इतिहास लेखनमा सवअर्ल्ट्रन स्टडिज : रञ्जित गुहा

Ranjit Guha

(The Subaltern Studies group was founded in India in 1982 by Ranjit Guha, an Indian historian and Economist)

म आन्दोलनरत वामपन्थी खेमामा थिएँ र सक्रिय कार्यकर्ता पनि थिएँ। जुन खेमामा भएपनि साम्राज्यवादविरोधी भएको नाताले हामी सबै राष्ट्रवादी थियौं। “स्वराज” को लडाइँको त्यस चरणमा बढ्दो असन्तोषको तीब्रताको बेला हामी सुन्दर भविष्यको कल्पनामा उत्साहित थियौं। हाम्रा लागि स्वाधीनता कसैले परिभाषित गरे जस्तो थिएन; यो त कम वा वेसी सुनौलो भविष्यको साझा अभिप्राय थियो, तर हामीले चाहे जस्तो भविष्यको आगमन भएन। त्यसले नै फेरि निराशा ल्यायो तर त्यो निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न थियो। मैले ‘एन एन्थोलोजी अफ सवअर्ल्ट्रन स्टडिज: अ रिडर’ को परिचयमा कसरी पुराना पुस्ताको निराशा नयाँ पुस्ताको भन्दा भिन्‍न छ? भनेर केही हदसम्म बताउने प्रयास गरेको छु। नयाँ पुस्ताका प्रतिनिधि सहिद अमिन, ज्ञान पाण्डे र अन्य जसले मसँग काम गरे आदिलाई के आशा गर्ने? भन्‍ने पनि थाहा थिएन तर उनीहरूले पनि धेरै आशा गरेका थिए, त्यसैले नयाँ पुस्ता निराश थियो। निराशाको सर्वव्यापी परिस्थितिको त्यही संरचनाले नै मेरो बीचारलाई आकार दियो।

मेरो आफ्नै विशिष्ट प्रकारको बौद्धिक इतिहास थियो जसले मलाई विगतप्रति प्रश्‍न गर्न लगाउँथ्यो र त्यसको केन्द्रमा थियो- राष्ट्रवादको समस्या। राष्ट्रवादको प्रश्‍नमाथि म एक शब्द पनि नलेखी लगातार काम गर्दै रहेँ। सन् १९६३ तिर जब म सिकागोबाट फर्किएँ र आर्थिक इतिहासकारको रूपमा परिचित भएँ मैले मेरो सोचलाई बदल्न थालेँ किनभने आर्थिक इतिहास मलाई कम रुचिकर लाग्न थाल्यो। त्यसका दुईवटा कारण थिए- पहिलो हामी भारतीय प्राज्ञहरू जुन प्रकारको आर्थिक इतिहास मान्थ्यौं, नढाँटी भन्दा त्यो लेखनमा केही मान्छेलाई भेट्नु, तथ्य बटुल्नु वा सामग्री संकलन गर्नु मात्र थियो। यस प्रकारको इतिहास लेखनप्रतिको मेरो असन्तोषले प्रष्ट पार्‍यो कि यो धेरै सजिलो इतिहास लेखन भयो। म बौद्धिक इतिहास लेखनको अलिक जटिल काम तर्फलागेँ।

त्यसो भएपनि आर्थिक-इतिहासप्रतिको मेरो बढ्दो असन्तोषको कारण भने अर्कै थियो। मलाई लाग्यो एक आर्थिक इतिहासकार जब आफ्नो विषयमा दक्षता हासिल गर्नेछ त्यो बढी अर्थपूर्ण हुनेछ। अर्को शब्दमा, उसले गहन आर्थिक आदर्शको विकास गरेको होस् र उसमा तथ्याङ्कशास्त्रका साधन र विधिको पर्याप्त ज्ञान होस्। म अमर्त्य सेन लगायतका विख्यात युवा अर्थशास्त्रीहरूलाई चिन्दथेँ। उनीहरूको संगतमा लामो समय बिताएको पनि थिएँ तर उनीहरूको दिक्कलाग्दो ‘ट्रेड डाइलग’ बाट म कमै प्रभावित भएँ। अमर्त्य सेन जस्ता विद्वान पछि आर्थिक सिद्धान्तलाई दार्शनिक सिद्धान्तसँग समायोजन गर्नु पक्‍कै पनि राम्रो कुरो थियो तर म अहिले १९५० को दशकको अन्तिम तथा १९६० को सुरुको कुरा गर्दैछु।

