– फिलिप रामिरेज (Phillippe Ramirez)

नेपालका दुर्गम भू-भागहरूको भ्रमण गर्दा यो गाउँ ‘कम्युनिष्ट’ र त्यो गाउँ ‘कांग्रेस’ भनेर औंल्याउने गरेको पाइन्छ। गाउँहरूलाई चिनाउन प्रयोगमा ल्याइने यस प्रकारका राजनैतिक परिचयहरू आफैमा कत्तिको सार्थक र सापेक्ष छन्? कुन हिसावमा गाउँहरूलाई एउटा खास राजनैतिक पार्टीसँग आवद्ध भएको निर्क्‍योल गरिन्छ? अर्घाखाँची जिल्लाको वि.सं. २०४७ सम्मको राजनैतिक इतिहासलाई केलाउँदै मूलत: यिनै प्रश्‍नहरूलाई प्रष्ट पार्ने जमर्को गर्न चाहन्छु। स्मरण रहोस् यस लेखमा प्रस्तुत गरिएका तथ्यहरू वि.सं. २०४३-२०४७ बीचमा गरिएको अनुसन्धानमा आधारित छन्। यो, पञ्‍चायत कालको पछिल्लो समय थियो जतिखेर राजनैतिक पार्टीका गतिविधिहरू खुला रूपमा सञ्‍चालन गर्न बन्देज थियो (यहाँ वर्णन गरिएको अवस्था पञ्‍चायत कालमा नेपालको स्थानीय राजनीतिमा पाइने तर मानवशास्त्रका दुर्लभ पक्षहरूसँग सम्बन्धित हुन सक्छन्। इशी, १९८६ र बोर्गस्ट्रोम, १९८०)। यो कुरा प्रष्ट छ वि.सं. २०४६मा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र त्यस पछि सुरू भएको माओवादी विद्रोहले जिल्लाका स्थानीय राजनैतिक वास्तविकता र स्वरुपहरू सशक्त रूपमै प्रभावित भएका हुन सक्छन्।
अर्घाखाँची मध्यपश्‍चिम नेपालको कम उचाइमा अवस्थित एक पहाडी जिल्ला हो। यहाँको जनसंख्या घना छ। अन्य पर्वतीय र ग्रामीण क्षेत्रको तुलनामा यहाँ शिक्षित जनसमुदायहरू बसोबास गर्दछन्। यस भेकको मुख्य आयस्रोतका रूपमा कृषि व्यवसाय र विदेशबाट कमाई पठाइएको धन नै रहेको पाइन्छ। मेरो मुख्य अध्ययनको क्षेत्र अर्घा राज्यको पुरानो राजधानी अर्घाराजस्थल थियो जहाँ विशेष गरी बाहुन, क्षेत्री, कामी, सार्की, दमाई, गाइनेहरू एवं केही न्यून संख्यामा नेपाली भाषा बोल्ने मगरहरू र नेवारहरू बस्ने गर्दछन् (यस क्षेत्रको वहुउद्देश्यीय सोच र समाधानका बाटाहरूका लागि हेर्नुहोस् रामिरेज (सम्पा.), २०००।

मलाई मेरो अनुसन्धानको सुरुका महिनाहरूमा एउटा पक्षले चकित पार्‍यो जुन त्यस गाउँका दुई समूह बीच गहिरो रूपमा जरो गाडिएको प्रतिस्पर्धी भावना थियो। हुनत गाउँलेहरू गाउँमा आउने जो कोही नौंलो मान्छेका अगाडि एकजुट नै भएको देखाउन खोज्छन् तैपनि त्यहाँको यथार्थ वस्तुस्थिति मलाई चाँडै नै खुल्न गयो। गाउँलेहरू मध्येकै एक कुनै खास समूह अर्को समूहलाई ‘ठग’ र ‘शोषकको हूल’ भनेर व्याख्या गर्दथ्यो। त्यसमा पनि कम्युनिष्टहरूले कांग्रेसहरूलाई र कांग्रेसहरूले कम्युनिष्टहरूलाई यस्ता आक्षेप लगाउने गरेको पाइयो। मैले चाँडै नै बुझेँ यस्ता किसिमका भनाइहरूले दुई शक्तिहरू बीच विद्यमान पद्धतिमूलक विरोध झल्काउने गर्दछन्। यसलाई मानवशास्त्रीहरू ‘गुट’ भन्‍ने गर्दछन् भने यहाँका स्थानीय बासिन्दाहरू ‘पक्षीय’ नामाकरण गर्दछन्। त्यसैले मैंले यी गुटहरूका बनोट, स्थानीय समाजको संरचनात्मक वस्तुस्थिति र उनीहरूमा विद्यमान फाटोका राजनैतिक नतिजाहरू बुझ्ने जमर्को गरेँ। यी गुटहरू बारे के बुझ्न जरुरी छ भने उनीहरू न त कुनै जातीय वर्गसंग मिल्दाजुल्दा छन् न त कुनै आर्थिक बर्गीकरण सँग नै। दुवै गुटहरूमा समानुपातिक हिसावमा बाहुन, क्षेत्री, कामी र दमाईहरूको संलग्नता भएको पाइयो। यसै गरी जमिन्दारहरू, अधिया कमाउने मोहीहरू, मजदुरहरू वा उद्यमीहरूका संख्या पनि दुवै गुटहरूमा उत्तिकै पाइयो। विद्यालयस्तरमा भने एक वा अर्को समूह भनेर छुट्ट्या‍उन नसकिने भेटियो। दुवै गुटहरूले स्थानीय समाजको आधा जति जनसँख्या ओगटेका थिए। (यस्तो स्थिति भारतीय गाउँहरूमा पनि व्यापक छ, भारतीय गुटहरू सबै बहुजातीय भने छैनन्। उदाहरणका लागि हेर्नुहोस् निकोलस, १९६८। )
यस तथ्यमा सत्यता यस मानेमा पनि छ दुवै गुटहरू संख्यात्मक र राजनैतिक हिसावमा यस ठाउँका प्रभावशाली कुलका (दुवै भुसाल थरका) नेताहरूका वरिपरि संगठित भएको पाइयो। अर्घाका पूर्व राजाहरू र राजगुरुहरूका सन्तान मानिने यी दुवै कुलहरू पुस्तौंदेखि विभाजित छन्।
गुटको उत्पति वा निरन्तरता दुई किसिमको सैद्धान्तिक एकतामा आधारित रहेको पाइयो। एकातिर एकै कुलका दाजु-भाइहरूका बीच र अर्को संरक्षक र समर्थकका बीच। पर्वतीय समाजमा ‘संरक्षक-समर्थक’ का बीचको सम्वन्ध अति महत्त्वपूर्ण हुन्छ। यस प्रकारको सम्बन्ध ‘आफ्नो मान्छेको’ सम्बन्ध भन्दा तहगत प्रकृति र ब्यापकताको हिसावले धेरै हदसम्म फरक छ। ( आफ्नो मान्छेको सम्वन्ध बारे हेर्नुहोस् विष्ट, १९९१ )

यस सवालमा ‘समर्थक-संरक्षक’को सम्बन्ध एउटा जटिल सम्बन्धका साथै व्यापक सम्वन्ध पनि हो। यसले समाजका दुई असमान व्यक्तिहरूलाई समाजका सबै क्षेत्र समेट्ने तर आफैमा भौतिक लेखाजोखा कडिकडाउका साथ पालना नगर्ने विविध लेनदेनका कारोवारहरूका माध्यमद्वारा जोड्ने गर्दछ। यस सम्बन्धको अर्को महत्त्वपूर्ण पक्ष के छ भने दुवै संरक्षक र समर्थक आ-आफ्ना सम्बन्धलाई अनिवार्य देख्दैनन्, तथापि निष्पक्ष पर्यवेक्षकहरूको भने यस सवालमा भिन्‍न सोच पनि हुन सक्छ। संरक्षक र समर्थकहरू एक आपसमा सेवा र आपसी सहयोगहरू साटासाट गर्ने गरेको बताउँछन्। संरक्षकहरू समर्थकहरूलाई भौतिक सरसामान उपलब्ध गराउनुका अतिरिक्त प्रशासनिक कामहरूमा सहयोग जुटाउँछन्। समर्थकहरू संरक्षकहरूलाई विशेषत: शारीरिक काममा सहयोग र राजनैतिक कुरामा समर्थन गर्दछन्। ‘संरक्षक-समर्थक’को सम्बन्ध, तल्सिङ्ग-मोहीको सम्झौतापत्रबाट, बाली र जजमानी तथा तमसुक वा ऋणधनको लेनदेनबाट सुरूवात हुन सक्छ, तर यिनै उल्लेखित तरिकामा मात्र सीमित भने हुँदैन र यसले अरु थुप्रै किसिमका साटासाटलाई पनि अङ्गीकार गर्ने गरेको पाइन्छ। अर्घाराजस्थलका केही धनी घरवालाहरू भने संरक्षकको भूमिका निर्वाह गर्नतिर लागेनन् र आफूहरूलाई केबल जमिन्दार र ऋण सहयोग दिने साहुमा सीमित राखे। यसबाहेक उनीहरू कुनै पनि सामाजिक वा सांगठनिक जिम्मेवारीमा दीर्घकालीन रूपमा बसेनन्।

अर्घाखाँचीको राजनैतिक पद्धतिलाई जोड्ने कडीका रूपमा माथि उल्लिखित ‘संरक्षक-समर्थक’ को सम्बन्ध देखिन्छ। समर्थकहरू आफ्ना संरक्षकको कार्यथलो वा गढको निर्माण वा विस्तार गर्दथे। स्थानीय संरक्षक जिल्ला तहका संरक्षकको अगाडि समर्थकको भूमिका निर्वाह गर्दथ्यो। जिल्ला तहका संरक्षकको काठमाडौंसँग प्रभावकारी सम्बन्ध हुने गर्दथ्यो। यसकारण गाउँका स्थानीय संरक्षकको भूमिका गाउँसमाजलाई वाह्य समाजसँग जोड्नका लागि अति नै महत्त्वपूर्ण हुने गर्दथ्यो। यस सवालमा यहाँ उल्लेखनीय के छ भने स्थानीय संरक्षकहरू आफ्नो भूमिका निर्वाह गर्न निकै गाह्रो हुँदै गइरहेको गुनासो यदाकदा गर्दथे। उनीहरू आफूलाई एकातिर आफ्ना समर्थकहरूको बढ्दो माग र अर्कातिर कर्मचारीतन्त्रको काम गर्ने प्रबृत्तिमा आएको ह्रासको मारमा परेको महसुस गर्दथे। अर्कोतर्फ, पहिलेका जस्ता सक्कली तथा प्रभावशाली नेताहरू रहेनन् भन्‍ने गुनासो समर्थकहरूको थियो। वि.स. २०३६का दशकतिर अर्घाराजस्थलमा प्रकाशमा आएका चार ‘संरक्षक’ हरू चार छुट्टाछुट्टै स्वशासित कार्यथलोका नेताहरू थिए। झै-झगडा वा द्वन्द्वको अवस्थामा, चाहे त्यो पारस्परिक भनाभन वा गालीगलौज मात्र नै किन नहोस्; यी कार्यथलोका प्रभावशाली कुलहरू दुई चिरपरिचित गुटहरूमा समाहित हुने गर्दथे। एकातिर अर्घाली भुसाल तिनका समर्थकहरू सहित थिए भने अर्कातिर पुर्कोटे भुसाल र तिनका समर्थकहरू। सबभन्दा बढी द्वन्द्वात्मक अवस्था- चुनावताका हुने गर्दथ्यो जत्तिखेर अत्यधिक स्थानीय बासिन्दाहरू दुई गुट मध्ये कुनै एकका समर्थकका रूपमा प्रष्ट चिनिने गर्दथे। सच्चा र खुला रूपमा कतै पनि नलागेका मतदाता जो थोरै हुने गर्दथे उनीहरू दुवै पक्षहरूद्वारा अवहेलित हुने गर्दथे। यसकारण संरक्षकहरूको भूमिका चुनावी अभियानताका विशेष महत्त्वपूर्ण हुने गर्दथ्यो। उनीहरू पहिले आफ्नै समर्थकहरूको इमान्दारिता र समर्थन जुटाउने गर्दथे। त्यसपछि तिनै समर्थकहरूलाई कार्यथलो बाहिरका अन्य गुटहरूबाट मत खसाल्नका लागि परिचालन गर्ने गर्दथे। यस्तो चुनावी खेललाई मत चोर्ने काम भन्‍ने गरिन्थ्यो। यसैले गाउँलेहरूसँग मतदाताहरूका नियत र धारणा प्रष्ट हुन्थ्यो र चुनावी अभियानका अन्त्यतिर उनीहरूले गरेका भविष्यवाणी चुनावको अन्तिम नतीजासँग मिल्दो-जुल्दो हुने गर्दथ्यो।

