(साभार: आश्विन 15, 2064. दृष्टि साप्ताहिक)

धेरै समयपछि राजधानीबाट जन्मथलो पाल्पा पुगियो। राजधानीको व्यस्त जिन्दगीमा पाल्पा मेरा लागि अमेरिकासरह बनेको थियो। यसपालि जन्माष्टमी, भगवती जात्रा र सिस्ने मूल खानेपानी आयोजनाको उद्घाटन समारोहमा सरिक हुन पाइयो। पाल्पा गएको मूल कारण भने किनारीकृत माझी र बोटेहरुलाई रेडियो वितरण गर्नु थियो, त्यो पनि विशेष दिनमा। दिदीको सम्झनामा। संयोगले अरु केही महत्त्वपूर्ण काममा सहभागी हुन पाइयो।

दिदी सुश्री शिवकुमारी सैंजूको स्मृतिमा केही सामाजिक काम गर्ने अवसरका रुपमा पनि यसपालिको पाल्पा यात्रालाई उपयोग गर्न पाइयो। ७७ वर्षीया दिदीले गत पुस ३ गते हामीबाट विदा हुनुभएको थियो। ४४ वर्षघि मसँगै काठमाडौं आउनुभएकी दिदी त्यसपछि आजीवन यहीँ रहनुभयो। उहाँको नाममा भएको सम्पत्ति उहाँकै स्मृतिमा सदुपयोग होस् भन्ने मान्यता हो। त्यही मान्यतामा रहेर केही सामाजिक काम गर्न सकियोस् भनेर यसपालि एउटा सानो प्रयास थालियो। पाका पत्रकार भैरव रिसालको अनुकल्पनामा साथ दिँदै पाल्पाका कुमाले, माझी र बोटे समुदायलाई रेडियो वितरण गरेर उनीहरुलाई सूचना सञ्जालको मूलप्रवाहमा जोड्न खाज्नु हाम्रो प्रयासको धेय थियो।

पाल्पामा जम्मा चार सय परिवारमा रहेका माझी, बोटे, कुमाले लापोन्मुख अवस्थामा छन्। उनीहरुलाई राष्ट्रिय विकासको मूल धारमा ल्याउने प्रयासहरु सफल भएका छैनन्। अझ भनौं प्रभावकारी प्रयास नै भएका छैनन्। न उनीहरुको जीवनस्तर सुध्रिन सकेको छ, न मौलिकता जोगिन नै। उनीहरुका परम्परा, भाषा, संस्कृतिहरु हराउँदै गएका छन्। उनीहरुको पहिचान हराउँदै गएको छ।

हराउँदो संस्कृतिको जगेर्ना र लोपोन्मुख जातिलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याई सञ्चार माध्यमले जोगाउन सक्छ। रेडियो सञ्चारको एउटा त्यस्तो माध्यम हो, जसले अपठित जनतालाई पनि प्रभावकारी सूचना दिन्छ। सूचना चेतना हो। चेतना शक्ति हो। मुलुक राजनीतिक परिवर्तनको तीब्र गतिमा अघि बढिरहँदा कुमाले र बोटेहरुले त्यहाँ आफ्नो स्थान र भूमिका खोज्न सक्नुपर्दछ। त्यसका लागि रेडियोले प्रवाह गर्ने सूचनाले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । पिछडिएका वर्ग र जातिलाई कसरी चेतनशील गराउने भन्ने कुरा हामी सबैको चासोको विषय हुनुपर्छ। उनीहरुमा पनि मौलिक क्षमताहरु छन्। ती लुकेका क्षमता उजागर गर्न सके हामी पनि नेपाली हौं भन्ने भावना उनीरुमा अवश्य पलाउँछ। हाम्रो पनि राष्ट्र निर्माणमा भूमिका र अधिकार हुँदोरहेछ भन्ने अवश्य बुझ्छन्। पिछडिएको समुदाय पनि उत्प्रेरित हुन्छ।

यसमा सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका खेल्ने निश्चित छ। हामीले रेडियो वितरण गर्दाको क्षणमा अन्य स्थानीय भद्रभलाद्मीले पनि सहयोग गर्ने तत्परता देखाउनु अझ सुखद पक्ष हो। हाम्रो प्रयास समुद्रमा फालिएको एक थोपा पानी मात्र थियो। त्यस थोपाले उत्पन्न गरेका तरंग फैलिएर वरिपरिको क्षेत्र पनि प्रेरित हुनु स्वाभाविक नै हो। पहिले एउटै रेडियो थियो, रेडियो नेपाल। अहिले एफएमहरुको बाढी नै आएको छ। दक्षिण एसियामै पहिलो एफएम नेपालमा स्थापना भयो, रेडियो सगरमाथा। यसको सफलता दक्षिण एसियामै नमूना सावित भएको छ। अहिले पाल्पामा मात्र तीनवटा एफएम सञ्चालनमा छन् ।

सित्तैमा लिने र दिने भावना प्रोत्साहित गर्नु राम्रो हुँदैन। त्यसो नहोस् भनेरै उनीहरुको जाति, संस्कृति, परम्परा र लोकजीवनका अनेक पक्ष रेडियोमा रेकर्ड गराउने समझदारीमा रेडियो वितरण गरियो। यसका लागि मुक्तिनाथ सामुदायिक रेडियो एफएम छान्यौं, व्यावसायिक होइन। यसले एकातिर माझी, बोटे, कुमालेका संस्कृति, भाषा, परम्परा, चाड, लोकगीत रेकर्ड हुने भए। अर्कोतिर आफ्ना कुरा रेडियोमा आएपछि उनीहरुमा रेडियोप्रति आकर्षण बढ्ने भयो।

राज्यले विकासमा जति लगानी गरेको छ, त्यसको प्रतिफलमा समानुपातिक वितरण आवश्यक छ। यसो भए मात्र माझी, बोटेलयातका किनारीकृत समुदायलाई मूल धारमा ल्याउन सकिन्छ । सूचना शक्तिले उनीहरुलाई बदल्न सक्छ। बाहिरी जिल्लाबाट राजधानी आएकाहरुले आफू जन्मेका ठाउँमा पनि केही योगदान गर्ने सोचको विकास हुनु जरुरी छ। अन्यमा पनि यसले उत्प्रेरणा जागोस् भन्ने दृष्टिकोणले यो अभियान सुरु गरेका हौं ।

हामी काठमामाडौंमा रहेका पाल्पालीले पनि पाल्पालाई के दिन सक्छौं भन्ने कुरा बिर्सनुहुँदैन। भोलिको पाल्पालाई कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा छ। पहिलेको पाल्पा अहिले हराएर गएजस्तो महसुस यसपालिको पाल्पा यात्राले मलाई गरायो। वास्तवमा उहिलेको पाल्पा र आजको पाल्पाबीच निकै अन्तर भइसकेको रहेछ। भगवती जात्राको झाँकीमा सैन्य ठाँट थिएन। प्रशासनिक रवाफ थिएन। जनताको साँस्कृतिक सहभागिता र भूमिका बढेछ। तीनतीनवटा एफएम रेडियो चल्न थालेछन्। सहर फराकिलो बन्दै छ। भौतिक पूर्वाधार र सहरीकरणले पाल्पाको मुहार अर्कै बनाइसकेछ। पाल्पा केही पुराना परिचय गुमाउँदै छ। नयाँ परिचय स्थापित गर्दै छ। वास्तवमा विकासको नियम नै हो यो। परिवर्तनको यस क्रममा विचार पुर्‍याउनुपर्ने कुरा धेरै छन्। परिवर्तनका नाममा हाम्रा मौलिकता र सुन्दर संस्कृति हराउँदै छन्। वातावरण र ऐतिहासिक महत्त्वका सम्पदा अतिक्रमित हुँदै छन्। पश्चिम क्षेत्रको प्रमुख व्यापारिक नगरी मानिने ऐतिहासिक परिचय पाल्पाका लागि पुरानो बन्दै छ। तैपनि आत्तिनुपर्ने कुरा केही छैन। सजग भएर विकासको बाटोमा हिंडे पुग्छ।

पाल्पामा मेडिकल कलेज स्थापना भई त्यसको प्रभावकारी सञ्चालन भइरहेको छ। मेडिकल स्नातक उत्पादनमा महत्त्वपूर्ण योगदान यसले पुर्‍याउने छ। गुणस्तरीय जनशक्ति उत्पादनमा सघाउने छ। झापादेखि बैतडीका प्रख्यात डाक्टर त्यहाँ भेट्न पाएँ। पाल्पा अरुजस्तो दुर्ग पनि छैन। भारतबाट पनि नजिक छ। सहरीकरणको मारमा धेरै परिसकेको छैन। पर्न दिनु पनि हुँदैन। देशको मध्यभागमा अवस्थित छ। यस भूमिलाई हामीले पर्यटकीय गन्तव्य बनाउन पनि नयाँ सोच बनाउनैपर्छ। यसलाई शैक्षिक पर्यटनको गन्तव्य बनाउन सक्छौं। पर्या-पर्यटन त छँदै छ। स्वास्थ्य पर्यटनको पनि उत्तिकै सम्भाना छ। त्यसका पूर्वाधार निर्माणमा भने आजैदेखि लाग्नुपर्छ। पाल्पाको विकास हुनु भनेको राष्ट्रिय विकासमा सघाउ पुर्‍याउनु हो।

मैले आफ्नो पाल्पालाई जति दिन सक्थेँ, त्यो सकिनँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएँ। गरिबी निवारण कोष सम्हालेँ। हुन पनि म राष्ट्रकै लागि उपाध्यक्ष भएको थिएँ, एक्लै पाल्पाको थिईँन। मेरा आफ्नै सीमा थिए। जेहोस्, अबका दिन मैले पाल्पाकै लागि खर्च गर्ने सोच बनाएको छु।

प्रस्तुति : रामबहादुर रावल

Advertisements

Comments on: "त्यो पाल्पा, यो पाल्पा : डा. मोहनमान सैंजू" (2)

  1. hats off to dr. mohan man saiju

  2. sabin pandey said:

    our palpa is so beautiful

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: