
मिर्मि स्थित कालीगण्डकी ‘ए’ प्रोजेक्टको ड्याम
- डिल्लीराज अर्याल
मान्छेका अनेकौं रहर हुने गरे पनि सबै रहरलाई भन्दा घुम्ने रहरलाई प्राथमिकता दिनेहरूले यात्राले ज्ञान, मनोरञ्जन र चलाखी दिने दाबी गर्छन् र भएका पैसा बोकेर वा रहर मात्र बोकेर पनि घुम्न निस्कन्छन्। आफू घुम्न निस्कँदा साथीभाइलाई गुहार्ने र सरसापट खोज्ने वा जान्ने सुन्ने भए संरक्षक बनेर अर्कैका धनमा राज गर्ने परिपाटी पनि समाजमा जीवितै छ। यस्ता कुरा लाटा सोझामा भन्दा बाठामा बढी पाइने र शिक्षा दिने निकाय त यसको अगुवा नै हुने गरेको छ।
चाहे पूर्वीय दर्शनबाट प्रभावित होस्, चाहे पश्चिमीबाट, घुम्ने कुरामा र त्यसबाट हुने लाभका कुरामा सबैमा एकमत छ र त जो जताको भए पनि क्षमता र दक्षता अनुसार मान्छे आदिकालदेखि नै घुम्ने गरेको छ। नारद ऋषिका र हुयानसाँगका मात्र होइनन्, कोलम्बस, भास्कोडिगामाका समेत कुरा उस्तै छन् र त यो परम्परा कायमै छ। यो परम्परामा हामी पनि छौं। त्यसैले शैक्षिक भ्रमणका नाममा पटक पटक छात्रछात्राहरूका साथमा टाढा टाढासम्म पनि घुम्न निस्कने गरेका छौं।
गत वर्षझैं यसपटक पनि शैक्षिक भ्रमण जाने रहर भएपछि छात्राहरूको यात्रामा हामी पनि साक्षी बनेर जानै पर्यो। को को? कसरी, कहाँ र कहिले जाने? भन्ने निश्चित भैसकेको थियो र हामी पन्ध्र जना शिक्षक शिक्षिका, बैसठ्ठी जना छात्रा र परिचर समेतको टोली विहान सात बजे विद्यालयबाट प्रस्थान गरेको थियो। लगातार विद्यालय, लगातार घर हाम्रो दिनचर्या बनिसकेको बेला यसबाट मुक्ति पाउने दिन अपेक्षाकृत रमाइला हुने गर्छन्। औपचारिकता बोकेको कक्षा छोडेर उनै छात्रछात्रा र शिक्षकसँग बाहिर निस्कँदा मन कति प्रसन्न हुन्छ? म अनुमान गर्छु र अनुहारमा मुस्कान बिखेर्दै घर छाडेर हिँडेका ससाना किशोरीहरूसँग गफमा हराउँछु।
तानसेनबाट बर्तुङ्ग हुँदै बस आर्यभञ्ज्याङ्गतिर लाग्छ। बर्तुङ्ग केही छात्राहरू थपिन्छन् र बस अघि बढ्छ। राईडाँडा र घोरबन्दाका छात्राहरू थपिन्छन्। बस अघि बढ्छ। पारि पारिका गाउँबस्ती र मैदानहरूका बारे छात्राहरूमा उठेको जिज्ञासामा म पनि सामेल हुन्छु र केही बताउँदै जान्छु।
शारीरिक हिसाबले त्यतिबेला म हिंड्ने अवस्थामा थिइन। दुर्वल र क्षीण भए पनि साथीभाइ र जागिरे अनिवार्यताको शिकार भन्न मिल्नेमा थिएँ र त प्राणमा असीमित शक्ति सञ्चार भएको अनुभवले प्रफुल्ल थिएँ। जीवन भोग्नुको अर्थ मैले के कति बुझेको छु कुन्नि? तैपनि म त्यसैलाई जीवन मानेर रमाएको छु र भोग्न तयार भएको छु। सबैका संसार अलग-अलग छन्। अतृप्त आँखाहरू वारिपारिका गाउँबस्तीहरूलाई हेरेर तृप्ति खोजिरहेछन्। त्यही तृप्तिका खोजमा मेरा आँखा पनि क्रियाशील छन्।

गाउँलेहरू काली गण्डकी नदीमा बनाइएको ड्यामले कृतिमरूपमा निर्मित तालमा आफैले बनाएको बोटमा यात्रा गर्दै। (R.Karki)
यात्रामा म आफै पनि मेरो जन्म गाउँ मदनपोखरातिर हेरेर रमाइरहेछु। विद्यार्थीहरूको जिज्ञासा शान्त पार्न चिनाउनु पर्ने ठाउँहरूको सामान्य परिचय पनि दिंदै गएको छु। वरपरका गाउँ बस्तीहरू, खोलानाला र डाँडाकाँडा तथा सार्वजनिक स्थलहरूको सामान्य परिचय दिंदै जान्छु म। बर्तुङ्ग, राईडाँडा र घोरबन्दाका छात्रा समेत बसमा बसेपछि बल्ल यात्रामा अलि रौनक थपिएको जस्तो अनुभव हुन्छ। गफै गफमा बस आर्यभञ्ज्याङ्ग पुगेको थाहा हुन्छ। केही समय बस रोखिन्छ। म बसबाट झर्छु र झर्नुको सार्थकता पछि पुनः चढ्छु। बस भरिएको छ, कसैलाई बस्ने सिट पुगेको छैन। केही छात्रा र केही शिक्षक समेत सिटमा बस्न पाएका छैनन्। विद्यालयबाट चढाएका बेञ्चहरू हाम्रा सिट बनेका छन् र केही शिक्षकहरू त उभिनु पनि भएको छ। मेरो अस्वस्थताको ख्याल गर्ने साथीहरूले मलाई बस्ने व्यवस्था मिलाउँदै अनुरोध गर्नुहुन्छ तर म सिटमा बस्न मन पराउन्नँ। बरु घरि बेञ्चमा र घरि सिटको अडेसामा बस्छु।
बस त्यहाँबाट हिडेर लसुनेमा पुगेरमात्र रोकिन्छ। सबैमा उत्सुकता छ। जिज्ञासा र खुसियाली छ तर पनि सिटमा बस्न नपाउनेहरूका मनमा गुनासो छ, अभिव्यक्त पनि हुन्छ। त्यसको अनुभव मैले सधैं जसो यस्ता यात्रामा पाउने गरेको छु। गुनासो नै भए पनि मात्र गुनासो हुनेहरू धेरै छैनन् र त बस रोकिंदा उनीहरूको उत्सुकता बढेको छ। अब ठाउँ साट्न पाइन्छ कि? अब सिट परिवर्तन हुन्छ कि? नयाँ कुरा देख्न पाइने ठाउँ हो कि? आदि आदि। कहाँ आइयो सर? कविता मसँग प्रश्न गर्छे। ऊ अपरिचित छ यो ठाउँसँग। अरु पनि धेरै अपरिचित होलान् तर उत्सुकता, सोध्ने रुचि जस्ता कुरा सबैमा कहाँ हुन्छ र? म ठाउँको नाम बताउँछु। बसबाट ओर्लने क्रममै उसले अर्को जिज्ञासा पोख्छे, यहाँ के हेर्ने सर? यो सोधाइको जवाफ म शब्दमा दिन खोज्दिन म, तर ऊ बुझ्दिन। यसरी हिंड्दा कतिपय कुरा रहरले वा सोचले मात्र कहाँ हेरिन्छ र?
‘ल यता लाग्ने यता’, पानी घट्ट र कुखुरा पालन क्षेत्रतिर सोभिँदै जगन्नाथ सर चिच्याउनु हुन्छ। सबै त्यतै सोझिन्छन्। सडकको दायाँ किनारको कोठा कोठामा विभक्त ठूलो घरको दक्षिणमा एउटा कुलो छ। पाइपको माध्यमबाट ल्याइएको अँगाहाखोलाको पानी तल झरेको छ र घट्ट चलेको छ। विद्युत् शक्ति निकालेर त्यसबाट पिस्ने, कुट्ने काम गरिएको छ। समर बहादुरको त्यो बहादुरीबाट त्यहाँका मान्छेहरूले बत्ति र पिस्ने, कुट्ने सुविधा पाएका रहेछन्। त्यो देखेर अचम्म मान्दै केही छात्राहरू मुख खोल्छन्- आमा ….! पानीबाट बिजुली पनि, मिल पनि! मैले सोचें- संसार कहाँबाट कहाँ पुगिसक्यो? हामीभने घट्ट देखेर पनि अचम्मै मान्नु पर्ने स्थितिमै छौं। विडम्बना, अझ हाम्रा अगुवाहरू देश विकास भएका भाषण गर्दै हिंड्न छाडेका छैनन्। करीव पच्चिस अश्वशक्ति विजुली उत्पादन गरेर दश बत्तिमा र पन्ध्र कुटपिसमा खर्च गरिने गरेको जानकारी दिने एक जना भाइले मेशिन चलाएर पनि देखाए पछि हामी कुखुरा पालिएको ठाउँतिरबाट फर्कन थाल्यौं। कुखुराको मलको गन्धको अनुमान नगरेका केही छात्राले प्रश्न गरे- छिः के को गन्ध होला यस्तो? थाहा हुनेहरूमध्येकी ताराले हाँस्दै बताउन थालिन्। मैले पनि तिनै छात्राहरूसँग कुखुरा हेर्न थालें।

सेतीवेनीमा रहेको शालीग्राम ढुङ्गा
बाबा…!कति धेरै हुन्! उत्सुकता, आश्चर्य र अज्ञानतामै मुखामुख हुन्छन् छात्राहरू। एकजना युवकले हाम्रो जिज्ञासा शान्त पार्न खोज्छन्। उनका अनुसार आठ लाख लागतबाट शुरु गरिएको कुखुरा पालनको लागत अहिले एघार लाख पुगेको छ। हाम्रै जिज्ञासामा उनको अभिव्यक्तिबाट हामीले आठ वर्षे अवधिमा कुखुराको संख्या बढेर चारहजारको पुगेको, दैनिक एक हजार चारसय फुल दिने गरेको, चल्ला ल्याएको साढे चार महिनादेखि बाइस महिनासम्म लगातार फुल दिने गरेको जस्ता कुराको जानकारी पायौं। त्यहाँको त्यो गतिविधि देखे पछि मेरा मनमा पनि विभिन्न विचारहरू आउन र जान थाले। मैले सोंचे- ‘काम गर्ने र सीप हुनेहरूले घरै बसेर पनि अरब जानेले भन्दा राम्ररी आम्दानी गरेका छन्। पैसा कमाउन लाहुरै किन जानु पर्दोरहेछ र? काम र सीप हुनेलाई घरै लाहुर नहुनेलाई जहाँ गए पनि उस्तै। हामी त काम गर्नेतिर होइन त्यसै प्राप्त हुनेतिर लोभिने र आशा राख्ने गरेर बिग्रेका रहेछौं।’
सोच्दासोच्दै म आफैमा हराएँछु। विश्व सरले- ‘धेरै समय लिनु हुँदैन, ल अब जाने’ भन्दा पो म झल्याँस्स भएँछु। अनि ‘ल जाउँ ‘भन्दै म पनि छात्राहरूसँगै लसुनेको बजारतिर निस्कें र बजारको छेत्रमा पर्खेर बसेको बससम्म पुगें। एकछिन त राम्रै हुल भयो। कोही नछुटुन् भनेर सबैलाई सूचना दिंदै गयौं। बस हिंड्यो। हामी पनि केही छात्राहरू सहित अलि परसम्म पुगेर बस चढ्यौं। अब बसले गति लिन थाल्यो। हामी वरपर हेर्दै अघि बढ्यौं। पीपलडाँडा र खानीछापको सीमाना बनेर बगेको अँगाहाखोलाका वारिपारिका पाखा पखेरा, खेतवारी र वन बुट्यान हेर्दै र गफमा मख्ख पर्दै हामी राम्दी पुग्यौं। काली गण्डकीको निर्मल जलप्रवाह बाहेक नौलो कुरा त त्यहाँ के हुन्थ्यो र? तैपनि हामीले राम्दी हेर्ने चाहना राखेका छात्राहरूको चाहना बुझेर एकछिन त्यहाँ रोकिने र सुनगुफा हेर्ने विचार गर्यौं। बस त्यहाँ रोक्नु जरुरी थिएन। वसलाई पारि पुर्याउन लगाएर हामी बजार भन्दा अलिकति उत्तरतिरको गुफामा पंक्तिबद्ध भएर गयौं। काली गण्डकीको किनारमा रहेको सुनगुफा हेर्न म यस अघि पनि गएको थिएँ। यसपटकको रमाइलो अलि अर्कै भयो। अघिल्लो पटकको भ्रमणमा त्यहाँका बाँदरहरूले हाम्रै एउटा विद्यार्थीको टोपी खोसेर लगेको थियो र टोपी लिन जाँदा चिथोरेको थियो। त्यो घटना मनमा ताजै थियो। बाँदरहरू कति सताउँछन् मान्छेलाई? चिथोरेर अनुहार विकृत बनाइदिने र शिरको टोपीसम्म पनि खोस्ने धृष्टता कसरी गर्न सकेका होलान् तिनीहरू? कालीका जल तरङ्ग जस्तै गरी मेरा मनमा पनि विचारका तरङ्ग उठ्दै हराउँदै गरेका थिए।

लोकलाइजेशनको नमुना बनेको यो बोट जसले हजारौं यात्रीलाई सजिलो पारिदिएको छ।
म विचार प्रवाहमा हराउँदै गर्दा जगन्नाथ सरले फेरि एकपटक फोटो लिनुभयो। हामी फर्केर बस भएतिर लाग्यौं। राम्दीको पुलमा उभिएर केही शिक्षक, शिक्षिका र विद्यार्थी कालीको जलाधारलाई हेर्दै रमाइरहेका थिए। सिद्धार्थ राजमार्गमा पर्ने यो पुलले पाल्पा र स्याङ्गजा जिल्ला तथा गण्डकी र लुम्बिनी दुई अञ्चललाई जोडेको छ। पुलसम्म आइपुगेपछि एउटा किनारमा अडिएर नदीतिर हेरें। साँच्चै रमाइलोको अनुभूति भयो। नदी अविरल गतिमा बगिरहेको थियो। पहाडहरू अनन्तदेखि निश्चल बनेर ठडिएकै थिए। मनमा कुराहरू खेल्न थाले- ‘यस्ता गुफा र गल्छीहरू कालीका किनारमा कति होलान्? तर पनि तीर्थस्थल राम्दीको निकटता तथा यातायातको सुविधाले गर्दा अरुको तुलनामा यसको महत्व बढी भएको हुनुपर्छ। योग्य ठाउँले पनि मान दिन्छ भन्छन् शायद यो गुफाले पनि राम्दीका कारणले बढी महत्व पाएको हो कि? ठीक छ महत्व पाउँछ भने पाओस्। आखिर नेपाल भन्नु नै नदी, गुफा, ताल, जङ्गल, पहाड र गल्छी त हुन्। यिनकै कारण नेपालको आकर्षण बढेको छ, महत्व बढेको छ र टाढा टाढासम्म पनि घुम्न निस्कने गरेका छौं।
म नदीको गहिराइ र पहाडको उचाइमा अल्मलिएँ। गहिराइको अन्दाज गर्न तम्सिनु त्यति सजिलो थिएन। आखिर पानीमा नपसी गहिराइ थाहा पाउन खोज्नु सम्भव छ र? तैपनि हाम्रो भने यस्तै असम्भव कुरामा मात्र ध्यान जान्छ। यही मुर्खताकै कारण हामीलाई हेरेर हाँस्दा हुन् अरु मुलुकका मान्छेहरू!
त्यतिबेलासम्ममा हामीलाई आफैले लगेको खाने कुराले पनि आकर्षित गर्न थालिसकेको थियो। कतिपयले त पानी र अर्नी खाइसकेका पनि थिए। बसका स्टाफले खाना खाँदै थिए र म पनि खाएर तयार भएँ। विद्यार्थीहरू कोही लिची किन्दै थिए, कोही चारैतिर हेरेर छक्क थिए। बसको हर्न बज्यो। सबै सतर्क भए। बस बाहिर भएका पनि बसमा चढेपछि बस नदीको किनारै किनार जस्तो गरी बनेको बाटो मालुङ्गाको तल्लो भाग भएर गलेङ्ग-मिर्मी दोबाटोमा पुग्यो। तारा र टीकाले एकैसाथ सोधे- अब कति टाढा छ सर? मैले उनीहरूको प्रश्नको उत्तर दिएँ र यताउता हेर्न थालें। बस उकालो र घुमाउरो बाटो भएर मिर्मीर्तिर लाग्यो। त्यो साँघुरो र घुमाउरो बाटो त्यसमाथि उकालो भए पनि त्यत्ति बिग्रेकोचाहिं थिएन। जेठको महिना ओहोर दोहोर गर्ने मान्छेहरू अत्यन्त कम देखिन्थे। बाटामा होइन, पसलहरूमा मात्र मान्छे भए जस्तो लाग्थ्यो। बाटोको बनोट देख्दा डर नलाग्ने कुरै थिएन। डरै डरका बीच मनका कुरा खेल्न थाले- ‘साँच्चै यी सडकहरू किन यसरी घुमाउरा बनाइन्छन्? मान्छे किन हिंड्न छाडेका छन् सडकमा? सडक घुमाउरा भएकै कारण मान्छेहरू नहिड्ने गरेका त होइनन्?’
म सोझो प्रकृतिको मान्छे घुमाउरो मन पराउन्न। सोझो मन पराउँछु। सोझो बाटो हिँड्छु, सोझो व्यवहार गर्छु, जब बाटाहरू घुमाउरा बनाइन्छन् तब उसले ती घुमाउरा बाटालाई पनि सोझो गोरेटाले जोड्ने प्रयास गर्छ र घुमाउरा बाटाबाट हिंड्न नपरे हुन्थ्यो भन्ने चाहना राख्छ। मलाई लाग्छ- जीवन सरलता मन पराउने गर्छ, सोझोपनमा रमाउँछ र त मान्छेहरू सोझो बाटो खोज्छन्। तैपनि बेइमानहरू घुमाउरो बाटो बनाएर अल्मल्याउन चाहन्छन्, घुमाउन चाहन्छन्। त्यसैले सोझो र घुमाउरोमा पनि द्वन्द्व चल्ने गर्छ।
आज मात्र होइन धेरै समयदेखि मेरो मनमा अचम्मका तर्कहरू उठ्ने गरेका छन्- ‘घुमाउरा सडकमा निर्जीव बाहन मात्र हिंड्ने गर्छन् जो आफै सञ्चालित हुँदैनन्। मान्छे आफू या त तिनै निर्जीव बाहनमा चढेरमात्र यात्रा गर्छ या त सजिलो बाटोबाट यात्रा तय गर्छ। सजीवहरूका निम्ति त छोटो बाटो नै हुने गरेको छ। यस्ता घुमाउरा बाटाहरू प्रायः सजीवका निम्ति बन्ने गरेका छैनन्। त्यसैले यस्ता बाटाहरूमा निर्जीवहरूलाई सजीवहरूद्वारा गुडाइने गर्छ।’ यिनै र यस्तै तर्क उठेको मन लिएर गुडेको म र हाम्रो टोलीलाई लिएर गुडेको त्यो बस डाँडामा पुगेपछि पो रमाइलो वातावरण आयो। उत्तरतिर आँधी खोला र दक्षिणतिर काली गङ्गाका किनारमा रहेका बस्ती, वन, खोंच खोल्साहरू देखिए। सडक किनाराका पसलका रहरमा ठडिएका घरहरू, बलाम, देउराली, नदी किनाराको बेलटारी आदि ठाउँका दृश्यहरूले हाम्रा मनमा नयाँ-नयाँ भाव सञ्चार गर्दै थिए। मिर्मीका लागि आवश्यक सिमेन्ट राख्ने गोदाम घर देखेर विद्यार्थीहरूको जिज्ञासा बढ्यो। उत्सुकताले प्रश्न गर्नेलाई उत्तर दिंदै अलिपर पुग्दा पानीको श्रोत भेटियो। खाना खाने बेला त टरिसकेको थियो तैपनि बस रोकेर खाना खाने सुर कस्यौं। एकाध फोटो र खानपिन गर्ने काम सक्दा दिउँसोको बाह्र बजिसकेको थियो। अनि हतारसित हामी त्यहाँबाट हिड्यौं। जति जति मिर्मीको नजिक पुग्यौं त्यति त्यति विदेशीहरू, राम्रा मोटरहरूको ओहोर दोहोर बढ्न थालेको आभाष भयो। हामीले मिर्मी आइपुगेको अनुमान लगायौं। साँच्चै नै एउटा सम्म रमाइलो बस्ती देखियो। रमाइलो मकैबारी, राम्रा घरहरू र थुप्रै पसलहरू देखिए। विद्यार्थीहरूमा सल्बलाहट देखियो। उत्रने तरखरमा आपसी प्रतिष्पर्धा पनि हुन थाल्यो।

कालीगण्डकी ‘ए’का लागि निर्मित ड्यामले गर्दा निर्माण भएको कृतिम ताल
बसबाट सबै उत्रेपछि बस बसस्टपतिर लाग्यो, हामी सोधपुछतिर लाग्यौं। सुरक्षा कार्यालयमा गएपछि पो थाहा लाग्यो- एक बजेपछि मात्र कार्यालय खुल्ने रहेछ। एक बजेसम्ममा त्यहाँ आइपुग्ने गरी हामी यताउता हेर्दै बजारको पश्चिमी भागमा रहेको हेलिप्याडतिर लाग्यौं। त्यहाँबाट निर्माणस्थल लगभग देखिने रहेछ। देखिने जति दृश्य त्यहाँबाट हेरेर हामी कार्यालयतिर फर्कियौं। त्यहाँ हामीले आवश्यक जानकारी लियौं। त्यहाँ रहेका कर्मचारीका अनुसार २७ अरब अनुमानित बजेटमा जुलाई २००१ सम्ममा सक्ने भनिएको सो योजनाको बजेट ४० अरबसम्म पुग्ने र थप समय समेत लाग्ने अवस्था देखिएको छ। इटालियन कम्पनी इम्प्रेजिरो, जर्मन कम्पनी नोयेल, जापानी कम्पनी मिश्री र भारतीय कम्पनी टाटा समेतले अलग-अलग गरी काम गर्ने गरी सम्पन्न हुन लागेको यो परियोजना ड्याम, डिसेनडर, सुरुङ्ग, पावर हाउस, सहस्याण्ड तथा उत्पादित विद्युतलाई बुटवल पोखरा लाइनसँग जोड्ने जस्ता कार्यक्षेत्र र कार्यक्रममा विभाजित थिए। मिर्मीबाट ६ कि.मि. लामो सुरुङ्ग खनी बेलटारीबाट पानी खसाल्ने भनिएको यो परियोजनका एशियन डेभलपमेण्टको सहयोगबाट सम्पन्न गरिने छ जस परियोजनाका लागि श्री ५ को सरकाले ५ अरबको बजेट अलग्याएको छ।
कार्यक्रमस्थलतिर जाने अनुमति नपाए पनि वरिपरिबाट हेरेर चित्त बुझाई हामी त्यहाँबाट फर्क्यौं। फेरि पनि बेलटारीतिर झर्ने र त्यतातिरको काम र दृश्य हेर्ने हाम्रो इच्छा भने हराएको थिएन। मान्छेका मनमा उठ्ने यस्ता अनन्त इच्छाहरू जो पूरा नहुन सक्छन् तर उठ्न छाड्दैनन्। यिनै इच्छामा आधारित रहेर हाम्रो जीवन अनन्तदेखि अघि बढ्दै आएको छ र, अनन्तकालसम्म बढिरहनेछ।
Happy to find this blog. You have really a nice blog! Keep rocking!!
Hi muna this is for you i wamt to remine to you that this is syangja mirmee kali gangaki A jalabidhhut pariyojana
ma asai shree krishna gandaki ward 4 ma janma bhaako yo mero ariya sarai ramro ra bikasita bhayako ma sarai khusi chhu . ra dharai thada bata yas thuma manche haruko visit ko lagi sarai veed lageko hunchha ra yo dekda gurva lagcha yo mero ariya pani ati ramro bhayo bhani