यसरी अर्घाराजस्थलको राजनैतिक जीवन प्रमुख रूपमा दुई भुसाल कुलका बीच रहेको प्रतिस्पर्धा मै आधारित थियो। भुसालहरूको पुरानो अर्घा राज्यमा प्रमुख वा महत्त्वपूर्ण स्थान थियो। चार शताब्दी अघि अर्घाका पहिलो राजासँग आएका यिनीहरूले राजगुरु र काजीका रूपमा सेवा गरेर राज्यको स्थापनाका लागि भरपूर सहयोग गरेका थिए। वि.सं. १८४३ मा गोरखालीहरूले अर्घा माथि विजय प्राप्त गरे पछि अर्घाली राजाहरू पदच्युत गरिएका थिए। (५ पश्‍चिमी चौंबिसे राज्यहरूका बारेमा थोरै मात्र अभिलेखहरू उपलब्ध छन्; ऐतिहासिक कागजात र नेपाली इतिहासकारहरूका लेखका लागि हेर्नुहोस् रामिरेज, २००० पृष्ठ. १०३-१४०) यस कालका ऐतिहासिक कागजातहरू अत्यन्त दुर्लभ छन् जसका कारण यस समयमा भएका राजनैतिक फेरवदलहरूका ठोस वर्णन गर्न सकिदैंन तर यस्तो लाग्छ अर्घामा पनि नेपालका अन्य ठाउँहरूमा झै उही सिद्धान्त लागू गरिएको थियो जहाँ राज्यबाट नियुक्त मुखियाहरूले न्यायाधीश र कर उठाउने मान्छे दुवैका काम गर्दथे। यस्ता नियुक्तिहरू यस ठाउँका प्रभावशाली कुलका मानिसहरू मध्येबाटै हुने गर्दथ्यो। वास्तवमा १९ औं शताब्दीको अन्त्यतिर अर्घालीहरूका पुर्खा मानिने ठुलो मुखिया ( ठूलो मुखियाले थुप्रै मुखियाहरूलाई चलाउने गर्दथ्यो।) कमलापथी भुसाल एक पुरानो राज्य संचालन व्यवस्था अन्तर्गत मिल्ने भागमा कार्यभार सम्हालेर बसेका थिए। वि.सं.२०१९ मा मुखिया पद्धतिको उन्मूलनहुँदासम्म उनका जेठा छोरा र जेठा नातिले उनको जिम्मेवारी निभाएका थिए। यसरी नै उनका कान्छा छोरा र नातिहरूले जिम्वाल अर्थात् सिंचाइयुक्त जमीनहरूका कर उठाउने काम गरेका थिए। त्यसका साथसाथै अर्घा भगवतीको मन्दिरमा मूल पुजारीको कार्य सञ्‍चालन गर्न अर्घाली पक्षकालाई नै सुम्पिएको थियो जुन आजको दिनसम्म जारी छ। आर्थिक हिसाबले यो मन्दिर राजगुठीद्वारा सञ्‍चालित थियो। अन्य कार्यालयहरू अरु प्रभावशाली कुलहरूलाई हस्तान्तरण गरियो जसमा पुर्कोटे भुसालहरू परे जो पूर्व काजीहरूका सन्तान थिए। पुर्कोटेहरूका पुर्खा धनेश्‍वर लगायत उनका हाँगाविँगा दाजुभाइहरूले उत्तरी अर्घाका दुई वार्डहरूमा (तालुकहरूमा) मुखिया अर्थात् असिंचित जग्गा जमिनका तिरो उठाउने कार्यभार सम्हाले।

अर्घाली र पुर्कोटे कुलहरूबीचको फुटको उत्पत्तिबारे हालका सदस्यहरू अनभिज्ञ छन्। यौंटै कुरा के थाहा छ भने पुर्कोटेहरू केही समय पुर्कोट अर्थात् पश्‍चिम गुल्मीमा बसाइँ सरेपछि एकीकरण पश्‍चात् अर्घाराजस्थल फर्केका हुन्। मध्य बीसौं शताब्दी अगाडिसम्म भुसालहरूबीच राजनैतिक कार्यभारका लागि प्रतिस्पर्धा रहेको भन्‍ने कुराको कुनै औपचारिक प्रमाण भेटिँदैन तथापि आज पनि सांस्कृतिक क्षेत्रमा धार्मिक प्रतिस्पर्धाका सङ्केतहरू प्रशस्त पाइन्छन्। दुई कुलहरूले अर्घाका केन्द्रीय देवतालाई छुट्टाछुट्टै पूजा गर्ने संस्कारको स्थापना गरे। यसवाहेक मन्दिरहरूको निर्माण र पुनर्स्थापना गरे जुन कुरा अभिलेखहरूमा होशियारीपूर्वक राखिएका छन्।(हेर्नुहोस् रामिरेज, ऐ.।) यस किसिमको भक्तिभावको प्रतिस्पर्धा बाहेक राजगुठी अन्तर्गत पर्ने जग्गाहरू बाँडफाँड गर्ने सवालमा कलह उब्जने गर्दथ्यो।

आर्थिक, संख्यात्मक र सांगठनिक हिसावले प्रभावशाली दुई कुलहरूले स्थानीय जनसमुदायमा आफ्ना धार्मिक र राजनैतिक प्रभाव लाद्‍‍ने वा लागू गर्ने यसप्रकारको राजनैतिक स्वरूप वा पद्धति न त राणाहरूका पतनले ढलपलायो, न त पञ्‍‍चायती शासन व्यवस्थाले नै यसमाथि असर पार्‍यो। वि.सं. २०१९ मा गाउँका नेताहरू तोकिने नियमहरूमा आमूल परिवर्तन भयो। त्यसपछि सरकारी तवरबाट राज्यले नभै गाउँ परिषद्का सदस्यहरूले ‘प्रधान’ छान्‍न थाले। तथापि कुलहरूका सवालमा उनीहरूको सहभागिता र वाहुल्य भने उही नै रह्यो। यसरी अन्तिम अर्घाली ठूलो-मुखियाका छोरा मित्रलाल भुसाल अर्घाराजस्थलका पहिलो प्रधानपञ्‍च बन्‍न पुगे र उनका छोराले पनि पिताको बीँडो थामे। यसैगरी बीस बर्षको अवधिसम्म गाउँ र जिल्ला तहमा उनका प्रमुख प्रतिद्वन्द्वी भनेका पुरकोटे नारायण थिए जो धनेश्‍वरका सन्तानहरूमा सब भन्दा जेठा खलकका जेठा र उत्तरपूर्वका अन्तिम मुखिया थिए।

एउटा निर्वाचनयुक्त शासन पद्धति भित्र यस किसिमको राजनैतिक बस्तुस्थितिको निरन्तरतालाई कसरी मूल्याङ्कन गर्न सकिएला? पञ्‍चायती निर्वाचनहरू राज्यद्वारा नै परिचालित हुने गर्दथे भनूँ भने सो भनाइ आफैमा अधुरो र अपुग हुन जान्छ; किनभने दुवै नेताहरू नयाँ सत्ता वा शासन पद्धतिका कर्मठ समर्थकहरू थिएनन्। वास्तवमा यस ठाउँका छेउछाउका धेरैले झैँ पञ्‍चायतको गाउँफर्क अभियानमा (जसलाई सांस्कृतिक क्रान्तिको संज्ञा पनि दिइन्छ) मित्रलालले अस्थायी तवरमा आफ्नो पद छोड्नु परेको थियो। मतदाताहरूको पुराना मुखियाहरूमाथिको निर्भरता किटेर भन्‍ने पनि अमिल्दो र असत्य नै हुन आउँछ। एक त अत्यधिक गाउँलेहरू मित्रलाल वा नारायण कुनैसँग पनि सीधै आश्रित थिएनन्; गाउँलेहरूका यी दुई नेता न त तल्सिङ्ग नै थिए न त आसामी। यदि मतदाताहरूमाथि कसैको प्रभाव थियो त तिनैका संरक्षकको। यस सवालमा पुराना शक्तिहरूको निरन्तरताका मुख्य कारण एकातिर समर्थकहरूको संरक्षकप्रतिको ईमान्दारिता अर्घाली संरक्षकहरूको मित्रलालप्रतिको ईमान्दारिता थियो र अर्कातिर पुर्कोटे संरक्षकहरूका नारायणप्रतिको ईमान्दारिता नै हो। यी दुई नेताहरू आज पनि कतिपय व्यक्तिहरूका मानसपटलमा ठूला मान्छे (भलाद्‍मी) का रूपमा रहेका छन्। यो शक्ति र समृद्धिका कारणले मात्र नभई उनीहरूको उदारपना र निष्पक्षी व्यवहारका कारणले पनि भएको हुनुपर्छ। यदि लोककथनमा विश्‍वास गर्ने हो भने (जुन अक्सर मानवशास्त्रीले गर्नुपर्ने हुन्छ) नेताप्रतिको ईमान्दारिता क्याम्प परिवर्तनको नतीजा भने थिएन। कम्तीमा पनि उल्लिखित भनाइहरूलाई पक्षीय वा गुटगत पद्धतिभित्र राखिनु पर्दछ किनभने सबै कुरा बोल्ने व्यक्तिको पहिचानमा भर पर्ने हुन्छ। प्राय: आफ्नो पक्षकाहरूलाई भलाद्‍मी र अर्को पक्षकालाई ‘ठग’ र ‘शोषक’का रूपमा लिने प्रबृत्ति मानिसहरूमा पाइन्छ। यस संदर्भमा लोकप्रिय मतदानद्वारा गरिने छनौटको नै पुनर्व्याख्या गर्नु पर्ने स्थितिको सृजना भयो किनकि मतदान प्रणालीमा भागलिने पक्षधरहरूको प्रवृत्ति पनि त्यस्तै नै देखिन्थ्यो।

वास्तविकतामा मतदाताले त्यस उम्मेद्वारलाई वैधानिक मान्‍न गर्दथ्यो जसको पक्षमा उसले भोट हालेको हुन्थ्यो। यदि आफ्नो पक्षको उम्मेदवार प्रधान भएको खण्डमा ऊ तिनका निर्णय र निर्देशनहरूलाई अङ्गीकार गर्ने गर्दथ्यो तर विपक्षी उम्मेदवारले जितेको खण्डमा उसको नेतृत्वमा काम गर्न तयार हुँदैन थियो। उसको सोच हुन्थ्यो- “मैले उसलाई भोट हालेकै थिइन, म किन उसले भनेको मानूँ?”

दुवै भुसाल कुलका जेठाबाठा र आधा दर्जन भुसाल ‘संरक्षक-समर्थक’हरूका बिचमा देखिएको गुटगत प्रतिष्पर्धा नै अर्घाराजस्थलमा लामो समयसम्म जरो गाडेको राजनैतिक वस्तुस्थितिलाई सञ्‍चालन र निरन्तरता दिने प्रमुख सिद्धान्त थियो। यस प्रकारको गुटवन्दीको असर विभिन्‍न क्षेत्रहरूमा पर्थ्यो जुन कुराबारे हामी यहाँ विस्तारमा उल्लेख गर्ने छैनौं। उदाहरणका लागि, एउटै गुट भित्रका विवादहरूलाई त्यस गुटका नेताहरूले सजिलै समाधान गर्दथे भने भिन्‍न गुटका सदस्यहरू बीच उठेको विवादले अक्‍सर द्वन्द्वको स्थिति सृजना गर्दथ्यो। गाउँ तहमा निर्णय लिने काममा पनि ठूलो प्रभाव पर्दथ्यो। विकासका योजनाहरूमा विपक्षी गुटका पहलहरूलाई नियमित रूपमा भाँड्ने र रोक्ने काम हुन्थ्यो। तथापि कुनै परिस्थितिमा भने यी गुटहरू (संरक्षक-समर्थक) को प्रभावकारी परिचालन बढी नै उत्पादनमूलक सावित हुने गर्दथे। हुनत हामीले यहाँ जोड दिन खोजिरहेको विषय राजनैतिक पहिचान र क्याम्प परिवर्तनमा गुटवन्दीको भूमिका थियो भन्‍ने हो। वास्तवमा भन्‍ने हो भने यदि दुवै गुटहरू एउटा निश्‍चित गाउँका ठाउँसँग आबद्ध थिए भने उनीहरू एउटा कुनै राजनैतिक पार्टी वा अझ किटेर भन्‍ने पर्दा एउटा राजनैतिक परिचयसँग आबद्ध थिए। एक पक्ष आफूलाई ‘कांग्रेस’ भनेर दावी गर्दथ्यो भने अर्को पक्ष ‘कम्युनिष्ट’। यस प्रकारका पहिचानहरू केही शिक्षित बाहुन-क्षेत्री संरक्षकहरू लगायत गुटका बहुसंख्यक सदस्यहरूद्वारा प्रकाशमा ल्याइने गर्दथ्यो।

यस्ता प्रकारका परिचयहरूको ठोस उत्पत्तिकाल किटेर भन्‍ने असजिलो छ। गाउँलेहरूका कुरा सुन्दा कहिलेकाहिं यस्तो लाग्थ्यो धेरै पहिले देखि नै आधा गाउँ कांग्रेस र अर्को आधा कम्युनिष्ट थियो।

कोही यस्तो स्थिति पहिलो प्रजातान्त्रिक काल अर्थात् वि.स. २००७ साल पछि भएको भन्छन् , जत्तिखेर मध्यपश्‍चिम नेपालमा नेपाली कांग्रेस को दह्रो प्रभाव थियो। यसैका कारण स्थानीय विपक्षीहरूको पहिचान र झुकाव दह्रो हिसावले कम्युनिष्ट पार्टीतिर भएको हुनु पर्दछ। तर दुई प्रश्‍नहरू भने अनुत्तरित नै छन्; पहिलो त किन यस्तो पहिचान कांग्रेस का भित्री (आन्तरिक) गुट वा अरु पार्टीहरूको नभई कम्युनिष्ट पार्टीकै पक्षमा हुन गयो? र दोस्रो कुनै वर्ग विशेषले नभई कसरी समाजका केही निश्‍चित स्थानीय मानिसहरू आफूहरूको पहिचान ने.क.पा. सँग जोड्दथे? यस्ता खाले पहिचानका प्रकृया व्यक्तिगत प्रभाव तया संजालको कारणले विशेष प्रभावित हुन्थ्यो। यो कुरा गाउँ तहमा महसुस गरिएको हुन्थ्यो भने क्षेत्रीय तहमा र चुनावमा त अझ प्रष्ट रूपमा देखा पर्दथ्यो।

हामीले वर्णन गरेको अर्घाराजस्थलको राजनैतिक संरचनाले अर्घाखाँचीका सबै गाउँहरू र त्यसमा पनि जिल्लाका उत्तरी भागका प्राचीन वस्तीहरूको प्रतिनिधित्त्व गर्दछ। कसैले गुटगत विभाजनको अनुभव गरे त कसैले गरेनन् तरपनि राजनैतिक पद्धति भने एउटा प्रभावशाली बाहुन-क्षेत्री कुल र तिनका समर्थक वरिपरि नै घुमिरहन्थ्यो। खनालहरू ‘खाना’मा पकड जमाउँथे भने वाङ्ला भुसालहरू (दुवै अर्घाली र पुर्कोटे भन्दा फरक) वाङ्लामा, गौतमहरू खिदिममा, बेलबासे र पौंडेलहरू महाभारत लेकमा….। जिल्लाको राजनैतिक जीवनको दिशा यी कुलहरूका नेताहरूका इच्छा र आकांक्षामै भर पर्ने गर्दथ्यो। २००७ सालमा राणाहरूको पतनले यी नेताहरूलाई क्षेत्रीय राजनैतिक कार्यालयहरूमा पहुँच प्रदान गर्‍यो जसमा पहिले राणाहरू र सैनिकका वंशजहरूले एकाधिकार कायम गरेका थिए। ती पदहरू किन पनि महत्त्वपूर्ण रहन गए भने प्रशासनिक र विकासमूलक रणनीतिहरूले जिल्ला तहलाई महत्त्वपूर्ण स्रोतहरू प्रदान गर्दथ्यो। त्यसैले कुलहरू एकअर्काबीच आफ्ना सम्बन्धित ठाउँहरूमा नयाँ स्रोत र फाइदाहरू भित्र्याउन कडा प्रतिस्पर्धामा जुटे किनकि उनीहरूलाई राजनैतिक कार्यालयहरू हत्याउनु थियो जसले यस्ता पहुँचहरू प्रदान गर्दथे।

सन् १९५० का दशकतिर यस ठाउँमा रहेको नेपाली कांग्रेस को बलियो उपस्थितिले त्यसपछिका राजनैतिक उत्पति र विकासमा ठूलो टेवा पुर्‍यायो। अर्घाखाँचीमा राणाहरूका विरुद्धको संघर्षमा तीन व्यक्तित्वहरू चिनिए, काशीनाथ गौतम, जो पार्टीका गाउँ समितिका नेता थिए र जसको जन्म अर्घाखाँचीको दक्षिण-पूर्वमा भएको थियो। दक्षिण-पश्‍चिममा पर्ने सिध्दाराका पुष्करनाथ पोखरेल र अर्घाका कुभिराम आचार्य। वि.सं. २०१६ को आम चुनावमा अर्घाखाँचीका दुई सीटका लागि कांग्रेस पार्टीले काशीनाथ र सुवर्ण शमशेरलाई मनोनयन गर्‍यो। पछि सुवर्ण शमशेरको उम्मेद्‍वारी फिर्तापछि पुष्करनाथले सो सीट पाए। आफ्नो मनोनयन नभएकोमा पार्टीसँग रुष्ट भएर कुभिरामले कांग्रेस छोडे र कम्युनिष्ट पार्टीमा प्रवेश गरे। फलत: पहिले कम्युनिष्टहरू सांगठनिक तवरले कमजोर रहेका उनको गृह ठाउँका (अर्घाखाँचीको उत्तर पश्‍चिम) खनाल र अर्घाली भुसालहरू विस्तारै कम्युनिष्टहरू तिर नजिकिए। जव काशीनाथ वि.पी. कोइरालाका मन्त्रिमण्डलमा छिरे तव पूर्व र पश्‍चिम अर्घाखाँचीको फाटो झन् बढ्न गयो। जत्ति पूर्वी अर्घाखाँची कांग्रेस को थलो भनेर चिनिन लाग्यो, त्यत्ति नै पश्‍चिम अर्घाखाँची ने.क.पा. को थलो भनेर चिनियो।

वि.सं. २०१७ को ‘कू’ ले कांग्रेस को स्थानीय प्रभावलाई निश्‍चय पनि तहसनहस पार्‍यो र छुट्टै व्यक्तिहरूको उदयका निम्ति बाटो खुला गरिदियो। एक तराईका जमिन्दार र उद्योगपति जीव नारायण बेलबासे सिद्वाराको पूर्व ठूलो मुखिया पनि थिए उनी पछि मोहन शमशेरको पालामा जिल्लाका सभापति समेत भएका थिए। वि.सं. २००८ मा उनी कांग्रेस को सुधार समितिमा समेत रहेका थिए। पहिलो सदनको चुनावमा उनकै छिमेकी पुस्करनाथ पोखरेलको मनोनयन भएपछि उनको स्थानीय कांग्रेस राजनीतिको भविष्य खतरामा परेको थियो। वि.सं. २०१७ मा कांग्रेस राजनीतकोको पतनले उनको उदयलाई निरन्तरता प्रदान गर्‍यो। उनीले कांग्रेस देखि रुष्ट प्रभावशाली कुलहरू जस्तै आचार्यहरू, खनालहरू र विशेष गरी अर्घाली भुसालहरूका समर्थन जुटाउन सफल भए। उनको अर्घालीहरूसँगको सम्वन्ध विशेष थियो किन भने उनकी आमाले सोही कुलमा जन्म लिएकी थिइन् र उनको पिताको चाँडै मृत्यु भएका कारण उनको पढाइ लेखाइ उनका मामा अर्थात् मित्रलालका बुबाले हेरेका थिए। यसै गरी पुर्कोटेहरूसँगको सम्बन्ध पनि उनले आफ्ना भाइकी छोरी पुर्कोटे नारायणलाई बिहेदान दिई सुदृढ पारेका थिए। यसै कारण उनी जिल्ला पञ्‍चायतका सभापति र त्यसपछि १५ वर्षसम्म अर्घाखाँचीका राष्ट्रिय पञ्‍चायत सदस्य (रा.प.स.) भए। पश्‍चिमका नेताहरूले पनि पूर्वका कांग्रेस विरुद्धको छवि प्रदान गर्ने सिलसिलामा उनैलाई समर्थन गरे। पश्‍चिमी नेताहरूले कम्युनिष्ट कार्यथलोका कुभिराम आचार्य मार्फत् लगातार सहयोग गर्दथे। कम्युनिष्ट कार्यथलोको नेतृत्त्व छिमेकी प्यूठानबाट मोहनविक्रम सिंहले गर्दथे। (मोहन विक्रम सिंह पूर्वीय प्यूठानमा कमसेकम पनि २०१०-२०११ सम्म सकृय थिए: हेर्नुहोस् पोखरेल र वस्याल, पृष्ठ १०-१२। यस समयमा सुदूर पश्‍चिममा भएको अशान्तिका तुलनात्मक तथ्याङ्कका लागि हेर्नुहोस् ओझा २०५७।)
पूर्वका गौतमहरू, वाङ्लाका भुसालहरू र पोखरेलहरूले वि.स. २०२१ र २०२६ को रा.पं को चुनावमा काशीनाथका आफ्नै नातेदार र त्यसपछि उनका भाइका बिरुद्ध पराजय भोग्न पर्‍यो भने नारायण (पुर्कोटे) भुसाललाई जिल्ला पञ्‍चायतका सभापतिमा जिताउन सफल भए। त्यसैले जिल्लाले पक्का गुटवन्दीको अनुभव गर्‍यो जुन अर्घाराजस्थल जस्ता गाउँहरूमा प्रतिध्वनित हुन पुग्यो। विद्यमान गुटबन्दी उही कुल, क्षेत्रीय र पार्टीगत आधारमा रहेको थियो। जिल्लासँग सम्बन्धित सबै विषयहरूमा हुने छलफलहरूमा पनि त्यहि फाटो विद्यमान रहने हुनाले पूर्व र पश्‍चिम बीचका शक्ति सन्तुलन नै जिल्ला पञ्‍चायतले लिने निर्णयहरूमा निर्णायक रहने गर्दथ्यो। सबभन्दा नाटकीय विषय सदरमुकामको चयन थियो, जुन कुलहरू बीचका साँठगाँठको फेरवदलका कारण बीस बर्ष भित्र ढाडाकोट देखि नरपानी हुँदै अन्त्यमा सन्धिखर्कमा पुग्यो।

वि.सं.(२०२९-३६) को ‘गाउँ-फर्क’ कालले कम्युनिष्ट र कांग्रेस बीचको मतभिन्‍नता र आपसी अन्तरविरोधहरूलाई केही हद सम्म मत्थर पार्‍यो किनभने वी. भि. एन्. सी.ले मनोनयन गरेको गाउँ सभाका प्रतिनिधिहरूले स्थानीय शक्तिको सही प्रतिनिधित्व गर्दैनथिए र उनीहरू कट्टर पञ्‍च थिए। यसका अतिरिक्त गाउँका मामिलामा समेत काठमाडौंको सर्वदा हस्तक्षेपले पनि स्थानीय नेतृत्त्व पंक्तिमा असन्तोष पैदा गर्‍यो र दुवै क्याम्पहरूलाई काठमाडौंको विरुद्ध एक जूट हुन अभिप्रेरित गरायो। वि.सं. २०३७ को जनमतसंग्रहको नतीजाले अर्घाखाँचीको राजनैतिक स्वरूपलाई केही जटिल बनायो तर प्रमूख सिद्धान्तहरूलाई आँच नपुर्‍याइकन। दुई साँघुरा क्याम्पहरूमा विद्यमान अन्तरविरोधले बिस्तारै आफ्नै क्याम्पभित्र अन्तरविरोधहरू निम्त्यायो। नेपाली कांग्रेस मा र कम्युनिष्ट पार्टीहरू दुवैका केही मानिसहरूले पञ्‍चायत व्यवस्थाभित्र छिर्ने निर्णय गरे। यस्तो मार्ग काशीनाथ गौंतमले निर्वासनबाटै अपनाएका थिए। उनले ‘३८ से समूह’ का साथ वि.स. २०३७ को निर्वाचनमा उम्मेद्‍वारी दिएर कांग्रेस को केन्द्रीय समितिलाई अवज्ञा गरे। सुरूमा पूर्वीय कुलहरू जिल्लाको रा.प.स.को सीट पुन: हत्याउने आशामा उनका पछि लागे जुन उनीहरूले हत्याए पनि। पश्‍चिमको क्षेत्र भने जीव नारायण बेलबासेले (जो पञ्‍चायतसँग धेरै निकट भएका मानिन्थे) मित्रलाललाई छाडी दिए। मित्रलालका विरुद्ध उनकै पुराना सहकर्मीहरू (खनालहरू) उठे। पुराना भुसालहरूको प्रभाव हटाउने उद्देश्‍यले उनीहरूले नयाँ व्यक्ति विष्णु प्रदीप नाम गरेको मान्छेलाई समर्थन गरे। स्वयं विष्णु प्रदीप आफूलाई कम्युनिष्ट पार्टी मा.ले. का प्रतिनिधि भनी दावी गर्दथे। जसको फलस्वरूप भुसालहरू कम्युनिष्टहरू बीचको एक प्रतिद्वन्द्वी मोहनविक्रम सिंहको चौथो महाधिवेशनसँग नजिक हुन पुगे। वि.सं. २०४० पछि ‘मसाल’ नामकरण गरे पश्‍चात चौंथो महाधिवेशनले प्यूठान बाहिर आफूलाई बिस्तार गरी अर्घाखाँचीका पश्‍चिममा पूर्ण रूपमा जग बसाल्न सफल भयो। वि.स. २०३६-३७ मा भएको जनमत संग्रह बहिस्कार अभियानमा सो पार्टी निकै सकृय थियो र वि.सं. २०३७ को अन्त्यतिर सदरमुकाममा निकालिएको जुलुसमा यस पार्टीका चार लडाकू कार्यकर्ताहरू प्रहरीको गोलीबाट मारिएका थिए। पहिले ‘अर्घाली’हरूले मोहन विक्रमको समूहसँग एकाध नौजवानहरू मार्फत् खुकुलो सम्वन्ध राखेका थिए तर जव चुनावको एक दिन पछाडि उनीहरूका छोरा टंक प्रसादको प्रहरी हिरासतमै मृत्यु भयो उनीहरू पूर्ण तवरले चौथो महाधिवेशनमा लागे। यस घटनाले जिल्लाको पश्‍चिमलाई कम्युनिष्ट पहिचान दियो जस अनुसार एक भाग मा.ले सँग सम्वद्ध थियो भने अर्को भाग मसालसँग।

वि.सं. २०४३ को आम निर्वाचनपछि पुन: निर्वाचित भएर मन्त्री बनेका काशीनाथले यस्तै प्रकारको स्थितिको सामना पूर्वमा गर्नु पर्‍यो। खिदिमको दह्रो पकडमाथि कुनै जोखिम नभएको खण्डमा वाङ्ला भुसालहरू स्थानीय उम्मेद्‍वार राम बहादुर वी. सी.लाई समर्थन गर्दथे, जो आफू कांग्रेस को मूल प्रवाहको रक्षक भएको दावी गर्दथे। वि.सं. २०३८ मा पराजित भएपछि र वि.सं. २०३९ को जिल्ला पञ्‍चायतको चुनावमा वाङ्ला भुसालको पक्षमा हार्ने मित्रलालले आफ्नो ठाउँ नयाँ व्यक्तिलाई छाडि दिए। त्यो व्यक्ति अरु कोही नभएर लेखनाथ अर्थात् जीव नारायण बेलबासेको छोरा थिए जसले संयुक्त अधिराज्यबाट विद्यावारिधि हासिल गरेका थिए। लेखनाथ अर्घालीहरूको समर्थन जुटाउन सफल भए र आफ्ना समर्थकहरू लगायत विरोधीहरू उनलाई कम्युनिष्टको बिल्ला लगाउँदथे। यद्यपि उनी आफै भने कुनै कम्युनिष्ट संस्थाहरूसँग सम्बन्धित थिएनन्। उनलाई कम्युनिष्टका दुई उम्मेद्‍वारहरू विष्णु प्रदीप र मा.ले भित्रका प्रतिद्वन्द्वी जयप्रकाश किसानद्वारा (जो पूर्व अञ्‍चलका थिए) द्वारा चुनौती दिइएको थियो।

कांग्रेस र कम्युनिष्ट दुवैका बीच रहेको विभाजनको स्थितिलाई हिसाव गर्ने हो भने वि.सं. २०३७-२०४७ सम्मको अर्घाखाँचीको राजनैतिक घटनाक्रमले राष्ट्रिय राजनैतिक परिदृश्यको चित्रण सही रूपमा गरेको थियो, तथापि यी केवल समूहगत ऐक्यवद्धता र पहिचानहरू मात्र थिए। यो कुनै पार्टीहरूका कार्यक्रम र सोचहरूमा आधारित थिएन। (वास्तवमा भन्‍ने हो भने केही विश्वविद्यालयका बिद्यार्थीहरूको पहुँच राजनैतिक कितावहरूमा थियो तर साम्यवादका वारेमा स्थानीय गाउँलेहरूको ज्ञानको स्रोत भित्तामा टासिएको चिनीयाँ पत्रिका हुन्थ्यो र सांस्कृतिक कार्यक्रमहरूमा जमिन्दारका शोषणका विरोध हुन्थ्यो। “जनवाद” जस्ता शब्दहरू अज्ञात नै थिए।) काशीनाथको मृत्यु पछि सम्पन्‍न वि.स. २०४४ (सन् १९८८) को आम चुनावमा सोही प्रवृत्ति हावी भएको पाइन्थ्यो। म यहाँ पाठकहरूलाई उक्त चुनावको पूर्ण अभिलेख दिन चाहन्‍न जहाँ पूर्वका कांग्रेस उम्मेद्‍वार रामबहादुर बि.सि.ले पश्‍चिमी कम्युनिष्ट उम्मेदवार लेखनाथलाई परास्त गरेका थिए। तथापि फेरि पनि नतीजाको नक्शाले भने प्रष्ट हिसावमा प्रत्येक कुलद्वारा प्रभावित भू-भागहरूलाई प्रतिविम्वित गरेको थियो।

यस समयमा संयुक्त कार्यगत एकताको निर्माण चम्किरहेको थियो। नयाँ शक्तिहरू देखा परिरहेका थिए, जस्तै वि.स. २०३६ (सन् १९८०) का दशकमा चिदिकाको आफ्नो दह्रो गढमा मोदनाथ प्रश्रित पौंडेलको उपस्थिति, तर स्थानीय समुदायको कुनै पार्टी वा उम्मेद्‍वारसँगको ऐक्यवद्धता वा समर्थन प्रभावशाली कुलका नेताहरूको बीचरमा भर पर्दथ्यो वर्गीय स्वार्थ वा दर्शनमा होइन। यसको सट्टा गाउँर जिल्ला तहमा एउटा कुलको नेताको अर्को कुलप्रतिको रणनीतिगत दृष्टिकोणले भने बढी महत्त्व राख्दथ्यो। पार्टीको शाब्दिक अर्थ यी नेताहरूको व्यक्तिगत सम्वन्ध र गुटगत विपक्षीहरू बीचको समन्वयमा भर पर्दथ्यो किनभने चुनावी युद्धले एकातिर राजनैतिक पद मार्फतको भौंतिक नाफा जनाउँदथ्यो भने अर्कोतिर समूहको इज्जतको नापतौल गर्दथ्यो। यस मूल उद्देश्यका लागि पनि आफूलाई प्रतिद्वन्द्वी समूहहरू भन्दा पृथक देखाउन राजनैतिक परिचयको प्रयोग गर्नुपर्दथ्यो। यदि प्रतिद्वन्द्वीले आफूलाई कम्युनिष्ट दावी गरेको खण्डमा आफूले वाध्य भएर कांग्रेसको परिचय अपनाउनुपर्ने हुन्थ्यो भने यदि आफू पहिल्यै देखि कम्युनिष्ट रहेको भए कम्युनिष्ट गुटभित्रको विपक्षी गुट पक्डिनु पर्दथ्यो।

जनआन्दोलनताका यी कुलगत, क्षेत्रीय र समर्थकका पहिचानहरू उत्तिकै शक्तिशाली थिए। एउटा राम्रो उदाहरण रेवती भुसालको लिन सकिन्छ जो वि.सं. २०४८ को आमनिर्वाचनमा उत्तरी क्षेत्रबाट चुनिएका थिए। उनी नारायणका छोरा हुन् जो पुर्कोटे मुखियाका खास सन्तान हुन्। रेवतीको पार्टीप्रतिको कटिवद्धतामा कुनै सन्देह थिएन किनभने उनी सानै उमेरदेखि पार्टीमा समर्पित कार्यकर्ता थिए, तर यौटा कुरा पनि अचम्मकै छ, त्यो के भने एउटा सिंगो शताब्दीसम्म र त्यो पनि भिन्‍न भिन्‍न राजनैतिक परिप्रेक्ष्यमा कसरी नेतृत्व एउटै पारिवारिक कुलभित्रै हस्तान्तरण हुन गयो? टोप बहादुर रायमाझीको स्थिति पनि महत्वपूर्ण छ। उनी अर्घाराजस्थलको मध्य प्रभावशाली कुलमा जन्मेका थिए र लामो समयदेखि दुवै अर्घाली र पुर्कोटेहरूको विरोध गर्दै आफ्नो अस्तित्व कायम गर्न खोजेका थिए। वि.सं. २०४८ को आम चुनावमा उनी संयुक्त जनमोर्चाबाट रेवतीका प्रमुख प्रतिद्वन्द्वी थिए र अहिले माओवादी केन्द्रीय समितिका सदस्य पनि छन्।

वि.सं.२०४७ पछि असन्तुष्टीहरू बढ्दै गएका कारण पूर्व-पश्‍चिम संबन्ध झन्-झन् धमिलो हुँदै गयो। ऐतिहासिक रूपमा प्रभावशाली कुलहरूबाट साना महत्त्वका कुलहरू छुट्टिने क्रम, एकै थरका छुट्टिएका कुलहरूबीच गुट अन्तरगुटको निर्माणको क्रम बढ्दै गयो। जिल्लाको एक प्रभावशाली थरले कुलको संयोजन र पार्टीगत गुटवन्दीको उत्तम नमूना प्रस्तुत गर्‍यो। एक कुलले मसालका क्षेत्रीय नेताको नेतृत्व लियो भने अर्को विपक्षी कुलले एक राष्ट्रिय माओवादी नेतासँग विहेवारी सम्बन्ध मार्फत् आफ्नै ज्वाइँका पार्टीमा प्रवेश गरे। यसरी नै वि.स. २०४८ को चुनावमा दक्षिणी भागमा धेरै कुलहरू बेलबासेहरूबाट अलग भए। अलग हुनुको प्रमुख कारण बेलबासेहरू कांग्रेस भएका र उनीहरूबाट अलग भएर मात्रै ए.मा.ले. का मोदनाथ प्रश्रितलाई सघाउन मिल्ने भएकोले हो। मोदनाथले आफ्नै भाइको प्रतिकार गर्नु परेको थियो जसले ढुण्डिराज शर्मा पौंडेल (कांग्रेस पार्टी) लाई समर्थन गरेका थिए। यस घटनाले स्थानीय राजनीतिमा कुलगत वाहुल्यलाई घटाएको देखाएन, बरु पौंडेलहरूबीच यौंटा नयाँ गुटगत विभाजनको जन्म भएको कुरा दर्शायो। यसैले पहिलेको भन्दा गुटगत एकता धेरै स्वतन्त्र र लचिलो भएको थियो। तैपनि राजनैतिक छाँटकाँटहरू उनै कार्यशैंलीमा आधारित रहे। केही हदसम्म स्थानीय राजनैतिक समूहहरूका वैचारिक लचिलोपना राष्ट्रिय राजनैतिक विकास क्रममा समयानुकुल अगाडि बढ्ने परिपाटी हो, तर यी समूहहरू अझै पनि कुलहरूका वरिपरि संगठित हुने र आ-आफ्ना अस्तित्त्वलाई कुलकै परिवेश भित्र निरन्तरता दिने क्रम जारी छ।

अर्घाखाँची र यस्तै जिल्लाहरूमा आज विद्यमान राजनैतिक वस्तुस्थिति र संरचनाको यहि रीतले विकास हुँदै जाने कुरा सम्भव छ। पछिका वर्षहरूमा प्रभावशाली कुलहरूका नेतृत्वमा चुनौती आउनसक्ने कुरा पनि उत्तिकै सम्भव छ। यसका साथसाथै कृषि सम्वन्धहरू माथिको आश्रयमा देखिदै आएको ह्रासले निकै हदसम्म ‘संरक्षक-समर्थक’को सम्वन्धलाई असर पार्ने छ। यसैले राजनैतिक सम्वद्धताहरू व्यक्तिगत अथवा वर्ग अभिप्रेरित हुन सक्छ तथापि हालसालका वर्षहरूसम्म यस्ता जिल्लाहरूका राजनैतिक रुपरेखाहरू नातागोता, क्षेत्रीय र व्यक्तिगत कार्यगत थलोहरूमै बढी प्रभावित रहेका थिए। सम्पूर्ण ग्रामीण नेपालको अवस्था यस्तै छ भन्‍ने खोजिएको हैन तर नेपालको स्थानीय परिवेशमा राष्ट्रिय राजनीति बुझ्नका लागि भने माथि उल्लेखित परिस्थितिलाई पनि ध्यानमा राख्‍नु जरुरी छ।

सन्दर्भ सामग्री

विष्ट, डोरबहादुर, फेटलिजम् एण्ड डेभलोप्मेन्ट: नेपाल्स स्ट्रगल फर मोर्डनाइजेसन, लण्डन: संगम, सन् १९९१
बोर्गस्ट्रोम वि.ई.दि, प्याट्रोन एण्ड दि पञ्‍च: भिलेज भ्याल्यूज एण्ड पञ्‍चायत डेमोक्रेसी इन् नेपाल, न्यू दिल्ली: विकास सन् १९८०
इशी, एच., इन्स्टिट्यूसनल चेञ्‍ज एण्ड लोकल रेस्पोन्स: लोकल गभरमेन्ट एण्ड लिडरसिप इन अ नेवार भिलेज, पृष्ठ १-३९मा एन्थ्रोपोलोजिकल एण्ड लिंग्यूस्टिक स्टडिज अफ दि काठमाडौं भ्याली एण्ड दि गण्डकी एरिया इन् नेपाल, टो आइ.एल.सी.ए.ए, सन् १९८६
निकोलस, आर. डब्लु, स्ट्रक्चर अफ् पोलिटिक्स इन् दि भिलेजेज अफ् साउदर्न एशिया पृ. २४३-२८४
सिंगर, एम्, कोहन वि.एस् (सम्पा.) स्ट्रक्चर एण्ड चेञ्‍ज इन् इन्डियन सोसाइटी, न्यूयोर्क, वेर्नर ग्रीन, सन् १९६८
ओझा, डि., सुदूर पश्‍चिममा जनचेतनाको बिकास र २००७ सालको क्रान्तिको इतिहास, महेन्द्रनगर : वि.सं.२०५७
पोखरेल जी., बस्याल आर., राप्ती पश्‍चिमको प्रजातान्त्रिक आन्दोलन, गुलरिया, वि.सं.२०५५
रामिरेज, पी. (सम्पा.), रेसुंगा दि माउन्टेन अफ् दि हर्नेड सेज, काठमाडौं, हिमाल प्रकाशन, सन् २०००
(साभार: बहा: जर्नल)

Advertisements

Comments on: "कांग्रेस र कम्युनिष्टहरू: पञ्चायत कालमा दुर्गम जिल्लाको राजनैतिक पहिचान" (3)

  1. Regulator said:

    Im suprised with this article and it has been written without doing enough reserch. Other fact which has been explainned here more a less accurate but writer has missed to explainned about Ghimire family (heredity of Tulasha Great Grand Mother). Writer suggested to brief their role to the Arghakhachis social political evolution.

  2. basant bhusal said:

    it is very intesting things but just it is know me now, it it site help to learn about our history …
    thanks for world press Unit

  3. Interesting Document for us, probably to all social science researchers. But have lacks one things. We are from eastern belt of Arghakhanchi. But the research not address to us. That’s why we are the subatren in this study. It only address the western belt of Arghakhanchi. However good information for us like, youth population. Thank you.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: