– दीपक अर्याल

गोसाइँकुण्ड

गोसाइँकुण्ड

स्याप्रुवेशीदेखि रसुवागढी वा तिब्बतको बोर्डरसम्म करिब २५ कि.मि. लामो बाटो बनेको छ जसले गर्दा यताका बासिन्दालाई धेरैकुराका लागि काठमाडौंसँग मात्र भर पर्नुपर्दैन।त्यसो त स्याप्रुवेशीदेखि धुन्चे हुँदै काठमाडौंसम्म पनि सवारी साधन चल्ने गर्छ तर वर्षैपिच्छे आउने पहिरोले यो बाटोलाई नियमित चल्न दिंदैन।सर-सामानहरू तिब्बततिरबाट स्याप्रुवेशी आइपुग्छन् र खच्चडको सहाराले उकालो लाग्छन्- लाङटाङ, क्यान्जिङ वा ठुलो श्याप्रुतिर।

हामी ५ जनाको समूह स्याप्रुवेशी (१४६२ मि.)को लाङटाङ भ्यू होटलदेखि हिड्न शुरू गर्छौं। झम-झम पानी परिरहेको छ। रेनकोटले माथिको भाग ढाक्छ तर ठूलो झोला भएका कारणले सबैकुरा ढाक्न सम्भव छैन।लाङटाङ खोलालाई पछ्याउँदै हामी उकालो चढ्न शुरू गर्छौं।हिडाइको गति सन्तोषजनक छैन।बाटोमा जुका लाग्ला भन्‍ने अनुमान थियो तर त्यति धेरै जुका भेटिएन।केही उकालो चढेर आराम गर्दा ठूलो स्याप्रुबाट झरेका ७० वर्षीय वृद्ध देखा परे। कम्मरमा खुकुरी भिरेका तथा परम्परागत हिमाली पोशाकमा सजिएका उनीसँग हामी केही समय भलाकुसारी गर्छौं। हामीले हामीसँग भएको चुरोट त दिन्छौं तर चुरोट सल्काउने साधन दिन सक्दैनौं।हामीले उनको खुट्टामा जुका रहेको जानकारी दिन्छौं; उनी दापबाट खुकुरी निकालेर खुकुरीका सहाराले रगत र जुका दुवै सोहोर्छन् र फाल्छन्।केही समय गफ गरेपछि हामी विदा हुन्छौं।हामी उभो लाग्छौं भने उनी उदो।

लाङटाङ हिमाललाङटाङ हिमाल

विहान ७ बजे हिड्न शुरू गरेका हामीहरू १०.३७मा ल्याण्ड स्लाइड मा पुग्छौं।पहिले नै यो क्षेत्रमा पुगेका साथीहरूका अनुसार यहाँ पुग्नुभन्दा अगाडि ठूलो पहिरो थियो जहाँ माथिबाट आएको झरनाको पानीबाट हिड्नु पर्थ्यो र सबै कुराहरू भिज्ने गर्थ्यो तर यसपाली भने त्यस्तो केही देखिएन।ल्याण्ड स्लाइड (१६८८ मि.) मा हामीले खाना खान्छौं र आराम गर्छौं।

उकालो चढ्ने क्रम जारी छ। करिब १ बजे हामी ब्याम्बो (१९७७ मि.) पुग्छौं भने २ बजे ब्रिज (२१२३ मि.) पुग्छौं।राई सर ‘जिपिएस’ (GPS Receiver) मा समय, बाटो र उचाइको रेकर्ड गर्दै हुनुहुन्छ।त्यसैले हामी कति किलोमिटर हिड्यौं, कुन समयमा र कुन उचाइमा आइपुग्यौं भन्‍ने कुराको पुरै जानकारी राख्छौं।ठाउँ-ठाउँमा बसेर चिया खाने ठाउँहरू छन् तर सिजनमा जस्तो सबै होटलहरू खुला छैनन्।समितिले खास होटललाई मात्र सेवा सञ्चालन गर्ने अनुमति दिने कारणले अन्य होटलहरू बन्द हुने रहेछन्।हामीहरू ३ बजे रिम्चे (२१२३ मि.) र ४.४५ बजे लामा होटल (२४७५ मि.) पुग्छौं र बास बस्छौं।भिजेका कपडाहरू सुकाउन जरूरी भएकाले सबैजना आगोको छेउमा भिजेका कपडा लिएर बस्छौं।भाग्य वा दुर्भाग्य हामीहरू मात्र त्यहाँ छैनौं।विदेशीहरूको आगमन भएपछि हामीलाई अर्को घरको अगेनामा सारिन्छ।यो सामान्य हिसाबले मान्छे धेरै भएका कारणले सारिएको थियो वा विदेशीहरूका लागि हामीलाई मात्र सारिएको थियो, त्यो बुझ्न सकिएन।जे होस् हामीलाई पनि हामीहरू मात्र बस्न मिल्ने भएकाले अर्को ठाउँमा सर्न हामीलाई आपत्ति हुने कुरा भएन र हामीहरू भिजेका सबै सामान लिएर अर्को होटलतिर लाग्यौं।

लामा होटलबाट बिहान ७.१५मा हाम्रो यात्रा शुरू हुन्छ।यो पुरै उकालो बाटो हो।हामीले हाम्रो लक्ष्य क्यान्जिङ बताएका छौं।दुई जर्मन नागरिक र आङछिरिङ भाइलाई पनि हामी क्यान्जिङ पुग्ने बतायौं।उनीहरू भने लाङटाङमै बास बस्ने भन्दै थिए तर कुरो उल्टो परेछ।हामीहरू लाङटाङ बास बस्यौं भने उनीहरू क्यान्जिङ पुगे।उनीहरूको हिडाइ हाम्रो भन्दा राम्रो छ र छिटो पनि छ।हामी लामा होटल (२४७५ मि.) देखि घोडा तबेला (२९९१ मि.) पुग्दा १० बजिसकेको थियो।त्यसपछिको यात्रा पनि उकालो नै थियो।लामा होटलबाट हामी भन्दा पछाडि हिडेका धेरैले हामीलाई छाडिसकेका थिए। हामी १२.४४ मा थाङसाप (३१५९मि.), १.३० मा चम्की (३२५८मि.), र ३ बजे लाङटाङ (३४१४ मि.) पुग्छौं।यहाँबाट अगाडि जाने वा नजाने भन्‍ने विषयमा सामान्य मतभेद हुन्छ।मधुसुदन सर अगाडि जाने पक्षमा हुनुहुन्छ भने म र अमर सर अगाडि नजाने पक्षमा छौं।शमीक सर र राई सर दुवैका लागि तयार देखिनुहुन्छ। पानी परिरहेको कारण र अझ उचाइ चढ्नुपर्ने कारणले अगाडि नजाँदा नै राम्रो होला भन्‍ने राय राई सरबाट पनि आएपछि हामी लाङटाङमा बास बस्छौं। यसले गर्दा हामीले छुट्याएको समयमा हामीले भनेका सबै ठाउँ पुग्दैनौं कि भन्‍ने आशंका भनेर बढेर गयो।

लाङटाङ उपत्यकालाङटाङ उपत्यका

सबै ठाउँहरूको होटलका तुलनामा लाङटाङ सबै हिसाबले महङ्गो ठहरियो।जे होस् अर्को दिन बिहान हामी क्यान्जिङ तर्फ लाग्छौं। झोला सोही होटलमा छाडेर क्यान्जिङ भ्याली हिडेकाले हाम्रो यात्रा केही सहज हुन्छ।लाङटाङ हाइट (३४५६मि.), मुण्डु (३४७१ मि.), याम्दु, (३६२४ मि.) र क्यान्जिङ (३८५५ मि.) तथा क्यान्जिङ गुम्बा (३८५८ मि.) हुँदै हामी बिहान ९ बजे क्यान्जिङ पुग्छौं।क्यान्जिङबाट वरिपरि देखिने हिमाल र ग्लेशियरहरू केही देखिँदैनन्। बादलले सबै आकाश र हिमालहरू ढाकेको छ।हामीले क्यान्जिङ वरिपरि हिउँको पहाडको कल्पना मात्र गर्यौं।

क्यान्जिङबाट खाना खाएर हामीहरू ल्याण्ड स्लाइड पुग्ने बताउँदा होटलकी बहिनी हाँस्छिन् र हाम्रो कुरा पत्याउँदिनन्। हाम्रो हिजोको हिडाइका आधारमा हामीहरू ल्याण्डस्लाइड कुनै हालत नपुग्ने ठोकुवा उनीले गरिदिन्छिन्।लिटिल एन्जेल्समा पढेकी बहिनीले रविभवनबाट BTTM गरिरहेको जानकारी पाइयो।तिब्बती, नेपाली, अङ्ग्रेजी, नेवारी र तामाङ भाषा आउने यी बहिनीको लगनशिलता र आफ्नो पेशाप्रतिको प्रतिबद्धताले हामी सबैलाई प्रभावित पार्‍यो।यिनकी फुपु भने हामीलाई मात्र होइन बहिनीलाई पनि जिस्क्याउँदै थिइन् र छिटो बिहे गरिदिने कुरा गर्दै थिइन्।खाना खाएपछि हामीहरू ओरालो झर्न शुरू गर्छौं।फर्केर लाङटाङबाट हामीले हाम्रा झोलाहरू टिप्छौं र पानीमा भिज्दै-भिज्दै लामा होटलमा बास बस्न पुग्छौं।

अर्को दिन बिहान लामा होटलबाट हिड्छौं।आजको हाम्रो लक्ष्य चन्दनवारी हो।आज ओरालो झर्ने र उकालो चढ्ने दुवै काम गर्नु पर्ने हुन्छ।यो बाटो साह्रै उकालो, लामो र कठिन पनि छ।लामा होटल (२४७५ मि.) देखि ल्याण्ड स्लाइड (१६८८ मि.) तर्फ ओर्लन्छौं र खाना खाएपछि पुन: २२३२ मि. मा रहेको ठूलो स्याप्रु पुगेर आराम गर्छौं।चिया खाएपछि पुन: उकालो चढ्छौं।एक स्थानीय वासिन्दाले हामीलाई साथ दिन्छन् र आफ्ना कथा-व्यथा सुनाउँछन्।

ठूलो श्याप्रुको यही अजङ्गको पहाड गोसाइँकुण्डमा गएर टुङ्गिन्छ।हामीहरू निरन्तर अगाडि बढ्ने प्रयास त गर्छौं तर थकाईका कारणले हिडाई झन्‍ ढिलो हुन्छ।घुर्साङ (२६६८ मि.) कटेपछि जङ्गलको बाटो शुरू हुन्छ।अब त झन् उकालो नचढी सुख नै छैन।कि त फर्केर ठूलो श्याप्रु बस्‍नु पर्यो होइन भने उकालो काट्नु पर्यो। बल्ल-तल्ल साझँ ५.३० बजे खोप्राङ (३२१८ मि.) पुगेपछि लगभग बाँचेको महशुस गर्छौं। त्यसो त उकालोको यो समस्या अमर जी र मलाई मात्र थियो। अन्य साथीहरूलाई कुनै समस्या थिएन।मधुसुदनजीलाई त हामीहरू त्यहीँ शर्ट लगाएर अफिस गए पनि केही फरक पर्दैन भनिरहेका थियौं।त्यत्रो उकालो चढ्दा पनि उहाँलाई पसीनाले कुनै समस्या दिएन।साँझ कोठामा गएर हामीले थप्यौं,- “तपाईँले लगाएको शर्टको त क्रिज पनि गएको छैन, यत्तिकै अफिस गए पनि तपाईँ घुमेर आएको कुरा कसैले पत्याउँदैन।”

राति चन्दनवारी (सिङ्गम्पा अथवा छ्यान-छ्यानवारी)मा हाम्रो वास हुन्छ।याकको सुकुटी र फापरको रक्सीले दिनभरको पीडा भुलाइ दिन्छ र सुत्‍नका लागि सहज बनाउँछ।एकातिर हामी क्यान्जिङमा चौरीको दुध खानका लागि मरिहत्ते गर्छौं भने अर्कोतिर यहाँ सिङ्गम्पमा याकको सुकुटीका लागि।

चन्दनवारीमा सर्भ गरिएको फापरको रक्सी र याकको सुकुटीचन्दनवारीमा ‘सर्भ’ गरिएको फापरको रक्सी र याकको सुकुटी

अर्कोदिन विहान ५ बजे नै गोसाइकुण्डतिर लाग्ने र त्यसलाई क्रस गर्दै सुन्दरीजलतर्फ अगाडि बढ्ने हाम्रो योजनालाई विहानपख परेको मुसलधारे पानीले वाधा पुर्याउँछ।त्यो पानीमा हामीहरूले सोचेजस्तै हिड्न सक्दैनौं भन्‍ने ठान्छौं र अल्छि गर्दै ७ बजेसम्म सुतिदिन्छौं।पानी पर्न रोकिएको छैन। हामीहरूले खाना त्यहीँ खाएर पानीमै भएपनि अगाडि बढ्ने सोच्छौं।

चन्दनवारीबाट विहान ११.३०मा चोलाङपाती (३५५५ मि.) पुग्छौं।चोलाङपाती पुग्दासम्म हामीहरू मध्ये धेरैको कपडा भिजिसकेको थियो।त्यहाँबाट त्यो चिसोमा झोलासहित गोसाइकुण्ड पुग्न नसकिने निष्कर्ष निकाल्दै र सुन्दरीजल तर्फको यात्रालाई उल्ट्याउँदै हामी धुन्चे पुग्ने सल्लाह गर्छौं र लौरी विना याक (३९२५ मि.)मा झोला राखेर गोसाइकुण्डका लागि उकालो चढ्छौं।यो क्षेत्र र क्यान्जिङ क्षेत्र बोटनिस्टहरूका लागि स्वर्ग रहेछ।ग्रुपमा ३-३ जना बोटनिस्टहरू परेको कारण यात्रा रमाइलो रह्यो र नयाँ-नयाँ कुराहरू थाहा लाग्यो।साँझ ४.३० मा हामी गोसाइकुण्ड (४४०० मि.) पुगियो।

गोसाइँकुण्डगोसाइँकुण्ड

करिब १ घण्टा त्यहाँ बस्दा सेन्ट जेभियर्समा बिएस्सीमा पढ्दै गरेका गुल्मी घर बताउने हाइकर “सुभाष पन्थी” भेटिए।उनको कुरा सुनेपछि हामीले जिव्रो टेक्यौं।उनी सामान्य २ जोर लुगामा हिडेका रहेछन्।एकैदिनमा स्याप्रुवेशीदेखि क्यान्जिङ, अर्कोदिन क्यान्जिङ देखि ठूलो श्याप्रुमाथिको गाउँ र तेस्रो दिनमा त्यहाँबाट गोसाइकुण्ड पुगेका रहेछन्।यस भन्दा पहिले पनि यसरी नै एक्लै हिड्ने यिनलाई देख्दा यिनको दुस्साहससँग डर लाग्यो र कम्तिमा साथीहरूसँग हिड्ने वा साथमा अलि धेरै कपडाहरू लिएर हिड्ने सल्लाह दियौं।गोसाइकुण्डबाट फर्किएर त्यो दिन हामी लौरी विना याक बस्यौं भने अर्को दिन धुन्चे झरेर बस्यौं र काठमाडौं फर्कियौं।

deepakaryal@gmail.com

Advertisements

Comments on: "गोसाइँकुण्ड (Gosaikunda)" (2)

  1. सबै राम्रो छ, तर त्यस क्षेत्रको बारेमा अझै पनि आवश्यक सूचना दिन सके सुनमासुगन्ध हुन ेथियो । जस्तै धर्म र संस्कृतीका फोटो सहित विवरणहरू राख्ने ।
    जे छ राम्रो म यसको लागि धन्यवाद नै दिन चाहन्छु ।

  2. Dherae Ramro Rahecha Khusi lagyo

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: