
भान्सा घरमा, प्रकाश गुरूङ
लेख्ने विषयहरू त थिए र छन् तर, संसार नै कस्तो भएछ भने, आफ्नो पक्षमा लेखिएको वा बोलिएको कुरा सुन्ने, पढ्ने वा मन पराउने र आफ्नो विपक्षका आएका उपयुक्त तर्कलाई पनि नमानि दिने। अर्थात्, जसरी होस्, जसले भनेको वा लेखेको होस् त्यो कुरा आफ्नो पक्षमा हुनु पर्ने र आफूलाई वा आफ्नो पक्षलाई राम्रो भनिएको हुनुपर्ने। एउटा मान्यता छ, अरूको तर्क नसुन्ने वा सुने पनि अरूको तर्कलाई नमान्ने र आफूले भनेको कुरा नै उपयुक्त हो भन्ने अहमता प्रदर्शन गर्ने वानी साउथ एशियनहरूमा बढि हुने गर्छ। खासगरी पश्चिमा मुलुकमा दिइने शैक्षिक ज्ञानले Rationality को कुरा गर्छ र गाली गर्नमा होइन, तर्क गर्नमा जोड दिन्छ। तर, कतिपय कमेन्टहरू हेर्दा भने यो मान्यतालाई झुट सावित गर्छ। यसको अर्थ पश्चिमा मुलुकका शिक्षा पाउनेहरू सबैले उक्त व्यवहार अपनाउनु पर्छ र अपनाएका छन् भन्ने पनि छैन र साउथ एसियन हुँदैमा तर्कका आधारमा कमजोर हुन्छन् र उनीहरू तर्कले जित्ने भन्दा पनि अरूले भनेको कुरालाई कुनै कलेवरमा ढालिदिएर जितिदिन्छन् भन्ने पनि होइन। त्यसो त हामीहरूले पनि प्रत्येक तर्कलाई कुनै कलेवरमा ढालिदिएर उक्त तर्कहरूलाई वेकारका बनाइदिन्छौं। जस्तै- ए, त्यो कुरा त बाहुनले भनेको, त्यो कुरा त नेवारले भनेको, अथवा गुरूङले भनेको, मधेशी नेताले भनेको, राजावादीले भनेको वा माओवादीले भनेको। यसरी अरूले गरेको तर्कलाई कुनै जात, क्षेत्र, धर्म वा पार्टीको कलेवर लगाइदिए पछि उसलाई तर्क गरेर जित्नु पर्दैन र उसले भन्दा धेरै पढ्नु वा जान्नु पनि पर्दैन। जनतालाई मुर्ख बनाउने यो भन्दा अन्य उपयुक्त विकल्प हामीसँग छैन।

तान्तिङबाट विहान देखिएको सिकलेस गाउँ र अन्नपुर्ण हिमालको दृश्य
कुनै समाचार सुन्नासाथ हामीले समाचारको गम्भिरतालाई ध्यान दिदैनौं। वरू हामीले सोध्छौं कि उक्त समाचार कसले भन्यो, त्यसपछि आफ्नो मान्छेले भनेको भए त्यसलाई पत्याउने र अरूले भनेको भए नपत्याउन शुरू हुन्छ। नयाँ नेपालका कुरा गरेर नथाक्ने हामीहरूमा मानसिक रूपले कुनै परिवर्तन आएको छैन। हिजो जे पढेका, बुझेका थियौं, आज पनि त्यहीँ बुझेका जानेका वा त्यसैलाई लिएर आफ्नो धारणा राखिरहेका छौं। कुनै कुरामा नविनता छैन, कुनै कुरामा नयाँ सोचाइ छैन र जिन्दगीमा कुनै नयाँ कुरा गरौंला भन्ने पनि छैन। तर, दोष कहिले शिक्षालाई, कहिले सरकारलाई, कहिले संस्कृतिलाई, कहिले धर्मलाई, कहिले आफ्नै आमा-बालाई, कहिले क्षेत्र वा जातलाई दिने गर्छौं। मान्छले गर्न चाह्यो भने कति सम्म गर्न सक्छन् र एउटा मान्छेले चाहे पनि गाउँ र समाजमा कतिसम्म परिवर्तन हुन सक्छ भन्ने कुराको उदाहरण कास्किको तान्तिङ गाउँ हो र यस गाउँको विकास, निर्माण र परिवर्तनको श्रेय प्रकाश गुरूङलाई जान्छ। यो गाउँ विकास, निर्माणका लागि प्रकाश सरले कुनै नेतालाई गाली गर्नु परेन। कुनै धर्म, संस्कृति, सम्प्रदाय वा राजनीतिक पार्टीहरूलाई वा राजालाई नै पनि गाली गर्नु परेन। वहाँलाई आफ्नो कर्तव्य र सामाजिक उत्तरदायित्वका वारमे ज्ञान भयो, वहाँले यसका लागि पहल गर्नु भयो र सबै कामहरू भएका छन्। आखिर हामीले चाहेको परिवर्तन यस्तै होइन र? आखिर, गाउँलेसँग मिलेर काम गर्न खोज्यो भने एकजनाले चाहे पनि गाउँमा धेरै परिवर्तन र सुधार गर्न सकिदोरहेछ।
तान्तिङ गाउँ
फेरि, हामीहरूले अरूलाई गाली गर्न र आफुले गर्न नसकेको कामको दोषपनि अरूलाई बोकाइरहेका छौं? के साँच्चै हामीहरू हामी आफैसँग विश्वस्त छैनौं? के हामीले हामी आफैलाई विश्वास गर्न सकेका छैनौ? शायद यसैले त हामीहरूले सबै कुरामा अरूहरूलाई दोष दिइरहेका हुन्छौं। अन्य कारणलाई आफुले गर्न नसकेको कामको लागि अर्घेलो देखीरहेका हुन्छौं। के साँच्चै हामी भूपि शेरचनको कविताले भनेजस्तै फगत पाइतला हौं?
पाइतला: जसको भरमा शरीर उभिन्छ
पाइतला: जसको आधारमा शरीर हिँड्छ
पाइतला: तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दयार गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातिले तक्मा टाँस्छ
हाम्रो टिका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ।
हाम्रो तक्मा टाँस्ने छाति अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिड्ने र दगुर्ने पाइतला हौं
केवल पाइतला
र फगत पातला।

तान्तिङमा रहेको हिमालय मिलन मावि
प्रकाश गुरूङ कतै विदेशबाट आएको होइन। वहाँको सोचाइ कुनै विदेशी पढाइ वा बुझाइबाट प्रेरित पनि छैन। विशुद्ध गुरूङ गाउँ, गुरूङ परिवारमा जन्मिएका प्रकाशजी र हाम्रो संस्कृति, पढाइ-लेखाइ, अन्य चाल-चलन, सामाजिक-आर्थिक परिस्थिति केही कुरामा भिन्न छैन। तर, वहाँ र हामीमा एउटा कुरामा भने आकाश जमिनको रहेको छ। वहाँले गाउँमा बसेर काम गर्नु भएको छ र वहाँलाई आफ्ना गाउँलेहरूले मात्र होइनन्, छिमेकी गाउँलेहरूले पनि श्रद्धा गर्छन्, आदर हेर्छन्, माया र सम्मान गर्छन्। हामी के-के न जाने, बुझेका र देशका वारेमा ठूला-ठूला कुरा गर्ने तथा चिन्ता गर्नेहरूले अरूलाई गाली गर्ने, आफुले बाहेक सारा संसारले बुझेको छैन भन्ने सोच्ने र देश, समाज वा आफ्नो गाउँ-छिमेकको लागि केही पनि नगर्ने बनिरहेका छौं।
तान्तिङ गाउँ, अर्थात् नामार्जुङ गाविसको वार्ड नं १,२,३,४ र ५। मोटरबाटो पुगेको ठाउँबाट हिडेर जाने हो भने करिब ३ घण्टाको बाटो। गुरूङहरूको वस्तिमा केही दलीतहरूको घर नभएको होइन। तर, यहाँका दलीतहरूलाई अन्य ठाउँका दलीतहरूलाई जस्तो न त कुनै अपमानबोध छ न त कुनै पीडा नै सहनु पर्छ। दलीत बालबालिकाहरूलाई विद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ र विद्यालयमा पढ्न लगभग अनिवार्य छ। हिमालयन मिलन माध्यमिक विद्यालयमा भर्ना भएपछि SLC को तयारीका लागि एक वर्ष होस्टलमा बसेर पढ्नु पर्ने नियम बनाइएको छ। खासगरी गाउँघरमा घरमा बसेर SLC तयारी गर्नु पर्दा घरायसी कामहरूले पिरोल्ने भएकाले उक्त समयका लागि विद्यार्थीले होस्टलमै बस्नु पर्ने र पढ्नु पर्ने नियम बनाइएको हो, भन्नु हुन्छ उक्त विद्यालयका प्रधानाध्यापक श्री गुरूङ।

तान्तिङ गाउँ र छेउमा देखिएको विद्यालय
आफ्नो ठाउँलाई गर्न चाह्यो भने र गर्न खोज्यो भने एउटा मान्छेले मात्र पनि कति धेरै गर्न सक्दोरहेछ भन्ने कुराको उदाहरण हो यो तान्तिङ गाउँ र यहाँका प्रकाश गुरूङ। गाउँको हेल्थपोष्ट ठीक १० बजे खुल्छ। गाउँका साना नानीहरूका लागि चाइल्ड केयरको व्यवस्था गरिएको छ। यहाँ नानीहरूलाई खेल्दै पढ्ने वातावरणको सृजना गर्ने गरिन्छ। त्यसो त यस्तो भिरालो पहाडमा दुई-दुईवटा भलिवल कोर्ट र बास्केटबल कोर्टले हामीलाई अचम्मित नपारेका होइनन् तर इच्छा भए प्रकृतिसँग पनि त केही हदसम्म लड्न सकिदोरहेछ भन्ने लाग्यो हामीलाई। प्रकृतिलाई नै जित्न सक्ने भए त फुटबल ग्राउण्ड पनि बन्दो हो यो गाउँमा, तर त्यो त्यति सम्भव छैन। त्यसो त नयाँ पुस्ताको पलायन र विदेश भासिने रोगले यो गाउँलाई पनि नसताएको होइन। प्रकाश गुरालाई सघाउने र वहाँ पछि गाउँको नेतृत्व गर्ने र गाउँलेको मनमा भिज्ने तथा गाउँलेको चाहना अनुसार काम गर्ने तथा शैक्षिक स्तर बढाउने मान्छे जन्माउन आवश्यक देखिन्छ यो गाउँले। विजुली, पानी, शिक्षा, स्वास्थ्य सबै समाधान भएको छ यो गाउँमा, सबै गाउँलेको प्रयासबाट। त्यो भन्दा अचम्म लाग्ने र गौरव गर्नु पर्ने कुरा त के छ भने, यहाँ बाहिर वा बजारबाट कुनै केमिकल लगेर सागसब्जी वा अन्न उत्पादन गर्न पाईँदैन। बजारबाट भित्रने कुखुरालगायतका अन्य आयातित मासुहरूलाई पनि यहाँ प्रतिवन्ध लगाइको छ र गाउँमै भएका सागसब्जी, अन्नपात तथा मासुको प्रयोग गर्नु पर्ने नियम छ। गाउँको ठीक पारिपट्टि गुरूङहरूको सबैभन्दा ठूलो गाउँको रूपमा रहेको सिकलेस देखिन्छ भने सिकलेसको छेउमा अन्नपुर्ण हिमाल सधैभरि मुस्कुराइरहेको देखिन्छ। यो नै कास्की जिल्लाको बोर्डर हो।

तान्तिङबाट सिकलेसजाने बाटोबाट देखिएको विहानको हिमाली दृश्य
मान्छेले चाह्यो भने धेरै कुरा गर्न सक्छ भन्ने कुराको उदाहरण प्रकाश गुरा र तान्तिङ गाविस हो। प्राय: गुरूङ भाषा बोलिने यस गाउँमा गुरा शब्दको विशेष महत्त्व छ। यो नमस्कार भने होइन, तर प्रत्येक गुरूहरूलाई विद्यार्थीहरूले बाटोमा भेट्दा गुरा भनेको सुन्न पाइन्छ। गुरा भन्दा नमस्ते गर्दा जस्तो हात जोड्नु भने पर्दैन।यसले शिक्षक र विद्यार्थी विचको सम्बन्ध झल्काउने गर्छ।
मलेशियामा २०२६ सालमा जन्मेका गुरूङलाई मात्र होइन गाउँलेलाई पनि एउटै पीरले सताउने गर्छ। के भविष्यको पुस्ताले समाज, राष्ट्र, आफ्नो जाति, संस्कृतिप्रति उत्तिकै आस्था, विश्वास व्यक्त गर्लान्? गाउँबाट, शहर र शहरबाट विदेश पलायन हुनेहरूले गाउँका बारेमा चिन्ता गर्दैमा र गाउँका वारेमा ठूला-ठूला गफ गर्दैमा गाउँको सामाजिक, आर्थिक, राजनीतिक स्थिति सुध्रिएला? आखिर गाउँको हाँसो वा पीडा दुवै कुरा गाउँका मान्छेलाई मात्र थाहा हुन्छ। बाहिरकाले त फगत, यो भएन, त्यो भएन, यस्तो गर्नु पर्ने, उस्तो गर्नु पर्ने, यसले गरेन, त्यसले गर्यो आदि-आदि भनेर कराउनु भन्दा अर्को केही गर्न सक्नेछैनन्। अन्त्यमा प्रकाश गुरा र वहाँका सहयोगीहरू सबैको सफलता कामना र वहाँको प्रयासकालाई अभिवादन गर्दै नयाँ नानी-बाबुहरूबाट केही आफुजस्तै गुरा जन्माउन सक्नुहोस् भन्ने सुभेच्छा।
(गुरा शब्दलाई नेपाली भाषामा प्रयोग गर्दा वास्तविक अर्थ नलागेको भए, त्यो मेरो भुल हो, यसका लागि यहाँहरूसँग माफि चाहन्छु।)
Filed under: Articles, Culture, Development, Environment, Memory, Personality, Place, Plant and Pictures, rural custom