सिद्धार्थ राजमार्गको तानसेन र बुटवलको बीचमा पर्ने कालिमाटीको ठीक पारीपट्टि खोलापारिको डाँडामा हरियो वनको माझमा अचेल एउटा रमाइलो बस्ती देखिन थालेको छ। वनभित्र पर्यटक बस्ने घर र वनमा घुम्नका लागि घोडाहरु राजमार्गबाटै देखिन्छन्। अनि राजमार्गको छेउको संकेत पाटीले त्यो नयाँ रिसोर्ट (रमाइलो विश्रामस्थल) को परिचय गराउँछ : गोर्खा गाउँ हर्स स्टेबल्स, मदनपोखरा, कालिमाटी, पाल्पा। टाढाबाट हेर्दा जंगलमा मंगल भनेको यही हो कि जस्तो लाग्छ। राजमार्गबाट रिसोर्टसम्म पुग्ने मोटरबाटो र खोलामा सानो तर मोटर जानसक्ने काठे पुल पनि छ। खोलाको पानी यति सङ्लो छ कि माथि बाटोबाटै पानीभित्र खेलिरहेका माछा देखिएलाजस्तो लाग्छ। रिसोर्टको बास, घोडामा वनको घुमाइ अनि दिनभरि खोलामा खेल्नु कति रमाइलो होला? काठमाडौँ नफर्की नहुने बाध्यता नभएको भए त्यहीँ नै गाडीबाट ओर्लेर जाउँ जस्तो लागेको थियो।

पाल्पा पुग्नेहरुमध्ये कसैले पाल्पा (तानसेन) लाई पूर्वको इलाम भने, कसैले दार्जीलिङसँग दाँजे, कसैले यहाँको सांस्कृतिक, जातीय विविधता, भौगोलिक सौन्दर्य, हिमाली श्रृंखलाको दृश्यको तारिफ गरे, कसैले यसलाई स्वास्थ्य र शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्छ भनेर सल्लाह दिए। विदेशी लेखकहरुले त यसको ऐतिहासिक र सुरम्य जलवायुको महत्त्वका बारेमा धेरै पाना लेखे। महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत नेपाली साहित्यकार र पत्रकारहरु पनि यो ठाउँको तारिफ गर्न पछि परेनन्। यो पंक्तिका लेखकले पनि २०४४ सालमैपाल्पा एज यु लाइक इटपुस्तक लेखिसकेको थियो, जसको दोस्रो संस्करण पनि निस्किसक्यो। वास्तवमा पाल्पालाई पर्यटनको आधारमा विकास गर्ने परिकल्पना र प्रयास भएको चालीस वर्षजति भयो। २०१६ सालतिर निस्केको पुस्तकयो हो पाल्पामा पाल्पाको पर्यटनको विकासको संभावनालाई पहिचान गरी विभिन्न उपायहरुको चर्चा गरिएको थियो। यसबीच देशका विभिन्न नयाँनयाँ र कल्पना नै नगरिएका ठाउँहरु पर्यटकीय स्थलको रुपमा विकसित भए। तर पाल्पालाई पर्यटनको आधारमा विकसित गर्ने धारणा कल्पनामा नै रह्यो। पाल्पालीहरुले साहित्यकार र कल्पनाशील व्यक्तिहरुको लहैलहैमा लागेर पर्यटनको विकास गर्न खोजेका हुन कि साँच्चै यहाँ पर्यटनको विकास गर्ने तत्त्वहरु छन्?

गणतन्त्रोन्मुख नेपालमा अब पाल्पा पृथ्वीनारायण शाहको मावली, राणा प्रधानमन्त्रीको रोल खोसिएकाहरुको शरणस्थल, सात सालको क्रान्तिमा शासक नै सहभागी बनेको पहिलो जिल्लाजस्ता विशेषताहरु पनि अब नबिक्ने भइसके। पंचायतकालमा मात्रै होइन बाह्र वर्षे प्रजातान्त्रिक कालमा पनि केन्द्रीय शासनको आँखा जहिले पनि कसिंगर बनेको जिल्ला पाल्पा नै थियो। पाल्पालीहरु राजतन्त्रको जगजगी छँदा नारायणहिटी, सिंहदरबार र योजना अयोगको निर्णायक ठाउँ र पदहरुमा नपुगेका होइनन्। भारतको पश्चिम बंगाल र केरला राज्यले भारत सरकारलाई उत्कृष्ट सरकारी कर्मचारीहरु उपलब्ध गराएझैँ पाल्पा जिल्लाले पनि निरन्तर उच्चतहका कर्मचारी र प्राविधिक (योजनाकार, अर्थशास्त्री, सचिव, सिडियो, डाक्टर, इन्जिनियर इत्यादि) पुर्याउँदै आएको छ। तर बितेका बीस वर्षयता पाल्पामै घरबार भएका र यहीँबाट चुनिएका कुनै पनि जनप्रतिनिधि, सांसद कुनै पनि पार्टी सरकारको महत्त्वपूर्ण पदमा नपुग्नु पनि अर्को विचारणीय पक्ष हो।

पाल्पा पर्यटनमा मात्रै होइन शिक्षा, स्वास्थ्य र औद्योगिक विकासमा अरु जिल्लाको तुलनामा पछि पर्दै जानुमा केन्द्रीय सत्ताको उपेक्षामात्रै जिम्मेवार छैन। विविध कारणहरु छन्। जुन कारणहरु सुनौली पोखरा राजमार्ग तानसेन बजार भएर जान हुँदैन भनी यहीँका बासिन्दाले विरोध गर्नुदेखि विभिन्न आत्मघाती काम भएका छन्। तानसेनमा हेलिकप्टर सेवा सञ्चालन गर्ने मीठो सपना देखाउनेहरु काठमाडौँमा हवाइ कम्पनी चलाएर बस्ने पाल्पालीहरु नै थिए। श्रीनगरमा गल्फ खेल सञ्चालन गर्न खोज्नेहरु पनि काठमाडौँको सिनामंगलमा गल्फ चलाउने पाल्पालीहरु नै थिए। तानसेनको पानीको समस्या समाधान गर्नसक्ने पाल्पालीहरु योजना आयोग, अर्थमन्त्रालय र विभिन्न निकायमा निर्णायक पदहरुमा थिए। तै पनि पाल्पा पछि पर्दै गयो।

विदेशी, खास गरी पश्चिमा र बौद्धधर्मावलम्बी पर्यटकले नेपालमा हेर्न वा घुम्न आउने कारक तत्त्व वा विषयहरु हिमाल, प्राकृतिक सौन्दर्य, पदयात्रा, बुद्ध धर्म, जातीय विविधता, प्राचीनकला र संस्कृतिजस्ता मात्रै हुन् भन्ने धारणा हाम्रो पर्यटन विकासको प्रेरक तत्त्वको रुपमा रहेको छ। तर पर्यटकहरुको संख्या र आर्थिक कारोबारको राशीलाई हेर्दा सुख सुविधा, विलाशिता र सम्पन्नतायुक्त स्थल विश्वका बहुसंख्यक पर्यटकहरुको गन्तव्य देखिन्छ। पैसा खर्च गरीगरी दुःख पाउन वा एडभेन्चर गर्न चाहने मानिसहरुको संख्या सीमित हुन्छ। जहाँसम्म पाल्पासँग भएका माथि उल्लेख गरिएका पर्यटकीय आकर्षणहरुको कुरा छ तीमध्ये अधिकांश विशेषताहरुमा अरु जिल्लाले पाल्पालाई उछिनिसकेको छ। भक्तपुरको नेवार संस्कृति हेर्न छाडेर पाल्पाको पलायमान नेवारी संस्कृति हेर्न, कास्की, स्याङ्जा र तनहुँले प्रस्तुत गर्ने जातीय सांस्कृतिक पहिचानलाई अध्ययन गर्न छाडेर पश्चिम पाल्पाका मगरभाषा नै नबोल्ने समुदायको अध्ययन गर्न, नांगो आँखाले नै देखिने कास्की, लमजुङजस्ता हिमालसँग छोइएका र यातायातको दृष्टिले सुगम बनेका हिमश्रृंखला देखिने स्थानहरुलाई छाडेर दुरबीन लाएर हिमाल हेर्र्नुपर्ने पाल्पाका डाँडाहरुबाट हिमाल हेर्न आउने पर्यटकहरुको संख्या कति होलान्? यस्ता विभिन्न भ्रमहरुमा हामी बाँचेका रहेछौँ भन्ने कुरा नेपालका अन्य पर्यटकीय स्थलहरु हेरेपछि मलाई लागेको छ। यसैले पर्यटन मात्रै होइन विकासका नयाँ आधारहरु खोज्नुपर्छ भन्ने लेखकको ठम्याइ हो।

माघको पहिलो सातामा पाल्पाको रामपुर भ्रमणबाट नेपालको पुनःसंरचना र नयाँ नेपालको निर्माणको सन्दर्भमा पाल्पाको विकासको नयाँनयाँ संभावना देखेँ। वास्तवमा पाल्पामात्रै होइन नेपालका धेरै पहाडी जिल्ला र गाउँहरु ठूलो आर्थिक तथा सामाजिक फड्को मार्न तयार परेको देखेँ मैले। यो राजनीतिक फड्को होइन। तर राजनीतिले यसलाई दिशा दिएन भने यसको विकास ठिक ठाउँमा नहुन सक्छ। भिजनबिहिन नेतृत्व राष्ट्रकै संकट भएको बेला पाल्पा अपवाद हुन सक्तैन।

स्याङ्जा जिल्लामा लगभग साठी हजार घरधुरी छन्। तर त्यहाँबाट विदेशमा काम गर्न जानेहरुको संख्या पह्रारै साठी हजार नाघिसकेको थियो। पाल्पाको तथ्यांक मसँग छैन। तर यो पनि स्याङ्जाभन्दा कम छैन। रामपुर फाँटमा मात्रै विदेशमा काम गर्न गएका मानिसहरुबाट मासिक एक करोड रुपैयाँ भित्रिन्छ भन्ने अनुमान छ। गएको महिना कृषि विकास बैँकको सेयरमा पाँच करोड रुपैयाँ गयो भनिन्छ। यसरी भित्रिएको पैसाबाट स्थानीय व्यवसायीको डोजर प्रयोग गरी दैलोमा मोटरबाटो पुर्याउनेदेखि आधुनिक सुख सुविधा र केही मात्रामा विलासिताका सामानमा खर्च भइरहको छ। रेमिटेन्सको उपयोग काठमाडौँमा सहरी क्षेत्रमा घर घडेरी किन्ने, बसाइ सर्नेजस्ता अनुत्पादक काममा मात्र नगरी जलस्रोतको विकास तथा ग्रामीण उद्योगको विकासमा गर्नसके बहुआयामिक फाइदा हुनसक्छ। दूध, अंडा, मासु तथा कृषिजन्य वस्तुहरुको रुपान्तरण गरी गुणस्तरीय, आकर्षक खाद्य उद्योग संचालन गर्न सकिन्छ। वस्तुको जस्तै सेवाको व्यवसायहरु संचालन गर्नसके गाउँमै युवाहरुले काम पाउँछन्। आधुनिक सूचना प्रविधिको उपयोग गरेर स्थानीय उत्पादन र सेवाको विश्व बजारमा पहुँच र कारोबार गर्न सकिन्छ। यसैले पाल्पाको विकासको कुरा गर्दा नयाँ सम्भावनातिर पनि ध्यान दिनु आवश्यक छ।

गोर्खा गाउँ स्थानीय युवाहरुको उत्साहजनक प्रयास हो। विदेश गएका वा देखेकाहरुले यसमा लगानी गरेको हुनुपर्छ। पर्यटकहरुलाई सुख सुविधा दिने यस्ता रिसोर्टहरु पर्यटन विकासको लागि आवश्यक पूर्वाधार हुन्। तर यसको उचित मार्केटिङ र प्रचारप्रसार भएन भने पाल्पामा पर्यटकलाई सुख सुविधा दिन यसअघि सिद्धार्थ राजमार्गमै आर्यभन्ज्याङ नजिकैको मगर गाउँ (चिर्तुङ्धारा) रिसोर्ट, मदन पोखराको वृन्दावन रिसोर्ट जस्तै अलपत्र परेर निराश हुने अवस्था आउनसक्छ। पाल्पा र पर्यटनबीच झण्डै चार दशकदेखि चलिरहेको लुकामारीको यो खेल अब टुंगोमा पुग्नुपर्छ।

Advertisements

Comments on: "पाल्पा र पर्यटनको लुकामारी : विनय कसजू" (2)

  1. laxman karki said:

    Sir, happy new year 2009, i feel this is very good article
    for tansen and its lover also. You have write all related
    things to support to tansen for development needs.
    I am also habitent of this municipal city. I find me too much pityness due to incovinience where about
    instead Butwal. So many tansen habitent are leaving
    city and settele in butwal/ Bhairahawa why? We have need to another highway from Butwal to palpa so that
    we will not face road closed every rainy season also
    a ring road is require for whole sorrounding tansen
    there should run micro bus facility. Subji mandi fruit
    and animal bazaar should be set separately. Thanks……….

  2. thik 6 n visit is not beter then see then i come in palpa

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: