– डिल्लीराज अर्याल

ताश खेल्ने वा खेलेको हेर्नेका छोराछोरी रुखका पात टिपेर पनि खेल्न शुरु गर्छन्। रक्सी खाएर हिड्ने वा उसका छिमेकीका छोराछोरी गिलासमा पानी राखेर पनि रक्सी खाएको अभिनय गर्छन्। यस्तो अभिनयले कैयौं कैयौंलाई कलाकार बनाइदिने गरेको छ। कतिपयले भने मुख्य पात्रको चरित्रबाट वाक्क भएर, तिनका परिवारले भोगेका पीडा, पिएका आँसुबाट दुःखित भएर रक्सी ताशप्रति वितृष्णा जागेका भाव ब्यक्त गरेका पनि पाइन्छन्।

जीवनको भोगाइ दुःख-सुख र राम्रा-नराम्रा दुवै खाले हुन्छन्। त्यस्ता भोगाइमा आफ्ना कमी कमजोरीलाई सम्झने र देखाउने कुरा छन् भने नरमाइलो मान्नुपर्ने केही छैन तर कतिपयले त्यसो गर्दैनन्। उनीहरूको अभिप्राय जे भए पनि त्यस्ता कुराको विवेचना गर्नु मेरो अभिप्राय पनि हुने हुनाले आफ्नो कमजोरीलाई पनि देखाउनु राम्रै लाग्छ। त्यसैले मैले त्यस्तो कमजोरी पनि लेख्ने र देखाउने गरेको छु।
आफ्नो जीवनको ५ दशकको समयावधिमा म जँड्याहा र जुवाडे बनिनँ। बन्न मन पराइनँ। ‘जँड्याहा’ भन्ने सम्बोधन त सुन्नु पनि परेन तर ‘जुवाडे’ भनिएँ। त्यसैले मैले त्यस्तो भनाइको अनुभव गरेको छु। त्यो शब्दले मलाई यति साह्रै बिझायो कि त्यसलाई मैले सुधारको सम्भावनाको सङ्केतका रुपमा लिएँ।

म जुवा खेलेको छैन, त्यसका दाउकाबारेमा पनि मलाई राम्ररी जानकारी छैन तर पनि म जुवाडे भनिएँ। मान्छेका विचार, बोली र ब्यवहारले कस्ता कस्ता अवस्थाको सृजना गर्छन्? कस्ता प्रभाव पार्छन्? मैले बुझ्न सक्छु। यो बुझाइको प्रारुप बन्नु अघिका घटनाहरू सम्झँदा म अतीतमा पुग्छु। त्यहाँ एउटा यस्तो समुदायको आकृति छ जो नमेटिने गरी मेरो अन्तहृदमा गहिरो गरी कोरिएको छ।

म त्यही आकृतितिर दृष्टि पुर्याउँछु र आफ्नो अतीतको गाथा सम्झन थाल्छु। त्यहाँ अलिकति प्रशंशा गर्ने, स्याबासी दिने अथवा उत्साह थपिदिने मायालु बोलीका आशामा निरन्तर घरका काममा लाग्ने बाल्यकालको आफ्नो अनुहार भेट्टाउँछु। मेरा अनुहार वरिपरि अरु थुप्रै अनुहार छन्। खासगरी तानसेन पढ्न बस्दा सिकेर घर आउँदा पुरानो एक गड्डी ताश लिएर आएको दाइको अनुहार पनि छ। म त गाउँले ठिटो, विभिन्न बुट्टाका र फरकफरक किसिमका राता, काला ताश देखेर छक्क पर्छु र सोच्न थाल्छु- ताश कसरी बनाएका होलान्? कसले बनायो होला? कसरी खेल्छन्? आदि आदि। मेरा जस्तै अरुका पनि जिज्ञासा छन्।

हाम्रा सबै त होइन केही जिज्ञासा पूरा गर्न दाइले सक्नुहुन्छ र एकाध खेल पनि सिकाउनुहुन्छ। सिकाउँदा पहिले तिनलाई के भनिन्छ? कसरी चिनिन्छ? आदि आदि। दाइले भन्दैमा एक दुइ पटकमा नामै त आउन्न तर काम चल्ने हुन्छ। मनमा तिनका आकारप्रकारका लागि सङ्केत बन्छ- एक्का, दुक्का, तिक्का, चौका पन्जा, छक्का, सत्ता, अठ्ठा, नवा, दशा आदि आदि। सम्झनाको बीउ रोपिन्छ र सम्भावना बन्छ।

दाइले तिनको संख्या गन्दै भन्नुहुन्छ- ‘ए! पूरा भएन त।’ त्यत्ति नै भए पनि खेल्न मन लाग्छ तर पूरा नभएसम्म खेल्न मिल्दैन’ भनेर दाइले भनेपछि हाम्रो उत्सुकता हराउन थाल्छ। केही पछि दाइको कला र मेरो परिश्रमले एउटा नयाँ सम्भावना भेट्छ। नयाँ संसारको सृजना हुन्छ।

नरका श्रमले विना पनि, धरती यो छ हराभरा भने
यसकै श्रम त्यो मिलेहुँदी अझ हुन्थ्यो कति उर्वरा धरा?

सरिता खण्डकाब्यमा मैले लेखेका यी पंक्तिहरू सम्झन्छु र त्यो क्षणको परिकल्पना गर्छु। हामीले कति छिटो जुत्ता वा चुरोटका प्याकेट बटुलेर बराबर आकारमा टुक्रा बनाएछौं। गुलाम, मिस्सी र बास्सा बनाउन एक एक वुट्टा बढी हानेर बनाइएका ती ताशका कागज अति बाक्ला भएकाले हातमा पूरै पत्ती लिन अलि अप्ठेरो हुन्थ्यो तर आफै बनाएको गौरवमा ‘तेन्जिङ नोर्गे’ भएका थियौं। सफलताको त्यही आनन्द हाम्रा मनमा छाएको थियो।

बिकासको प्रकृया सरलबाट जटिलतिर जान्छ तर हामी कुन्नि कता गयौं? पत्तै भएन। हामीले ताश बनाउनु अघि बाँसका २/३ हातका सग्ला टुक्रालाई ८/१० औंल जति चिरेर दायाँ बायाँ प्वाल खोली बीचमा पाङ्ग्रा राखेर मोटर बनाउने गरेका थियौं। प्वालमा पाङ्ग्रा अड्याउने एउटा काठको चुकुल हुन्थ्यो। त्यसको माथिल्लो भागमा त्यस्तै तेर्सो गरी एउटा चुकुल राखिन्थ्यो जसले सामान झुण्डयाउन र समातेर घुचेड्न सघाउँथ्यो। पाङ्ग्राका दाया-बायाँ निस्केका चुकुलमा टेकेर उत्तानो लम्पसार सुतेकालाई गुडाएर पालैपालो दगुर्ने दगुराउने मोटर खेल चरम सीमामा पुगेको थियो। क्रमशः उन्नति गर्दै गयौं। टिनका दुवैतिर खोलेर अघि पछि २/२ पाङ्ग्रा जोडेर माथि फर्केने भाग काटेर खुल्ला पारेर सामानहरू राखेर कहिले आफै बसेर दगुराउने खेल खेल्न थाल्यौं।

यस्ता खेलहरूले हाम्रा मनमा नयाँ उत्साह थपेका थिए। मलाई लाग्छ- विद्यार्थी अवस्थामा हामीमा पनि राइट दाजुभाइको अभियान थियो। एडिसन, वाटरमेन, आइन्स्टाइन, न्यूटन ………. बन्न चाहिने उत्सुकता हामीमा पनि थियो। नत्रभने छाप काटेर ताश बनाउने, टिन, बाँस काटेर मोटर बनाउने, निगालोका मोटो मसिनो टुक्रा जोडेर बिर्को लाउने कलम बनाउने, घाम घडी र ईटा पार्ने मेशिन बनाउने गर्न सक्थ्यौं र?

हाम्रा सम्भावनाहरू त वातावरण, अध्ययन सामग्री, प्रेरणा र प्रोत्साहनका अभावमा मात्र रोकिएनन् अन्त कतै सोच्न खोज्न नपाइने एकोहोरो नियन्त्रणभित्र टाक्सिए। आधारभूत मान्यताका स्रोत र समयाभावमा शिथिल भए।

हामी वैज्ञानिक बन्न नसक्नुका पछाडि यिनै र यस्तै कारणहरू रहेका छन्। हाम्रो अयोग्यता, अकर्मण्यता, अक्षमता वा अल्छीपना कारण बनेका छैनन्। आफ्ना अभिभावकका मुखमा चुरोट, बिंडी सल्किंदै गएको देखेर रहरमा सन्ठीका टुक्रा सल्काएर चुरोट तान्नु हाम्रो बहुलठ्ठीपन थिएन त्यो त बालसुलभ जिज्ञासा र अनुकरण थियो तर त्यसो गर्दा पनि त हामीले बेलामौकामा मुड्की खाने सम्भावना रहन्थ्यो।

हामी त हाम्रा अघिल्लो पुस्ताका राम्रा-नराम्रा व्यवहारबाट निर्देशित हुने गर्यौं र त क्षमता, जिज्ञासा र सोच भए पनि वैज्ञानिक बन्न सकेनौं। डाक्टर, इञ्जिनियर हुन सकेनौं। भयौं भने पनि बाहिरी वातावरणमा पुग्न र कठिन संघर्ष गर्न सक्नेहरू मात्र हुन सक्यौं।

ताश छाप्यौं, भित्ते चित्र, मूर्ति चित्र र चित्र बनायौं, टिन, बाँस काटेर मोटर बनायौं। कागज, किला र काठले घाम घडी बनायौं। निगालाको बिर्के कलम बनायौं। हाम्रो सीप, बुद्धि र परिश्रमले उत्प्रेरक शक्ति पाएन। आवश्यक प्रेरणा र प्रोत्साहन, सहयोग र स्वतन्त्रता भएन। चेतना र आधारभूत सामग्रीका निम्ति पृष्ठपोषण भएन अनि हाम्रा गतिहरू रोकिए। मनहरू टाक्सिए र बाउन्ने बन्न बाध्य भयौं। क्षमता बढाउनेतिर भन्दा लुकाउनेतिर हाम्रो प्रयास हुन थाल्यो। कापीका पन्नाबाट हवाइ जहाज, बल, डुँगा बनाउनसम्म पनि नपाउने हामी कसरी वैज्ञानिक बन्न सक्थ्यौं र? हरेक नेपाली बालबालिकाका पीडा, दर्द र व्यथा नभए पनि अधिकांशका त यिनै यिनै हुन्। नत्र भने अन्त्याक्षरी खेल्दा साथीहरूले १/२ पटक भनेका कविताहरू, राम्ररी पढाएका विषयवस्तुहरू जस्ताको त्यस्तै वर्षौदेखि अहिलेसम्म याद रहने हाम्रो स्मरण क्षमता कसरी कमजोर हुन्छ?

पाँच छ कक्षामा पढ्दा राधाकृष्णले भनेका- ‘कपालको रौं त रहेछ यस्तो, होला नि तिनको अनुहार कस्तो?
‘हे मन्त्री ! हीरा भनि नाम सुन्दा भयो आकुल चित्त ज्यादा’ कविता अहिले पनि स्मृतिमा छ। बरु अध्ययनले तिनमा कमी कमजोरी भए पत्ता लाग्ने गरेको छ।

त्यसरी नै डा. तुल्सी पाठक, पद्यनाभ शर्मा, विध्येश्वर पाठक, तारा पाण्डे रामनारायणाचार्य जस्ता शिक्षकहरूले पढाएका कतिपय विषयवस्तु एकैपटकमा कसरी संझन सक्तथें- मेरै दाइले एकपटक सुनाएको कविता कसरी याद रहिरहँदो हो र?

माधव भट्टराई मनिटर भएका बेला उनले पिटाइ खानु परेको, लक्ष्मीपति लुइँटेलको अभिनय गर्दा मैले हरिभुसाललाई ढोगेको विषयमा उडाएको, जस्ता घटनाहरूले हीनताबोध भरिएको मेरो मन अहिलेसम्म पनि उत्साहित बन्न सकेको छैन। अनि म कसरी एउटा उत्साहित कलाकार बन्न सक्थें?

तमाम प्रतिबन्ध, घृणा, खिसी, वा नियन्त्रणले म मात्र होइन, मेरो विचार, भावना, व्यवहार र मन नियन्त्रित भए। बौद्धिक क्षमता र सीपमा नियन्त्रण भयो र त म जे बन्न सक्थें, जे बन्नुपर्थ्यो, जे बन्ने सम्भावना थियो त्यो बन्न सकिनँ, त्यो बनिनँ र त्यसको सम्भावना हरायो। म जस्तै अरू तमाम बाल, किशोर र युवाहरू (सम्भावना अनुरुपका) बन्न सकेनन्।

जब सम्भावनाहरू घट्दै जान्छन् असल र राम्रा सीपहरू टाक्सिन थाल्छन् तब वैकल्पिक अवस्था र गुणतिर जाने क्रम बढ्छ। ढुङ्गाले जमिन बाहिर निस्कन नदिएको टुसा या त तलतिरै फर्केर बटारिन्छ या त तेर्सिन्छ।
शायद, त्यसैले हो कि म पनि ताश खेल्नेतिर लागें। विकासोन्मुख देशका तमाम बालबालिकाहरूको जीवन-यात्रा यसरी नै शुरु हुन्छ र गन्तव्य पनि यस्तै हुन्छ।

हाम्रो अघिल्लो पुस्ता ताश खेल्छ। दाम्लो-नाम्लो गर्छ। घाँस दाउरा र खेतीपाती गर्छ भने त्यही समुदायका हामी एकदमै अलग सोच र योग्यताका कसरी बन्थ्यौं र? मैले पनि आफूलाई अरू सम्भावना रोकिए जस्तै भएपछि तिनै तिनै सम्भावनातिर लागेको पाएँ। तिनै मेरा विश्वविद्यालय बने र मैले तिनै विषय पढ्न थालें। ताशमा रहेको चरम प्रतिष्पर्द्धी भावना राम्ररी बुझें र त्यही भावनाले अस्वस्थ प्रतिष्पर्द्धा उब्जाएको अनुभव गरें अनि मैले खेललाई सौहाद्रतामा लैजाने अभ्यास गरें। परिणाम-सबैको प्रिय खेलाडी बनें तर हार बाहेक जीतको अनुभव गरिनं।

मेरो विवाहका अघि पछिका केही वर्षमलाई ताश खेल्न बोलाउनेहरू, रोज्नेहरू प्रशस्त हुन्थे। गाईगोरु चराउँदा होस् वा खाली भएका वेला होस् प्रायः ताश चल्थ्यो। एकदिन मैले ‘लोग्ने जुवाडे छ, अल्छी छ, तिनलाई पनि सुख त हुन्न’ भनेको सुनेर श्रीमतीका आँखामा आँसु भरिएको देखें। वास्तवमै म जुवाडे बनिसकेको थिइनँ। जुवा त जान्दा पनि जान्दिनथें र खेल्दिनथें खालि ताश खेल्ने गरेको थिएँ।
तैपनि त्यो टिप्पणी मलाई हेप्ने वा उडाउने उद्देश्यले गरिए जस्तो लाग्यो। त्यसै दिनदेखि ‘मैले कुनै पनि खराब लत बनाउन्न’ भन्ने सोच बनाएँ।

कुनै पनि कुरा स्वीकार्न वा छोड्न सक्दै नसकिने हुँदैन भन्ने मैले बुझेको थिएँ। त्यसैले खानपिन, खेलकूद एवं अन्य कतिपय कुरामा जस्तो अवस्थालाई पनि सहजरूपमा लिने र लतका रूपमा नलिने स्वाभाविक बानी बसाल्न थालें। चिया, चुरोट, सूर्ती पान, सुपारी जस्ता चीज प्रयोगै नगर्ने र गरे पनि अभ्यासका रूपमा नगर्ने, नियमित रूपमा नगर्ने अभ्यास गरें। ताश पनि घरमा, दाजुभाइमा र चाडपर्वमा ससुरालीमाबाहेक अन्यत्र र अरूसंग खेल्दै नखेल्ने गरें। जुन खेल सिकेको थिएँ त्यो बाहेक अरू खेल सिक्दा पनि सिकिनँ। सिकाउन र खेलाउन प्रयास गरे पनि मैले मानिनं।

आज मलाई ‘ताश खेल्न जान्दछ’ भनेर विश्वाससम्म पनि नगर्ने र कल्पनै नगर्नेहरू प्रशस्त छन्। त्यति मात्र होइन, मैले यस्ता धेरै अभ्यास गरें र नयाँ किसिमको व्यवहार बनाएँ जसले म आफैलाई अन्त्यन्त सन्तुष्ट बनाएको छ।

आज म जे छु त्यही एउटा भनाइको परिणाम त होइन, तर मेरो व्यक्तित्व निर्माणमा त्यो भनाइको भूमिका महत्वपूर्ण छ। त्यसैले त्यसो भन्नेलाई मैले आज पनि आदर गर्ने गरेको छु र म निरन्तर आफ्नै गतिमा अघि बढ्ने गरेको छु। मेरो विश्वास गर्ने जुन समूह बनेको छ त्यो एउटा सम्भावना मात्र थियो र त्यो भनाइ सम्भावनाको मार्गमा एउटा दौड थियो। प्रतिष्पर्द्धा थियो। मैले त्यसलाई स्वीकारेर विजय प्राप्त गर्न सकेको थिएँ।

(घोल्कीमा बस्ने रहर पुस्तकबाट साभार)

(dillirajaryal@gmail.com)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: