- दीपक अर्याल
विद्यार्थीहरूले के पढ्छन्, के पढ्न मन पराउँछन् वा पढ्न नै मन पराउनन्नन् भन्नेा कुराको जानकारी प्रत्येक शिक्षकले राख्न जरूरी हुन्छ। पाठ्य पुस्तकका एकहोरो सामग्रीहरूलाई विद्यार्थीहरूले कसरी लिइरहेका हुन्छन् भन्ने कुरालाई पनि शिक्षकले बाहेक अरू कसैले बुझ्न सक्दैन। त्यसैले पढाउने भनेको पाठ्य पुस्तक पढाउने वा घोकाउने र कक्षा उत्तीर्ण गराउने मात्र होइन बरू विद्यार्थीलाई पढ्नका लागि उत्प्रेरित गर्ने वा उत्साहित गर्ने पनि हो। के विद्यार्थीहरूलाई अन्य काममा अग्रसर भए जस्तै पढ्ने काममा पनि अग्रसर बनाउन सम्भव छ? त्यसका लागि कुन विधी उपयुक्त हुन सक्छ। उनीहरूलाई पढाइप्रति किन रूचि छैन, हुँदैन वा खास पाठ्य सामग्री वा विषयवस्तुसँग रूचि नभएपनि अन्य विषयसँग रूचि हुन्छ भन्ने कुरा जान्नका लागि लामो अनुसन्धान जरूरी छ। जस्तै कि, चित्र भएका तस्बिरहरू बढी हेर्ने, रमाइला कुराहरू, कथाहरू, कार्टुनहरू, फिल्महरू मात्र पढ्न मन पराउने वा त्यसका कुरा गर्दा खुशी हुने जस्ता विशेषताहरू साना-साना बालबालिकामा मात्र होइन ठूला बच्चाहरूमा पनि भएको देखिन्छ। त्यसमाथि आफ्नो टोल-छिमेकको, आफ्नो धर्म संस्कृति तथा सामाजिक परिवेशका घटना, कथा वा सामग्रीहरू पढ्ने रूचि पनि बढी रहेको पाइन्छ।
त्यसैले पनि विद्यार्थीहरूले प्रयोग गर्ने शैक्षिक सामग्री, पाठ्यपुस्तक वा अन्य पुस्तकहरूले पस्कने सामग्री कस्ता र के छन् भन्ने कुराले पनि विद्यार्थीहरूको पढाइको रूचिको निर्धारण गर्छ। कतिपय शैक्षिक सामग्रीहरू समग्र देशमा लागू गर्ने भनेर तयार गरिन्छ तर त्यो स्थानीय स्तरमा जाँदा त्यहाँको सामाजिक, सांस्कृतिक चलन अनुसार नबुझिने वा पराई भइदिन्छ। उदाहरणका लागि नेपालका विद्यालयहरूमा लागू गरिएका पाठ्य पुस्तकमा ‘भुरूङ’ भन्ने शब्दका वारेमा वर्णन गरियो भने यो भाषा, क्षेत्र वा संस्कृति अनुसार बुझाउन वा बुझ्न गाह्रो पर्छ। अर्को उदाहरणका लागि पहाडमा भनिने ‘बेलउती’ र तराईतिर वा काठमाडौंमा भनिने ‘अम्बा’मा के फरक छ वा छैन भनेर कसरी बुझाउने वा विद्यार्थीले कसरी बुझ्ने। यस्ता कैयौं चिजहरूका नामाकरण ठाउँ, भाषा वा संस्कृति अनुसार फरक पर्ने गर्छ। यस्तो अवस्थामा एउटै पुस्तकले वा एउटै पाठ्यसामग्रीले समग्र क्षेत्रको प्रतिनिधित्व गर्न सक्छ वा सक्दैन। यस्ता ज्ञानहरू व्यावहारिक हुन सक्छन् कि सक्दैनन्। उदाहरणका लागि कृषि सम्बन्धी पाठ्य-पुस्तकमा हिमाली क्षेत्रमा फल्ने स्याउको खेती गर्न सिकाइयो भने त्यसले तराईमा कुनै अर्थ राख्न् सक्छ कि सक्दैन? ठीक यसै गरी आँप खेती गर्ने तरिकाको विषयमा हिमाली क्षेत्रका विद्यार्थीहरूलाई पढाउन उपयुक्त हुन्छ वा हुँदैन। सामान्य हिसाबले आँपका विषयमा जानकारी दिनु एउटा कुरा हुन सक्छ तर आँप खेतिका विषयमा हिमाली क्षेत्रका बालबालिकाले पढ्नु परेमा उनीहरूले कति ध्यान दिएर पढ्लान् वा उनीहरूले त्यसबाट कस्तो शिक्षा प्राप्त गर्लान्?
यसरी साना भन्दा साना शब्द, जानकारी मात्र होइन व्यावसायिक उद्देश्यका साथ पढाइने विषयवस्तुहरूले पनि ठाउँ, परिवेश, भाषा वा संस्कृति अनुसार अपनत्व जगाउने वा पराइको ठान्ने वातावरणको सृजना हुन सक्छ। यस्ता कुराहरूलाई पाठ्य सामग्री विकास तथा विस्तारका क्रममा ध्यान नदिने हो भने त्यसको समान उपलब्धी हुने सम्भावना न्यून छ। कहिल्यै नदेखेका, कहिल्यै नसुनेका यस्ता विषयवस्तुहरू पढ्दा कहिलेकाहीँ रमाइलो र नयाँ लागे पनि वा अपनत्व नभएको र कतै नसुनेको अर्थहिन पढाइ भएकाले दीर्घकालमा यस प्रतिको आकर्षण कम हुँदै जान सक्छ।
अर्थात् देशको भुगोल, सामाजिक सास्कृतिक चालचलनसँग हाम्रा पाठ्यपुस्तकहरू कति मिलेका छन् वा छैनन् भन्ने कुराले पनि विद्यार्थीहरूको रूचि बढाउने वा घटाउने काम गर्न सक्छ। त्यसो त विद्यार्थीहरूलाई नयाँ कुरा सिकाउने, नदेखेका विषयवस्तुहरूको वारेमा जानकारी दिनका लागि पनि शिक्षाको आवश्यकता पर्छ तर एउटै पक्षका सांस्कृतिक वा सामाजिक चालचलनको मात्र वर्णन हुँदा अर्को सामाजिक वा सांस्कृतिक पक्षका विद्यार्थीहरूका लागि समस्या उत्पन्न हुने वा पढाई प्रति निराशा जाग्ने हुन सक्छ।
यस्ता कुराहरू हाम्रा आफ्ना ठाउँहरूका विषयमा लेखिएको सामग्रीमा पनि पर्ने गर्छ। जस्तै पत्रपत्रिकाहरूमा आफ्नो ठाउँको बारेमा लेखिएका समाचार, जानकारी सोहि क्षेत्रको मान्छेले जति उत्सुकतासाथ पढ्छ अर्को क्षेत्रको जानकारी त्यति उत्सुक भएर नपढेको पनि भेटिन्छ। ठीक यसैगरी पाठ्यपुस्तकहरू भित्रको विषयवस्तुले पनि विद्यार्थीहरूलाई पढाइप्रति रूचि जाग्ने वा नजाग्ने हुन सक्छ। त्यसो त नेपालका सन्दर्भमा धेरै कामहरू गर्न बाँकी छ र धेरै क्षेत्रमा अनुसन्धान हुन बाँकी छ तर विद्यार्थीहरूले पढेनन् वा पढ्न मन गर्दैनन् भनेर कराइरहँदा उनीहरूले किन पढेनन् वा पढ्ने मन गरेनन् भन्ने तर्फ पनि सोच्न जरूरी देखिन्छ। यसका लागि उनीहरूलाई हामीले दिएका शैक्षिक सामग्री र त्यसका विषयवस्तुहरू उनीहरूको रूचि र चाहना अनुसार मात्र होइन उनीहरूको भाषिक, सांस्कृतिक वा सामाजिक परिवेशसँग मिलिरहेको छ वा छैन भन्ने कुरालाई ख्याल गर्न अत्यावश्यक देखिन्छ।
हाम्रा शैक्षिक सामग्रीहरू, हामीले पढाउने वा उदाहरण दिने शैलीहरूलाई हामीले स्थानीयकरण गर्न सकेनौं भने त्यसले तल्लो तहका विद्यार्थीहरूमा अलमल पारिदिन्छ। विस्तारै उनीहरूको उमेर वा कक्षा अनुसार फरक संस्कृति, भूगोल, वा सामाजिक परिवेशका कुराहरू मात्र होइन विश्वव्यापी आधुनिक ज्ञानहरू सिकाउँदै गएपनि कलिलो अवस्थामा वा उनीहरूले सोच्ने र खोज्ने अवस्थामा नपुग्दा सम्म आफ्नै परिवेशका वा आफ्नै छेउका जानकारीहरू दिन सकिएन भने उनीहरू रणभुल्लमा पर्छन् र पढाइ वा ज्ञान हासिल गर्ने कुरामा सक्रियता देखाउँदैनन्। यसैलाई मनन गर्दै हामीले हाम्रा पाठ्य सामग्रीहरूलाई समयानुकुल मात्र होइन कि स्थानीय चाहना वा आवश्यकता अनुसार पनि बदल्न सक्नुपर्छ। यसले ज्ञानको विविधतालाई संरक्षण गर्छ र सानो उमेरमा छिटो सिक्ने अवसर प्रदान गर्छ।
(गुरूकुल मासिकका लागि तयार गरिएको)
deepakaryal@gmail.com