मेरा शुभेच्छुक, आफन्त र नालनाताहरूमध्ये धेरैले मैले निजामती सेवातिर नगएर मास्टरीमै बस्ने निर्णय गरेको कुरालाई मन पराएनन्। उनीहरूले त निजामती सेवामा जान जाती हुन्छ भनेर सल्लाह पनि दिएका हुन्। मेरो भौतिक उन्नति, मान सम्मान र धन त्यसैमा हुन्थ्यो भन्ने उनीहरूको सोच सही पनि थियो तर मभित्रको लेखकलाई उनीहरूले देखेका वा अनुभव गरेका थिएनन्। उनीहरूले मभित्रको लेखकलाई एउटा खरिदार वा ना.शु.बाट पराजित गराइएको वा भएको मलाई भने पटक्कै चित्त बुझेको थिएन।

उनीहरूले जे सोचे पनि मभित्रको साहित्यकारले आफूलाई बिर्सने भूल गरेन बरु सचेत रहने दृढता व्यक्त गर्दै निजामती सेवामा जान अस्वीकार गर्दैरहृयो। खरिदार ,ना.शु, र शाखा अधिकृतको परीक्षाका निम्ति १/१ पटक फारम भरें तर दुईवटा परीक्षामा मात्र बसें। त्यो पनि अध्ययन गरेर होइन साथीभाइसँग डुल्ने, घुम्ने आग्रहमा मात्र। २०३३ साल अघिसम्म त म विद्यार्थी नै थिएँ। जब शिक्षक पदको निम्ति आयोग पास गरेर नियुक्ति लिन जाने बेला भयो त्यतिबेला मेरा मनमा धेरै उथलपुथल हुने विचारहरू आए। कैयौं दिनसम्म त यसो गर्ने कि उसो गर्ने? भन्ने विचार आएकोले निर्णयहीन नै रहें। विचार प्रवाहमा डुव्दा डुव्दै निष्कर्षमा पुगें र घर भन्दा न नजिक न टाढाको विद्यालयमा नियुक्ति लिने सोच बनाएँ।

योग्यताक्रमकै आधारमा नजिक टाढा पार्ने कुरा अलिअलि सुनेको हुनाले पनि त्यस्तो सोच बनाउनु परेको थियो। वास्तवमा म नजिक घरपायकमा बस्न चाहन्नथे र टाढा जान पनि नसक्ने अवस्थामा थिएँ। नियुक्ति लिनु पूर्व काकाको छोरा भाइ (पुरुषोत्तम) र मेरा बीच नजिकका विद्यालयमा नियुक्ति लिन मिले एउटै डेरामा बस्ने सल्लाह पनि भएको थियो। एउटै डेरामा बस्ने विद्यालयको रोजाइमा भने फरक मत भैराखेको थियो। अलि पहिल्यैदेखि काम गरेकाले उनको परिचय भएको, म नयाँ भएकाले पनि उनी विद्यालय रोज्नेमा अलि सिपालु म चाहिं कमजोर हुन्थें। उनका रोजाइबाट छोडेकामा म पर्नुपर्ने हुनाले म जहाँ पर्छभन्नेमा गएँ ………….. उनले जति विद्यालयका नाम दिंदा पनि म पछिल्लोमै पर्थें र प्रतिष्पर्धा कमजोर भएको आभाष हुन्थ्यो। यही कारण थियो र म रोज्ने पक्षमा नगएर जहाँ दिए पनि ठिकै छ भन्ने हिसाबमा चूप लागें।

मेरा निम्ति जसरी पनि छोडेकै विद्यालय हुन्थ्यो। नजिकका दुई विद्यालय रोज्दा एउटा छोडेकामा म जानै पर्थ्यो। त्यसोभन्दा जहाँ दिन्छ भन्दा कमसेकम रोजेको त हुन्नभन्ने लाग्यो। केही दिन बित्यो। नियुक्तिपत्र दिन शुरु भएपछि शिक्षा कार्यालय गएँ। नियुक्ति पाइने निधो भैसकेकाले अलिकति उत्साह थपिएको थियो। कौतुहल शान्त पार्न नियुक्ति लिएर बस्नु उपयुक्त ठानें। कमसेकम कहाँ परिएला? भन्ने जिज्ञासा त मेटिन्छ भन्ने पनि लाग्यो। नियुक्तिपत्र लिंदा ढुक्क भएर बस्न पाइने हुनाले विद्यालय खुल्न अझ धेरै दिन बाँकी भए पनि जाती नै लाग्यो। त्यसैले मैले पनि नियुक्ति पत्र लिने निधो गरें। उत्तीर्ण हुनेहरूको नामावली टाँसेकै थियो। कार्यालयमा पुगेर नियुक्तिपत्र बुझन कुनै झन्झट भएन।

कर्मचारीहरू नियुक्तिपत्र वितरणमा लागेका थिए। मैले पनि आफ्नो नियुक्ति पत्र मागें। नामावलीमा नाम हेरेर नियुक्तिपत्रको प्रतिमा हस्ताक्षर गराएर मेरो नियुक्तिपत्र मलाई दिए। बुझेको पत्र हेर्न, उत्सुक म, बरण्डामा आएर चिठी हेरें। जीवनमा पहिलो पटक जागिरे भएँभन्ने बोधले म सन्तुष्ट भएँ। हुनत नियुक्ति दिने ठाउँ हेरेर पत्र बुझ्ने चाहना नभएको होइन तर परम्परा तोड्न त मिल्दैनथ्यो। अर्को कुरो म पैसाका निम्ति मात्र जागिरे भएको भए शिक्षकै हुनु पर्दैनथ्यो। अन्य सेवाका सोच र सम्भावना समेत भएकाले मास्टरीमलाई उपयुक्त लागेको थियो। अरु कतिपयलाई जस्तो हीनताबोध मलाई पटक्कै भएको थिएन।

चर्चा चलाएकै विद्यालयमा मेरो नियुक्ति भएको रहेछ तर भाइले आफूलाई रोजेकोमा। म-जहाँ पर्छभनेर बस्दा पनि त्यहीं परेकाले अझ खुशी लाग्यो। माघ सत्र गते हामी हाजिर हुन पुग्दा पो थाहा भयो विद्यालय १८ देखि खुल्ने रहेछ। विष्णु खनाल र म केही बेर बसेर त्यसै फर्क्यौ। अर्को दिन ०३३ माघ १८ देखि ०३७ जेठ ८ गते सम्मको अवधि मैले चन्द्र नि.मा.वि.मा बिताएँ।त्यहीं मैले शिक्षणको पहिलो अनुभव प्राप्त गरें। जागिरे जीवनको त्यो अनुभवसँग मैले सामाजिक वातावरण, आर्थिक अवस्था, महिलाहरूको अवस्था, गतिविधि, लोकगीत तथा बाल मनोविज्ञान जस्ता विविध विषयवस्तुलाई नजिकबाट हेर्ने, बुझ्ने र सिक्ने अवसर पाएँ। मेरो आजको अवस्था तिनै अनुभवको एउटा पाटो हो भन्ने मलाई लागेको छ।

म जबजब अतीतका विषयवस्तुको सम्झना गर्छु तब चन्द्र नि.मा.वि. र त्यहाँका प्रशस्त विषयवस्तुहरूको सम्झना हुने गर्छ। त्यसको सेरोफेरोका व्यक्ति र समुदायहरू, त्यहाँका शिक्षक-विद्यार्थीहरू, त्यहाँको प्रकृति सबैजसो कुरा सम्झन्छु। तैपनि सबै कुराको चर्चा सधैं गर्नु सान्दर्भिक हुँदैन र गरिंदैन। यतिवेला मैले त्यहाँको एउटा घटनाको मात्र चर्चा गर्न चाहन्छु। मलाई सम्झना भए अनुसार त्यतिवेला विद्यालय निरीक्षण अलि राम्रो स्थितिमा थियो। निरीक्षकहरू वेलावेलामा निरीक्षण गर्न जाने गर्थे। खास गरी गृहकार्य र सीप अभिवृद्धिका फारमहरू भरिन्थे, केन्द्र तोकेर परीक्षा गर्ने, केन्द्रमै कापी परीक्षण गराउने परम्परा बसेको थियो।

कतिपय निरीक्षकहरू अनुभवी, अध्ययनशील र सहयोगी पनि थिए। उनीहरूमा केही सिकून् भन्ने चाहना पनि हुन्थ्यो तर कतिपयमा भने शिक्षकहरूलाई तर्साउने, हप्काउने परम्परा र प्रवृत्ति पनि थियो। म नयाँ भएकाले मैले त्यस्तो अनुभव गरिनसके पनि त्यस्ता अनुभव हुनेहरूबाट सुन्ने गरेको थिएँ। सरुवा र नियुक्तिका चक्करमा हुने शिक्षकहरूका पनि थुप्रै गुनासाहरू हुन्थे, तिनको विवेचना गर्न यहाँ सकिंदैन। ककसका कमी कमजोरी थिए? भन्ने ज्ञान विना विवेचना गर्नु प्रमाणहरू हेर्दै नहेरी बुझ्दै नबुझी फैसला गर्नु जस्तै हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले म त्यही घटनातिर मात्र जान चाहन्छु।

म त्यहाँ नियुक्ति भएर गएको दिनदेखि त्यहाँ बस्दासम्म मेरो कार्यकालमा निरीक्षण गर्न जानेमा कृष्णप्रसाद ढुङ्गाना पहिलो निरीक्षक हुनुहुन्छ। शिक्षकहरूलाई सघाउने उहाँको स्वभाव मैले पहिलो निरीक्षणकै वेला अनुभव गरें। त्यसैगरी शुकदेव ज्ञवाली, रामचन्द्र ज्ञवाली, कृष्णचन्द्र देवकोटा, दामोदर गौली, लगायतका निरीक्षकहरू क्षे.शि.नि. बाट राजाराम श्रेष्ठ, भरत शर्मा हुनुहुन्थ्यो। शिक्षा अधिकारीहरूमध्ये मुकुन्दप्रसाद आचार्य तथा कविराज अर्यालले मेरो कार्यकालमा निरीक्षण गर्नु भएको सम्झन्छु। त्यतिवेलाको निरीक्षण प्रणालीमा अलि निरन्तरता थियो; नियमितता थियो तर आज त्यही नियमितता भएन भन्ने गुनासो बीचको लामो अवधिभर चर्चित रहृयो। बरु त्यतिवेला शिक्षकहरूको सङ्गठनात्मक गतिविधि, आन्दोलन, धर्ना र जुलुस चर्चाका विषय बने।

चापपानीका ती क्षणहरू मध्ये- सबै भन्दा-महत्वपूर्ण क्षणभनेर छान्नुपर्दा- छान्नु पर्ने कुन चाहिं होभनेर भन्न सजिलो छैन किनकि तिनका असर र प्रभावबाट तिनको महत्व छानिनु पर्छभन्ने मलाई लाग्छ। विवेचना नगरी तिनको प्रभाव र महत्व छुट्याउन सकिने कुरा पनि हुँदैन। तिनले मलाई यो अवस्थामा पुग्न मद्दत गरेका हुन् भन्ने उल्लेख भैसकेकाले तिनमा छानबिन नगरी यस अघि उल्लेख नभएको घटनातिर ध्यानाकृष्ट गर्न चाहन्छु।

म त्यस विद्यालयमा नियुक्ति लिएर जाँदा गोपाल प्रसाद भण्डारी नि.प्र.अ. हुनुहुन्थ्यो। सँगै नियुक्ति बुझेका म, विष्णु खनाल र हुम प्रसाद कोइरालामध्ये कोइरालालाई का.मु.प्र.अ. भनेर तोकिएको थियो। एकैदिन हाजिर भएर हामीले त्यहाँ सेवा शुरु गरेका थियौं। वाषिर्कोत्सवको बेला थियो। म आँगनमा बसेर केही लेख्दै थिएँ। सूर्यप्रसाद देवकोटा र दयाराज वस्याल आउनुभयो। केहीबेर विद्यालय, त्यहाँको बसाइ र पठनपाठनका बारेमा गफगाफ पनि भए। उहाँहरू विदा भएर जानुभयो। मैले त्यहाँको वातावरण र आवश्यकतालाई दृष्टिगत गरी त्यस क्षेत्रमा मा.वि. आवश्यक भएको चर्चा उठाएँ। तत्कालीन अध्यक्ष रत्न बहादुर थापाले त्यसलाई अत्यन्त सकारात्मक रुपमा लिनुभयो। छिमेकी विद्यालयका शिक्षक अभिभावकहरूमा पनि चर्चा चल्यो तर समिति सदस्यमध्ये दुई जनाले हामीलाई थाहै नभएको कुरा कसरी उठाउनुभयो? भनेर प्रश्न गरे।

वास्तवमा चर्चा चलाउनु र प्रसङ्ग उठाउनु निर्णय गर्नु होइन। निर्णय नगरी उठाउन सकिने कुरामा समितिले प्रश्नै गर्न पनि पर्दैन तर समितिमा कुरा उठेको भए पनि राम्रै हुन्थ्यो भन्ने मलाई पनि लाग्यो। जे होस् ती प्रश्न हराए बरु मा.वि. खोल्ने भन्ने चर्चा समितिमा चल्न थाल्यो। सभाहरू हुन थाले। र दर्लमडाँडा नि.मा.वि. दर्लमडाँडा, सीता नि.मा.वि. यम्घा, चन्द्र नि.मा.वि. चापपानी, बसन्त नि.मा.वि. बझादी र बेद नि.मा.वि. बराङ्दी जस्ता आधा आधा घण्टाका दूरीमा ५ नि.मा.वि. रहेको त्यस भेकमा एउटा मा.वि. चल्न सक्ने र चलाउनु पर्ने पनि थियो तर एउटा सामूहिक छलफल र समन्वयात्मक भावको अभाव थियो। सबैका आ-आफ्नै ताल थिए।

बराङ्दी आफै मा.वि. चलाउने सोचमा थियो र भवन बन्दै थियो। चापपानीले पनि आठकोठे राम्रै भवन बनाइसकेको थियो र अरुले अरु काममा सघाए थप कोठा बनाउन तयार पनि थियो। दर्लमडाँडा मिलेर त चलाउने तर दर्लममैभन्नेमा थियो। पटक पटक सभाहरू भए। ठाउँ ठाउँमा भेलाहरू भए तर अन्तिम टुङ्गोभने हुनसकेको थिएन। स्पष्ट किटानको अभावमा अलमल भयो र विवादकै रुप पनि लियो। हुनत हाइस्कूल चलाउने विषयमा एकमत भयो तर ठाउँ र चलाउने तौरतरिकामा मतभिन्नता भयो शुरुमा एक मतमा भएको निर्णयपछि दुई मत र बहुमतमा विभाजित भयो। आजको नेपाली राजनीतिमा जुन वातावरण देखिएको छ त्यो वातावरण २५/२६ वर्षअघि नै मैले त्यहाँ देखेको थिएँ।

त्यतिवेला मैले कुरुक्षेत्रपढ्ने गर्थें।धातानन्द कोइराला मेरो कोठामा आइरहनुहुन्थ्यो। मैले दिनकरको त्यो पुस्तकका निम्न पंक्तिहरू त्यहाँको वातावरणसँग तुलना गरेर दोहोर्याइरन्थें र उहाँ सुनिरहनुहुन्थ्यो –

बारह वर्षरहेगी जगमें शान्ति किसीविध र्छाई

तब होगा विस्फोट छिडेगी कोई कठिन लडाई

यह था वचन सिद्ध द्रष्टाका नहीं निरी अटकल थी

व्यास जानते थे, वसुधा जा रही किधर पलपल थी।

आपसी स्वार्थ, अमेल र गुट उपगुटहरूले एउटा सङ्कटको सिर्जना गर्दैरहेको अनुभूति मलाई भएको थियो तर जिम्मेवार व्यक्तिहरूले त्यसलाई बुझ्न सकेनन्। बुझे पनि यथार्थ विश्लेषण र समन्वय गर्न सकेनन्। त्यसले विवादलाई साम्य पारेन, लम्ब्यायो। चर्को विवांदमा छट्टू पक्षले जिते पनि मन जित्न सकेन, भावना जित्न सकेन। आज ती ५ मध्ये वसन्त मि.मा.वि. बाहेक अरु सबै विद्यालयहरू मा.वि.मा र दर्लमडाँडा उच्च मा.वि. मा रूपान्तरित भैसकेका छन् तर त्यतिबेला बिग्रेको वातावरण बन्न लामो समय लाग्यो। त्यहाँको वातावरणले मलाई संस्कारको सम्झना हुन्छ। शायद ०३५ तिरकै घटना हुनुपर्छ। हुमप्रसादजी तालिममा जानुभएको थियो। विद्यालयमा प्रधान उपप्रधान पञ्च समेतको एउटा सभा बोलाइएको थियो तर विषय विद्यालयसित सम्बन्धित थिएन। शुकदेव ज्ञवाली वि.नि.र म समेतलाई सभामा बस्न अनुरोध गरिएको थियो। शिक्षकहरूले कक्षा लिन शुरु गरेपछि यताको कुराकानी पनि शुरु भयो।

मैले आफ्नो पिरियड सिध्याएर बस्छुभनेर कक्षा लिन लागें। कुरा विविध विषयमा उठ्दै गए। मेरो कक्षा पनि सिद्धियो र म पनि छलफलमा बसें। दुइटी महिला बीच भएको लुछालुछको विषय शुरु भयो। झगडा टुङ्गयाउने गरी डाकिएको रहेछ। दुबैलाई आ-आफ्नो कुरा राख्न लगाएपछि त्यहाँ भएका सबैले ती दुइटी मध्ये एउटीको ज्यादती हो भन्ने कुरा बुझे। निर्णय त गर्नैपर्थ्यो के गर्ने? गाउँघरमा सबैभन्दा सजिलो निर्णय भनेको मिलापत्र हो। अदालतमै पनि मिलापत्र हुने गर्छ। प्रधानले प्रस्ताव राखे- ल तिमीले सबैका अगाडि गोडा छोएर माफी माग। अब आयन्दा यस्तो गर्दिन भन।

त्यो छट्टू आइमाइले गोडा छोएर माफी मागी। फेरि यस्तो गर्दिनँभनेर सबैका अगाडि बाचा पनि गरी। अनि ती पीडित महिलाले माफी दिनुपर्ने भयो। सबैका आग्रहमा सम्पूर्ण पीडा बिर्सेर अहिलेलाई ठिकै छभैहाल्यो भनेपछि त्यत्रो झगडा टुङ्गियो। उनीहरू त्यहाँबाट हिड्न लागे। ढोकाबाट बाहिर निक्लँदा त्यो छट्टू आइमाइले निष्कर्ष सुनाई- भाञ्जी बुहारीलाई लुछ्न पनि लुछें, पिट्न पनि पिटें। माफी मागेर छुट्टी पनि पाएँ। गोडामा ढोगिदिएर के भयो?’

उसले आफूभित्रको भावना कति स्पष्टसँग अभिव्यक्त गरी? हुनत त्यो अदालती कार्यवाही थिएन तापनि समाजबाट दिइने र पाइने न्यायको स्वरुप त थियो। हामीकहाँका अधिकांश झगडाहरू वा मुद्दाहरूमा बलियो पक्षले निर्बलियो पक्षलाई त्यस्तै गरेका हुन्छ। न्यायका निम्ति निर्बलियाले गुहार माग्छ तर परिणाम के? बलियालाई जिताइन्छ र जिताउनै नमिल्ने भए मिलापत्र गराइन्छ। मिलापत्र पनि ढोगिदिएकी छट्टू आइमाइको अभिव्यक्ति जस्तै हुन्छ। कसरी निर्बलियाहरू ढुक्क बन्ने? बलियाहरूले नकाम गर्न डर किन मान्ने? त्यस्तो संस्कार र पद्धतिले समाजलाई कसरी सुरक्षित राख्छ? कसरी न्याय दिन्छ? कसरी व्यवस्थित बनाउँछ? हामी कहाँका मुद्दा मामिला, तिनका सुनुवाइ र निर्णय नमूना यस्तै हुँदैनन् त? मेरा मनमा सधै भरि उव्जिरहने प्रश्न यिनै र यस्तै हुने गरेका छन् र यिनको विकल्प भेटाउने र खोज्ने अवस्था आज पनि देखा परेको छैन जस्तो लागेको छ। यिनै अवस्था हामीले भोगिरहेका छौं र भोग्नु हाम्रो संस्कार बनेको छ। त्यसपछि फेरि समस्यातिर ध्यान गयो।

हेर्दै सोझो लाग्ने भरेक्टुङका एकजना मगर समुदायका व्यक्ति रहेछन्। उनलाई आफ्नै गाउँको एकजनाको-गोठ जलाइदिएकोआरोप लागेको थियो। बिचरा! उनको अनुहार, पहिरन र प्रस्तुति कति टिठ लाग्दो थियो। मैले अहिलेसम्म पनि उसैगरी सम्भिरहेको छु। धेरै त बोल्नै सकेनन्। तैपनि नजानेरै वा असचेतताका कारण गोठ उनकै कारणले जलेको कुरा स्पष्टै थियो। उनले लुकाउँदा पनि लुकाएनन्।

गाउँघरको लाटो मान्छे, कहिलेकाहिं शिकार हान्ने गर्दारहेछन्। भरेको बन्दुक लिएर निस्कनै लाग्दा ढोकैबाट छिमेकीको गोठको छानामा ढुकुरका जोडी देखेछन्। शिकारीलाई चरा देखेपछि हान्न मन लागिहाल्यो। दायाँ-बायाँ सोच्नै थालेनन्। ध्यान एकोहोरियो अनि ड्याम्म हिर्काए। बन्दुकबाट र्छरासित सँगै गएको लत्ता छानामा पुग्यो, छानो सल्कियो र पूरै गोठ जल्यो। नजानेरै भए पनि अर्काको नोक्सान हुने गल्ती गरेपछि त्यसको सजाय त पाउनै पर्छ। जानेर नजानेर भन्दा पनि गल्ती हो-होइन मुख्य कुरो हो। सबैका मनमा कुरा खेले। के सजाय दिने वा कसरी टुङ्गो लाउने? कमसेकम क्षति हुनेले क्षतिपूर्ति त पाउनै पर्पो।

अन्त्यमा गोठ बनाउन लाग्ने खर्चको अनुमान गरेर खर्च उनले दिनुपर्ने निर्णय भयो। एकहजार सातसय पचास अनुमानित खर्च तिर्न उनी राजी भए। त्यही खर्च लिएर गोठवालाले बनाउनुपर्ने भयो। मैले सोचें- विचराले एउटा ढुकुरका लागि यत्रो समस्या व्यहोर्नु पर्यो। त्यही तिर्न पनि रिन काढ्नु पर्ने समस्या आयो।

त्यत्रो नोक्सानले गर्दा ऊ बन्दुक हान्न डराउने त बन्यो तर त्यति धेरै मूल्यको ढुकुर भने उसले पायो कि पाएन? सोध्नै बिर्सिएछ। हिड्ने बेलामा त्यहाँ उपस्थित एकजनाका मुखबाट त्यस्तै गरी निस्क्यो –सत्रसय पचास पर्यो ढुकुरलाई हन्त!

त्यहाँका त्यस्ता अनेकौं स्मृतिहरूले मलाई भने अत्यन्त सचेत बनाउने प्रयास गरे झैं लाग्छ। बेला बेलामा सोच्छु- नसोचेर काम गर्ने अनि दुष्परिणामचाहिं सजिलै भोग्ने हाम्रो अवस्था कहिले फेरिएला?

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: