कमलराज रेग्मीद्वारा लिखित पुस्तक "आमा, म र पाल्पा"को आवरण पृष्ठ

-डिल्लीराज अर्याल

पाल्पामा जन्मिएर त्यसकै सेरोफेरो हुँदै राष्ट्रिय पहिचान बनाइसकेका वयोवृद्ध व्यक्तित्व हुन् – कमलराज रेग्मी।त्यसो त उनको व्यक्तित्वको एउटै पाटो छैन तर पनि अहिलेसम्मको खास पहिचानको पाटो भने राजनीति नै रहेको छ। तानसेन १ मेहल्धारामा विसं१९८३मा जन्मेका रेग्मीले जीवनको उत्तरार्द्धतिर आएर अतीतको सम्झनालाई लिपिबद्ध गरेका छन्।त्यही शृङ्खलाको नतिजा हो – “आमा, म र पाल्पा” संस्मरणात्मक कृति।यसरी राजनीति र संघर्षबाट परिचित कमलराजको व्यक्तित्वको अर्को पाटो साहित्य बनेको छ।

वाङ्मय प्रज्ञाप्रतिष्ठान पाल्पाद्वारा प्रकाशित उनको संस्मरणसंग्रह “आमा, म र पाल्पा “ यही सेरोफेरोलाई उजागर गर्ने कृतिका रूपमा देखा परेको छ। आमाको काख, मावल, सँगीसाथी र घरपरिवारकै सेरोफेरोमा रुमल्लिएको उनको जीवनयात्रा कसरी एउटा संघर्षशील रूपमा रुपान्तरित भयो? समयक्रममा कसरी पञ्चायतको सेरोफेरोमा पुगेर पनि वामपन्थकै निकट रहने अभ्यास गर्‍‍‍‍‍‍यो र गर्दैछ? भन्ने कुरामा आधारित यो पुस्तक नेपाली राजनीतिलाई पृष्ठभूमि बनाएको संस्मरण-संग्रह हो।

डा‌‍.‍ प्रकाश रेग्मीद्वारा सम्पादित, करिब २७४‌+१२पृष्ठ आयाममा विस्तारित यो पुस्तकमा २४ संस्मरणात्मक लेख,१कविता बाहेक अनुसूचिहरू, केही ऐतिहासिक फोटा र कागजपत्रहरूसमेत छन्। त्यस्तै प्रसङ्गवश आएको सहयात्री ईश्वरीप्रसाद आचार्यको कविता, नेपाली भाषाका विद्वान् डा चूडामणि बन्धु, प्रगतिशील लेखक विष्णु प्रभात, राजनीतिज्ञ मोहन विक्रम सिँह र यज्ञेश्वर निरौलाका मन्तव्यहरू पनि समावेश गरिएका छन् ।

पुस्तकको मुख्य अंश लेखकले देखे-भोगेका, व्यहोरेका र आफू सम्मिलित गतिविधिको संक्षिप्त चर्चा, बाल्यकाल, परिवार, नालनाता, मावली आदिमा केन्द्रित छन्। साथै राजनीतिक चेतनाको प्रारम्भ, काठमाण्डौँ प्रवेश, जयतु संस्कृतम् आन्दोलन, बनारसयात्रा, नेपाल आगमन, २००७ सालको आन्दोलन, त्यसमा खासगरी पाल्पामा गरेका संघर्ष लगायत विविध ठाउँ, घटना र अनेकौँ व्यक्तिसँगको सम्बन्धकेन्द्रित रहेको छ।

त्यस्तै विविध समय, परिवेश र घटनाको चर्चा, पाल्पाको किसान आन्दोलन, जनचेतना जागरण कार्यक्रम, ऐतिहासिक हस्तलिखित पत्रिका पथप्रदर्शक, पुस्तक पढ्ने दलान हुँदै भएको धवलपुस्तकालयको स्थापना, तत्कालीन प्रतिभाहरू, जागरण अभियानका युवा सहयात्रीहरू, कलाकारहरूका साथै माओवादी आन्दोलनका क्रममा गुमेका पाल्पाका खास व्यक्तित्वहरूसमेतको धेरथोर चर्चा पुस्तकका विषयबस्तु रहेका छन्।त्यस्तै कतिपय ऐतिहासिक तथ्यहरू र तत्कालीन आन्दोलनमा आफ्नो भूमिकाका साथै सहभागीहरूको समेत सम्झना रहेको छ।

यसरी आन्दोलन, त्यससँग सम्बन्धित व्यक्ति तथा कतिपय सामग्रीका साथै ऐतिहासिक महत्व राख्ने नाम, संघसंस्था समेत उल्लेख भएकोले पुस्तक पुराना विषयबस्तुको खोजबिन तथा अध्ययन गर्ने अध्येताहरूका लागि स्रोतसामग्री बन्ने पनि देखिएको छ।

प्रकाशनका दृष्टिले “आमा, म र पाल्पा” रेग्मीको पहिलो पुस्तकाकार कृति भए पनि रेग्मीको लेखनमा नियमितता देखिन्छ। अध्ययन र अनुभवले खारिएका रेग्मीका टिप्पणी, मन्तव्य, संस्मरण लगायतका प्रशस्त लेख-रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। राजनैतिक चेतनामूलक, भावुकताप्रधान र सामाजिक गतिशीलता केन्द्रित उनका रचनाहरू सामान्य भएर पनि उल्लेख्य देखिन्छन्। जनचेतना जगाउने उद्देश्य राखेर पाल्पाबाट प्रकाशन शुरु भएको हस्तलिखित पत्रिका पथप्रदर्शकको मुखपृष्ठमा राखिएको “निद्रित हो अब जागो जागो अज्ञान निशा जब छैन कहीँ। प्रात‌: भयो सब हेर उदायो, पथ प्रदर्शक स्वर्णिम ज्योति” र त्यस अघि उद्योग पत्रिकामा प्रकाशित उद्योगी भई बाँचौँ कविता उनका प्रारम्भिक फुटकर रचनाका रूपमा देखिएका हुन्।

समाजको गतिविधि र राजनीतिलाई केन्द्रविन्दु बनाएर लेखिने उनका रचना परम्पराबादबाट उन्मुक्ति र विकासका पक्षतिर आकर्षित देखिन्छन्। उनका रचनाका आधारभूत सामग्री आत्मकेन्द्रित भावुकता, मातृस्नेह, गरिब, गरिबीको पक्षपोषण, राष्ट्रिय चिन्तन, अन्तर्राष्ट्रिय परिवेश, प्रभाव र पारिवारिक पृष्ठभूमिका झिल्काझिल्की रहने गरेका छन्। प्रजातान्त्रिक आन्दोलनबाट प्रारम्भ भएको उनको राजनीति बामपन्थतिर आकर्षित, प्रभावित र विस्तृत हुँदै गएको देखिन्छ। राजनीतिक यात्रा पञ्चायततिर पुग्दा पनि सामाजिक विषयबस्तु, संस्कार, सद्भाव र सहयोगका दृष्टिले भने परिवर्तनका पक्षमै रहेको, मानसिक द्वन्द्वको एउटा पक्ष प्रगतिशीलताकै पक्षपोषक रहेको देखिन्छ। कमीकमजोरीका विषयमा विभिन्न व्यक्तिका आआफ्नै धारणा, मूल्याङ्कन होलान्, आलोचनाका पाटा होलान् तर जयतु संस्कृतम्देखि पाल्पाको किसान आन्दोलन, जनजागरण अभियान, २००७सालको आन्दोलन हुँदै शोषण, दमन र अस्पृश्यताका विपक्षमा समेत उनले खेलेको सक्रिय भूमिका भने उच्च मूल्याङ्कनकै विषय रहेको छ।

यस्तै विषयबस्तुको कतै सारसंक्षेप र कतै विस्तृत बयानमा आधारित यो पुस्तकले निजी संस्मरणका रूपमा आएर पनि तत्कालीन फोटो, लिखित सामग्री र नामनामेसी समेतका कारण ऐतिहासिक पृष्ठभूमिको दस्तावेज बन्न सक्ने आधार तयार पारेको छ। यसको विधागत मूल्य किटान गर्दा फरक-फरक मत होलान् तर कवितालाई समेत संस्मरणका हाराहारीमा उल्लेख गरिएकाले समग्रमा राजनैतिक पृष्ठभूमिको आधार उल्लेख गर्ने यो प्रयास संस्मरण-साहित्यका रूपमा रहेको छ।

सामान्यतया संस्मरण साहित्य आत्मपरकता र वस्तुपरकतामा आधारित हुने गरेको छ। आफूले सुने-जानेका, देखे- भोगेका र आफै सम्मिलित भै गरेका सामाजिक, राजनैतिक, भौगोलिक, आर्थिक, साहित्यिक, पारिवारिक एवं सांस्कृतिक गतिविधिको सम्झना नै यसका आधार हुने गरेका छन्। सामान्तया संस्मरणले इतिहासलाई बचाउने र साहित्यलाई सधाउने काम गर्छ।

शैलीगत हिसाबले संस्मरण कथात्मक, निबन्धात्मक र विवेचनात्मक शैलीमै रहने गरे पनि यिनमै सीमित भने रहन्न। कवित्व, लेखन, चिन्तन र परिवेश-कथनमा आधारित देखिने यो पुस्तकमा रेग्मीले आफ्ना कमीकमजोरी स्वीकार्ने आँट देखाएका छन् ।यो सकारात्मक पक्ष हो र पुस्तकमा उल्लेख गरिएका कतिपय व्यक्तिहरू हालसम्म जीवित रहेका सन्दर्भमा तथ्यगत हिसाबले फरक भएको भए सच्याउन र इतिहासको यथार्थलाई जोगाउन सकिने अवस्थामा यसको ऐतिहासिक महत्वसमेत देखिन्छ।

पुरानो शासनकालका बेठीबेगारी, ओलकपात, झाराटण्टा, मुखिया जिम्मावालको शासन, शोषण, शासक वर्गसँगको निकटताले तिनले जनतालाई दिने गरेको पीडा, तिनका विरुद्ध खासगरी पाल्पा केन्द्रित आन्दोलन, शिक्षाको अभाव र त्यसका लागि भएका आन्दोलन जस्ता विविध पक्षको झलक दिएर पुरानो अवस्थाको चित्र प्रस्तुत गर्न प्रयास गरेको सन्दर्भमा पुस्तकले राम्रो भूमिका निर्वाह गर्न सकेको र सक्ने देखिन्छ।
पार्टी राजनीतिमा व्यक्तिको भूमिका, उत्साह, जोश जाँगर, आँट साहस, त्याग बलिदानका पृष्ठभूमिमै पलायन, वितृष्णा र निराशाका छायाहरू कसरी देखा पर्छन्? उत्साहित गर्दै लैजानुपर्ने कार्यकर्ता पंक्तिमा पार्टी नेतृत्वको खिँचातानी, झैँझगडा, बेमेल र स्वार्थको के कस्तो प्रभाव पर्छ? दृष्टि र दृष्टिकोण दिन नसक्दा पार्टीहरू कसरी भताभुङ्ग हुन पुग्छन् र नेतृत्व तहमा पुगिसकेका नेता-कार्यकर्ता समेत तितरबितर हुन पुग्छन् भन्ने कुराको अध्ययन गर्न यो पुस्तक प्रभावकारी हुने देखिन्छ।

नेपाली राजनीतिका हिजोका अवशेषहरू आज पनि उस्तै छन्। पलायन हुनेहरूको संख्या थपिँदै छ। तिनका अभिव्यक्ति उस्तै छन्।तिनलाई कसरी व्यवस्थित गर्ने भन्नेतिर भन्दा तिनलाई आरोपित मात्र गर्ने, गद्दार र पलायनवादी भन्ने प्रवृत्ति उस्तै छ।यो प्रवृत्ति आफैमा नकारात्मक पनि हो, यसले सुधार्न भन्दा पलायन हुन अभिप्रेरित त गरेको छैन? उत्साह थप्न भन्दा निरुत्साही बनाउन त सघाएको छैन भन्नेतिर जानुपर्ने ध्यान जान सकेको छैन।नेपाली राजनीतिका यस्ता कमजोर पक्षमा ध्यान पुग्नु जरुरी भएको सन्देशसमेत यसमा रहेको छ।
संकलनको पहिलो शीर्षक “आमाप्रति” आमाको समग्रता, समष्टि रूप, विविध अवस्था र चिन्तनका हिसाबले  हेरिएको र आमाको महिमा गान गरिएको कविता रहेको छ जो विचारका दृष्टिले सुन्दर छ।

दोस्रो “सम्झना आमाको “शीर्षकको संस्मरण रहेको छ। यसमा बाल्यकालको स्मृति, आमाको स्नेह, र मातृत्वबाट अभिसिञ्चित भएको कुरा उल्लेख गरिएको छ। तेस्रो “मावली मदनपोखराको चर्चा”मा वंशगत चेत, परिचय र मदनपोखरासँगको अन्तर्सम्बन्ध, ग्रामीण जनजीवनको चित्र, किसानहरूको व्यवहार, परम्परागत संस्कारबाट नयाँ चिन्तनमा प्रवेश भएको विवरण आदिको सम्झना रहेका छन्। चौथो “आमाहरू म र साहित्यानुराग”मा आमाको निकटताको प्रभाव, अक्षरारम्भ, लेखनको प्रारम्भको बयान छ भने पाँचौँ “बाल्यकालका मेरा गुरुहरू”मा व्रतबन्ध, पठनपाठनको प्रारम्भ, हुँगीको परिवेश, मन्त्रदाता गुरुसँगको यात्रा, नाटक मञ्चन, निर्देशन र लेखनको सम्झना रहेका छन्। छैठौँ “राजनीतिक चेतनाको पहिलो दिन” ऐतिहासिक पुस्तक पढ्ने दलान, जनआन्दोलनका संकेतहरू, शहीद पर्वको असर र त्यसबाट जागृत चिन्तनसँग सम्बन्धित सम्झनामा केन्द्रित देखिन्छ।

सातौँ “दोस्रो विश्वयुद्धको विभीषिकासँगै”मा माधवप्रसाद देवकोटासँगको सामीप्य, पठनपाठन, कविता, गीत सुन्ने अवसर, अन्तरराष्ट्रिय सूचना र विश्वयुद्धको प्रभावको बयान देखिन्छ। आठौँ“तीनधारा पाकशाला”मा पहिलो रेलयात्रा, भारतीय आन्दोलनको छनक,रानीपोखरी पाठशालाको पढाइ, जयतु संस्कृतम् आन्दोलनको पूर्वाभ्यास, प्रभाव र बिदाइको बर्णन देखिन्छ भने नवौँ“जयतु संस्कृतम् आन्दोलनभित्र”मा छात्रावासको गतिविधि, प्रशासनिक नियन्त्रण, आन्दोलनको प्रभाव र सम्बन्धित पात्रहरूको सम्झना रहेको छ। दशौँ “तानसेनबाट फेरि बनारसतर्फ” मा बनारस प्रस्थान, पथप्रदर्शकका निम्ति आफूलाई लेखिएको पत्रको उल्लेख छ।

एघारौँ “कम्युनिष्टहरूसँग सम्पर्क” मा राजनैतिक खिँचातानी, बिपी र डिल्लीरमण रेग्मीबीचको विवाद, वामपन्थतिरको आकर्षणको बयान छ भने बाह्रौँ “महात्मा लेनिन ले कम्युनिष्ट बनायो”मा पुस्तकको प्रभाव, द्वन्द्वात्मक भौतिकवादतिर आकर्षण बढेको बयान छ। तेह्रौँ“कम्युनिष्ट हुन रक्सी पिउँदा”मा कम्युनिष्ट बनाउने प्रयास र तत्कालीन गलत परम्पराको पछि लागेको सम्झना छ। चौधौँ “पाल्पाको जनक्रान्ति र लालप्रसाद चित्रकार”मा बनारसबाट तानसेन आगमनमा लालप्रसादको सहयोग, सामूहिक कार्य, जुलुस निकाल्दाको सम्झना छ भने पन्ध्रौँ “शहीद भएको खबर”मा पार्टीगत भन्दा स्वतन्त्र रूपमा काम गर्ने प्रस्ताव कांग्रेसबाट अस्वीकृत भएको, थिरबम मल्लको शहादत, नेतृत्वको अकर्मण्यताको अनुभव, पाल्पाको जुलुस, भाषण, आफू शहीद भएको खबरको प्रसार र खण्डनको बयान छ। सोह्रौँ “२००७सालको जनक्रान्तिमा मेरो सहभागिता” आफ्नो र विमला समेतको तानसेनका जुलुसमा सहभागिता, आफूलाई भात भान्छाबाट बाहेक गरिएको घटनाको सम्झना छ।
सत्रौँ “यातना दिन जुम्ला चलान”मा तारकबहादुर शाहको पाल्पाको आन्दोलन रोक्ने भूमिका, आफूलाई जुम्ला जेल पठाएको, प्रतिमानचन्दको व्यवहार, जेलमुक्ति र नारायण शर्मासँगको भेटको बयान छ।अठारौँ “पाल्पाको किसान आन्दोलन वरिपरि” मा गुँगा विद्रोह, आन्दोलनकारीको पक्राउ, फटाहालाई चलाइएको मुद्दा र त्यसमा विजय, किसान संगठन, गाउँगाउँमा कार्यक्रम, के आइ सिँहसँगको भेट, चुनावी कार्यक्रम र विजयको बयान छ।यसपछि पाल्पाका कम्युनिष्ट पार्टीका तत्कालीन सदस्य वा समर्थकहरूको नामावली दिइएको छ।

उन्नीसौँ “पञ्चायत प्रवेश”मा आफू जेल परेको र जेलबाट निस्कँदाको पार्टीको, घर परिवारको अवस्था आदिको बयान सहित पञ्चायत प्रवेशको बयान छ भने बीसौँ “जिल्ला पञ्चायतमा १६दिन”मा आफू जिल्ला सभापति भएको, रापस भएको र विविध कार्ययोजना बनाएको बयान छ । एक्काइसौँ“ विमलाको भूमिका”मा उनको भूमिकालाई प्रतिनिधि नारीको रूपमा उल्लेख गरिएको छ। बाइसौँ “पाल्पामा शिक्षा: सम्झनाको सानो पाटो”मा महेन्द्र रात्रीपाठशालाको स्थापना, महाबोधीसँग एकीकरण भएको ऐतिहासिक घटनाको चर्चा छ, सम्झना छ भने तेइसौँ “पाल्पाली सङ्गम”मा त्यसको गठनको,चौबीसौँ “माओवादीसँग स्पर्श”मा आन्दोलनका क्रममा उनीहरूको कार्यक्रममा गएको, त्यसको धेरै टिका – टिप्पणी भएको, जनयुद्धमा विविध व्यक्तिको शहादत भएको घटना र तिनको सम्झना छ।

यो सबैभन्दा लामो लेखका रूपमा रहेको छ भने आन्दोलनका विविध घटनाको चर्चा, थुप्रैको सम्झना पनि गरिएको छ। पच्चीसौँ “जीवन अविश्रान्त कर्मयात्रा”शीर्षकको रचना उत्कृष्ट रूपमा रहेको छ। विविध दर्शनको समन्वय रहेको चिन्तनपरक यो लेखले यस संकलनलाई उच्चता प्रदान गरेको छ भन्न सकिन्छ। लेखकले यसलाई अरुको लेखनको सार समेत समावेश भएको लेखका रूपमा लिएका छन्।

समग्रमा हेर्दा यस पुस्तकमा जन्मभूमि, जन्मदातृ र सहयात्रीसितका सम्बन्धलाई हेर्ने दृष्टिकोण पनि रहेको छ। मान्छेको उत्साह-निरुत्साह, अग्रगमन-प्रतिगमन, राम्रो-नराम्रो भूमिकामा व्यक्ति नै प्रमुख रहे पनि ऊ मात्र जिम्मेवार नहुने कुरा प्रकारान्तरले उठाइएको छ। परिस्थितिवश मार्गबाट विचलन भए पनि आफूले लिएको विचारमा आंशिकै रूपमा भए पनि निष्ठा रहने, त्यसै अनुरूप काम गर्ने चाहना रहने जस्ता कुरा देखाउँदै नेतृत्ववर्गको कमजोरी खोतल्नुपर्ने कुराको संकेत गरेको छ।

समग्रमा हेर्दा पुस्तक यथार्थपरक छ। पुरानो संस्कार, संस्कृतिका पक्ष, राजनीति, समाज, चेतनामूलक गतिविधिका साथै दार्शनिक चिन्तन समेत रहेको छ।स्तरीय हुँदाहुँदै पनि कतिपय ठाउँमा भेटिने असावधानी र त्रुटिले दाँतमा ढुङ्गा लाग्ने गरेका छन्। (लप्टेन (पृ१५९), आगाध (पृ२१०), कृष्णगण्डक (पृ२१२), प्रयाश (पृ२१३), चिनियालाल (पृ२१६), जेठी छोरी अरुण रेग्मी (पृ२१७), मगरन्त संघिय राज्य (पृ२४४), द्रुर्दान्त शोषण (पृ२४४), चिरागद्दीन (पृ२४९), जस्ता धेरै शब्दगत, विशाल जनसंख्या (पृ९७), सातसाल पछि स्कुल यहीँ खुल्यो (पृ६५), यही गाउँमा जन्मेका सोमप्रसाद पाण्डे सांसद बनेका छन् (पृ ६६), जिविस सभापतिहरूलाई यही गाउँले जन्माइरहेछ (पृ६६), एउटै गाविसमा दुईवटा मावि र क्याम्पस समेत शिक्षाप्रेमी यहीँ छन् (पृ६५), त्यो थियो- लय मिलाएर पद्य पढ्दा परमानन्द प्राप्त हुन्थ्यो (पृ१०१), हाँसको फुल खाँदा हामीसँगै हुन्थ्यौँ (पृ११०), पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ (पृ१३६), स्मारिका उपलब्ध गरिदिएँ (पृ२४४), जस्ता वाक्य वा वाक्यांशगत, विषयगत, अभिव्यक्तिगत वा तथ्यगत कमजोरीहरू पाइन्छ। भावावेशमा नाम प्रस्तुत गर्दा कतिपय नामहरूले एकाङ्गी भएको देखाउँछन् यस्ता कुराको ख्याल हुन सकेको भए पुस्तक अझ सुन्दर बन्ने थियो। त्यस्ता कतिपय कुरा अप्रिय हुन्छन्, तिनले पुस्तकका तथ्यलाई अविश्वसनीय बनाउन मद्दत पनि गर्छन्। त्यस्तो हुनु ऐतिहासिकताका सन्दर्भमा राम्रो र भरपर्दो हुँदैन भन्ने कुरा लेखकले ख्याल गर्नैपर्छ। यी सबै कुरामा सुधारका लागि पनि आगामी संस्करणसम्म पर्खनैपर्ने हुन्छ। कतिपय सानातिना कमजोरी हुँदाहुँदै पनि सन्दर्भ, विषयबस्तु, ऐतिहासिकता आदिका दृष्टिले पुस्तक उपयोगी छ, महत्वपूर्ण र संकलनयोग्य छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: