पहिले पहिले देशबन्धुको मनमा अचम्मको उत्कण्ठा जाग्ने गर्थ्यो। जताजता घुम्न पाइन्छ त्यतै त्यतै घुम्न जाने र घुम्दा देखे, सुनेका कुरामा तर्क गर्ने, नजानेका कुरामा जिज्ञासा पोख्ने जस्ता विषयमा उकत्ण्ठा हने गर्थ्यो। देशभित्र मात्र होइन, विदेश घुम्ने रहर पनि हुन्थ्यो। उसको त्यो रहर राम्ररी ती उत्कण्ठा कहिल्यै पूरा हुन पाएनन्। रहर पूरा गर्न नपाउनुको कारण उसलाई थाहा छ त्यसैले चाहँदाचाहँदै पनि उसले खैंचिएर बस्नु परेकोले पनि यो गुनासो कसैसँग पोख्ने गरेको छैन। नघुमेकै पनि होइन, खालि सोचे अनुसार भएन भन्ने मात्र हो। ऊ पढैया होइन र बन्न पनि चाहेन। त्यसैले पढ्न स्कूलतिर लाग्नुभन्दा गाई गोरु फुकाएर महारातिर जान मन लाग्थ्यो। चराउने नाममा चउरतिर वा खेततिर लगेर गाइगोरु जुधाउन मन लाग्थ्यो। यदाकदा केटा उफार्ने र लहैलहैमा हिडाउनेहरूका सुरमा लागेर गाउँ डुलेर पनि हिड्थ्यो। त्यसो गर्न पाउँदा रमाउँथ्यो पनि।
बाबुले जति पढाउन खोजे पनि पढ्न सकेन। घर-स्कूल, घाँस-दाउरा र वनपात गर्दैमा उसको किशारावस्था बित्यो। कक्षामा, त्यसै पास हुने बानी परेको थियो। पटक-पटक एउटै कक्षामा गुल्टुङ खाएपछि पढ्न मन लागेन। गाउँको स्कूल समेत छोडेर बजार र त्यहाँबाट पनि मुग्लान समेत गएको थियो। त्यति हुँदाहुँदै पनि मनमा साँचेर राखेको घुम्ने रहर पूरा गर्न नपाएको गुनासो उसको मनमा नित्य-निरन्तर रहेको थियो। यसको आभाष धेरैले पाएका थिए र पाउँदै पनि छन्।
तानसेन घुम्न जान पाउँदा उसलाई निकै रमाइलो लाग्थ्यो। त्यहाँको दरबार देखेर त्यसको अगाडिको भागमा गुडुडुडु गर्दै कराएको आवाज सुनेर कतिपटक त ऊ जिल्ल परेको थियो। के कराउँथ्यो कुन्नि त्यस्तो आवाजमा? न त सोध्ने आँट आउने गरेको थियो न बुझेको थियो बरु उत्सुकता दबाएको दबायै घर र्फकने गरेको थियो। कसैले ‘आकाशवाणी ‘ भनेको सुनेपछि उसको चासो अझै बढेको थियो।
यो आकाशवाणी, भगवान्का पालाको कुरो, यहाँ कसरी आयो होला? यसको प्रयोग कसले गर्छ होला? भन्ने सोचेर दङ्ग पर्दापर्दै कति पटक त रातै र्छलङ्ग पारेर पनि बिताएको थियो उसले तर न भित्र गएर हेर्ने आँट गरेको थियो न सोध्ने। तैपनि उसलाई रमाइलै लागेको थियो। जेहोस् यो उत्सुकता र सोचले लामै समयसम्म निकास पाएन। नपाएरै लामो समय बिताउन परेको हो।
दिन बित्न, रहर जन्मन र थपिन पनि बेर लागेन। घरधन्दा र स्कूले टण्टाबाट मुक्त भएर कैल्ये दिल्ली, कैल्ये बर्म्बई गर्ने उसको रहर विना पैसा पूरा हुने कुरै थिएन र हुँदा पनि भएन। अरु त अरु कलकत्ते कान्छाको साथ लागेर कलकत्ता जाने रहर पनि गोरखपुरमा पाकेटमाराको जादूगरीले थाहै नपाई खल्तीका पैसा निकालिदिएपछि त्यत्तिकै सेलायो। दुई चार वर्षत बाबुलाई कमाइ गर्ने आश दिलाएरै पनि अलिअलि पैसा झार्ने गरेको हो तर बाबुले पनि कति दिन थेग्न सक्थे र? सकेनन्।
पढ्न जाँगर लागेन। घुम्न पैसाले पुगेन। दिउँसै तारा देख्न थालेपछि बल्ल उसका घैंटामा घाम लाग्यो। दिन गैसकेकाले धेरै त केही गर्न सकेन तर कसोकसो एउटा प्राइबेट जागिर हातपार्न सफल भयो। अनि त के थियो र? गाउँ, बजार कतै केही नहेरेर जागिरमा रमाउन थाल्यो। कसैको घरमा चौकीदार वा भान्छे बन्न परे पनि तयार हुनुपर्ने अवस्थाबाट गुज्रेको देशबन्धुले त्यही जागिर पाउनु पनि सानो कुरो थिएन। त्यसैले उसले त्यसलाई मामुली जागिर ठानेन। दिनरात एक गरेर मरुभूमिमा खेती उब्जाउने जाँगर गरेको थियो तर भनेजसो भएन तैपनि आरामले बाँचेको छ। फर्माएर खर्च गर्न पुग्दैन। लैनो जागिर होइन, बकेर्नो, टकेर्नो भने हुने जागिर हो भने पनि पुगेकै छ।
एकदिन मामाले सम्झाए- भाञ्जा, परिवार बढेपछि खर्च बढ्छ। कमाइ बढाउने सुर गर्नुपर्छ। यत्तिकैले त आफूले खाने कि छोराछोरी पाल्ने, पढाउने हुन्छ नि। बाबुको भनाइ अलि फरक थियो-’दायाँबायाँ नगरी सोझो मेलो गरेर पनि निर्वाह गर्न सक्नुपर्छ। पैसा कमाउन दुःख छैन। इज्जत कमाउन पो गाहारो हुन्छ त। पैसा त चर्पी सोहोरेर पनि कमिन्छ, चिहान खनेर पनि कमिन्छ तर विश्वास, मान-प्रतिष्ठा कमाउन त सजिलो हुन्न। जति पैसा कमाए पनि हीरा, मोती खाइन्न क्यारे। सुन खानेले जेसुकै गरून् हामी लसुन खाएर पुग्नेले लोभ गर्न किन पर्यो र?’
त्यसदिनदेखि ऊ सुनभन्दा लसुन जाती मानेर काम गर्दै आएको छ। अरु साथीभाइले के के गरिसके, कहाँकहाँ पुगिसके- भन्नेतिर ध्यानै नदिई आफ्नै सुरमा डटेको छ। त्यसैमा रमाइलो मानेर बाँचेको भए पनि कहिलेकाहीँ उसका मनमा गल्ती त गरिएन – भन्ने तर्क उठ्छ। बेलाबेलामा श्रीमती, छोराछोरीका गुनासा पनि सुन्छ। सुनेको सुन्यै गर्छ र नबोलेर पनि टार्छ। अरुका गगनचुम्बी महल देख्दा आश्चर्य माने पनि चित्त बुझाउन बाबुको अर्तिलाई आधार बनाएर सम्झाउने प्रयास गर्छ।
जागिर खाएको लामै समय भयो। यदाकदा गाउँ-शहर पनि गरेको छ। गर्दागर्दै र देख्दादेख्दै अचेल गाउँघरतिर पनि वातावरण बदलिएको, पैसाको मान बढेको महसुस हुन थालेको छ, तै अझसम्म ऊ विचलित भएको छैन। मूल्याङ्कनमा अलि पछि परेको अनुभव पनि हुन थालेको छ। पैसा हुनेहरूको भाउ चर्को भएको देखेर अलि नमज्जा लाग्न थालेको पनि छ तर निराश बनेको छैन। जागिरको सिलसिला चलेकै छ र ऊ त्यसमै हराएको छ। यही क्रममा बसोबासको मेसो पनि बनेको छ तर अझसम्म पनि चालढाल उस्तै छ।
सानामा गोरु जुधेको हेर्न रमाइलो मान्ने र जुधाउने देशबन्धु अचेल मान्छे जुधेको देखेर दङ्ग पर्न थालेको छ। ऊ कल्पना गर्छ, तर्क गर्छ र आफैसँग प्रश्न गर्छ- कति बलिया हुन् मान्छे? कति आँटिला हुन्? गोरुलाई बलियो बनाउन कति घस्याउनुपर्थ्यो? दिनदिनै घस्याउँदा पनि कति फेरा त हारेर आउँथ्यो काले। थाले झन् गतिछाडा थियो। बोकासँग पनि हारेर नाक काटिदिन्थ्यो कहिलेकाहीँ। त्यत्रो मिहिनेत खेरै जान्थ्यो। मान्छे लडाउनेले घस्याउन नपरेको होला र? पर्ने भए कसले घस्याएको होला? के के खान दिएको होला यिनलाई? गोरु त जोताउन, जुधाउन पर्ने हुनाले घस्याउनुपर्थ्यो। त्यही बहानामा जुधाइन्थ्यो। यिनले पनि कसैका खेतबारी जोत्नुपर्ने होला? उत्तर खोज्छ। ठ्याम्मै आउन्न। जान्दैन। कसैको उत्तरको प्रतीक्षा गर्छ तर उत्तरको पनि भर पर्न सक्दैन।
वर्षौंदेखि उसको मनमा यही र यस्तै प्रश्न उठ्ने गरेकाले उसको ध्यान अन्यत्र जानै छाडेको छ। अचेल त काममा पनि उस्तो जाँगर छैन। स्वास्थ्यमा पनि उस्तो सन्तोष छैन। कहिलेकाहीँ हेरेर चित्त बुझाउन बजार जाने र दरबारको बीच तलातिर गएर ठूलाबडाले झैं झयालबाट बाहिर हेर्ने चाहना जाग्छ। भित्र चोकमा टेबुल टेनिस, ब्याडमिन्टन के के खेल्छन् भनेको सुनेर हेर्ने चाह गरेको पनि छ तर उसलाई डर लाग्छ। गेटबाट यसो भित्र चियाएर हेर्दा हप्काइ पनि खाएको यो मनमा भय रहिरहेको छ। यस्तै यस्तैमा भुलेको थियो ऊ। धेरै पढेको थिएन। धेरै कुरा जानेको थिएन। अचेल बल्ल नपढेकोमा ग्लानि हुन थालेको छ। पढ्ने, लेख्ने रहर जागेकेा छ। सोच्छ – धेरै पढेको भए ऊ पनि यो ठूलो दरबारमा जागिरे हुने थियो। बाहिरबाट आएका मान्छेका अगाडि खुट्टा हल्लाएर आफ्नो रवाफ देखाउने रहर पूरा गर्ने थियो। बाबुले बताएको मानेर हिड्दा पो यस्तो भएको हो कि?
उसले सुब्बा, खरदार, डिठ्ठा भन्ने सुनेको छ। हाकिम, सिडियो, जिसेनी भनेको पनि सुनेको छ तर तिनीहरूले के खान्छन्? कस्तो खान्छन्? थाहा पाउन सकेको छैन। राम्रा राम्रा लाएर हिडेका मान्छे देखेको छ। तिनका रहर लाग्दा पहिरन, सुकिलो पहिरन, जिउ, हेरेर दङ्ग पर्दै कल्पना गर्दै आएको छ। तिनका त नानी पनि कति राम्रा? कति माया लाग्दा? आफ्ना भुल्लामा बेरिएका कोहोमा तिनका अगाडि मान्छेका सन्तान भन्न पनि नसुहाउने। न बानी राम्रो न अनुहार। वर्षौपिच्छे जन्मने र कुरै पिच्छे लड्ने तिनको त जातै रहेछ।
आजभोलि ऊ अझ छक्क पर्न थालेको छ। अस्तिसम्मको त्यो ठूलो दरबार एक्कासि गर्ल्यामगुर्लुम्म ढलेको उसका आफ्नै आँखाले देखेका छन्। पुलिस, सेना र ठूल्ठूला पर्खाल समेतले घेरेर राखेको यत्रो दरबार यसरी जल्छ र ढल्छ भन्ने उसका कल्पनामा पनि थिएन तर दैव लागेपछि के लाग्दो रहेछ र? रातभरि पर्रर गोली छरेको सुनेको थियो। पीरले उसलाई निद्रै लागेन। गोली कता चल्यो कल्पनै गर्न नसकेपनि उत्सुकता लागिरहृयो।
बिहानै उठेर घेरा मात्र भएको टोपीसित हेर्न जाँदा दरबार त साँच्चै नै जलिरहेको देखेर उसलाई पर्नु पीर पर्यो। कुनै दिन दरबारमाथि गएर हेर्ने उसको रहर चकानाचूर भएर गयो। त्यो बिर्सेर सोच्न थाल्यो- ‘बिचरा हाकिम साहेव भोलिदेखि कहाँ बस्नुहोला?’ उसलाई हाकिम साहेबको पीर लागेर आयो। हाकिमनी साहेबको के गति भयो होला? उहाँले भात पकाउने ठाउँ पनि त जल्यो होला नि। नानी बाबु कता बसेका होलान्? देशबन्धु हाकिम साहेबको यो अप्ठेरोमा साह्रै पिरियो। यत्रा पुलिसले के गरेर बसे होलान्? यति आगो त माटो हालेर पनि निभाउन सकिन्थ्यो। पुलिसको काममा शङ्का गर्यो उसले। आफूले सानामा गुँड चोरेर टौवामुनि लुकाएको, बत्ती बालेर खोज्दा टौवामै आगो सल्किएको र निभाएको सम्झयो। बटौलीमा मोटरले पानी हालेर आगो निभाएको सम्झयो। टेसनभरि त्यत्रा मोटर छन् किन निभाएनन् त आगो?
उसको मनको खुल्दुली कसैगरी पनि मेटिएन। टोल-छिमेकका केटाकेटी घुम्दै आए। जानेबुझेकाले हेरे र राति माओवादीले दरबार घेरेको, प्रहरी र सेनाका जवानले सकेसम्म वीरतापूर्वक लडेको र धेरै जनाले वीरगति पनि पाएको घटनाको बेलिबिस्तार लाए। उसले पनि थाहा पायो- जति लडे पनि केही सीप लागेनछ। हातहतियारै सकिएपछि के लाग्थ्यो र? अनि त के माओवादीको हुल भित्र पसेर एकएक जनालाई सोधपूछ गर्न थालेछ। सिडियो, डिएसपी आदि लाई समाउने र लिएर जाने उनीहरूको योजना रहेछ तर अचम्म के भएछ भने भित्र एकजना पनि सिडियो, एलडिओ, सभापति, डिएसपी भेटाएनछन्। जता गयो उतै पियन, भान्छे। जसलाई सोध्यो उही पियन, भान्छे। माओवादी पनि दङ्ग परेछन्- पियनै पियन, भान्छे भान्छे मात्र भएको दरबार देखेर।
सुन्दै र बुझ्दै गएपछि देशबन्धुका मनमा शङ्का जाग्यो-हाकिम हाकिमनी साहेब खै त? त्यत्रा हाकिम बस्ने ठाउँमा गएर पनि किन एकजना पनि हाकिम नभेटाएका त? के दरबारमा बस्नेहरू हाकिम थिएनन्? पुलिसका हाकिम, सेनाका हाकिम, अड्डा अदालतका हाकिम, नागरिकता बनाउने हाकिम, बाटो हेर्ने हाकिम, वन हेर्ने हाकिम, बिजुलीका हाकिम, बजारका हाकिम- अरुबेला त्यहाँ बसेका मान्छेलाई हाकिम भनेको सुनेको देशबन्धु अहिले जिल्ल परेको छ। उसका मनमा पीर छ यत्रो दरबार खालि पियन र भान्छेको मात्र पो रहेछ त। त्यसैले कसैले पनि जोगाउन खोजेनन् होला। कसैलाई पनि वास्ता भएन होला। भान्छे, पियन भनेका त हामी जस्तै त हुन् नि। तिनलाई जोगाउने को हुन्छ र? तिनको शरीर, तिनको सम्पत्तिको सुरक्षा गर्ने खाँचो कसलाई हुन्छ र? त्यसै भएर त होला तिनको दरबार जल्दा पनि जोगाउन कोही अघि सरेन। कुनै मोटर पानी लिएर निभाउन आएन। घाँटीमा रुमाल बाँधेका, हरियो कपडा लाएका, पाखुरामा राता ठाडा र तेर्सा चिनो भएका कपडा बाँधेका कोही आएनन्। ठिकै छ, एउटा हाकिम नभएको, एउटा सभापति नभएको यो जाबो दरबार, भान्छे र पियनको दरबार जलेर के भो त? यो जाबो भान्छे र पियनको दरबार कसले, किन जोगाउनु पर्थ्यो र जोगाओस् त? त्यसैले आगो लागेको हुन सक्छ। लागेका आगो पनि ननिभेको, ननिभाइएको हुन सक्छ।
Filed under: Articles, DR Aryal, Literature, Palpa