(2007/10/29,Monday नयाँ पत्रिकाबाट)
(कांग्रेसका दिवंगत नेता बिपी कोइरालाले नेहरू मेमोरियल म्युजियम तथा लाइब्रेरीका डा. हरिदेव शर्मालाई २०३३ सालमा दिनुभएको ऐतिहासिक अन्तर्वार्ता क्रमशः प्रस्तुत गर्ने क्रममा आज हामीले अर्को भाग प्रस्तुत गरेका छौं। अन्तर्वार्ताको प्रतिलिपि नेपाली कांग्रेसका पुराना एवं समर्पित कार्यकर्ता पदमबहादुर थापाको अथक प्रयास र सहयोगले हामीलाई प्राप्त भएको हो। यस सामग्रीको मूल टेप र प्रामाणिक प्रतिलिपि नेहरू म्युजियममा सुरक्षित छ। थापालाई यी सामग्रीको प्रतिलिपि तयार गर्न विशेष सहयोग गर्नुहुने बिपीपुत्र शशांक र नेहरू म्युजियमका निर्देशक डा. विमल प्रसादप्रति ‘नयाँ पत्रिका’ फेरि पनि विशेष आभार प्रकट गर्दछ। कांग्रेसका चिन्तक नेता प्रदीप गिरीको चिठी र सहयोगकै कारण थापालाई यो सामग्री हासिल गर्न थप सजिलो भएकाले हामी गिरीप्रति पनि विशेष कृतज्ञ छौं। डा. शर्माले बिपीसँग दर्जनौं प्रश्न गर्नुभएको थियो। यसपटक हामीले प्रधानमन्त्री हुँदा बिपीले भारत र चीनसँगको सम्बन्ध सन्तुलित बनाउन कस्तो प्रयास गर्नुभयो भन्ने सर्न्दर्भ प्रस्तुत गरेका छौं। यी दुर्लभ दस्तावेज हामी क्रमशः प्रकाशन गर्दै जानेछौं। सं.)
तपाईंको विदेश नीति कस्तो थियो, खासगरी भारत र चीनप्रतिको धारणा ?
भारत र चीनको सम्बन्ध असहज भएको बेला म सत्तामा आएँ। स्थिति सन् १९५३ देखि नै विग्रँदै गएको थियो। तर, १९५९ मा नपुग्दै यो विस्फोटक बिन्दुमा पुग्यो। तपाईंलाई आश्चर्य लाग्ला, जवाहरलाल नेहरू असाध्यै कच्चा नेता थिए। म उनीसँग भारत र चीनको सम्बन्धबारे छलफल गर्थें, म प्रधानमन्त्री हुनुअघि पनि। चीनले तिब्बत कब्जा गर्नु भारतको सुरक्षाका लागि खतरा हो, मेरो भनाइ थियो। तर, लाख कोसिस गर्दा पनि नेहरूले यो कुरा बुझेनन्, बुझनै चाहेनन्। भारतप्रति आक्रामक बन्न चीन किन इच्छुक होला र ? उनको तर्क थियो। उनी भन्थे, ‘चीन आन्तरिक झमेलामा यति धेरै फसेको छ, उसले विदेशतिर आँखा लगाउने कोसिस पनि गर्नेछैन।‘
म जब प्रधानमन्त्री भएँ, राजनीतिक परिस्थिति बदलियो। एक दिन, काठमाडौंस्थित मेरो निवासमा नेहरू ‘लन्च‘का लागि आए, हामीले लामो कुराकानी गर्यौंन। मैले उनलाई बुझाउन खोजेँ, ‘चिनियाँ सधैं साम्राज्यवादी सोंचका छन्। उनीहरू आफूलाई विश्वको केन्द्र सम्झन्छन्। अब त त्यहाँ कम्युनिस्ट सत्ता छ, ऊसँग आक्रामक विचारधारा छ, उनीहरू चीनको पुरानो साम्राज्यवादी चिन्तन बोकेरै अघि बढ्न चाहन्छन्। उनीहरू समस्या सिर्जना गर्न चाहन्छन्। चिनियाँको आधारभूतरूपमै सोच्छन्- अरू सबै असभ्य हुन् र उनीहरू मात्रै योग्य शासक हुन्। अहिलेको कम्युनिस्ट सत्ताले त स्थिति झन् बिगारेको छ।‘
फेरि राज्यसम्बन्धी एउटा पुरानो भनाइ नै छ- एउटा ठूलो र शक्तिशाली राज्य आफ्ना सीमाहरूमा खुम्चिएर सन्तुष्ट हुन सक्दैन। ऊसँग विस्तारवादी तर्कहरू हुन्छन्। अझ राज्यभित्रै समस्या छन् भने त जनताको ध्यान मोड्न पनि उनीहरूले अन्तराष्ट्रिय झमेलामा हात हाल्छन्, अझ आक्रमण नै गर्छन्। विदेशीसँग लडाइँ-झगडा भयो भने जनता आफ्नो सरकारप्रति बफादार हुन्छन् र देशभित्र शान्ति हुन्छ। ‘त्यसैले कुनै पनि हालतमा चीन र भारतबीच तनाब बढ्छ,’ मैले नेहरूलाई भनेँ, ‘द्वन्द्व त हुन्छ हुन्छ, हामी र्सतर्क हुनुपर्छ।‘ तर उनले मलाई सुन्दै सुनेनन्। ‘चिनियाँ आफ्नै समस्यामा फसेका छन्‘ नेहरू रट लगाइरहेका थिए।
साँच्चै कठिन परिस्थितिमा म प्रधानमन्त्री भएँ। मेरो एउटा समस्या थियो, मेरो आफ्नै पार्टीले चीनले तिब्बत कब्जा गरेको विरोधमा प्रस्ताव नै पारित गरेको थियो। लोहिया र जयप्रकाशसँग सल्लाह गरेर हामीले यो प्रस्ताव पारित गरेका थियौं। तर, प्रस्ताव त्यति कडा थिएन, जे होस् प्रस्ताव त पारित भएको थियो र त्यो चीनको विरोधमा थियो।
हाम्रो यो कदमलाई चीनले कसरी हेछ, म बडो र्सतर्कतापूवर्क हेरिरहेको थिएँ। तर, जब म चीन गएँ र त्यहाँका प्रधानमन्त्रीसँग कुरा गरेँ, उनले हाम्रो अवस्था बुझे। उनले कुरा बुझेँ, कम्तीमा चीनले हाम्रो सीमाक्षेत्रमा कुनै समस्या सिर्जना गरेन।
भारतसँगको सम्बन्ध मैले राम्रो नै बनाइरहेको थिएँ, तर भारतीय सरकारमा पनि एउटा समूह थियो जसलाई लाग्थ्यो- म चीनसँग बढी लचिलो भइरहेको छु, उनीहरू मसँग खुसी थिएनन्। त्यसैले मैले आफ्नो स्थिति स्पष्ट पार्न नेहरूसँग कुरा गरेँ, उनीसँग मेरो अनौपचारिक कुराकानी पनि हुन्थ्यो। उनलाई मैले कुरा बुझाउन सकेँ। ‘ठीक छ, ठीक छ। मैले तपाईंको कुरा बुझेँ।‘
यसरी मैले सम्बन्ध दुवैतिर राम्रो बनाएको थिएँ। समस्या त्यस्तो केही थिएन न चीनसँग न भारतसँग। तर, फेरि पनि भारतमा केही मान्छे थिए जसले हामी चीनसँग नजिक छौं भन्ने सोच्थे।
अर्को रसियाबारे आर्श्चर्यजनक कुरा, ख्रुश्चेभ बडो इच्छुक थिए हामीसँग मित्रता गर्न। त्यतिबेला मार्शल बोरोसिलोभ सोभियत रसियाको राष्ट्रप्रमुख थिए। उनले नेपालको भ्रमण गरे। पछि खु्रश्चेभ पनि आए। हामीले निम्तो दिएका थियौं र उनी आउन आतुर थिए। मलाई लाग्छ, नेपालमा चीनको प्रभाव नबढोस् भन्नेमा रसिया र्सतर्क थियो। तर जसरी होस्, नेपालमा विदेशीहरूको राजनीतिक अभ्यासको मैदान बन्दै थियो, यो मेरो अनुभव हो।
खु्श्चेभसँग न्युयोर्कमा लामो कुराकानी गरेँ, सन् १९६० मा। उनी त्यति खुसी थिएनन्, उनलाई लागेको थियो- नेपालमा चीनको प्रभाव बढेको छ र भारत मौन बसेको छ। तैपनि न्युयोर्कको व्यस्त कार्यतालिकाबीच पनि उनले मलाई राम्रै समय दिए।
अमेरिका, वास्तवमै, हामीलाई सहयोग गर्न इच्छुक थियो। सन् १९६० अमेरिकाका लागि राष्ट्रपतीय चुनावको वर्ष थियो, त्यसैले उनीहरूले सहयोगका लागि ठोस प्रतिबद्धता व्यक्त गरेनन्। केनेडी राष्ट्रपति चुनिएर आए, त्यतिञ्जेल म जेल परिसकेको थिएँ।
परराष्ट्र नीतिलाई हेर्दा समस्या भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाइराख्नु साँच्चै चुनौतीपूर्ण थियो। हामीलाई बढी दबाब दिल्लीबाटै थियो। तर धन्य हुन नेहरू, जसले हाम्रा बाध्यता बुझिदिन्थे, त्यसैले समस्या थिएन। अनि, चिनियाँ त खुसी नै थिए, हामी उनीहरूसँग तनाव बढाउने पक्षमै थिएनौं। त्यसैले हाम्रो सम्बन्ध दुवैसँग मित्रवत् थियो। तर, मैले यहाँ भन्नैपर्छ, हाम्रो झुकाव चीनभन्दा भारततिरै बढी थियो। तर, हामीले आफूलाई सधैं बचाइरह्यौं, त्यसैले भारत कि चीन भनेर खुल्लम् खुल्ला पक्ष लिनुपर्ने अवस्था आएन।
चीनका तत्कालीन प्रधानमन्त्री चाउ एन-लाईको बारेमा तपाइंको धारणा कस्तो छ, तपाईंले त उनीसँग लामै कुराकानी गर्नुभयो नि !
चाउ एन-लाई असाध्यै संवेदनशील र विशिष्ट कूटनीतिज्ञ थिए। मैले उनलाई नजिकबाट बुझ्न पाएँ। उनी मसँग बिहान आठ बजेदेखि साँझ चार बजेसम्म धीर भएर बस्थे। त्यो बीचमा उनी ब्रेकफास्ट, लन्च, चिया र स्न्याक्स लिन्थे। उनी साँच्चै धैर्यवान थिए। तर, उनको स्वास्थ्य ठीक थिएन। म जहाँजहाँ जान्थेँ त्यहाँ उनी पुग्थे। त्यो उनको विशेषता थियो। यसले हाम्रो निजी सम्बन्ध पनि बढायो। राजनीतिक छलफललाई पनि उनी आत्मीय रङ दिन्थे। त्योभन्दा बढी उनीसँग जवाहरलाल नेहरूभन्दा बढी कूटनीतिक चरित्र थियो। चिनियाँ र भारतीय अभिजातबीच यो एउटा अन्तर थियो। चिनियाँ सालीन र शिष्ट थिए, त्यसैले उनीहरूस“गको सम्बन्ध सहज बन्दै गएको हो।
चाउ एन-लाई नेपाल आउँदा एउटा प्रेस सम्मेलन गरेका थिए। म पनि थिएँ। मैले उनको परिचय दिएको थिएँ प्रेसलाई। टन्डन भन्ने कुनै भारतीय पत्रकार पनि थिए त्यहाँ। उनले एउटा अप्ठ्यारो प्रश्न सोधिदिए, ‘नेपालसँग चीनको सीमा विवाद छ, कसरी सुल्झ्याउनुहुन्छ ?’
‘यो साथी-साथीबीचको विवाद हो। त्यसो त यो विवाद नै हो भन्ने हामीलाई लाग्दैन। हामी सीमांकन गर्न चाहन्छौं। तर, तपाईंले भनेजस्तो विवाद भने केही छैन‘ चाउएनको जवाफ थियो। टन्डनले अर्को प्रश्न गरे, ‘तपाईंले नै भन्नुभएको थियो केही सय वर्ग माइलमा विवाद छ भनेर। केही पकेट क्षेत्रको पनि कुरा गर्नुभएको थियो।‘
यसपालि भने उनले अलि कडा जवाफ दिए- ‘विवादै भए पनि भारतले टाउको दुखाउनुपर्दैन। चीनको आफ्नै विशाल जमिन छ। भूगोलका हिसाबले यो धेरै ठूलो राष्ट्र हो। हामीसँग केही सय माइल जमिन भए पनि नभए पनि हामीलाई केही फरक पर्दैन। यदि नेपाल चाहन्छ भने हामी त्यो जमिन दिन तयार छौं। मित्रका हिसाबले पनि हामी दिन सक्छौं। यो भारतको विषय होइन। हामी दुइ मित्रबीचको मामिला हो। नेपालले जे मागे पनि हामी दिन तयार छौं।‘
उनले यसो भनेपछि म उनीतिर फर्केर मैले उनको कुरा ‘नोट‘ गरेको थिएँ। पछि मैले त्यो कुरा आफूलाई चित्त नबुझेको जानकारी दिएँ। उनले भने, ‘तपाईंले भन्न खोजेको कुरा म बुझ्छु, सीमासम्बन्धी प्रश्नमा तपाईंलाई कुनै अप्ठ्यारो नहोस् भन्ने नै मेरो आशय थियो।‘ उनको शैली यति सहज थियो।
तर, सगरमाथाका सवालमा केही समस्या थिए। किनकि सगरमाथा चीनको हो भन्ने दाबी थियो उनीहरूको। हामीले यो हाम्रो साइडमा पर्छ भनेका थियौं। बहस चल्दै थियो। माओ त्सेतुङसँगको प्रेस सम्मेलनमा पनि यो कुरा उठाएका थियौं हामीले। उनले भनेका थिए, ‘माउन्ट एभरेस्ट त विदेशी नाम हो। कसरी तपाईंहरूको हुनसक्छ ? आफ्नो भाषामा नाम त दिन सक्नुभएको छैन। अनि कसरी हाम्रो हो भन्ने दाबी गर्नुहुन्छ तपाइंहरू ?’
‘तिमीहरूको पनि आफ्नो नाम कहाँ छ ?’ मैले प्रतिवाद गरें। एभरेस्टको चिनियाँ नाम ‘चोमोलोङ्मा‘ भएको उनले बताए। मैले चोमोलोङ्मा चिनियाँ नभई तिब्बती नाम भएको सम्झाएँ। तर उनले अडान छाडेनन्। तिब्बत अब चीनको भू-भाग भएको उनको तर्क थियो। मैले नेपाली भाषामा माउन्ट एभरेस्टको नाम ‘सगरमाथा‘ हो भन्ने बुझाउन खोजेँ। उनले त चीनले पनि यसलाई सगरमाथा भन्ने गरेको दाबी गरे। पछि माओले एभरेस्टका लागि दुवै मुलुकसँग नाम नभएकाले ‘फेन्डसिप पिक‘ नाउँ दिऊँ भने। यसबारे एउटा संयुक्त आयोगले निर्णय गर्ने भयो। कमिटी पनि गठन गरियो र यसले तत्कालै काम सुरु गर्यो।
सीमारेखा चुचुरोबाट पास हुनुपर्छ भन्ने मलाई लागेको थियो। चिनियाँले अर्को उपाय ल्याए- एभरेस्ट जाने कुनै पनि पर्वातारोहीले दुवै साइडबाट अनुमति लिनुपर्ने। कुनै टोली नेपाल भएर जान्छ भने चीनको पनि स्वीकृति लिनुपर्ने भो। हामीलाई यो मान्य थिएन। त्यसो हो भने कुनै विदेशीलाई पर्वतारोहण अनुमति दिन्नौं भन्यौं हामीले। मैले स्पष्ट शब्दमा ‘हुन्न‘ भनें।
‘कोही तिमीहरूको साइडबाट आउँछ भने अनुमति दिने नदिने तिमीहरूको कुरो भो। कोही हाम्रोबाट आउँछ भने यो हाम्रो अधिकार भित्र पर्यो ‘ मेरो अडान थियो। यही विकल्प स्वीकृत भयो। त्यसैले यसमा खास समस्या भएन।
ल्हासा-काठमाडौं सडकमा भने उनीहरूको ठूलै चासो थियो। कोदारी-काठमाडौं सडक निर्माण गर्नुपर्छ भनेर उनीहरू निकै जोड दिइरहेका थिए। म सहमत थिइन। आर्थिक हिसाबले पनि यो उपयुक्त थिएन। हामीलाई आवश्यक पनि थिएन। त्यसैले त्यो प्रस्ताव मैले मानिनँ। त्यहाँ खर्च हुने पैसाले त्यो क्षेत्रको विकासमा कुनै योगदान दिँदैनथ्यो। त्यो पैसा अरू परियोजनामा खर्च गर्न सकिन्थ्यो। तर, उनीहरू जोड गरिरहेका थिए। मलाई लागेको थियो- उनीहरू यो सडक सैन्य प्रयोजनका लागि बनाउन चाहन्थे। मैले त्यति आवश्यक छैन भन्ने सम्झाएँ। र, यसलाई रोकें।
जवाहारलाल नेहरूबारे के छ नि तपाइंको मूल्यांकन ?
व्यक्तिगत रूपमा ?
हो, तपाईं प्रधानमन्त्री भएपछि नेहरूसँगको सम्बन्ध कस्तो रह्यो?
नेहरूबारे मेरो सम्झना निकै सुखद् छ। मेरो परिवार, श्रीमती र सरकारी मामिलामा समेत उनले गहिरो सुझबुझ, मित्रता र मानवीय गुण भरेका छन्। म तपाईंलाई एउटा उदाहरण दिऊँ। बेलायतीराजदेखि नै भारतका कारण हामी पीडित भएको एउटा समस्या थियो- नेपाल-भारतबीचको व्यापारिक सन्धि। यो समस्या अझै समाधान भएको छैन। सत्तामा आउँदा हामीसँग ठूलो आकांक्षा थियो। हामी साना उद्योगको विकास गर्न चाहन्थ्यौं। भारतीय पुँजी पनि आकषिर्त गर्नु थियो। यसलाई अलिकति उत्साही बनाउनुपर्ने थियो। भारतीय पुँजीपति नेपालमा लगानी गर्न आँतुर थिए। घनश्यामदास बिरला, शान्तिप्रसाद जैन, मोदी र टाटाजस्ता व्यापारिक घरानासँग हामी सर्म्पर्कमा थियौं। ती सबै नेपाल आउन चाहन्थे।
फेरि त्यतिबेला भारतमा दुइ-तीनवटा समस्या थिए। पहिलो राष्ट्रियकरणको खतरा, दोस्रो आयकर र विभिन्न खाले नोकरशाही जटिलता। जैनले आफ्ना सबै कलकारखाना त्यहाँबाट निकालेर यहाँ लगानी गर्न चाहन्थे। तर घनश्यामदास बिरला हिच्किचाएका थिए। त्यसैले नेहरूसँगको संवादमा नेपालमा उत्पादित सामानले भारतमा स्वतन्त्र प्रवेश पाउनर्ुपर्छ भन्ने माग राखें मैले। बिरलाले नेपालमा कपडा कारखाना खोले त्यसको मुख्य बजार भारत हुनुपर्थ्यो किनकि नेपालको बजार त निकै सानो छ। समस्या अरू पनि थिए। तर, यो नै मुख्य थियो।
मैले व्यापार सन्धिको विरोध गरेँ। ‘यो असमान सन्धि हो। तिमीहरूमात्र यसको फाइदा लिइरहेका छौं। तिमीहरू हाम्रो देशको विकास चाहन्छौ भने हामीलाई पनि फाइदा दिनुपर्छ,’ मैले भारतीयलाई भनेँ। तर, उनीहरूले मेरो अनुरोध अस्वीकार गरे।
म अर्कै विषय लिएर दिल्ली पुगेको थिएँ। राजाले लामो समयदेखि दबाब दिएका कारण व्यापार सन्धिबारे नेहरूसँग छलफल गर्ने विचार गरेँ। भाग्यले भनौ या दुर्भाग्यले त्यतिबेला यो विषयका सचिव एलके झा थिए। उनी वनारसमा मेरा सहपाठी थिए। उनी पछि कश्मीरका गभर्नर भए। तर, एलके पनि सहमतिमा आएनन्। त्यसपछि बिहान नेहरू राष्ट्रपति राजेन्द्रबाबूको निवासमा आए। म त्यहीं बसेको थिएँ।
नेहरूले ‘के समस्या छ ?, म के सहयोग गर्न सक्छु ?’ भनेर सोधे। मैले नेहरूलाई समस्या बताएँ। उनले ‘तपाईंले आफ्नो समस्या आफैं समाधान गर्नैपर्छ, त्यसले तपार्इंलाई राष्ट्रवादी छवि बनाउन मद्दत गर्छ, त्यस समस्यालाई तपाईंले स्वागत गर्नुपर्छ, हामी तपार्इंको राष्ट्रवादी छवि बिर्गान चाहँदैनौँ‘ भनेर सुझाव पो दिए।
नेहरू मित्रवत् थिए। उनी समझदार पनि थिए। तर, मैले भनेँ, ‘मेरो वर्तमान समस्या यस्तो छ। यो समस्याले मलाई अप्ठ्यारोमा पारिरहेको छ।‘
उनले भने, ‘हो, मलाई थाहा छ। तर भारतको समस्या के छ भने तपाईं वा अन्य कुनै व्यक्ति नेपालको सत्तामा आए हाम्रो मित्र नै रहन्छ। र्सत एउटा मात्रै छ- उसले भारत र नेपालबीचको सन्धि उल्लंघन गर्नुहुँदैन।‘
भारतविरोधी सरकारमा आए उसले सन्धि मान्दैन भन्ने उनको तर्क थियो। ‘त्यस्ता मान्छे नेपालको सत्तामा आए भने हङकङ वा अन्य मुलुकबाट सामान आयात गर्छन् र त्यसमा नेपालमा बनेको भनेर छाप लगाउँछन्, नेपालमा सामानको प्रशोधन गर्छन्। र, सन्धिको फाइदा उठाउँदै सामानलाई भारततर्फनिर्यात गर्छन्‘ उनी भन्दै थिए, ‘राजाको शासनले पनि यस्तै गर्योछ। उनीहरूले सेन्थेटिक फाइबर, सेन्थेटिक यार्न, खिया नलाग्ने स्टिलका भाँडाकुडा र ब्लाङकेटमा त्यस्तै गरे। उनीहरूले जापानबाट आयात गरेको कच्चापर्दाथलाई नेपालमा प्रशोधन गरेर भारतमा निर्यात गरे। तिब्बतसँग यो कमजोरी छ।‘
म जहिले पनि औपचारिक भारत भ्रमणमा जान्थेँ, नेहरूले मित्रवत् पाहुनाको व्यवहार गर्थे। एकचोटि म श्रीमतीसँग गएको थिएँ। मेरी कान्छी छोरी त्यस समय सानै थिई, त्यसैले हामीसग गएकी थिइन्। इन्दिराजीले एयरपोर्टबाटै हाम्री छोरीलाई लिएर गइन्।
जब हामी दिल्ली छाड्यौँ, बिदाइ कार्यक्रम प्लेटर्फममा नै गरिएको थियो। हामी ट्रेनबाट फिर्ता आएका थियौँ, विशेष ट्रेनको व्यवस्था गरिएको थियो। ट्रेनका हरेक कम्पार्टमेन्टसहित सबै बाथरुमलाई गार्डले निरीक्षण गरेका थिए। त्यसैले यो घटना एकदमै आत्मीय लाग्छ। लाग्थ्यो, उनीहरू एकदमै नजिकका मित्रलाई बिदाइ गर्दैछन्।
तपाईंहरूबीच अरू पनि असहमति छन् ?
प्रधानमन्त्रीको हिसाबमा मेरो नेहरूसँग कुनै असहमति छैन। तर, त्यसभन्दा पहिले तिब्बतको विषयमा हामीबीच विमति थियो। चीनको भूमिकालाई लिएर हामीबीच असहमति थियो। पचासको दशकको अन्त्यतिर हामीबीच खासै विवाद थिएनन्। आर्थिक विकासको मोडलबारे भने हाम्रा राय मिल्दैनथ्यो। तैपनि यसबारे हामीले विवाद गरेनौं।
नेहरूले सोभियत शैलीको मोडल पछ्याउन खोज्दै थिए। उनी समाजवादीभन्दा पनि कम्युनिस्ट अर्थतन्त्रलाई महत्त्व दिन्थे। त्यसमा मेरो विमति थियो। तर, त्यस विषयमा पनि विवाद नै चाहिँ भएन।
Filed under: BP Koirala, Historical Documents, History, Interview, Jawaharlal Nehru, Jayaprakash Narayan, Personality, Politics

Those who has initiated to put this content to this blog, I would like to heartly thank contributers. I salute B P Koiralas personality all the time.