मान्छेहरूले जतिसुकै पुस्तक पढेपनि सबै पुस्तकले उत्तिकै प्रभाव पार्न नसकेको र केही पुस्तकले मात्र प्रभाव पार्न सकेको कुरा गर्छन्। यसरी पढेर प्रभाव पारेका पुस्तकहरूको चर्चा गर्दा रामायण र महाभारतको चर्चा गर्न उपयुक्त ठान्दछु। हुन पनि मैले पाठ्य पुस्तकभन्दा बाहिरका सबैभन्दा पहिले पढेका पुस्तक तिनै हुन् र तिनको छाप अहिले पनि छँदैछ। जब हामी दाजुभाइ बसेर पढ्न थाल्थ्यौं, बुबाले ल कसले राम्ररी पढ्ने? कसले नबिराएर भन्ने? कसले कति ठाउँमा बिराउँदो रहेछ? जस्ता प्रतिष्पर्धात्मक भावना जगाउने खालका कुराले हामीलाई उत्तेजित र उत्साहित बनाउनुहुन्थ्यो। हामीले एक अर्काको गल्ती हेर्ने र सच्याउने प्रतिष्पर्धामा खुब पढ्थ्यौं। फलस्वरुप हाम्रो वाचनकला राम्रो हुँदै गयो।

रामायणपछि ६/७ कक्षामा हुँदा हो कि अकबर विरबल विलास, विरसिक्का र महाभारत जस्ता पुस्तकहरू पढेको याद छ। यी पुस्तकमध्ये अकबर बिरबल बिलास चुटकिला सरहको मिठा कथाहरू भएको पुस्तक भएकोले दोहोर्याइ तेहेर्याइ पढें। त्यस पुस्तकका कतिपय कथा अहिलेसम्म पनि जस्ताको तस्तै याद छन्। विरसिक्का एउटा लामो कथा र त्यो कथाभित्र प्रशस्त उपकथाहरू भएकाले छोटो गरी मूलकथा भनिए पनि त्यसको समग्र कथा म भन्न सक्दिनँ। अझ त्यो पुस्तक केही दिन पढ्न मागेको र तुरुन्तै बुझाउनु परेकाले त्यसलाई न दोहोर्याएर पढ्न सकियो न त ती प्रशस्त कथाहरू र मुल कथाको मर्म नै राम्ररी बुझ्ने क्षमता भयो। बीचका प्रभावकारी उपकथाहरू मात्र यतिवेला मेरा मनमा छन् तर महाभारत यी दुवैभन्दा फरक भएको अनुभव छ।

अठार पर्वमा विभाजित महाभारत मैले संस्कृतमा, हिन्दीमा र नेपालीमा समेत पढेको छु। चक्रपाणिको संक्षिप्त महाभारत र हिन्दीमा ताराप्रसाद पाण्डेले मलाई दिनुभएको कवितात्मक महाभारत पटक-पटक पढेका कारण त्यहाँका कथाहरू क्रमबद्धै नभए पनि लगभग सबैजसो सम्झन्छु। अहिले तुलनात्मक रूपमा रामायणका भन्दा महाभारतका कथा मलाई मन पर्छन्। त्यहाँको जीवन पद्धति, राजनीति, धौम्य, विदुर आदिका नीतिहरू, गीता जस्ता सामग्रीहरू पूर्वीय मान्यताका हिसाबले अमूल्य निधि मानिन्छन्। तिनको पठन-पाठनबाट म प्रभावित पनि छु।

जतिवेला हिन्दी-संस्कृतको महाभारत हेरें त्यतिवेला मैले स्नातक तह उत्तीर्ण गरिसकेको थिएँ र रामायणका अनेकौं पंक्तिहरू कण्ठस्थ भैसकेको थियो। मैले रामायणभन्दा महाभारत बढी महत्वपूर्ण ग्रन्थ भनेको सुने पनि धेरैसम्म म महाभारतभन्दा रामयणका पक्षमा थिएँ।

रामायण र महाभारत दुवै धार्मिक र पौराणिक हिसाबले महत्व राख्ने ग्रन्थ हुन् तर मेरा मनमा ती दुवैमा तुलना गरेर हेर्ने आधार भने संवेदना थियो। पौराणिक र धार्मिक आधार थिएन। मलाई महाभारतमा कर्ण, शल्य, घटोत्कच, अभिमन्यु, द्रोण, भीष्म आदिको मृत्यु मन पर्दैनथ्यो। तिनको मृत्युले एउटा अचम्मको वेदनाको अनुभूति हुन्थ्यो र त्यो कथा पढ्दा नरमाइलो अनुभव गर्थें तर रामायणमा त्यस्तो हुँदैनथ्यो। रावण, कुम्भकर्ण, मेघनाद, नारान्तक, ताडका, सुबाहु, आदिको मृत्युमा त्यही संवेदना जाग्दैनथ्यो। मेघनादको मृत्युमा सुलोचनाको रावणको मृत्युमा विभीषण, मन्दोदरी आदिको शोकले कारुणिकता जगाउन खोज्थ्यो तैपनि तिनका व्यवहार र क्रियाकलापबाट मेरो मन तिनका विरुद्धमा भैसकेकाले त्यसै त्यसै करुणा बिलाएर जान्थ्यो। यही कारणले म महाभारतमा भन्दा रामायणमा विशेष आकर्षण पाउँथे।

अहिले सोच्छु-मृत्युका प्रसङ्ग त दुवै पुस्तकमा उसैगरी आएका देखिएका छन्। दुवै पुस्तकमा देखाइएका विविध घटनामा भएका पात्रहरूका मृत्युमा संवेदना जाग्नु स्वाभाविकै हो तर पनि त्यहाँका कतिपय महत्वपूर्ण व्यत्तित्वहरूको मृत्युले र मृत्युपछिको सन्त्रस्त वातावरणले मलाई प्रभावित पारेको छ। जोसुकैको होस् मृत्यु मृत्यु नै हुन्छ र त्यो स्वाभाविक हो भने त ठिकै छ अस्वाभाविक मृत्यु, वा हत्या भएको छ भने त्यसलाई मनले अस्वीकार गर्दोरहेछ र मन नपराउँदो रहेछ।त्यसमा पनि मनले स्वीकारेको मान्छेको मृत्यु झन् नमिठो लाग्दो रहेछ चाहे त्यो कथामै किन नहोस्? मैले ती दुवै पुस्तक पढ्दा यही अन्तर पाउने गरें। त्यहाँका प्रशस्त कविताहरू, प्रसङ्गहरू र घटनाहरू अहिले पनि मलाई याद छन्। मैले तिनै प्रसङ्गलाई जीवनका अन्य प्रसङ्गसँग जोडेर तुलना गर्छु अनि मलाई रामायणभन्दा महाभारतका प्रसङ्गहरूले बढी छुन्छन्। बढी प्रभावित पार्छन् र हिजोको सोचभन्दा माथि उठाउँछन्।

महाभारतको विषयमा विद्वान्हरुको भनाइ छ- यन्न भारते तन्न भारतेअर्थात् महाभारतमा नभएको कुरा भारतमै छैन। त्यसैले त होला काव्यमीमांसामा राजशेखरले महाभारतलाई पाँचौं वेद भनेका छन्। समाजका हर घटना, पक्ष, विचार, व्यवहार, दर्शनसँग प्रत्यक्ष सरोकार राख्ने महाभारत विशेष खालको ग्रन्थ हो भन्ने कुरामा विश्वास जागेपछि मैले बल्ल ती दुई ग्रन्थमा फरक अनुभव गर्न थालेको हुँ। महाभारतका आधारबाट लेखिएका सबै पुस्तकको उल्लेख गर्नु सहज छैन तैपनि मैले कैयौं लेखकका विचार पढ्ने र बुझने मौका पाएको छु। रामधारी सिंह दिनकरको कुरुक्षेत्र पढ्दा मलाई नयाँपनको अनुभव भएको हो।

शरशैय्यामा सुतेका भीष्मको करुण कहानीका माध्यमबाट महाभारतको सार प्रस्तुत गर्ने दिनकरका कुरुक्षेत्रजस्ता पुस्तकहरू कहिल्यै पुराना हुँदैनन्। तिनको म्याद जाँदैन बरु शाश्वत विचार बनेर रहेकाले पाठकका मनमा विचार प्रवाहित गर्छन्। म पटक-पटक ती कविता दोहोर्याउँछु र विचार गर्छु, उनी लेख्छन्-

महाभारत द्वन्द्व नहीं था केवल दो घरोंका

अनलका पुञ्ज था भरा उसमे अगणित नरोंका

पापी कौन मनुज से उसका न्याय चुरानेवाला?

या कि बिघ्नको खोज उसी का शीश उडानेवाला

स्वत्व मागने से न मिले संघात पाप हो जाये

……………… जियें या कि मिट जायें।

चुराता न्याय जो रणको बुलाता भी वही है,

युधिष्ठिर स्वत्व की अन्वेषणा पातक नहीं है।

नरक उनके लिए जो पापको स्वीकारते हैं

न उनके हेतु जो रणमे उसे ललकारते हैं। आदि आदि।

महाभारतको आधुनिक युगसँगको सम्बन्धमा निरन्तरता छ भन्ने विषयमा मूल महाभारतमा उठाइएका प्रसङ्गहरू सम्झन्छु। एउटा प्रसङ्ग छ –

युधिष्ठिरका तर्फबाट सन्धि प्रस्ताव लिएर कृष्ण हस्तिनापुर जान तयार हुन्छन्। उनको यात्रा अघि कृष्णसँग (धृतराष्ट्र) कौरवको दरबारमा रहेका व्यक्तिहरूप्रतिको भाव प्रकट गर्दै सन्देशमा युधिष्ठिर भन्छन्- त्यस सभामा भएकामध्ये मैले विदुरलाई आदर गर्छु किनकि धन वा विद्याले होइन, व्यक्ति व्यवहारले पूज्य हुन्छ।

वास्तवमा शिक्षा व्यवहारका निम्ति हुनुपर्छ। व्यवहार असल बनाउन नसक्ने शिक्षा लिंदैमा वा धन कमाउँदैमा कुनै व्यक्ति आदरणीय हुँदैन। त्यस्तै प्रतिभा र (प्रयोग) अभ्यासको प्रसङ्गलाई महाभारतमा कसरी लिइएको छ?- धृतराष्ट्रका मनमा चिन्ता छ। उनी सञ्जयसँग सोध्छन्- भीम र दुर्योधनको गदा युद्ध भयो भने परिणाम के हुन सक्छ? यी दुईमा को कुशल छ? सञ्जय भन्छन्- भीम बलवान् छन्, समर्थ पनि छन् तर दुर्योधनको अभ्यास छ। बलपराक्रम र अभ्यासमा अभ्यास नै विशिष्ट हुन्छ।

हुन पनि भीम र दुर्योधनको गदा युद्धमा दुर्योधन नै विशिष्ट देखिन्छन्। कृष्णको सङ्केतले भीमले नियम उल्लंघन नगरेका भए त्यसको परिणामले यसलाई स्पष्ट पार्थ्यो। यसरी हरेक युगसँग तादात्म्य राख्ने घटना, विषयवस्तु र विचारले खचिखचाउ भएको महाभारतलाई रामायणमा पाइने त्याग, उदारता, कारुणिकताका हिसाबले मात्र गरेको त्यो मुल्याङ्कन यथार्थ रहेनछ। त्यो त केवल बालमानसिकता मात्र रहेछ भन्ने लागेको छ। आजको संसार र यहाँ घटेका हरेक घटनालाई महाभारतका ती प्रसङ्गहरूले सङ्केत गरेका छन्। तिनको अध्ययन र मनन धेरै अर्थमा प्रभावकारी हुन सक्छ। म त भन्छु – महाभारतको कथामा जस्तै आजको वातावरणले स्पष्ट सङ्केत गरेको छ-

क्यों कि युधिष्ठिर एक, सुयोधन अगणित यहाँ भरे हैं

………………………………………………………..।

नीतियुक्त प्रस्ताव सन्धि के जहाँ न आदर पायें,

जहाँ सत्य कहने वालोंके सीस उतारे जायें। आदि आदि।

समाजलाई यथार्थ धरातलमा उभिएर अघि बढ्न प्रेरित गर्ने महाभारतका तमाम यस्ता प्रसङ्गहरू, सन्देश र सङ्केतहरू आजका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छैनन् र?‍‍

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: