पोखरा र सेती नदी : डिल्लीराज अर्याल

पोखराको छाती निचोरेर निस्केको
दूध जस्तो सेतो जलमा
जब मेरो मन जान्छ
सेती नदीका किनारामा,
पोखराको बीच बजारमा उभिएर
त्यसलाई हेर्न चाहने मेरा आँखा
काखे बालकका झैं बन्न पुग्छन्।

मैदान पुगेको नदीको धार झैं
कहिले यता र कहिले उता गर्दै
कुनै निश्चित भागमा दृष्टि नै नदिएर
गहिराइको कुनै पत्तै नभएको
नदीको कुनै आवाजै नभएको जस्तो देखेर
सोच्न थाल्छु,
कसरी त्यत्रो गहिराइमा पुगेको हो ?
त्यो जमीन खोल्ने शक्ति कसरी जुटेको हो?
हेरीनसक्नुका गहिरा किनारा कसरी टुटेको हो?

सेतीसँग अनन्त शक्ति छ
सिन्चन र सिर्जन गर्ने शक्ति,
बिभाजन गरेर बीचमा बग्ने शक्ति
किनारालाई खसाल्दै, गहिर्याउँदै बग्ने शक्ति
म यो शक्तिसँग परिचित भए पनि
नजिकबाट राम्रै गरी चिने पनि
मनमा तर्क वितर्क चलिरहन्छ
र सोच विचार भइरहन्छ

सेती जति गम्भीर भएपनि
जति गहिराइमा रहे पनि
आफै सिर्जिएका किनाराले
बन्धनमा परेको छ
आफै बनाएको गहिराइले
उम्कनै नसक्ने बनाएको छ ।
के थाहा उसलाई आफै सिर्जेको बन्धनले
उसकै स्वतन्त्रता हरेको छ
उसकै उन्मुक्तता हरेको छ
अरु थुप्रै खेतहरूको हरियाली हरेको छ
र उसको शक्ति प्रदर्शनबाट
पटकपटक किनारामा पहिरो समेत झरेको छ
पोखराको वातावरणमा सन्त्रास भरेको छ,
कतै कोही खसेर मर्ने हो कि
भन्ने पीर परेको छ,

यसै हो भने किन बनाउनु दुर्लङ्घ्य किनार ?
किन गहि‍‍र्याउनु भूमि र भित्र भित्रै पुर्या उनु जलधार ?
किन छिप्नु भित्रभित्रै खुब भए झैं होशियार ?

email: dillirajaryal@gmail.com

Leave a Reply