मेरो दिमागी झुकावले हो वा भारतीय आर्थिक-इतिहासको सतहीपनले हो म यहाँ गरिने अभ्यासबाट बिस्तारै साहित्यतर्फ आकर्षित हुन थालेँ। साहित्यले मेरो बौद्धिक विकासमा विशेष भूमिका खेलेको छ। सानो छँदा यसका विभिन्‍न कारणले निर्णायक प्रभाव पारेको थियो जो आजसम्म पनि चलिरहेको छ। मेरा धेरै समालोचकहरू जो साहित्यिक आग्रहलाई दुर्वोध्य ठान्छन् मेरा कृतिहरूलाई अलिबढी साहित्यिक, अलि पठनीय तथा भाषामा बढी केन्द्रित भएको पाउँछन्। म चाहन्छु – उनीहरूले मलाई माफ गरुन् किनकि मसँग भएको त्यो बालक आज पठ्ठो बिद्वान भएको छ र यो अझ पनि बढीजसो कविताबाटै प्रेरित छ।

म आर्थिक-इतिहासबाट बिस्तारै छुट्टिएँ यद्यपि म कुनैबेला ‘इण्डियन इकोनोमिक हिस्ट्री रिभ्यू’को बोर्ड सदस्य समेत थिएँ। खासगरी भारतीय राष्ट्रवादको प्रश्‍नमा महात्मा गान्धीको प्रमुख भूमिकाको सन्दर्भ लिएर म आकर्षित हुँदै थिएँ। म सन् १९६३ को बर्षादेखि १९७० र त्यसपछि पनि भारतीय राष्ट्रवाद र मुख्य रूपमा महात्मा गान्धीको आदर्श र जीवन बृतान्तको विद्यार्थी बनेँ। मैले गुजरातका केही क्षेत्रमा अनुसन्धान गरें साथसाथै ‘खेरा अभिलेखालय’मा काम गरेँ। सन् १९७०मा यो रुचि त्यो विन्दुसम्म पुग्यो जुनवेला म गान्धीकाबारेमा एकभन्दा बढी पुस्तकका भागहरू लेख्‍न तयार थिएँ।

मलाई एक ठूलो प्रकाशकले गान्धीका बारेमा ६ भाग पुस्तक लेख्‍न अनुवन्ध पनि गरेको थियो। यो भिन्‍न कुरो हो कि मैले यो लेखिन तर ‘सवअर्ल्ट्रन’ को खाका राष्ट्रवादमाथिको एक दशक भन्दा बढीको अध्‍ययन तथा सोचपछिको परिणाम हो। मेरो मष्तिस्कमा आएको अर्को प्रश्‍न थियो- गान्धी र राष्ट्रियताको अवधारणा बिचको फरक जुन अवधारणा ‘अहिंसा’ र ‘गान्धीवादी’ आन्दोलनमा केन्द्रित थियो। मलाई यो स्पष्ट छ भन्‍ने लाग्थ्यो तर यसले एक अस्पष्ट प्रश्‍न जन्मायो। मेरो जिज्ञासा थियो कि कसरी राष्ट्रिय कांग्रेस पार्टी तथा महात्मा गान्धी आफैले नेतृत्व गर्नुहुने आन्दोलनहरूमा पनि मानिसहरू सौम्य भएर भाग लिन्थे? यद्यपी राष्ट्रिय र कहिलेकाहीँ स्थानीय स्तरमा आह्वान गरिएका बृहत् आन्दोलन हिंसामा परिणत हुन्थ्यो र कांग्रेसको आन्दोलनलाई गान्धी स्वयंले रोक्थे? असहयोग आन्दोलन र नागरिक अवज्ञा आन्दोलन दुवैमा ‘चौरीचौरा’ यसको ज्वलन्त उदाहरण थियो र यस्ता अन्य थुप्रै उदाहरणहरू पनि थिए।

यो प्रश्‍न मेरो मस्तिष्कमा लामो समयसम्म रहिरह्यो। प्रायः जब हामी कुनै कुरो गहिरिएर अध्ययन गर्छौं, हामीलाई लाग्छ ती सामग्रीहरूले हामीलाई तथ्यको नजीक पुर्‍याउँदैछन्। पहिले कसैले नसोधेका प्रश्‍न उठाइन्छ तर सो जिज्ञासामाथि काम गर्न तपाईँ तयार हुनुहुन्‍न। त्यसपछि केही वाह्य वा आन्तरिक अनुभवले सुषुप्तमा रहेका प्रश्‍नलाई जीवन दिन्छ। यस्ता दुई अनुभव थिए जसले ती प्रश्‍नहरूलाई मेरो दिमागमा जीवित र सक्रिय बनाए- पहिलो ‘चिनियाँ सांस्कृतिक क्रान्ति’ र दोश्रो राष्ट्रिय रूपमा ‘नक्सलाइट आन्दोलन’। मैले पहिले पनि भनें म भारतीय कम्युनिष्ट पार्टीको सकृय सदस्य थिएँ तर सो पार्टीले हंगेरीमाथिको रुसी अतिक्रमण, जो मेरो बीचरमा रुसको विस्तारवादको पहल थियो, लाई अन्धो भएर सहमति जनाएपछि मैले राजीनामा दिएँ। एक कम्युनिष्ट तथा विस्तारवाद विरोधी भएको कारण मैले त्यो स्वीकार्न सकिन। त्यसपछि भियतनाम आन्दोलनको सुरुवातसम्मको अवधि तथा सन् १९६८ मा भएको पेरिसको विद्यार्थी तथा युवाहरूको बिद्रोह सम्म राजनीतिबाट टाढा बसेँ। यसका धेरै कारणहरू छन् – त्यसमध्ये साम्यवाद केका लागि? भन्‍ने प्रश्‍नको उत्तर म गम्दै थिएँ। अझ मुख्यत: भारतीय साम्यवाद र रसियन साम्यवादबीच के भिन्‍नता बुझ्ने? भन्‍ने नै थियो।

भारतीय कम्युनिष्ट पार्टीको व्यबहारलाई अध्ययन गर्दा भारतीय साम्यवादप्रति र यसको सृजनशीलतामाथि मलाई गम्भीर शंका थियो। त्यहाँ थुप्रै कटिबद्ध कार्यकर्ताहरू थिए जसलाई समर्पित राजनीतिकर्मीहरूको समूहले नेतृत्व दिएको थियो। उनीहरूका समर्पण गान्धीसँग तुलना गर्न योग्य थिए तर मैले त्यो नेतृत्व सैद्धान्तिक हिसाबमा शून्य तथा सतही पाएँ। उच्च बौद्धिक व्यक्तित्व नेतृत्वमा वा बीचको तहमा नभएको भने हैन तर यो रुसको कम्युनिष्ट पार्टीमा आश्रित थियो जसको मध्यस्थता बेलायती कम्युनिष्ट पार्टीले गर्थ्यो। यिनै कारणले भारतमा कम्युनिष्ट आन्दोलन राष्ट्रिय आन्दोलनको रूपमा विकसित हुन सकेन। हामीले कहिल्यै महात्मा गान्धीले जस्तो जनसमुदायलाई परिचालन गर्न सकेनौं। हामीले मजदुर वर्गलाई परिचालन गर्न सकेनौं जसको कारण त्यस वर्गको ठूलो हिस्साले पार्टी नै विर्सँदै गयो।

यसपछि म राजनैतिक अभ्यासबाट टाढा गएँ तथापि सोचमा भने राजनीतिबाट टाढा बसिन। मैले सांस्कृतिक क्रान्तिको बारेमा सोचिरहेको थिएँ कि माओत्सेतुङले सोचेको मार्क्सवादमा कुनै तुक त अवश्य हुनुपर्छ। यसलाई नक्सल आन्दोलनको सुरुवातले पुष्टि गर्‍यो। म धेरै समय भारत गएको पनि थिइन तैपनि मलाई उक्त आन्दोलनसँग जोडिन्थ्यो जसको कारण बिस्तारै मेरो रुचि यसतर्फ बढ्‍यो। सन् १९७०/७१ तिर म ससेक्स विश्वविद्यालयमा अध्यापन गर्न फर्किएँ र गान्धीका बारेमा अध्ययन-अनुसन्धान तथा पुस्तक लेख्‍नमा व्यस्त रहेँ। त्यो नक्सल आन्दोलनको पराजयका साथै चारु मजुम्दारको नेतृत्व पछि हट्दै गरेको अवस्था थियो। ऊ पक्राउ पर्‍यो र मारियो जसका कारण आन्दोलन चौपट भयो। एकपटक पछाडि फर्केर हेर्नुपर्ने बेला भएको थियो र यस अवस्थामा लामो समयदेखिको भारतीय राष्ट्रवादको प्रश्‍न पुन: मेरो मस्तिष्कमा आयो।

जसलाई नक्सल आन्दोलनको पराजयको अनुभवसँगै प्रकाश पार्नु पर्ने भएको थियो। अब अर्को नयाँ प्रश्‍न जन्मिएको थियो कि एउटा कमसल तयारीको आन्दोलन (सिद्धान्तको कमी, झण्डै लहडी तथा कच्चा राजनैतिक अभ्यास, राज्य शक्तिको अगाडि असहाय) हुँदाहुँदै पनि यो कसरी अगाडि बढ्यो र धेरै युवाहरूलाई देशका विभिन्‍न भागमा परिचालन गर्न सक्यो? पराजित हुँदाहुँदै पनि कसरी यसका बीचरहरूले निरन्तरता पायो? यी प्रश्‍नहरू राष्ट्रियता र जन परिचालनको प्रश्‍नसँग जोडिन गयो जो अहिंसाको छायाँमा हराएको थियो। मलाई नक्सल आन्दोलनले गान्धी आन्दोलनको केही कुरा सम्झायो। दुवै आन्दोलनले किसानको तहसम्म जनपरिचालन गर्ने प्रयास गर्‍यो। नक्सल आन्दोलन पुरै हिंसात्मक थियो भने गान्धी आन्दोलन अहिंसात्मक तर तिनीहरूमा मैले केही समानता पाएँ। म किसान आन्दोलन खासगरी किसान हिंसाका बारेमा अध्ययन गर्न चाहन्थेँ। म ससेक्स विश्वविद्यालय फर्किएपछि यतै काममा व्यस्त रहेँ र गान्धी तथा बङ्किमको कामलाई बिर्सिदिएँ जसले मेरो दिमाग भरिएको थियो। म भारतमा भएको किसान समुदायको हिंसात्मक विद्रोह जान्‍न चाहन्थें। त्यसका लागि मैले पहिले केही तयारी गरिसकेको थिएँ यद्यपि त्यो अरु कुनै उद्देश्यको लागि गरिएको थियो।

सन् १९६३ मा मलाई आर्थिक-इतिहाससँग मात्र वितृष्णा भएको हैन इतिहास लेखन पद्धतिसँग पनि वितृष्णा थियो जुन आधारभूत रुपले प्राज्ञिक अध्ययन तथा इतिहास लेखनको प्राज्ञिक छलफल मात्र थियो। मैले इतिहास लेखन-पद्धति समग्रमा अत्यन्त सतही भएको पाएँ। हामी भारतीयहरूले यसलाई धेरै हल्का रूपमा लियौँ, वेलायती इतिहास लेखन पनि एकपटक यस्तो अवस्थामा थियो जहाँ कथित ‘स्थानीय अनुभवहरू’लाई प्राथमिकता दिइन्थ्यो तर यो अति स्थानीय भएकोले पिएचडी डिग्री पाउनकालागि मात्र सिमित रह्यो।

म खासगरी साहित्य र दर्शनप्रति रुचि बढाउनको लागि ससेक्स गएको थिएँ साथै मलाई अरु २/३ वटा गहन विषयमा अध्ययन गर्नु पनि थियो; जसमध्ये एक सामाजिक मानवशास्त्र थियो। यसैक्रममा मेरो भेट एक सामाजिक मानवशास्त्री क्लाउड लेभि स्ट्राउससँग भयो। त्यस भेटले मेरो जीवनमा गहिरो छाप छाड्यो। स्ट्राउसले ‘धारणा’, खासगरी मिथक का बारेमा प्रश्‍न उठाए। त्यसपछि मैले उनलाई एउटा स्कूले केटोले जस्तै सविस्तार पढ्न थालें। यो ‘समाज-विज्ञान’ मिथक अध्ययनको कल्पनाशील पक्ष थियो। अध्ययनका क्रममा मैले महसुस गरेँ उनले अध्‍ययनका लागि भाषालाई माध्यम बनाएका रहेछन्। भाषाका विषयमा रोमन ज्याकोब्सनका उपदेशमा स्ट्राउसले अरु बढी खोजेर बैज्ञानिक अनुसन्धान गरे। उनले ज्याकोब्सनको बीचरलाई मानवशास्त्रसँग जोड्ने प्रयास गरे। ज्याकोब्सनले भाषा विज्ञानलाई संरचनात्मक भाषा विज्ञानको रूपमा विकसित गरेका थिए। ज्याकोब्सनबाट म बिस्तारै लक्षणशास्त्र (सेमिओटिक्स) तर्फलागें र समालोचक तथा संरचनावादी रोलाण्ड वार्थस्‍का कृतिहरू पढ्न थालेँ।

यसरी म भारत या बेलायतमा हुने बौद्धिक रूपमा रुग्ण इतिहास लेखनको अभ्यासको पुनःसंस्करणका लागि तयार भएँ। म ती दुई प्रश्‍नहरूको सामना गर्न तयार भएँ- एउटा त विरोधाभाषपूर्ण भारतीय राष्ट्रवाद र अर्को नक्सल आन्दोलनको अनुभवले उब्जाएको प्रश्‍न। त्यसैगरी म जनपरिचालनको समस्या सामना गर्न पनि तयार भएको थिएँ।

म एक किसिमले किसान विद्रोहका दृष्टान्तहरू टिप्न ‘कोठे मानवशास्त्री’ बनें यद्यपि कोही पनि व्यक्तिकोठे मानवशास्त्री बन्‍न सक्दैन। मेरी श्रीमती जो मानवशास्त्री हुन् उनीबाट स्थलगत कार्यको बारेमा ज्ञान पाएँ। उनले पश्चिम अफ्रिकाको ‘दामिएन’हरूका बारेमा काम गरेकी छन्। मैले उनलाई कसरी मानवशास्त्रीले स्थलगत अध्ययन गर्छ? भनेर सोधें। यसबाट मैले झण्डै स्थलगत कार्यको विकास गरेँ। मैले सबै किसानविद्रोहका दृष्टान्तहरू, देखिएका वा लेखिएका (अभिलेखबाट मात्र नभई) किसान विद्रोहका सबै पुस्तकहरू तथा सामाजिक मानवशास्त्रका धेरै पुस्तकहरूका सूचि तयार पारेँ। मैले केही हजार यस्ता दृष्टान्तहरू जम्मा गरें, टिपोट बनाएँ र वर्षौ त्यसलाई विकसित गर्दै गएँ। म के गर्दैछु? भनेर श्रीमती सोधिरहन्थिन्। मानवशास्त्रीहरू स्थलगत कार्यमा जे गर्छन् म त्यही गर्दैछु भन्‍ने जवाफ मैले दिन्थें। उनीहरू कुनै घटनाको उदाहरण खोज्छन् र त्यसबाट कुनै निश्कर्षमा पुग्छन्, त्यसलाई वृहत्तर रूपमा तुलना गर्दै त्यसकै आधारमा कुनै सिद्धान्त विकास गर्छन्। म त्यही गरिरहेको छु। म जान्‍न चाहन्छु कि केले हिंसालाई भडकाउँछ? एक किसान उसको जग्गा मालिकको आँगनबाट छाता ओढेर जान्छ भने जग्गाधनीको अपमान भएको मानिन्छ, त्यसलाई लेखें।

तल्लो जातको मानिस आफ्नो खाटमा बसिरहेको बेलामा जग्गाधनी आयो तर ऊ उठेन भने पनि उसले वेइज्जत गरेकै ठानिन्छ, त्यसलाई पनि मैले लेखें। अब म कसरी अपमान हिंसामा बदलिन्छ? भन्‍ने कुरो अवलोकन गर्न सक्थें किन भने यो पनि एक प्रकारको हिंसा नै हो र हिंसाको अवधारणा वास्तविक स्थलगत अध्ययनबाट नै आउने हो। मानिसहरूले यो महसूस गरुन् कि म स्थलगत अध्ययनको आधारमा सिद्धान्त बनाउने मान्छे हुँ। म घटनाहरूमा बिश्वास गर्छु, अवधारणामा पनि विश्वास गर्छु र त्यसबाट सिद्धान्त निर्माण गर्ने प्रयास गर्दैछु। यही नै हो ‘एस्पेक्ट अफ पेजन्ट इमरजेन्सी इन इण्डिया’ को आधार। मैले यसमा मानवशास्त्रका लेखहरूलाई मात्र वा कुनै अभिलेखालयको लिखतलाई मात्रै समावेश गरेको छैन, मैले ‘इलेमेन्ट्री एस्पेक्ट’मा देखाएको छु कि कसरी हैकमको अवधारणालाई शास्त्र र अन्य क्षेत्रमा मान्यता दिइयो? भारतीय संस्कृतिमा कसरी धार्मिक प्राधान्य स्थापित गरियो? भन्‍ने देखाउन मैले मनु लगायतका धर्मशास्त्रहरू पढेँ साथै एक बाबु र छोरा, गुरु र शिष्य, राजा र प्रजा, जमिन्दार र रैतीबीच रहने लगायत प्राधान्य सम्बन्धका बारेमा थाहा पाएँ। यसरी मैले किताबलाई नै स्थलगत अध्ययनको माध्यम बनाएँ।

हाम्रो उपमहाद्वीपमा जुन समय र स्थानको हदसम्म यो दोहोरिएको छ, किसान परिचालन नै आधारभूत तथा नमूनात्मक जनपरिचालनको रुप हो। गान्धीले पनि यही समस्या भोगेका थिए भन्‍ने कुरामा म विश्वस्त छु। यो स्वरुपको आन्दोलनमा विभिन्‍न तत्वहरू छन् जो अख्तियार गरिएका मान्यताहरू विभिन्‍न तहमा उल्लघंन गर्दै हिंसातर्फ बढ्छन्। गान्धीको परिचालन पनि त्यहीं भएको थियो। त्यस अवस्थामा अहिंसाको सिद्धान्तले पनि त्यो नियन्त्रण गर्न सकेन र गान्धीले उक्त परिचालन फिर्ता गर्नु पर्‍यो। यसरी मेरो रुचि, क्रान्तिकारी आन्दोलन र खासगरी लोकप्रिय विद्रोह प्रति बढ्यो। त्यसबेला प्रचलित इतिहास लेखन यस प्रकारको ऐतिहासिक अनुभवहरूलाई विश्‍लेषण गरेर हेर्न समर्थ थिएन। यस्तो कामको मौलिकता मेरो प्रतिभाबाट आउँदैन, यो भारतीय मौलिक अनुभवबाट आउँछ। मलाई लाग्छ कुनै नयाँ कुरा भन्‍ने इतिहासकार अगाडि आउनुपर्छ र उसका चासोका मान्छेहरूको नवीन अनुभवसँग उसले साक्षात्कार गर्नुपर्छ। त्यसैले इतिहासकार घमण्डी होइन अभिव्यक्त गरिने आफ्ना अनुभवप्रति इमान्दार हुनुपर्छ किनभने उसको व्याख्या यस्ता अनुभवबाट आफै आउने कुरो हो। हाम्रा राष्ट्रवादी आन्दोलन, लोकप्रिय किसान आन्दोलन, तथा विरोधका शैली आफ्नै प्रकारका छन्। त्यसैले यी सब स्वरुपहरू खासगरी भारतीय संस्कृति हुन्।

भारतीय किसान विद्रोहका बारेमा गरेका मेरा कार्य, मेरा लागि भारतीय संस्कृतिको अध्ययनको लागि एक योगदान हो। प्रचलित मान्यताभन्दा भिन्‍न, प्रचलित स्वरुप विरुद्ध तथा अहिंसाको पक्षमा मात्र भारत रहन्‍न भन्‍ने म देखाउन चाहन्छु। जब शक्तिको प्रश्‍न आउँछ भारत हिंसाको पक्षमा उभिन्छ। अर्थात् हाम्रो संस्कृतिमा अहिंसा धर्म भए जस्तै हिंसा पनि एक महत्वपूर्ण अङ्ग हो। किसान विद्रोहका मेरा कामका बारेमा सतही समालोचकहरूले किसानको इतिहास भनी बताए पनि यो काम त भारतीय संस्कृतिको अध्ययन हो। वास्तवमा भारतीय संस्कृतिमा विविधता छ भन्‍ने कुरा म देखाउन चाहिरहेको छु। गान्धी यस भागको एक महत्वपूर्ण अंश हुन्। प्राथमिक हुन् वा होइनन् भन्‍ने प्रश्‍न पनि गर्न सकिन्छ।

मेरो बीचरमा हाम्रो संस्कृति यो कुरो बुझ्न सक्ने परिपक्व हुन सकेको छैन तर एकदिन बुझ्ने छ। स्थापित साँस्कृतिक मान्यतालाई नमाने दण्ड दिने प्रचलन नै दलित विरुद्ध हिंसाको कारण हो। भारतको विभाजनका वेला देखिएको सबैभन्दा ठूलो जन परिचालन साम्प्रदायिक दंगामा बदलिनु नै आदिम हिंसाको प्रमाण थियो जुन हाम्रो संस्कृतिको अंश पनि हो। त्यसैले गान्धीले पनि यसलाई नियन्त्रण गर्न सकेनन्। यही नै राष्ट्रवाद र भारतीय कांग्रेसले लादेको मान्यताको महत्वपूर्ण विफलता थियो। भारतको वृहत् जनपरिचालन हिंसात्मक थियो र हिंसात्मक नै भइरहेको छ।

जुन बेला म यही समस्यामा केन्द्रित रहेको थिएँ, मेरो भेट ज्ञान पाण्डे, डेभिड हर्दिमान, सहिद अमिन आदिसँग भयो जो शोधकार्य गर्दै गरेका विद्यार्थीहरू थिए। उनीहरू बेग्लाबेग्लै समयमा मलाई भेट्न आए, यद्यपि तिनीहरू कोही पनि मेरा विद्यार्थी थिएनन्। पाण्डे र अमिन अक्सफोर्डका विद्यार्थी थिए, हर्दिमानलाई चाहिं मेरो सहकर्मी एन्टोनी लोबेले पर्यवेक्षण गरिरहेका थिए। पहिले त उनीहरू आफ्ना शोधकार्यका बारेमा छलफल गर्न आएका थिए। त्यहाँ उनीहरू माझ एक अर्कासंग परिचय मात्र भएन वरू साथ-साथै काम गर्न थाले। प्रायः जमघट हाम्रो घरमा हुने गर्थ्यो। यस अवधिमा धेरै नयाँ कुराहरू आए। हामीलाई महसुस भयो कि त्यही सामग्रीलाई पढ्ने पनि भिन्‍न तरीकाहरू रहेछन्। एक जनाले मलाई एउटा अध्याय पढ्न दिएको कुरो सम्झन्छु। मैले भने- ‘यो अब्बल दर्जाको कृति हो’ तर त्यही सामग्री अर्को पक्षबाट अध्ययन गर्ने हो भने यसका अन्य खाले व्याख्याहरू आउन सक्नेछन्। यस प्रकारको अभ्यासबाट हामीले के महसुस गर्‍यौं भने अभिलेख भएपनि कुन पक्षबाट उक्त सामग्रीलाई पढ्ने? भन्‍ने कुराको अभाव छ।

त्यस्तै सन् १९७७ को सुरुतिर हामीलाई लाग्यो कि हामी वैकल्पिक इतिहास लेखनको नजिक पुग्दैछौं। त्यसबेला तथाकथित ‘नयाँ सिद्धान्त’ बनाउने भनेर खासगरी राष्ट्रियताको विषयमा ‘क्याम्ब्रिज’ खुब जमेको थियो। जब हामी नयाँ सिद्धान्त पढ्न पाउँथ्यौं हामी हाम्रो दृष्टिकोणबाट त्यसलाई टुक्रयाएर हेर्थ्यौँ। हामीसँग त्यो भन्दा पनि शक्तिशाली/प्रभावशाली व्याख्याहरू थिए र हामी त्यसको बारेमा सचेत थियौं।

सन् १९७७ को मार्च/अप्रिलतिर जब हामीले म बस्ने गरेको ससेक्समा भेट्यौँ मैले उनीहरूका लागि विकसित गरेको कामको सारांश सहितको एउटा टिपोट बनाएँ जसमा औपनिवेशिक भारतको इतिहास लेखन पद्धतिका केही पक्षहरू पनि थिए। यसको साथमा उक्त कुरो कसरी पढ्ने? भन्‍ने लेखिएको थियो। त्यही नोट अन्ततः सवअर्ल्ट्रन स्टडिजको सुरुको दस्तावेज बन्यो। मानिसहरू यसलाई घोषणापत्र भन्छन् तर त्यो हैन। यो आन्तरिक कार्यको दस्तावेज हो। पहिलो अङ्कको लागि सामग्री तयार भइसकेपछि जर्नललाई के भन्‍ने? प्रश्‍न उठ्यो। दुई जनाले विरोध जनाए र दुई जनाको विमति हुँदाहुँदै मैले नाम राख्‍न दवाब दिएँ- सवअर्ल्ट्रन स्टडिज। यसको सैद्धान्तिक कारण थियो। यो भन्दा अन्य कुनै नामले प्राधान्यता र अधिन्यता तथा जात र वर्गको समस्यालाई समेत समेट्न सक्थ्यो। सन् १९८२ को फेब्रुअरीदेखि १९८८ मार्च सम्म म यसको सम्पादक थिएँ। त्यस बीचमा हामीले ६ वटा भाग निकाल्यौं। हामीले समूहमा खुबै राम्ररी काम गर्‍यौं।

हाम्रो देशको बिडम्बना हो कि यहाँ अंग्रेजी नजान्‍नले काम पाउँदैन। यो हालत आउनुको कारण हाम्रो औपनिवेशिक मालिकहरूद्वारा हामीमाथि औपचारिक रूपमा अंग्रेजी भाषा लादिनु नै हो। म यसको बारेमा सोच्छु, हाम्रो इतिहास लेखन यदि अंग्रेजीमा नभइदिएको भए के हुन्थ्यो होला? यदि अंग्रेजीको सट्टा क्षेत्रीय भाषामा नै ती लेखिदा हुन् त भारतका बिगत कस्ता हुँदाहुन्? यो उपयोगहीन परिकल्पना हो किनभने यो अति काल्पनिक कुरो भयो जसको सम्भावना छैन तर यस्ता सामान्य लाग्ने प्रश्‍नले पनि इतिहासको ठोस कुरालाई प्रतिविम्वित गर्छ। हामीमाथि अंग्रेजीलाई स्कूलतहबाट नै शिक्षाको मुख्य माध्यम बनाएर खास प्रकारको दृष्टिकोण लादियो। त्यही छनोटको सिद्धान्त कै कारण राष्ट्रवाद इतिहासको दृष्टिकोण बनिरहयो। यस्तो राष्ट्रवादी दृष्टिकोणले औपनिवेशिक अवस्थामा सम्भ्रान्तहरूको तहमा मात्र काम गर्न सक्छ र यसले कसरी काम गर्छ? भनेर म र मेरा सहकर्मीहरूले सवअर्ल्ट्रन परियोजनालाई सिद्धान्तबद्ध गरेर लेखेका छौं। हामीले के देखाउने प्रयास गरेका छौं भने इतिहास लेखन पद्धति जुन राष्ट्रवादका रूपमा अभिव्यक्त भएको छ र भइरहेको छ त्यहाँ दुई तहमा सम्भ्रान्तहरू रहेका छन्।  पहिलो त्यस्ता सम्भ्रान्तहरू जो उपनिवेशमा मालिक थिए र अर्को स्वदेशबाटै बनेका सम्भ्रान्तहरू।

अर्को शब्दमा यो प्रष्ट छ कि भारतीय इतिहासमा सम्भ्रान्तवादको गहिरो सम्बन्ध हुनुको मुख्य कारण औपनिबेशिहरूका भाषाको प्राधान्य यस उपमहाद्वीपमा हुनु हो। यसरी अंग्रेजी भाषाको प्राधान्य रहेको इतिहास लेखन पद्धतिको परिणाम नै नागरिक समाज तथा राज्यबीचको खाडल हो जहाँ औपनिवेशिक प्राधान्य र त्यसले प्रतिनिधित्व गरेको अंग्रेजी भाषायुक्त विगत साथसाथै भारतीय ठेट भाषाद्वारा प्रतिनिधित्व भएको विगतको प्रतिनिधित्व थियो। एक गरीव किसान हिन्दीमा, बंगालीमा या मराठीमा सोच्छ, अंग्रेजीमा होइन। त्यसैकारण यसको परिणाम हो जब उल्था गरिन्छ त्यसको माने अर्थ्याउन गाह्रो हुन्छ। उल्था गर्न सकिने भनेको त खालि प्राविधिक अर्थमा मात्र हो न कि त्यसको जीवन्ततामा। हामीले त्यसलाई त स्थानीय तहको भाषा, संस्कृतिमा आबद्ध गर्नुपर्ने हुन्छ। यो त भाषाको एक उपाय हो र यस्तो उपाय आवश्यक छ किनकि यस प्रकारको उत्पादन पद्धतिमा, ज्यादातर उत्पादन साधन अति नजीक तथा अपूरणीय रूपमा जोडिएका र जनताका संस्कृतिसँग जकडिएका हुन्छन्। त्यसैले अंग्रेजी आफैमा पर्याप्त छैन।

(’सवअर्ल्ट्रन स्टडिज’का संस्थापक प्रो. रञ्‍जित गुहासँग इतिहास लेखन पद्धति, साम्यवाद, राष्ट्रियता तथा अन्य विषयमा बद्री नारायणको कुराकानीमा आधारित, साभार-बिबिलो अ रिभ्यू अफ बुक्स, भोल्युम-८, नं. ११-१२, नोभेम्बर-डिसेम्वर २००३)

नेपाली अनुवादको साभार:- बहा: जर्नलको पहिलो अङ्कबाट

सन्दर्भ सामग्री:
गुहा, रञ्‍जित (सम्पा) सवअर्ल्ट्रन स्टडिज -१ राइटिटिङ्ग अन साउथ एसियनहिस्ट्री एण्ड सोर्साईटी,  (अक्सफोर्ड युनिभर्सिटी प्रेस) १९९४)
गुहा, रञ्‍जित, अ रुल्स अफ प्रायोरिटि फर बङ्गालः एन एस्से अन द आइडिया अफ पर्मानेन्ट सेटलमेन्ट, (ड्यूक युनिभर्सिटी प्रेस) १९९६
गुहा, रञ्‍जित (सम्पा) अ सवअर्ल्ट्रन स्टडिज रीडर, १९८६-१९९५, (अक्सफोर्ड युनिभर्सिटि प्रेस) १९९७
गुहा, रञ्जित, डोमिनेन्स विदाउट हेजिमोनी, हिस्ट्री एण्ड पावर इन कलोनियल इण्डिया, जेम्स स्कटको भूमिका लेखन सहित (ड्यूक युनिभर्सिटी प्रेस) १९९९
गुहा, रञ्जित, हिष्ट्री एट द लिमिट अफ वर्ल्ड हिस्ट्री, (अक्सफोर्ड युनिभर्सिटी प्रेस) २००३

Leave a Reply