पुस्तकको आवरण पृष्ठ

पुस्तकको आवरण पृष्ठ

बीपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी प्रकाशित भएकै दिन जगदम्बा प्रकाशनसंग सम्बद्ध केही विशिष्ट व्यक्तिहरूसंगको एउटा भेटघाटको उपलक्षमा मैले बीपीको नासोसरह मसँग रहिआएको यो अर्को सामग्री प्रस्तुत गर्दै अब यसलाई के गर्ने भनी प्रश्न गरेँ। उपस्थित रहेका सबैले यो पनि प्रकाशित नै हुनुपर्छ भनी प्रोत्साहित गरे बमोजिम यो सङ्कलन प्रकाशमा आएको छ।

बीपीका यी विचार र टिप्पणीहरू कुनै औपचारिक वा पूर्वतैयारीका साथ गरिएको सम्बोधन वा प्रवचन थिएन र, यो यसै रुपमा प्रकाशित हुनसक्ने लागेर सङ्कलन गरिएको पनि होइन। अन्तिम पटकको त्यस क्यान्सरले गर्दा, जहाँसुकै र जतिसुकै प्रयत्न गरे पनि, त्यसको महङ्गो र कष्टकर इलाजको आधारमा कम्तिमा दुई हफ्ता र बढीमा छ महिनाको आयु मात्र लम्बिनसक्ने उहाँका चिकित्सकहरूको निदान थियो। दुःख खप्नसक्ने उहाँको मनोबल र चारित्रिक विशेषताको कठिन परीक्षा पुनः शुरू भएको त्यस क्षणका हामी प्रत्यक्षदर्शीहरूका थुप्रै सम्झनाहरू क्रमशः आफूसंगै लोप हुँदै जाने छन्।

आफ्नो आसन्न मृत्युलाई स्वीकार गर्दा कुनै भय, विषाद वा नैराश्यको मनस्थिति प्रकट नगरी अझ बढी विकसित र साधनसम्पन्न विरानो मुलुकको अस्पतालमा जनसर्म्पर्कविहीन भई केही बढी बाँच्नुभन्दा आफू यहीँ रहने उहाँको दृढनिश्चय थियो। उहाँले आफूलाई प्राप्त त्यस न्यूनतम अवधिभित्र अधिकतम सम्पर्क र सम्वादका प्रयासहरू आफ्नो अन्तिमसम्म गर्दैरहनुभएको देखियो। आफूलाई भेट्न आउने राजनीतिक कार्यकर्ता, शुभेच्छु वा अरू जोसुकै आगन्तुकहरूसंगको सामूहिक सम्पर्कको बखतमा कसैको प्रश्न वा कुनै उत्तेजित पार्ने प्रसङ्गमा अभिव्यक्त भएका उहाँका यी स्वतःस्फूर्त विचार र टिप्पणीहरू थिए, जसलाई मैले उहाँसंगको नियमित सर्म्पर्कको क्रममा यथासक्य टेप गरी लिपिबद्ध गरिराखेको थिएँ। सम्पर्कको क्रममा उहाँको व्यक्तित्व र विचारहरूका प्रति मेरो बढ्दै गएको अभिरुचिले गर्दा उहाँको आत्म वृत्तान्तको रुपमा प्रकाशित सामग्रीहरू मैले उहाँसंग एकान्तमा र प्रस्तुत सामग्री उहाँको सामूहिक भेटघाटको अवसरमा हुने अभिव्यक्तिहरूलाई टेपद्वारा सङ्कलन गर्ने प्रयास गरेँ। यी सबै सामग्रीहरू उहाँको विवेचनात्मक जीवनवृत्तान्त लेख्ने महत्वाकांक्षी अठोटका साथ मैले संग्रह गरेँ। तर अनुकूल परिस्थिति र आवश्यक अन्य सामग्रीहरूको अभावले गर्दा त्यो पूरा हुन नसक्ने देखिएकोले यी सामग्रीहरू क्रमशः यसै रुपमा प्रकाशित हुँदैआएको छ।

बीपीले नेतृत्व दिइरहेको युगमा उहाँका विचार र भूमिकाहरू जति नेतृत्वदायी र प्रभावशाली देखिन्थ्ये, विवादास्पद पनि कम रहेनन्। यसै सङ्कलनमा परेका अभिव्यक्तिहरूबाट नै पनि बीपी आफ्नो युगको तीब्र विवादमा रहिआएको व्यक्तित्व देखिनुहुन्छ। पछिसम्मको पुस्ताको लागि उहाँको ऐतिहासिक महत्व र उपयोगितालाई परिचित गर्नसक्ने यस प्रकारका वैचारिक सामग्रीहरूको आवश्यकता पूरा गर्न कसैबाट पनि पर्याप्त प्रयास भएको लाग्दैन।

एउटा खास समय र सर्न्दर्भमा बीपीद्वारा व्यक्त भएका विचार र सम्पन्न गरिएका भूमिकाहरूको विवेचनात्मक अवधारणाहरू केही मूलभूत मूल्य र मान्यताहरूको निरन्तरतामा आत्मसात गर्न सहायक हुनसक्ला भन्ने अभिप्रायले नै यस प्रकारका प्रकाशनहरूमा मेरा प्रयत्नाहरू भए। अन्यथा माल्यार्पणद्वारा सजाइएका उहाँका तस्विर र चिप्ला मूर्तिहरूबाट मात्र उहाँको विचार र आस्थाको उपयोग भावि पुस्ताहरूको लागि सम्भव हुने छैन भन्ने मेरो धारणा छ।
यी सङ्कलनहरूमध्येको पहिलो सामग्री जनमत संग्रहपछि, बीपीले आफ्नो बैन्ही बुनु जकि आफ्ना पतिका साथ पाकिस्तानको कुटनीतिक नियोग मनिलामा रहेको बखत उहाँहरूको आतिथ्यमा छँदा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसंगको सम्बादको अवसरमा व्यक्त गर्नुभएका विचारहरू हुन्, जो मलाई त्यस अवसरमा खिचिएका तस्बिरहरूको एलबमका साथ मेरो व्यावसायिक मित्र विश्वकान्त मैनालीले यससम्वन्धी संलग्नतालाई बुझेर उसै बखत मेरो जिम्मा लगाउनुभएको थियो। त्यो टेप र एलबम उहाँलाई आफ्नो भाइ डा. भरत मैनालीबाट प्राप्त भएकोले ती दुवैका प्रति मेरो धन्यवादसहितको कृतज्ञता छँदैछ। अरू सबै सामग्रीहरू प्रत्येक विहानी बीपीसंग केही समयको लागि पाउने गरेको सम्पर्कको अवसरमा मैले सङ्कलन गरेका टेपवार्ताहरू हुन्। यसमध्ये २ ओटा टेपवार्ता अघि नै प्रकाशमा आइसकेका छन्।

यस सङ्कलनको समापन उहाँको अन्तिम सन्देशद्वारा भएको छ, जो अत्यन्त असाधारण र भावुक परिस्थितिमा भएको थियो। एक दिनअघिको उहाँको शारीरिक लक्षणहरूलाई हेर्दा अत्यन्त उद्विग्नताका साथ अर्को दिन अब उहाँको अत्यन्त संक्षिप्त नै भए पनि, मुलुकको लागि एउटा मार्गदर्शन हुने गरी कुनै मन्तव्य टेप गर्ने अठोटका साथ म उहाँको निवास पुगेँ। तलैदेखि विभिन्न व्यक्तिहरूले भने, बीपीले तपाईंलाई खोज्दै हुनुहुथ्यो। म हतारिँदै बीपीको कोठाभित्र पसेँ तर उहाँलाई बोल्न नसक्ने अचेत अवस्थामा पाएँ। सबै उदास, टोल्हाएका र क्यै गर्न नसक्ने विवशतामा देखिए। म पनि त्यस्तै विवशताका साथ बाहिर आउँदा शैलजा आचार्य भेटिनुभयो। मैले बीपीबाट मार्गदर्शन हुने प्रकारको अन्तिम सन्देश लिन चाहेको थिएँ, अब कहिल्यै नसक्ने भएँ भन्ने निराशा व्यक्त गर्दा उहाँले उत्साहित गर्दै, “होइन, हिँड्नुस्, सानदाजुले बोल्नुहुन्छ” भन्दै मेरो अघि लाग्नुभयो। सुतिरहेको मानिसलाई, “सानदाजु, गणेशराज जी आउनुभएको छ, तपाईंले बोल्नुपर्यो”” भन्दै दुई-तीन पटक घच्घच्याएपछि, उहाँले आँखा खोल्नुभयो र अत्यन्त कमजोर स्वरमा भन्नुभयो, “के बोल्ने?” अनि, मैले एउटा सन्दर्भ प्रस्तुत गर्दै भनेँ, “यस स्थितिमा, तपाईंको सम्पूर्ण राजनीतिक भूमिकाको अनुभवको आधारमा सम्पूर्ण देशवासीहरूलाई पछिसम्म मार्गदर्शन हुने प्रकारको जति संक्षिप्तमा भए पनि, एउटा सन्देश दिनुपर्यो।”

सिह्रानबाट टाउको उठाउन पनि नसक्ने स्थितिमा बोल्न शुरू गर्नुभएपछि, विस्तार-विस्तारै उहाँ उठेर बस्नुमात्र भएन, आफ्नो स्वाभाविक शैलीमा बोल्न थाल्नुभएकै बखत, हङ्गकङ्गबाट केही दिनको लागि आएका इन्जिनीयर नरेश कोइरालाले कोठामा प्रवेश गरी फोटो खिच्न शुरू गरे, जसमध्येको एउटा फोटो उहाँको आत्मवृत्तान्तको आवरण पृष्टमा छापिएको छ। एउटा अदम्य आस्था र त्यसप्रतिको प्रतिवद्धताले गर्दा नै त्यस शारीरिक अशक्ततामाथि उहाँले केही समयको लागि भए पनि विजय हासिल गर्नुभएको त्यस भावुक दृश्यको अनुमानका साथ उहाँको यस अन्तिम सन्देशलाई हेरिएमा, त्यसको प्रभाव अर्कै हुनेछ।

आफ्नो घाँटीको बायाँतर्फ एउटा सानो केराउको दानाजस्तो नदुख्ने गिर्खालाई उहाँले हरेक दिन छामेर क्यान्सर नै हो कि भन्ने अनुमान केही दिनदेखि गरिरहनु भए पनि त्यसको कुनै विशाद वा अत्याहट उहाँको अनुहारमा देखिँदैनथ्यो। त्यसपछि, कसरी क्यान्सरको निदान भयो र बीपीले त्यस मृत्युदण्डसरहको निदान जुन सहजता र मनोबलका साथ स्वीकार गर्नुभयो, त्यसको केही उल्लेख ती अघिका भूमिकाहरूमा मैले गरी नै सकेको छु। नेपालको तात्कालीन राजनीतिक सङ्कटका प्रति आफूलाई प्राप्त अत्यन्त सीमित समयभित्र समाजलाई सतर्क र सचेत पार्नको लागि जति स्पष्ट र कठोर अभिव्यक्ति आवश्यक थियो, प्रयोग गर्न उहाँ तत्पर हुनुभएको देखिन्थ्यो।

राजनीतिक सङ्कट जति घनिभूत हुँदै गयो, उहाँ त्यसको आरम्भ-विन्दु २०१७ साल पुष १ गतेको घटनालाई नै हो भन्ने निश्चयात्मक ठहरमा पुग्दै जानुभयो। उहाँको विश्लेषणमा आधारित निष्कर्ष थियो (त्यस घटनापछि प्रजातान्त्रिक शक्तिहरूमात्र होइन, राजा पनि कमजोर भए र सम्पूर्ण राष्ट्र नै कमजोर भयो। उहाँको निष्कर्ष, राजा महेन्द्रको त्यो अदूरदर्शी कार्य थियो। राजाका प्रतिको अन्तिम बखतसम्मको त्यो अभिव्यक्ति वैयक्तिक द्वेष वा प्रतिशोधको थिएन भन्ने कुरा विभिन्न प्रसङ्गहरूमा व्यक्त भएका छन्। उहाँ कुनै पनि राजावादीभन्दा बढी राजतन्त्रवादी देखिए पनि त्यो विश्वास उहाँको समग्र नेपाली समाज र यसको परिवेशमा आधारित रहेको कुरा बुझ्न गाह्रो छैन।

पुष १ गतेको घटना र त्यसका परिणामहरूबाट सबभन्दा बढी दण्डित र पीडित हुनुभएको बीपीका त्यस प्रतिको विवेचना र अवधारणाहरूको बढी महत्व रहिरहने छ। “त्यस घटनापछि प्रजातन्त्रमात्र समाप्त भएन, राजा पनि कमजोर भए र विदेशी शक्तिलाई अवसर दियो यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्न” भन्ने उहाँको गम्भीर अध्ययन र अनुभवमा आधारित अन्तिम निष्कर्ष यहाँ अभिव्यक्त छ। यथार्थमा, त्यस घटनाको विदेशी सुत्रधार र केन्द्रविन्दुलाई यति धारिलो र स्पष्टताका साथ अभिव्यक्त गर्नसक्ने चेतना र नैतिक सामर्थ्य यस देशको अरू कुनै राजनेतामा रहेको देखिएन।

यसै प्रसङ्गमा, त्यस घटनाका एउटा प्रमुख पात्र डा. तुलसी गिरीको सम्वन्धमा पनि, उहाँको त्यस बखतको भूमिकाका प्रति बीपीका आशङ्काहरू अत्यन्त स्पष्ट र आक्रामक तवरले व्यक्त भएका छन्, यद्यपि त्यस पछिल्लो समयमा पनि वैयक्तिक द्वेष वा कटुता नरहेका प्रसङ्गहरू उहाँहरू दुवैबाट मैले सुनेको हुँ। वस्तुतः, २०१७ साल पुष १ गतेको विषयमा डा. गिरी जति जानकारी भएको अब अर्को कुनै व्यक्ति बाँकिरहेको देखिन्न। त्यस घटनापछि, राजा पनि कति हदसम्म कमजोर भए भन्ने बीपीको विश्लेषणको पुष्टर्याईंको लागि राजा महेन्द्र छँदै २०२८ सालमा कुनै कानुनी परामर्शको लागि डा. गिरी आउनुभएको बखत उहाँ प्रधानमन्त्री हुने हल्लाको बारेमा मैले जान्नखोज्दा उहाँले भन्नुभएका यी वाक्यहरू यस खाश प्रसङ्गमा उल्लेख गर्न म वाध्य भएको; “अब त्यसको कुनै अर्थ छैन। पुष १ गतेको घटनापछि जब म सरकारमा गएँ, मेरो अगाडि राजाको बकार खुल्दैनथ्यो, अब म गएँ भने राजाको अगाडि मेरो बकार खुल्ने छैन।” त्यसपछि पनि बारम्बार शक्तिको घाम-छायाँमा पर्नुभएको डा. गिरी पनि नेपाली राजनीतिको लागि अध्ययनकै विषय हुनुहुन्छ।

आज्ञाकारी सेना भएको राजा र लोकप्रियता रहेको बीपी कोइरालाको तुलनामा डा. गिरीजस्ता राजनीतिज्ञहरूको शक्तिको आधार र त्यसको केन्द्रविन्दु बीपीका ती विश्लेषणहरूमा स्पष्टताका साथ औँल्याइए पनि त्यसप्रतिको पर्याप्त जानकारी र सजगता श्रृजना हुन नसकेकोले, परिवर्तित सन्दर्भमा त्यै प्रवृत्ति दोहोरिँदै गएको नियति मुलुकले भोग्दैआएको देखिन्छ। यथार्थमा, २०१७ साल पुष १ गतेको घटनाको वास्तविकता थाहा नपाउने हो भने यस प्रकारका घटनाहरू बारम्बार दोहरिइरहने छन्, र, बारम्बार राजा, जनता र सम्पूर्ण राष्ट्र कमजोर हुँदै, पर्दापछाडिको कुनै खेलाडी छ भने, त्यसबाट मुलुक आक्रान्त भइरहने छ।

यस संग्रहमा प्रकाशित बीपीका विचारहरूको आधारमा राजा महेन्द्र र डा. तुलसी गिरीजस्ता व्यक्तिहरूका बीचको सम्वन्ध र अन्तरविरोधको सीमाङ्कन गर्न गाह्रो पर्ने छ। पुष १ गतेको वास्तविक लाभ उठाउने शक्ति वा व्यक्ति कुन थियो? राजा नै थिए भने, त्यस घटनापछि राजा पनि कमजोर भए भन्ने निष्कर्ष कति तर्कसङ्गत होला? डा. गिरीजस्ता व्यक्तिहरू नै निर्णायक थिए भने तिनको शक्तिको केन्द्र कहाँ थियो र तिनका माध्यमहरू को थिए? तिनको उद्देश्य र योजना के थिए? यी दुवैका अतिरिक्त, के अन्य कुनै शक्ति वा व्यक्तिको भूमिका थिएन? यस सम्वन्धमा बीपीको जेल जर्नललगायतमा केही सङ्केत देखिए पनि, यसको तहसम्मको विश्लेषण गर्नसक्ने सूचना, सामग्री र अवसरहरू सम्भवतः बीपीलाई प्राप्त हुन सकेन र, त्यस विषयमा अरू कसैले गहिरो अध्ययन वा जानकारी प्रस्तुत गर्ने प्रयास गरेको पनि देखिँदैन। तथापि, ती अनुत्तरित वा अर्ध-उत्तरित प्रश्नहरूको तहसम्म पुग्नको लागि सहायक यस प्रकारका सामग्रीहरूको संरक्षणमात्र होइन, ती सर्वसुलभ हुनुपर्दछ भन्ने धारणामा नै, मैले बीपी कोइरालाका यी सामग्रीहरू र्सार्वजनिक जानकारीमा रहनको लागि प्रकाशमा ल्याउने प्रयास गरेको हुँ।

आफ्नो क्रियाशीलताको युगपछि पनि जनतामा प्रजातान्त्रिक आदर्शहरूको उन्नायक र प्रतिक रहिआउनुभएको बीपीलाई यस राष्ट्रको विशिष्टता र सामर्थ्यको जति पहिचान रहेको यस सङ्कलनमा अभिव्यक्त भएको छ, त्यस तुलनाको
राजनीतिक विश्लेषण सामान्य जनताको लागि अप्राप्य छ। अन्य अवसरहरूका अतिरिक्त, आफ्नो अन्तिम सन्देशको प्रारम्भमा नै उहाँले “हामीहरू बडो अप्ठयारो परिस्थितिमा छौँ, हाम्रो देश, हाम्रो जाति, हाम्रो राष्ट्र बडो अप्ठयारो
परिस्थितिमा छ र त्यसलाई जोगाउनुपरेको छ” भन्ने द्रवित स्वरमा व्यक्त गर्दै, उहाँले अन्त्य पनि त्यतिकै भावुक स्वर र शैलीमा गर्नु भएको छ। “मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यस कारणले नदेओस् कि मैले आफ्नो बुताबाट एक भ्रम श्रृजना गरेँ भनेर। मलाई श्रेय दिनु छ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु। र, देशको सामर्थ्यलाई मैले मुखरित गर्ने कोशिस गरेको रहेछु। त्यो श्रेय मलाई देओस्, नकि मैले मेरो आफ्नो बुताबाट गरेँ भनेर। नेपालको सामर्थ्यलाई मैले बुझेँ, त्यसैबाट मेरो कुरो इतिहासले मान्यता दियो भने त्यही कुरा मेरो लागि सौभाग्य हुनेछ। झूठो कुरा दिएर केही अर्थ हुँदैन। मेरो केही देन छ भने यस देशको सामर्थ्यलाई बुझेर आफ्नो कुरा भनेको छु।”

यसअघि, उहाँले व्यक्त गर्नुभएका यी सम्भावनाहरू वर्तमान सन्दर्भमा भविष्यवाणी नै भएका छन्, यद्यपि ती उहाँको वस्तुगत विश्लेषणमा आधारित थिए- “ती विदेशीहरूले जस्तोसुकै हत्याकाण्डको लहर यहाँ ल्याउँछन्, ल्याउँन्, ल्याउँछन्, तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ। र, त्यसको यस मुलुकमा आधार छ। एउटा आधार हामीहरूभित्र, तराईवासी हुन् वा नेवार हुन् वा पर्वते हुन, एउटा कता-कता लुकेको राष्ट्रिय भावना छ। त्यसले गर्दा हामीहरू बाँचेका
छौँ।” मुलुक अस्तित्वकै सङ्कटमा परेको बखत राष्ट्रिय भावनाको त्यो सामर्थ्य अभिव्यक्त गर्नसक्ने मुलुकका राजनीतिमा कति देखिए भन्ने कुरा अध्ययनको लागि खुला रहने छ।

यस प्रकाशनले बीपीलाई थप बहस र चर्चामा ल्याउने र थप विवादमा पार्ने पनि निश्चित छ। बहस र विवादबाट खारिएर मान्यता पाएकै विचारको निरन्तरतामा भावि पुस्ताको चिन्तन प्रणाली समृद्ध र परिष्कृत हुँदै यस देशको सभ्यता र संस्कृतिको विकासको लागि सहायक हुनेछ, जसको लागि बीपी र उहाँजस्ता अन्य अनेकौँका सम्पूर्ण कुराहरू समर्पित थिए।

यस प्रकाशनको लागि अघिजस्तै जगदम्बा प्रकाशनको तर्फबाट श्री कमलमणि दीक्षितको प्रोत्साहन र सहयोग पाएकोमा पुनः आभार व्यक्त गर्ने अवसर पाएको छु। यस प्रकाशनको लागि प्रोत्साहित गर्ने अन्य सबैका प्रति पनि आभारी छु। त्यसै गरी यसको प्रकाशनमा दीपक अर्याल र कम्प्युटर टाइपसमेत डिजाइनको लागि अन्जन आलेलाई उहाँहरूको लगनशीलता र परिश्रमको लागि पनि धन्यवाद छ।

यस प्रकाशनको कानुन बमोजिमको सम्पूर्ण सर्वाधिकार अघिसरह नै मदन पुरस्कार पुस्तकालयमा रहनेछ र यसबाट प्राप्त लाभांश बीपी कोइरालाको स्मृति कायम राख्ने प्रकारका कुनै पनि उपयुक्त कामकारवाई र सेवाको लागि त्यस पुस्तकालयको आधिकारिक निकायबाट हुने गरी अधिकृत गरिएको छ। यस सङ्कलनसंग सम्बन्धित टेपहरू मदन पुरस्कार पुस्तकालयबाट यथासक्य सुरक्षित राख्ने गरी सुम्पेको छु।

-गणेशराज शर्मा
धोबीधारा, डिल्लीबजार,
काठमाडौँ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: