के गाउँ के शहर, जताततै अहिले महोत्सवको मौसम छ। कतै उद्योग, कृषि महोत्सव त कतै पर्यटन, उद्योग आदि। आन्तरिक पर्यटन प्रबर्द्धनका लागि यो राम्रो अवसर भए पनि कुन ठाउँमा कहिले के महोत्सव मनाउने भन्ने कुराको पहिचान हुन नसक्दा महोत्सव शब्द हलुको भएको छ। पाल्पा, तानसेनले शिक्षा, स्वास्थ्य र पर्यटनको नारा लगाउन थालेको झन्डै तीस वर्ष भयो। यो तीस वर्षमा तानसेनमा कतिवटा पर्यटकीय होटल खुले, कतिवटा अस्पताल थपिए र कतिवटा मेडिकल कलेज, विश्वविद्यालय खुले भन्ने कुरा सिंहावलोकन गर्नु जरुरी छ। विकासका हिसाबले तीस वर्ष भनेको चानेचुने कुरा होइन। तर मलाई लाग्छ, यो तीस वर्षमा पाल्पाले उपयुक्त क्षेत्रमा उल्लेख्य विकास गर्न सकेन। किन? यस प्रश्नको जवाफ नखोजी फेरि त्यही पुरानो नारा रटेर मात्र पाल्पाको विकास सम्भव छैन।
शिक्षा
, स्वास्थ्य, अथवा पर्यटन यी तीन वटामध्ये सबैभन्दा बढी सम्भवाना भएको क्षेत्र कुन हो भन्ने कुराको पहिचान नगरी थालिने नारा नारामा मात्र सीमित हुन्छ भन्ने कुरालाई यतिबेला पाल्पालीहरुले मनन गर्नुपर्छ। शिक्षा स्वास्थ्यमा पाल्पालाई रुपन्देहीले उछिनिसक्यो। पाल्पाली ढाका, करुवालाई तेह्रथुम, भोजपुरले उछिन्न थालिसक्यो। पर्यटनको कुरा गर्ने हो भने बन्दीपुर धेरै पछाडि भएर पनि धेरै अगाडि बढिसक्यो। त्यसैले हामीले अब पाल्पाको विकास कहाँबाट थाल्ने भन्ने कुराको पहिचान गर्नुपर्छ।

मेरो विचारमा पाल्पा पर्यटन क्षेत्रका लागि अति उत्तम ठाउँ हो। श्रीनगर डाँडा
, रानीमहल, भैरवस्थान, रिडीबजार, ताहुँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै मगर गाउँको संस्कृतिलाई समेट्न सकियो भने यो दश वर्षमा पाल्पामा पर्यटनको प्रचुर सम्भावना छ। तर यसका लागि पूर्वाधार निर्माण गरिनुपर्छ। लगानी बढाउनुपर्छ। लगानीकर्ताहरुलाई प्रोत्साहित गरिनुपर्छ। विनापूर्वाधार पाल्पामा पर्यटन क्षेत्रको विकास सम्भव छैन। यसका लागि सबैभन्दा पहिला पाल्पालीहरु नै तात्नुपर्छ। अनि मात्र त्यसले अन्य क्षेत्रका पर्यटन व्यवसायीलाई आकर्षित गर्न सक्छ।

पाल्पाका रमणीय स्थलहरु स्याहारसम्भारको अभावमा घिनलाग्दो भएको छ। वर्षभरि बजेट पचाएर बस्ने नगरपालिकाका कर्मचारीलाई लाज लाग्नुपर्ने हो – श्रीनगरको अवस्था देख्दा। श्रीनगर डाँडाको विकासमा बिन्दुप्रसाद नेपालीले जति गरे त्यसपछिका मेयरहरुले श्रीनगरको विकासमा एउटा ईँटा थप्नेसम्मको काम गरेनन्। भुयुमान लिगलले पानीबिनाको पोखरी बनाएर श्रीनगरको छवि फोहर पारे। भएका फूलका बगैंचा ध्वस्त पारिए। पारिलेक वन निर्माण गरियो त्यसको पनि स्याहार, सम्भार भएन। श्रीनगर गणेशस्थान क्षेत्रमा फूलहरु रोपेर तानसेनको सौन्दर्य बढाउन सकिन्थ्यो, त्यता पनि ध्यान पुर्‍याइएन। श्रीनगर क्षेत्र अतिक्रमित भएको छ। मापदण्डबिना घर निर्माण भएको छ। नगरपालिका टुलुटुलु हेरेर बसेको छ। दरबारवपरका क्षेत्रमा व्यक्तिगत घरटहरा बनेका छन्।

विकासका नाममा भएका यस्ता विकृतिलाई रोक्नेतर्फ कसैको ध्यान गएको छैन। मिसन अस्पताल वरपर सुकुम्बासी बस्ती हेर्दै कुरुप छ। त्यसलाई पनि व्यवस्थित बनाउन सकिएन। अर्थात् गर्न सकिने काम पनि तानसेनवासीले गर्न सकेका छैनन् भने तानसेनको विकास कहिले हुन्छ?

मौसमका हिसाबले १२ महिना पाल्पामा पर्यटनको विकास गर्न सकिन्छ। खास गरी आन्तरिक र उत्तर प्रदेश, विहारका भारतीय पर्यटकहरुलाई चैतदेखि भदौसम्मको गर्मी मौसममा पाल्पा भित्र्याउन सक्यौं भने पाल्पालाई हिल स्टेसनका रुपमा विकास गर्न सक्छौं। त्यसै गरी पोखरा, चितवन हुँदै लुम्बिनी पुग्ने लाखौंमध्ये हजारौंलाई मात्र पनि पाल्पामा आकर्षित गर्न सक्यौं भने पर्यटन उद्योगका साथसाथै घरेलु उद्योग, कृषिमा आधारित उद्योगहरुको विकास गर्न सक्छौं। होइन, वर्षमा एक पटक मात्रै महोत्सव मनाउने र अरु बेला कुम्भकर्ण निद्रा सुत्ने हो भने पाल्पा धेरै पछाडि पर्नेछ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: