जने लोकगीतका यी शब्दका मर्मले शायद चित्रण गर्न सक्छ।

कहाँ गयो जाल बुन्ने माकुरी

एक्लो भयो डाँडैको लाँकुरी

(स्रोत: नयाँ पत्रिका)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: