कुनै तानाशाहको छोरा तानाशाह भएको छैन। हुन खोज्दा खत्तम भएको छ। राजतन्त्रको आधार बल हुँदैन। बलको आधारमा राजतन्त्र रहन खोज्यो भने त्यसको छोरो गद्दीमा बस्न सक्दैन। एउटा अपवाद भएको छ बेलायतको क्रौमबेल। चार्ल्स प्रथमलाई झुण्ड्याएपछि क्रौमवेल भयो इङ्गलैण्डको तानाशाह र त्यहाँ गणतन्त्र स्थापित गरेर ऊ शासक भयो। क्रौमवेल मरेपछि उसको छोरोलाई त्यस पदमा बसाए, तर सकेन त्यसले चलाउन। नसकेपछि, जसलाई झुण्ड्याएका थिए-चार्ल्स प्रथम, त्यसकी छोरी लुकेर बसेकी थिई फ्रान्समा। त्यसलाई बोलाएर राजा बनाए। क्रौमवेलको छोरा भाग्यो। त्यसो हुनाले ताकतको आधारमा, नाङ्गगो शक्तिको आधारमा, सामान्य मान्यताको आधारमा होइन कि नग्न शक्तिको आधारमा राजाले शासन गर्न खोज्यो भने उसको छोरोले राजगद्दीमा बस्न पाउँदैन। मेरो त्यै तर्क छ।
राजतन्त्रको परम्परा यहाँ कायम रहोस्, राजाको छोरा दीपेन्द्र राजगद्दीमा बस्न पाऊन् भन्ने कसैलाई लागेको छ भने त्यसले राजाको सक्रिय नेतृत्वको आधार छिन्नु परेको छ। अनि मात्रै दीपेन्द्रको गद्दी सुरक्षित हुन्छ, नत्र हुँदैन। यो बुझ्नु पर्छ राजाले। यो स्वर्गीय राजा महेन्द्रले बुझेनन्। उनले तानाशाहको रूपमा देखे आफूलाई। अनि मिलिटरीको भरमा सबै थोक गर्न खोजे, तर त्यसले हुँदोरहेनछ। तिनले आफ्नो राजतन्त्रको जरो खने। बरु म माटो भर्न थालेको छु राजतन्त्रको जरोमा।

राजामाथि कसैको प्रभाव पर्न हुँदैन। त्यसको पद सुरक्षित हुनुपर्छ। भोटमा त्यसको पद निर्भर हुनुहुँदैन। मतपत्रमा उसको पद निर्भर नगर्ने हुनुपर्छ। त्यसलाई यस्तो निर्भयता हुनुपर्छ कि उसको गद्दी सुरक्षित छ। उसले त्यो निर्भयता तब मात्र प्राप्त गर्न सक्दछ जब जनतामा यो धारणा होस् कि यो न्यायी छ, सफा छ, यो पक्षपाती छैन। राजनीतिज्ञहरूको अर्कै कुरा छ। उसको पदको आधार मतपत्र छ। दुईजना चुनाव लडे। बहुमत प्राप्त गर्ने व्यक्ति प्रधानमन्त्री पनि हुन सक्दछ। प्रधानमन्त्रीको लागि हुने चुनावमा एक प्रतिशत मात्रैको बहुमत प्राप्त गरेपनि बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री हुनसक्दछ।

राजाले त्यति सानो अन्तरबाट राजा हुन पाउँदैन। राजाले त शतप्रतिशत भोट पाउनुपर्छ। शतप्रतिशत भोट पाउनको निम्ति राजनीतिज्ञहरूले गरेको चाल राजाले गर्नु हुँदैन। संस्कृत वा नेपालीमा स्टेट्सम्यान र पोलिटिसियनको ठीक अर्थ लाग्ने शब्द छैन। स्टेट्सम्यानले २०/२५ वर्षछिको मेरो देशलाई के बनाउँछु भनेर सोचेको हुन्छ, पोल्टिसियनले म कसरी सत्तामा जान पाउँछु भन्ने मात्र सोंचेको हुन्छ। स्टेट्समैनले भोट पाउने कुरा मात्र सोंच्न सक्दैन, कहिलेकाहीं त्यसले अलोकप्रिय निर्णय पनि लिन सक्नुपर्छ। राजाले शतप्रतिशत भोट पाउनुपर्छ। त्यसो हुनाले त्यसको आचरण एकदम माथिको आचरण हुनुपर्छ। उसले भीडभाडमा बसिरहनु जरुरी छैन, तर उसकहाँ कुरा भने पुगिरहेको हुनुपर्छ। उसको बैठकमा त्यस्ता मानिसहरू पुग्न सकून् जसको सल्लाह उसलाई काम लाग्न सक्दछ। एउटा पुग्नसक्ने व्यक्ति त प्रधानमन्त्री हो, जो जनताद्वारा निर्वाचित हुने सबभन्दा ठूलो मानिस हो। उसका अतिरिक्त अरु पनि छन् जो राजालाई सल्लाह दिन भने सक्छन् तर राजनैतिक उथलपुथलमा आफू आउन सक्दैनन्। त्यस्तोले पनि दरबारमा प्रवेश पाउन सकोस्। अनावश्यक व्यक्तिहरूको भीड लगाउनुको त क्यै मतलब छैन। कानूनमा न्यायको व्यवस्था छ कि छैन, कानून बमोजिम काम भइरहेको छ कि छैन, त्यतापट्टि राजाको ध्यान जानुपर्छ। त्यहाँ राजाको काम हुन्छ- प्रधानमन्त्रीलाई नसिहत दिने-‘यो काम त भएन’, ‘यो काम त योजना बमोजिम भएन’ भनी राजाले भन्न सक्नुपर्छ।

राजाले कतै एक करोड रुपैयाँको कामको निकासा दिए रे। यस्तो काम राजाले गर्ने होइन। आफूले बनाएका संस्था र निकायहरूले गर्ने कामलाई मिचेर राजाले आफूले त्यो काम गर्ने होइन। राजाले त्यो रकम दिंदा त्यस ठाउँमा त जयजयकार होला, अरु ठाउँमा त हुँदैन। हामीकहाँ किन गरेनन्? भन्न थालिहाल्छन्। राजामा एउटा विवेक हुनुपर्दछ, जो एउटा राजनीतिज्ञमा नहुन सक्दछ, किनभने उनलाई एउटा निर्धक्कता छ। भोटमा उनी अडेका छैनन्, निर्धक्क भएर उनले आफ्नो निर्णय गर्न सक्छन्। त्यसो हुनाले त्यो एउटा विवेक उनले राख्नुउपर्छ कि मैले कानूनको मर्यादा राख्नुपर्छ।

बादशाह अकबर बडो नामी भए। उनी लेखपढ गर्न जान्दैनथे, उनी दस्तखत गर्न जान्दैनथे, तर हिन्दुस्तानको इतिहासमा उनी जति ठूलो त कोही राजा नै भएन भन्दछन्, किनभने उनको दरबारमा नवरत्न थिए। कोही इतिहासज्ञ थिए, कोही संगीतज्ञ थिए, कोही अर्थशास्त्री थिए। हुमायुँ दिल्लीको गद्दीबाट लखेटिंदा उसले राजस्थानको मरुभूमिमा आफ्नो स्वास्नी छाडेर भागेको छ इरान। त्यही मरुभूमिमा अकबर जन्मेकोछ। हुमायुले आफ्नो ससुराको मद्दत लिएर फेरि दिल्ली कब्जा गर्छ, अनि अकबर आउँछ। अकबरको शत्रुको एउटा मन्त्रि थियो टोडरमल। त्यसलाई अकबरले राख्यो। त्यो विवेक उसले प्रयोग गर्यो।

अर्को एउटा कथा छ अकबरको। अकबरको एउटा सालो थियो। उसलाई अकबरले कुनै काम दिएको थिएन। अरुहरूलाई मन्त्रि बनायो, बिरबललाई मन्त्रि बनाएको थियो। बिरबल एउटा जनरल थियो, मन्त्रि थियो र राजाको एउटा मित्र पनि थियो। ऊ ठट्टा मजाक गर्न सिपालु थियो र लडाईमा पनि सिपालु थियो। ऊ अरु पनि राजनीतिक काममा मद्दत गर्थ्यो। त्यो त अकबरलाई थाहा थियो। अकबरको मन परेको मान्छे भनेर अकबरको सालोलाई ऊसँग रिस उठेछ। ऊ आफ्नी दिदीलाई भन्न गएछ- यस्तो मानिसलाई मन्त्रि बनाएर दरबारमा राख्छ, मलाई लिंदैन।

अकबरकी दुलही अकबरसँग गुनासो गर्न गइछ- ‘मेरो भाइको कदर भएन’ भनेर। अकबरले भनेछ, ‘तेरो भाइ त्यस कामको लागि काबिलै छैन। मैले कसरी बनाउने? मेरो सालो हो मलाई मन पर्छ, तर त्यसले गर्नसक्ने काम यो होइन। मलाई सल्लाह दिने काम त त्यसले गर्न सक्दैन नि’।

अकबरकी दुलहीले भनिछ,. ‘किन सक्दैन? काम लगाएर हेरे पो हुन्छ। ऊ कस्तो पढे लेखेको छ, लायक छ’ अकबरले भनेछ. ‘ल हुन्छ, म जाँच गर्छुं’। अकबरले आफ्नो सालोलाई बोलाएछ। ‘हेर त्यहाँ पर एउटी कुकुर्नीले बच्चा पाइछ। हेरेर आऊ त, त्यो कस्तो छ?’ ऊ गएछ। हेरेर तुरुन्त फर्केर भनेछ. ‘हो, हो बच्चा पाइछ’।

‘कतिवटा बच्चा रहेछ?’- भनेर अकबरले सोद्धा ‘ए, त्यो त मैले हेरिन’ भनेर तुरुन्तै हेर्न भनेर फर्केछ र ‘चारवटा रहेछन्’ भनेर भन्न आएछ।
‘अनि नर कि मादा?’ भनेर सोधेछ अकबरले। ‘ए त्यो त मैले हेरिन’ भनेर फेरि हेर्न गएछ र ‘दुईवटावटा नर र दुईवटा मादा रहेछन्’ भन्न आएछ। ‘अनि कुन-कुन रंगका रहेछन्’ भनेर सोद्धा फेरि उत्तर छैन। यसरी सात आठपटक पुगेर बल्ल उसले अकबरको जिज्ञासा पूरा गरेछ।

अकबरले दुलहीलाई त्यहाँ राखेछ। अनि सालोलाई पनि ‘त्यहाँ बस’ भनेर बिरबललाई बोलाऊ भनेछ। बिरबल आएपछि अकबरले फेरि भनेछ- ‘बिरबल त्यो मन परेकी कुकुर्नीले बच्चा पाएकी रहिछ, हेरेर आऊ त’। बिरबल गएर हेरेर आएछ। अनि अकबरले तिनै प्रश्नहरू गरेछ।

बिरबलले धडाधड-धडाधड जवाफ दिएछ। अनि पछि बिरबल र आफ्नो सालोलाई त्यहाँबाट पठाएर स्वास्नीसँग सोधेछ ‘ल बता, तँ कसको सल्लाह मान्छेस्? आफ्नो भाइको सल्लाह मान्छेस् कि बिरबलको सल्लाह मान्छेस्? एउटा सानो कामको निम्ति ऊ सातचोटी दौडेर गयो। उसले एकचोटी गएर सारा कुरा बुझेर आयो।

हो, मैले भनेको के भने राजाले त्यस प्रकारको विवेक प्रयोग गर्नुपर्छ र खास गरेर नेपालको राजाले। किनभने अहिले उनको हातमा काफी शक्ति छ र, प्रजातान्त्रिक संस्थाहरू बन्दै गइरहेका छन्। तमाम राजकीय शक्तिको प्रयोग ती संस्थाहरूले गरिसकेका छैनन्, गर्न पाएकै छैनन्, ती बनिसकेकै छैनन्। त्यसो हुनाले ती अधिकारहरूको प्रयोग गर्दा राजाले बढी विवेक प्रयोग गर्नुपर्छ। पछि संस्थाहरूको निर्माण भइसकेपछि राजकीय शक्तिहरूको प्रयोग ती संस्थाहरूले गर्न थालेपछि त्यस बखतमा राजाले अलिकति तलमाथि गरेपनि खलबली हुँदैन, तर अहिले त तिनले धेरै विवेकका साथ काम गर्नुपर्छ।

मैले तीनवटा राजा बेहोरेको छु, एउटालाई गृहमन्त्री भएर बेहोरें, अर्कोलाई प्रधानमन्त्री भएर बेहोरें र यिनलाई मैले त्यसरी बेहोरेको छैन तर तीनचोटी भेटेको छु। राजा महेन्द्र विवाद गर्न सक्दैनथे। बहस गर्न सक्दैनथे, गर्दैनथे। हो, हो मा कुरा टुङ्गयाइदिन्थे। मलाई के लाग्दछ  भने उनलाई एउटा कुण्ठा थियो र गोपनीय थिए। मैले भनेको कुरा हास्यास्पद त हुँदैन भन्ने खालका थिए। त्यसो हुनाले उनी आफूलाई बहसमा धेरै पार्दैनथे। उनको दायरा बडो संकीर्ण थियो, उनको भिजन सानो थियो। उनको होराइजन सानो थियो, उनको आकाश बडो सानो थियो। राजा वीरेन्द्रको बारेमा मलाई त्यो लागेन। जस्तो मैले भने, ‘सरकार म फ्य्राङ्कली कुरा गर्छु, किनभने अब डरले राजाको चाकरी गरुँ भने जति त्रास दिन सक्ने हो, राजाबाट त्यो मैले पाइसकेको छु। त्यसो हुनाले त्रासमा आएर म सरकारसँग केही भन्दिन। मैले जति भोग्नुपर्ने भोगिसकेको छु। त्यसभन्दा बढ्ता सरकारबाट के हुन सक्ला र? अब प्रलोभन हो सरकारले दिने। सबभन्दा ठूलो प्रलोभन सरकारले दिने प्रधानमन्त्री हो। त्यो प्रधानमन्त्री पनि जनताले दियो भने मात्रै म बन्नेछु। त्यसो हुनाले त्यो प्रलोभन पनि ममाथि लाग्दैन। त्यसो हुनाले म सोझो तरिकासँग कुरा गर्छु’।

मैले आफ्नो सबैकुरा भनिसकेपछि मैले सोधें,”सरकार, यति स्पष्टसंग अरु कसैले सरकारसंग कुरा गरेन होला नि। सरकारलाई कस्तो कुरो अनुकूल हुन्छ, त्यो मात्रै भन्दो होलान्।” “अधिकांश त त्यस्तै हुन्छन्, कोही कोही आएर त स्पष्ट कुरा पनि गर्छन्”.भने राजाले। यो भन्दा खुलस्त भएनन् – एकचोटी त रिसाए मदेखि। म भन्दिन के, भन्दाखेरि रिसाए। “बिर्स्यौ क्यारे, तिमी नेपालको राजासँग कुरा गर्दैछौ।”.भने उनले।

मैले भने,.”सरकार म पनि त नेपालको नागरिक हुँ। सरकारले त्यो पनि बिर्सनु हुँदैन।” त्यसबखत म कैदी नै थिएँ। मैले त्यसो भनेपछि उनी चुप लागे, तर एकपटक भने झम्टे ममाथि। आफ्नो कुर्सीको बाँही समातेर उनी तन्किएर रिसाएका थिए। मलाई लाग्यो-उनी प्रतिक्रिया दिंदा रहेछन्। खुलस्त मैले त्यस दृष्टिबाट भनेको। स्वर्गीय राजा महेन्द्र भएको भए, चुप लागेर बस्थे, त्यसरी प्रतिक्रिया जनाउँदैनथे।

मैले सान-साना कुरामा पनि उनको प्रतिक्रिया हेरें। विकासको कुरामा मसँग उनको बहस भएको छ। भने कि “विकास भएकै छैन भनेर तिमी किन भन्छौ – यसपाली मैले राजनैतिक विकासपट्टि ज्यादा ध्यान दिएँ। जनमत संग्रह इत्यादिले गर्दा एकवर्षयता विकासको कुनै काम भएन। त्यो मलाई थाहा छ। त्यसभन्दा अघि विकासका कामहरू त भएकै छन्। तिमीलाई कसरी विकास होला भन्ने लाग्छ?” जस्तो जंगल फाँडिएको कुरा मैले उठाएँ। मैले भनें,”प्लेनबाट आउँदा मलाई लाग्यो जंगल विनाश भएको छ।” मैले त्यसो भन्दा उनले भने,”त्यो त मैले पनि सुनें। जंगल त फाँड्नु पनि पर्छ। वैज्ञानिक तवरले फडानी पनि हुनुपर्छ र, पुराना रुखहरूलाई काट्नु पनि पर्छ। कति क्षेत्रहरूलाई जोत्ने योग्य बनाउनु पनि पर्छ। त्यसको लागि फँडानी पनि गर्नुपर्छ। यो अहिले फँडानी भएको जंगल त्यो कुनै सिद्धान्तको आधारमा वैज्ञानिक किसिमबाट भएको छ कि छैन त्यति मलाई भन। जंगल फाँडियो भनेर नभन। तिमीले यसलाई अध्ययन गरिकन मलाई भन कि वैज्ञानिक किसिमबाट फाँडिएन वा फाँडियो वा के भयो भनेर।”

यी सबै कुराबाट मलाई के लाग्यो भने राजा बहस गर्दा रहेछन्, सुन्दा रहेछन्, कहिले मैले भनेको कुरालाई हो, ठीक हो” भने। मैले राजतन्त्रको
बारेमा भने जस्तो मैले सबैलाई भनिरहन्छु। स्वर्गीय राजा महेन्द्रले मलाई एकपटक भनेका थिए, “विश्वेश्वर बाबु तपाईंहरूले राजनीतिमा कुनै गल्ती गर्नुभयो भने जेल बस्नु होला। अनि जेलबाट हिरो भएर निस्कनु हुन्छ। हामीले जेल बस्नुपर्यो भने त सदाको निम्ति जेल बस्नुपर्छ। मैले त एकचोटी पनि गल्ती गर्नु हुँदैन। तपाईंको र मेरोमा त्यो फरक छ।”

मैले राजालाई भनें, “मैले राजतन्त्रको अहिलेको अवस्थामा आवश्यकता किन ठानेको छु भने राजालाई हामीहरूलाई भन्दा  राज्यको बढी आवश्यकता हुन्छ। राज्य नभइकन त राजै हुँदैन। प्रजालाई त जो राजा भएपनि त्यति फरक पर्दैन। यो देश रहेन भने राजाको गद्दी रहँदैन। गद्दी रहेन भने राजा रहँदैन। देश रहेन भने सरकारलाई ज्यान जोगाउँदैको सास्ती।” यो मैले भनेको थिएँ राजासँगको पहिलो भेटमा नै। “त्यसो हुनाले यो स्वार्थको दृष्टिबाट म हेर्दछु। सरकार, बडो परोपकारको दृष्टिबाट, जनताको भलाई गर्ने विचारले यसो गरी बक्सन्छ भनेको होइन। राजाको स्वार्थ छ देशको रक्षा गर्ने, किनभने देशको अस्तित्वमा नै राजाको अस्तित्व छ। हाम्रो देशभक्ति त भावात्मक कुरा हो। मेरो खेत हिन्दुस्तानले लियो भने पनि खोस्दैन। मैले भोट दिन पर्यो भने हिन्दुस्तानी नागरिक भइकन भोट दिन पाउँला। म आफ्नो खेती गर्न जाउँला। सरकार कहाँ जाने देश रहेन भने? यहाँ हाम्रो देशभक्तिको भावात्मक शक्ति र सरकारको निहित स्वार्थ एक ठाउँ मिलेको छ। त्यसो हुनाले म त त्यै कुरो भनौं भनेर आएको।”

राजाले त्यसलाई ध्यानले सुने, माने र भने.यस किसिमसँग त कसैले कुरा गर्दैन। मैले निजी कुराहरू गरिन। मलाई पुलिस ट्रेनिङ सेन्टर महाराजगञ्जमा थुनामा राखेको थियो। रञ्जनराज खनाल मनेर आए र भने,-“महाराजाधिराज सरकारबाट हुकुम भएको छ-दरबारमा सात बजे।” उनको लैण्डरोभर रहेछ, त्यसमा मलाई लिएर गए। राजाको भेट्ने अफिसमा मलाई पुर्याए। भेट्ने ठाउँभन्दा अगाडिपट्टि एउटा सानो कोठा रहेछ। त्यसमा मलाई पर्खाए। त्यहीं पर्खिराखेका थिए डा. मृगेन्द्रराज पाण्डेले। कस्तो छ तपाईंलाई भनेर उनले सोधे। त्यसै बीचमा आइपुगे राजाको एडीसी र मलाई सैल्युट गरेर लिएर गए।

महाराजाधिराज भित्र थिए। ठूलो टेबुल थियो। एउटा काउच थियो। एउटा सिंगल चेयर थियो। राजाले मलाई त्यहाँ बस भने, म काउचमा बसें। म पनि बिस्तारै बोल्ने, राजा पनि बिस्तारै बोल्ने। म उनको कुरा बुझिरहेको थिइन मलाई सुरुमा के भने- त्यसपछि हाम्रो बीचमा करिब ९० मिनेट जति कुरा भयो। पहिले मेरो स्वास्थ्यको कुरा गरे। मलाई लागेको थिएन कि मेरो स्वास्थ्यको कारणले मसँग भेटेका होलान्। मैले त राजनैतिक विषयको कुरा गर्न बोलाएको ठानेको थिएँ। मैले सुरुको कुराबाट भनें,”देशको नै स्वास्थ्य ठीक छैन भने मेरो स्वास्थ्यको कुरा के छ र?”

उनले अंग्रेजीमा भने,”आफ्नो स्वास्थ्यको विषयमा तिमीले वास्ता गरेका छैनौ-” त्यसमा उनले बडो गम्भीर भएर भने, “पत्याएनौ क्यारे।” एडीसीलाई भने, “डाक्टरलाई बोलाऊ।” उनले मलाई एउटा कागत पढ्न दिए। डाक्टरहरूको निदानको रिपोर्ट रहेछ। घाँटीबाट रक्तसञ्चारको नली बन्द भएर कुनै दिन, कुनै बेला मर्न पनि सक्दछ भन्ने थियो। डाक्टर आए। “ल मृगेन्द्रराज, सम्झाइदिनु पर्यो” भने राजाले। उनले मलाई रोग सम्झाइदिएपछि “ल तिमी जाऊ” भनेर उनलाई पठाइदिए र मसंग कुरा गर्न थाले। त्यहाँ अरु कुनै तेस्रो मानिस थिएन।

मलाई त्यसदिनको कुराबाट लाग्यो, राजा ध्यान दिन्छन्, चाख लिन्छन्, संलग्न,छन्। उनको व्यक्तिगत व्यवहार पनि उल्लेखनीय छ। यिनले आफ्नो छोरोलाई यहीं पढाए। बुढानीलकण्ठमा उनको छोरोलाई कुनै विशेष सुविधा छैन। फाइन लाग्छ पचास पैसा, कुनै काम गर्न नसकेकोमा। त्यसको डरले ऊ काम गर्छ। चिसो पानीले नुहाउनु इत्यादि लगायत कुनै कुरामा फरक छैन। राजा रानी भेट्न जान्छन् ‘पेरेन्ट्स डे’ मा। अरु अभिभावकहरूले भेट्न गए सरह भेट्न जान्छन्। त्यो कुरा मैले हिन्दुस्तानमा भन्दाखेरि उनीहरू छक्क परे।

अर्को, आफ्नी रानीको अपरेशन यहीं गराए। त्यस्तै अपरेशन गराउन अरुहरू यहाँबाट हिन्दुस्तान जान्छन्। हो, उनको अपरेशनको निम्ति स्पेशल मेशिन आयो होला, जे भयो होला। उनले यहीं गराउने, बाहिर किन जाने भनेर त्यो गराए जस्तो लाग्छ। यी सान-साना कुराहरू हुन् जो मेरो ध्यानमा छ। यिनका जो वक्तव्यहरू हुन्छन् नि, तिनमा पनि म ध्वनि पाउँछु- यो देश बनोस्, सप्रोस् भन्ने। राजाको एउटा गुण छ र धर्म छ, दुनियाँभरका राजाहरूमा। देशको गौरव बढ्यो भने त्यसको पनि गौरव बढ्छ। या त देशको गौरव क्षेत्रीय बिस्तारबाट हुन्छ। त्यसो हुनाले राजाहरू दिग्विजय गर्न जान्छन्, चक्रवर्ती राजा हुन थाल्छन्। धनी मुलुकको राजा, प्रगतीशील मुलुकको राजा बन्नु पनि एउटा गौरव हुनसक्दछ। त्यसैले आफ्नो व्यक्तिगत स्वार्थ देशसित संलग्न गर्दछ। यत्रो ठूलो गौरवलाई छोडेर, बनियाँ जस्तो पैसा मात्रै जुटाउन खोजेका छन् भन्ने कुरा मैले धेरै राजाहरूमा देखेको छैन, यहाँको मात्र होइन, कुनै पनि राजामा बनियाँको वृत्ति हुँदैन। पैसा कमाउलान्। जब त्यसलाई यो लाग्दछ कि म यहाँ रहन्न, मेरो छोरो राजा हुन पाउँदैन, अनि ऊ पैसा कमाउन लाग्दछ र संकट पर्न लागेको देखे पछि भाग्दछ। उसलाई जबसम्म यो लाग्दछ कि उसले यहीं बस्नु छ, उसको छोरोले पनि यहीं बस्नु छ भने अरु अरु कुराहरूमा उसको ध्यान जाँदैन।

राजा महेन्द्रको बारेमा भन्दछन् कि उनले पैसा धेरै कमाए, एक-एक कलममा दश-दश करोडको रकम जम्मा गरे भनेर, तर मलाई यसमा विश्वास छैन। यहाँ अनेक अतिरञ्जित हल्लाहरू गरिन्छन् र यो त्यस्तै किसिमको हल्ला हो।
२९ पुस २०३८
———————————-

Advertisements

Comments on: "राजा कस्तो हुनुपर्ने? : बिपी कोइराला ( BP Koirala)" (1)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: