केही व्यक्ति र घटनाहरू यस्ता हुन्छन् जसलाई जति बिर्सन खोज्यो त्यत्ति संझिइन्छ। भित्रभित्र संझनाका भिन्नभिन्न चित्रहरू कोरिएका हुन्छन् जसको बेलाबेलामा संझना आइरहन्छ। जसको संझना आउँछ उसको चर्चा हुन्छ गफमा, लेखमा, गीतमा, कवितामा कुनै न कुनै कुरामा आउँछ नै। दुःख र पीडा विर्सन खोजेर पनि बिर्सिइन्न। अभाव कति दिन लुकाउन सकिन्छ र? जीवनमा धेरै मान्छेको सरसंगत भएको छ। आदानप्रदानदेखि बोलीचाली, गफगाफ, बरव्यवहार भएका थुप्रै मान्छेका चित्रहरू मेरा मनमा छन्। सबै भन्दा अगाडि अघिल्ला लाइनमा त्यसपछि क्रमशः अरुअरु होलान्। थुप्रैका होलान् तर पनि सबैका छन् र हुनैपर्छ भन्ने छैन। एउटाको फोटो खिच्दा नजिकै भएका अरुको आउनु अस्वाभाविक हँदैन तर आवश्यकता र महत्व त त्यसकै हुन्छ जसको फोटो खिच्न लागिएको हुन्छ।

आफ्नो नालनातामा पर्नेलाई छोडेर पनि केही यस्ता व्यक्तिका चित्रहरू मेरा मनमा छन् जसको सम्झनामा पनि मैले गौरव गर्न सक्छु। तिनीहरूसंगको छोटो सम्पर्क या छोटो समयको व्यवहार पनि अत्यन्त महत्वपूर्ण हुन्छ। त्यस्तै महत्वपूर्ण व्यक्तित्व मध्येका एक हुन्- मोहन सिंह थापा। मोहन सिंह थापाका बारेमा मलाई धेरै कुरा थाहा छैन तर जति थाहा छ त्यति पर्याप्त छ। त्यो भन्दा धेरै थाहा पाउन आवश्यक पनि ठान्दिन ।

बि.सं. २०३९ तिर साइकिल चढेर बजार हिडन लागेका मोहन सिंह थापालाई मैले पातलो दुब्लो अनुहारमा अलिकति पावरवाला चस्मामा देखेको हुँ। चिनेको होइन कसैले चिनाइदिएकै भरमा उहाँले मलाई साइकिल रोकेर भन्नुभयो- नमस्कार माडसाब। त्यतिबेला पूर्वपरिचय नभए पनि म केही बेर रोकिएँ र हेरि रहें। खासै कुराकानी भएन। म तपाईंको छिमेकी। बस यही थियो पहिलो परिचय। बुटवल बसाइको क्रममा हाम्रो निकटता बढ्दै गयो। सँगै घर भएकाले परिचय हुने नै भयो। बाटामा एक्कासि परिचय भए पनि यस अघि वहाँको नाम सुनेको थिएँ। दुबैले संगै जस्तो घर बनायौ। बसाइ सँगै सँगै भयो। सम्पर्क र परिचय बढ्दै गयो। हामी दुइले एक अर्कालाई चिन्दै गयौँ। परिवार परिवार बिच पनि राम्रो सम्पर्क बन्यो। चिना पर्ची राम्रै भयो। यो चिना पर्ची फलानाको छोरो, छोरी, ज्वाइँ, वा फलानो अफिसको मा सीमित थिएन। यो परिचय अरू भन्दा भिन्न थियो। त्यसैले हुन समय लागेको थियो।

नेपाली राजनीतिमा स्पष्टवक्ता मान्छे कमै छन्। त्यसो त राजनीतिमा स्पष्टवक्ता र सत्यवादी मान्छे सबै भन्दा कम हुन्छन्। त्यसमा पनि हाम्रा जस्ता मुलुकहरूका के कुरा गर्नु- मोहन सिंह थापालाई मैले अपवादका रुपमा भेटें। हामी र हाम्रा परिवार बिचका हेलमेल आपसी सद्भाव र विश्वास बढ्दै गयो। सल्लाह सहमतिका आधार बन्दै गए। कुनै जमानामा सशस्त्र आन्दोलनमा सक्रिय भएर जेलजीवन समेत बिताउनु भएका मोहन सिंह थापालाई व्यवहारमा सरल भएर पनि तार्किक र बौद्धिक रुपमा चिने। संगै बस्दाका केही घटनाहरूले वहाँको सम्झना गराइरहन्छन्।

समयको सम्झना छैन। म बुटवलमै थिएँ। कालिका मा.वि.मा मनविर गर्बुजा समितिका अध्यक्ष हुनुहुन्थ्यो। मोहन सिंह थापा, लक्ष्मण गौतम पनि त्यो समितिमा हुनुहुन्थ्यो। गर्बुजाका घरमा गफ गरेर बसिरहेका बेला उहाँहरूले कुरा उठाउनु भयो- तपाईं बुटवल सरुवा भएर किन आउनुहुन्न- यहीं बस्दा घरको रेखदेख हुन्छ, पाल्पा बसेर के गर्नुहुन्छ- मैले भनें- सरुवा भएर आउन पाए आउँथें, पाइन्न के गर्ने- समाधानको बाटो बन्यो। केही समयका निम्ति एक जना शिक्षक बिदा बसेको ठाउँमा जाने, पछि उनी हाजिर हुन आउने समयमा ठाउँ मिलाउने। संयोगले प्रमुख जिल्ला अधिकारीको कार्यालयमा प्रशासकीय अधिकृत पदमा लोक बहादुर खत्री हुनुहुन्थ्यो। उहाँको पनि मेरो संगै घर जोडिएको थियो। प्रशासनिक र स्थानीय बल पुग्ने भए पनि विदामा बस्ने शिक्षकलाई हाजिर हुन आउनु अघि सरुवा गरेर मलाई त्यही राख्ने सोंच थाहा पाएकाले यो प्रसंग त्यतिकै हरायो। मलाई उपयुक्त नलागेकाले मैले नै चासो राखिन।

बहुदलीय व्यवस्थाको स्थापना भए पछि पहिलो चुनावको वेला थियो। म आफ्नै घरको अगाडि बरन्डामा बसिरहेको थिएँ। केही युवा राजनीतिकर्मी र बुढाहरू थुप्रै झण्डा लिएर हाम्रै टोलतिर आए। बाल कृष्ण खाँड, मनोहर बजिमय, लक्ष्मण गौतम लगायतका थुप्रै परिचित मान्छेहरू पनि त्यसमा सम्मिलित थिए। चुनावको वेला थियो। उनीहरूका साथमा प्रशस्त चारतारे झण्डाहरू थिए। घर-घरमा पसेर झण्डा गाडने, बाँध्ने र फहराउने अभियानमा त्यो समूह लागेको थियो। मोहन सिंहका घरसम्म झण्डा टाँग्दै आएपछि मेरो घरको पालो आयो। टोली घरभित्र पस्न थाल्यो। म उठें र भनें – म कुनै दलको मान्छे होइन। स्वतन्त्र मान्छे हुँ। मेरो घरमा बिना सहमति झण्डा टाँग्न पाइन्न। म कुनै एउटा दलको झण्डा टाँग्न दिन वाध्य छैन। मोहन सिंह थापाले टोलीलाई भन्नुभयो- ठिक छ सहमति बिना नटाँगौ। टोलका सबै घरमा कांग्रेसका झण्डा अत्यन्त आकर्षक तरिकाले फहराए। मेरो घरमात्र झण्डा रहित थियो तर स्वतन्त्र र गौरवमय थियो ।

मैले नाम बिर्से कतै टिपेको हुनुपर्छ, अहिले भेटाएको छैन। सशस्त्र आन्दोलनताका हाते बम, गोली, चिठ्ठीपत्र लिएर हिड्ने गरेका नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता मोहन सिंह थापाका घरमा आए। फाटेको पहिरन, खुट्टामा सामान्य चप्पल, देख्दै दयनीय अवस्थाका। उनीसँग भेट्दा मोहन सिंहका मनमा खिन्नता बोध भएको महशुस मैले गरें। सँगै हतियार लिएर आन्दोलन गर्ने साथीहरूको अवस्था यस्तो छ तर सरकार हाम्रै पार्टीले चलाएको छ। उहाँको गुनासो थियो। सुकिला र चिल्लाहरूका विरुद्ध नेपाली कांग्रेसका कार्यकर्ताहरूले एकपटक फेरि आन्दोलन गर्नुपर्छ भन्ने वि.पि. कोइरालाको भनाइलाई उद्धृत गर्दै उहाँले भन्नुभयो – यो आन्दोलनको शुरुवात गर्ने बेला आइसकेको छ। नेपाली कांग्रेसको ३८ से समूहका एक भनेर चिनिने थापासँग एक दिन मैले सोधें- यो विभाजन कसरी भयो- तपाई किन त्यो समूहमा लाग्नुभयो? उहाँले भन्नुभयो- पार्टी सभापति बनाउने बेलामा भट्टराईजीको नाम आयो। हामीले वैधानिक तरिकावाट चुन्ने माग राख्यौं तर वि.पि. कोइरालाले सुन्नुभएन। हामीले तरिका र पद्धतिको माग गरेका थियौं। त्यो नमान्ने हो भने पञ्चायत र कांग्रेसमा के फरक- भन्ने हामीलाई लाग्यो र यसैवाट हामी अलग्गियौं।

वकालत सामान्य चलेको थियो। मुद्दाहरू आउँथे। मिसिल, फिरादपत्र, उजुरीपत्र तयार गरिन्थे। कहिलेकाहीं मुद्दाका विषयमा छलफल पनि चल्थ्यो तर मुद्दा मेरो विषय थिएन। मुद्दाका विषयमा भन्दा हक-अधिकारका कुरामा म रमाउँथें। उहाँ यस विषयमा पनि सचेत हुनुहुन्थ्यो। एक दिन उहाँले एउटा उदाहरण दिदै भन्नुभएको थियो- आज तपाईले चिया खुवाउनुभयो। भोलि, पर्सि लगातार १५ दिन खुवाएर १६औं दिन खुवाउनुभएन भने आज किन खुवाउनु भएन? भनेर सोध्ने मेरो हक हुन्छ। हँसिलो चेहरा, खुलेर बोल्ने बानी, रमाइलो र शिष्ट स्वभावका मोहन सिंहको घरेलु जीवन सामान्य थियो। ठूलो चहलपहल थिएन। सान सौकत थिएन तर दयनीय अवस्था पनि थिएन। श्रीमती, आफू र तीन छोराहरूको परिवार, इष्टमित्रहरू आइरहन्थे। एकपटक काशीनाथ गौतम आए। उनका अघिपछि अरु पनि थुप्रै मान्छे आएका थिए। घरमा भिड भयो। भिडका कुरा मैले बुझिन। भेटघाट भन्दा फरक भिडको अर्थ गौतमलाई पनि थाहा भएन। थापाले भन्नुभयो- यो भिड त्यसै आएको होइन। तपाईंसँग केही हुनुपर्छ। कस्तुरीको गन्ध आफैले थाहा पाउन्न, फुलको रस मौरीले मात्र जान्दछ त्यस्तै थियो शायद र त पछाडि मान्छे भरिए तर किन भरिए- आफैलाई थाहा भएन। काशीनाथले भने- मसँग त त्यस्तो केही छैन। पछि थाहा भयो- काशीनाथका झोलामा काठका कुपन रहेछन्। जसले पायो त्यो मालामाल हुने कुपन बोकेकाले उनका पछि मान्छेहरूको भिड लागेको रहेछ।

छोरा बुटवलकै कुनै वोर्डिङ्ग स्कूलमा पढ्दै थिए। परीक्षा आइसकेको थियो। एकदिन मसँग गफकै क्रममा भन्नुभयो- छोरालाई वोर्डिङ्गमा राखियो तर एस.एल.सी गर्ने छाँट आएन। मैले सोधें- के भयो र? उहाँले भन्नुभयो- अरुमा पास भए पनि नेपालीमा पासै हुन्न भन्छन् सरहरू। मैले भनें- अरु विषयमा ठिक छ भने मेरो समयमा पठाउनुस्। नेपाली मात्र लागेर फेल हुन म दिन्न। २२ – २४ दिन मात्र मैले पढाएँ। उनीहरूका टोलीमा टोल छिमेकका जति विद्यार्थी थिए सबै पास भए। मलाई संतोष भयो। विश्वास बढ्यो। व्यवहारको विश्वास काममा पनि भयो। उहाँ बुटवल मा.वि.मा अध्यक्ष भएका बेला एउटा शिक्षकको आवश्यकता परेछ। म त्यहां जान चाहन्थें। छनौटका बारेमा समितिसँग उहाँले स्पष्ट भन्नुभयो- तपाईंहरू कक्षा हेर्नुपर्छ भने हेर्नुस्। मलाई हेर्नु पर्दैन। ल्याउन हुन्छ। यसरी विश्वास गर्न सक्ने साहस पार्टी राजनीति गर्नेमा कमै देखेको छु। आफ्नो विचारसँग सहमत नहुने वित्तिकै पराइ ठान्ने प्रचलन छ तर यो जान्दाजान्दै पनि मोहन सिंह थापाको विश्वास मैले जितेको थिएँ। त्यस्तै गरी वुटवलमा प्राइवेट क्याम्पसमा शिक्षक राख्ने क्रममा पनि मलाई उहाँले प्राथमिकता दिएको सम्झना छ। काठमाण्डौंतिर लागेपछि एकपटक मात्र बागबजारमा हाम्रो भेट भएको थियो। त्यसपछि अर्को भेट नहुँदै उहाँको दुःखद निधन भएको खबर मैले सुनें। विश्वास नलाग्दा नलाग्दै पनि यो समाचार सही ठहरियो। अहिलेसम्म पनि त्यो अकल्पनीय मृत्युको विश्वास लागेको छैन तर विश्वास नलागेर के हुन्छ र- आँखै अगाडि निधन भएकाको त विश्वास लाग्दैन खबर मात्रमा के विश्वास- तर यसै भयो। नहुनु भयो। यसबिच मैले अत्यन्त निकटका केही आफन्तहरू गुमाएको छु। समाज र राष्ट्रले पनि त्यस्तै व्यक्तित्वहरू गुमाएको छ। तैपनि गुमाउनु हाम्रो नियति बनेको छ। गुमाउँदा गुमाउँदै कुनै दिन यस्तो पनि आउनेछ जुन दिन गुमाउने ठाउँ रहने छैन। मोहन सिंह थापालाई एउटा सुझबुझ, आँट र निष्ठा भएका राजनीतिज्ञका रुपमा मैले बुझेँ। सुशिला थापाका जीवन साथी, मौसम, मनिष र टप्पनका पिता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा थापा जसको सम्झना आइरहन्छ तैपनि भौतिक रुपमा भने अब हामी बिच हुनुहुन्न।
(यहाँहरूका भोगाइ, देखाइ, अनुभव वा सुझावहरू हामीलाई पठाउनुहोस्। यहाँहरूको सहयोग प्रति हामी आभारी रहनेछौं)

Advertisements

Comments on: "प्रजातान्त्रिक आन्दोलनका योद्धा मोहन सिंह थापा : डिल्लीराज अर्याल" (1)

  1. pushkar mishra said:

    thanks gogle, i’m uncouncious about b.p history. but l’m not sucess to found the role of his wife in his carrier.what is true?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: