Deepak Aryal,August 12, Patauli township, Kolkata, India

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर
हिजो राति पटक्कै निद्रा लाग्दैन। करिब १२ बजेको छ, तर जता पल्टिए पनि र गर्मीका कारण जति नै पटक नुहाए पनि मलाई एउटै दृश्यले लखेटिरहन्छ, लखेटिरहन्छ। कलकत्ताको यो गर्मी ठाउँ निदाउन खोज्छु, तर निदाउन सक्दिन। पल्लो कोठामा मार्टिन (मूल घर अर्जेन्टिना भए पनि हाल फ्रान्सबाट यहाँ कलकत्ता आएको छ र मसँग एउटै फ्ल्याटमा बसेको छ।) पढिरहेको छ। हिजो, शायद, मैले मेरो जीवनका सम्झन मिल्ने सबै कुरा सम्झिएँ होला। सबैभन्दा सानो उमेरको जे सम्झन्छु त्यहाँदेखि हालसम्मका सबै – सबै कुराहरू। तर, सबै भन्दा दु:खी एउटै कुराले बनाइरहेको छ र एउटै कुराले बारम्बार पछ्याइरहेको छ तथा मलाई निदाउन दिइरहेको छैन।

हसिँलो, रमाइलो, नजिकको र आफ्नो मान्छेको याद आइरहेको छ। जति गर्दा पनि विगतका यादहरू मेटिएका छैनन्, हराउन सकेका छैनन्। जति विर्सन खोज्यो त्यति गाढा बनिरहेको छ। खै मलाई किन याद आइरह्यो थाहा छैन? मैले बारम्बार सम्झिरहेँ र बारम्बार सम्झिरहेँ। खै किन हो, विगतका केही दृश्यहरू सम्झिँए र एक्लै रोएँ (श्रद्धाञ्जली स्वरूप खसेको होला)। यतिबेला रोएको देख्‍ने कोहि छैन, त्यसैले मलाई यो रूवाईले हल्का बनाइदिन्छ। काठमाडौंबाट हिड्ने बेलामा अन्जनले साउन २६ मा जयदीपको जन्मदिन पर्ने कुरा भनेका थिए। तर, यहाँ आएपछि मसँग नेपाली क्यालेण्डर छैन। त्यसैले मनमनै उसको जन्मदिन हुन सक्छ भन्ने अनुमान गरेँ। राति कतिखेर निद्रा लाग्यो थाहा भएन। राति सपनामा पनि एकपटक उसलाई देंखे। शायद उसले कुनै कुरामा मजाक गरिरहेको थियो।

रातभर, मैले जयदीपलाई पहिलो पटक कहिले, कहाँ र कसरी देखेँ वा भेटें? भन्‍ने कुरा सम्झन खोजेँ। तर, यसले मलाई ऊसँग विगतमा विताएका हरेक पलहरू मात्र सम्झाइदियो। पहिलो भेट कहिले भएको थियो, सम्झाइदिएन। मितिको सम्झना नहुनु मेरो सबैभन्दा ठूलो कमजोरी होला, उसो त अन्य तमाम कमजोरीहरू छन् म भित्र। तर, मैले सम्झे अनुसार हाम्रो पहिलो भेट, जेभिटी (JVT School) स्कुलको माथि रहेको ठूलो हलमा भएको हुनु पर्छ। त्यतिखेर जेभिटीले खुबै नाम कमाएको थियो। त्यसैले हुन सक्छ, म बौघा गुम्हाको स्कुल छोडेर र जयदीप पाल्पा आवासीय स्कुल छोडर ९ कक्षामा भर्ना भएका थियौं। उसो त, यति ठूलो सम्झना, याद र जीवन भरका लागि पुग्ने चोट दिनका लागि हाम्रो भेट भएको थियो भन्दा पनि हुन्छ। कक्षा ९ मा करिब २६० जना विद्यार्थी थियौं र मेरो रोल नं २५२ थियो। हामी भर्ना भएकाले हामी सेक्सन ‘बी’ मा थियौं। म सबैभन्दा अन्तिम बेञ्चमा थिएँ र शायद जयदीप पनि त्यहीँ बेञ्चमा थियो। मैले सम्झे अनुसार, उक्त बेञ्चमा एक जना छेर्लुङको —- सारू, र कैलाशनगरको अर्को एकजना— सारू पनि थिए। तर मलाई राम्रो याद छैन। त्यहीँ नै जयदीप पनि बसेको थियो, हामीसँग। त्यसपछि मेरो सम्पर्क हुन सकेन लामो समयसम्म। हामीहरू पहिलो त्रैमासिक एक्जामपछि सेक्सन ‘ए’ मा गयौं केही नजिक भयौं तर, अहिले जस्तो आँशु झार्नु पर्ने गरि नजिक भएका भने होइनौ। समय अगाडि बढ्दै थियो। म बौघा पोखराथोकबाट नै तानसेन आउने जाने गर्थे। तर नौ कक्षाको अन्त्यतिर हामी परिवार नै कैलाशनगरमा सर्यौं। ठीक जयदीपको घर अगाडि। तर, अझैपनि जयदीपसँग नजिक भने भएको थिइन। दमकडा माविमा हुने हाजिर जवाफ (श्री, म र साजन) र हिज्जेका (जयदीप, योगेश र अर्को एकजना) लागि हामी छानिएपछि मात्र हाम्रो सामिप्यता बढेको हो।

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर (गणेशजी र जयदीप)

कतिपय कुरामा हाम्रा विचारहरू बाझ्ने गर्थे। तर ऊसले मलाई र मैले ऊसलाई इज्जत गर्ने गर्थ्यौ। मलाई ऊ प्रति गर्व यस कारण थियो कि, ऊ सबैको प्यारो थियो। जहाँ कुनै वर्ग थिएन, जहाँ कुनै जात, धर्म, क्षेत्र वा संकुचित विचार थिएन। ऊ सबैका लागि उत्तिकै प्यारो र आफ्नो थियो। हो, मान्छेका कमजोरी हुन्छन् र त्यसलाई स्वीकार्नु पर्छ। तर, सबैसँग ठुल्लिने, घमण्डी, र स्वार्थी कैयौं तानसेनबासीका माझ जयदीप मेरो लागि अनुपम, उदाहरणीय, प्रिय र अलौकिक थियो। मलाई ऐतिहासिक कालदेखि हालसम्म सबैभन्दा मनपर्ने पात्र को छ भनेर कसैले सोध्छ भने म, सजिलै भन्‍न सक्छु,- मलाई कि त महाभारतको ‘कर्ण’ मन पर्छ कि त ‘जयदीप’ (त्यसो त अन्य नभएका होइनन् तर अन्य मान्छेहरूमा सबैसँग सबैखाले विशेषता कम भेट्छु)। दुवै पात्रका आ-आफ्ना गुण तथा अवगुणहरू छन्। तर, मलाई दुवैका गुण मात्र होइन अवगुणहरू पनि मन पर्छ। दुवैमा रहेका केही अवगुणमा समानता छन् र कारण छन् र यो Logical पनि छ। मैले दावा गर्न सक्छु र मलाई लाग्छ त्यो कुरा मैले र जयदीपका केही सिमीत साथीले बाहेक अरूले बुझेका छैनन्।

December 12, 2006 मा पाल्पामा खिचिएको तस्बीर (एकताजी र जयदीप)
मलाई याद छ, कुनै बेला सुभाष र जयदीपको जोडी उत्कर्षमा थियो। हामी एसएलसी पछि पहिलोपटक कम्प्युटर सिक्न गएका थियौं। अर्चना घिमिरे (मैले हालै १७ वर्ष पछि नमस्ते सुपर मार्केट ललितपुरमा भेटें र चिनेँ) ले हामीलाई कम्प्युटर क्लास लिनुभएको थियो। DOS Base Programmeमा सुभाष र जयदीपको जोडीले जे गरेको थियो, त्यसको बारेमा अर्चना मिसले अफिसमा आएर उनीहरूको खुला प्रशंसा गर्नु भएको थियो। त्यसो त कुनै बेला खुवै पपुलर बनेरको क्यारेमबोर्डको दुई साइडमा सुभाष र जयदीप भएपछि अन्यले हत्तपत्त कुनै बाजी खेल्ने हिम्मत गर्दैनथे तानसेनमा। जयदीप स्नुकरमा पाल्पा च्याम्पियन बनेको हिजो जस्तो लाग्छ। त्यो भन्दा पहिलेका खेलहरूका बारेमा मलाई भन्दा ऊ सँगै हुर्किएका अन्य साथीहरूले बढी जान्दा हुन्। पढाइका विषयमा पनि मलाई त्यतिकै अविश्वसनीय लाग्थ्यो त्यो मान्छे। शायद अरूलाई पनि थाहा होला। त्यति कम पढेर वा नपढेर कुनै मान्छेले एक्जाममा पनि राम्रो गर्छ भने त्यो जयदीप नै हो, कम्तिमा मैले भोगेको जीवन र मैले देखेका मान्छेहरू मध्ये।

त्यसो त यी बाहेक केही अत्यन्त अन्तरङ्ग, गोप्य र भावनात्मक कुराकानी, छलफलहरू भएका छन्, म र जयदीपका बीचमा। शायद यसलाई मैले Keepsake का रूपमा सुरक्षित राखिरहेको छु र राखिरहनेछु। शायद मलाई ती भावनात्मक कुराहरूले नै सबैभन्दा बढी भावुक बनाएको हुनु पर्छ र शायद केही हदसम्म आजपर्यन्त रूवाउन सहयोग गरेको हुनु पर्छ। त्यसो त धेरैसँग धेरैथरि सम्झनाहरू होलान्। किनभने उसले संगत नगरेको र नचिनेको मान्छे कम्तिमा तानसेनमा कमै छन्। कुनै न कुनै क्षणमा, कुनै न कुनै मोडमा कुनै न कुनै सम्झनायोग्य क्षणहरू सबैसँग नै रहेका होलान्।

अब विगतका सम्झनाहरू बाहेक हामीसँग केही छैनन्। कम्तिमा मसँग केही छैन। हरेक मोडमा भेटिने हरेक साथीहरूका अनुहारमा, व्यवहारमा म जयदीप खोजिरहेको छु। तर, निराशा मात्र हात लाग्छ मलाई। अहिले पनि मलाई, बाटोमा हिड्दा ४ वा ५ तला माथिबाट कसैले बोलाउँछ र भेट्नका लागि ४ वटा वा ५ वटा सिढी ओर्लन्छ भने जयदीपको याद आउँछ। अहिले पनि मलाई मैले नदेखे पनि गल्लीको कुनै कुनाबाट मेरो लागि आवाज आउँछ भने जयदीपलाई सम्झिन्छु। अहिले पनि म कैलाशनगर देखि टुँडिखेल सम्म जयदीपसँग हिड्दा उसले बाटोभरि सयौंसँग हात मिलाएको र बोलेको सम्झन्छु। ‘माइली आमा नमस्कार, आराम हुनुहुन्छ? ओहो दाई, कता? ओ! फुच्चे कता हिडिस? घर कहिले आइस? के गर्दैछस्? काका नमस्ते? आरामै। के छ भाई, घर फर्कन लागेको? अबेला भएन?’ आदि आदि। बाटामा हिड्ने प्रत्येकसँग बोले जस्तो लाग्थ्यो, प्रत्येकलाई चिने जस्तो लाग्थ्यो। सामान्यत: तानसेनबासीले आफ्ना मान्छे बाहेक अन्यलाई नचिन्ने प्रवृत्तिका माझ यस्तो मान्छे कसरी टिकीरहेको छ? मैले बारम्बार सोध्ने गर्थे, ‘तिमीलाई कैलाशनगरदेखि शीतलपाटीसम्म आइपुग्दा अन्य सामान्य मान्छेलाई भन्दा कति बढी समय लाग्छ होला’? उसले हाँसेर भन्थ्यो, ‘नेताहरूलाई भन्दा त कम नै लाग्छ। अब सामान्य हेल्लो-हाय त गर्नु नै पर्छ नि। मलाई एक पटक चिनेपछि नचिने जस्तो गरेर ठूलो हुन मन लाग्दैन।’ मैले अर्को कुरा पनि सोधेको थिएँ, के तिमीले तानसेनका सबैलाई चिन्छौ?, नयाँ केटा-केटीलाई त चिन्दिन तर मेरो उमेर र म भन्दा माथिका उमेरकालाई लगभग यो ठाउँको हो वा यो फल्नाको नातेदार हो र घर यहाँ हो भनेर भन्न सक्छु। तर तानसेनको सबै वडाको भने होइन’। साँच्चै मलाई ऊसले भनेको कुरामा विश्वास लाग्थ्यो। वास्तवमै उसले प्रत्येकलाई चिने जस्तो लाग्थ्यो। लाग्थ्यो, यो मान्छेले तानसेन मात्र होइन तानसेन आउने गाउँका कैयौं मान्छेलाई विशेष गरि युवा पिढीलाई पनि चिनेको छ। तर, बिडम्बना तानसेनले जयदीप मात्र होइन, जयदीप जस्ता धेरै मान्छेलाई कहिल्यै चिनेन र चिन्‍ने कोशिस पनि गरेन।

२००५ December मा लिइएको तस्बीर (शीव (माझ) र जयदीप (दायाँ)

यौटा मानिस जो गयो हृदयको सर्वस्व मेरो गयो
यौटा पुस्तक लेखियो हृदयको रुन्चे कुना देखियो
साँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँ
वैरीलाई समेत लेख्‍न नपरोस् यस्तो अरू के भनूँ

ती ठट्टा सुखका र फेरि दु:खका सल्लाह हाम्रा गए
ती हाम्रा झगडा र मान, ममता, माधुर्य, माया गए
बाँकी जीवनको मुराद मनको रोयो बिलौना बनी
हाम्रो भेट हुँदैन हो कि सँगिनी! धिक्कार कैल्यै पनि

Advertisements

Comments on: "यो सम्झने मन छ, म बिर्सु कसोरी? : दीपक अर्याल" (2)

  1. mitra lal aryal said:

    hello depak sir namaskar sabai sathi bhai ma pani , ani ma mitra lal aryal gulmi anpchour ,03 ,newarry dakhi hal doha . sir kaa bhannu ra tapai haru lai hami sano nokari garnne manisle fari pani tapai haru le hemro nepal koo samajana dilaunuhunchha kushi lagchha thanks all of you ok see you bye have a great day all of you ,

  2. ramro lago deepak dai ma palpa bhuwanpokhari ko ho

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: