उत्तरतिर नजिकमा माडी फाँट र त्यसलाई अविरल रुपमा सिञ्चन गर्दै र बेलावेलामा पाँगो भरेर उर्बर बनाउने नदीहरू देखिने मेरो जन्मस्थल प्राकृतिक दृष्टिले मनोरम छ। नजिकका दृश्यहरूमा माडीफाँटका वरिपरि उठेका डाँडापाखा र तिनका बीचबीचमा बसेका सुन्दर गाउँबस्ती, उत्तरतिर तानसेन, पूर्वतिर आर्यभञ्याङ आदि शहर बजारको रमाइलो पनि देखिन्छ। हिमश्रृङ्खलाको रमाइलो त भन्नै पर्दैन। नीलगिरी, धवलागिरी, माछापुच्छ्रे, अन्नपुर्ण लगायतका नामै नजानेका प्रशस्त हिम-श्रृङ्खला जतासुकैबाट देखिन्छ।
हुनत अँधेरीको डरलाग्दो पहरो, कोर्केढिकको डरलाग्दो पखेरो, पोषतिरको भर्ल्यान जस्ता डरलाग्दा पखेरा र तिनको डरलाग्दो रूप मैले नजिकैबाट अनुभव गरेको छु तर पनि सुन्दरताको राशमा ती असुन्दरताहरू हराउने गरेका छन्। हाम्रो घर एकान्तमै पर्छ। एकान्तमै परे पनि सम्पर्क विहीन छैन। नेवार बस्तीका बीच भए पनि जातिपातिका हिसाबले सम्पन्न यस गाउँमा मगरहरूको बाहुल्य छ। बाहुल्यका हिसाबले भन्दा विविधताका हिसाबले भन्नु पर्दा मगर बाहेक बाहुन, नेवार, कुमाल, दमाई, कामी, सार्की लगायतका जातिहरुको बसोवास छ।
भाषाका हिसाबले नेपाली र नेवार भाषा प्रायः हाम्रो वार्डमा प्रचलित छन् भने सिङ्गै मदनपोखरालाई हेर्दा क्षेत्री, ठकुरी, राई, घर्ती लगायतका अन्य जाति तथा मगर भाषा समेत चलन चल्तीमा देखिन्छ। हिजोको मदनपोखरा र आजको मदनपोखरामा परम्परा, संस्कार, शिक्षादीक्षा तथा भौतिक सुविधाका दृष्टिले थुप्रै परिवर्तन आएको छ। विद्यालय, महाविद्यालयहरू, खुलेका, चलेका छन्। यातायातका सुविधा, बिजुली, खानेपानी, कृषिका नयाँ प्रविधि एफ.एम.रेडियो सञ्चालन, बर्खे पानी संकलन जस्ता कार्यक्रमहरू चलेका छन्।
बेला-बेलामा मदनपोखराले अत्यन्तै गहकिला काम गरेको छ, विचार उठाएको छ, योजना सञ्चालन गरेको छ। यो त्यही मदनपोखरा हो जहाँ केही दशक अघिदेखि नै मान्छेहरूमा धेरैथोरै जागरणका सङ्केतहरू देखिएका थिए। धान काट्ने मिल राख्दा बुहारी अल्छी हुन्छन्, थाल कचौरा पर्याप्त प्रयोग गर्दा,घरमा पानी पुर्याउँदासमेत बुहारीलाई काम पुग्दैन भन्ने मानसिकता बोकेकाहरू समेतलाई पछाडि छोडेर नयाँ सोच,खोज र मान्यतामा निरन्तर अघि बढेको मदनपोखराभित्र पनि रुढी, अन्धपरम्परा र शोषणका लामा कथा छन्।
खेतबारी थप्ने घरगृहस्थी चलाउने, गाईभैंसी र घाँसदाउरा गर्नेदेखि चेतनाको लहर फैलाएर नयाँ बिहानी ल्याउने सोच बोकेकाहरूको बसोवासले यसमा वैचारिक तथा कार्यक्रमिक विविधतासमेत देखिने गरेको छ। आज पनि मेरा स्मृतिमा घरबुनाका कपडा बुनेर गाउँ-गाउँ पुर्याउने नेवार परिवारका तमाम मान्छेहरूको आकृति छ। तीमध्ये कतिपय स्मृतिमा मात्र भए पनि केही त भौतिक रूपमै छन्। श्यामप्रसाद, नीरप्रसाद, दलबहादुर, रुद्रप्रसाद आदिका घरमा धेरै पहिलेदेखि पछिसम्म बुनिने घरबुनाले मदनपोखराको इतिहासलाई निरन्तरता दिएको छ। कपडामात्र होइन, फलामका राम्राराम्रा औजार बनाउने रामपुरे परिवारले लाइटर, लाइटको समेत मर्मत गर्ने कुशलताबाट सेवा पुर्याउँदै आएको छ। चिउरा कुट्ने, बेच्ने, साट्ने, कपडा सिउने, जुत्ता बनाउने र पुराना कपडा, जुत्ता टाल्ने, काँगियो, हलोजुवा, सारङ्गी, मादल, दमाहा बनाउने र बजाउनेहरू, सिकर्मी डकर्मीहरू, लामा र झारफुकेहरु सबै खालका सीपले सजिसजाउ पारेको मेरो जन्मस्थल मदनपोखरामा मकै, धान, कोदो, फापर, गहुँ, जुनेलो, घैया, उखु, आलु, सिमी, बोडी, झिलङ्गी, सागपात, फर्सी तरूल, पिंडालु, भट्ट, मास, अदुवा, बेसार, लसुन जस्ताखाद्यवस्तुहरूको उत्पादन हुन्छ। उत्पादित अन्न र वस्तु आफूलाई चाहिने राखेर साटपेट गर्नु र बेचबिखन गर्नु दिनचर्या थियो र छ।
गाईभैंसी, बाख्रा, कुखुरा, सुँगुर, परेवा पालिन्थे। तिनको पनि दूध, घिउ, मासु र ब्यापार वा खेतीपातीका निम्ति प्रयोग हुने गर्थ्यो। नेवार, मगर वा बाहुन जे भए पनि दिनचर्या उस्तै उस्तै हुन्थे। हामीले देखेकामा थोरै फरक भनेको उनीहरू प्रायः खाना अलि ढिलो खान्थे। गाईगोरु अलि ढिलो फुकाउँथे र अबेला बाँध्थे। काममा जाने समय पनि अलि ढिलो हुन्थ्यो। जामुनो, नास्पाती, मेवा, आँप, केरा, कटहर, सुन्तला, ज्यामिर, भोगटे, कागती, अमिलो, आरु, आरुबखडाका चाहना गर्नेले रोप्ने, संरक्षण गर्ने परम्परा थियो। हाम्रै बारीमा पनि यीमध्ये धेरै किसिमका फलफूलका रुख बिरुवाहरू थिए।
बुढा पुराना अनुहारहरू बोक्सी भूतप्रेतका कुरा गर्थे। डराउन दिनका लागि थियो वा डरले त्यस्ता कुरा गर्थे मैले बुझ्न सक्दिनथें तर पनि चर्चा परिचर्चा चलिरहन्थ्यो। तिनै चर्चाभित्र उनीहरूको मानसिकता तयार बनेको हुन्थ्यो। आमाहरू भातभान्छा, कुटपिस, लिपपोत, मेलापात, घाँसदाउरा, बालीनालीदेखि राखनधरनसम्मका काममा लाग्नुहुन्थ्यो। बिहानको ३।४ बजेदेखि रातिको ९।१० बजेसम्म कुनै न कुनै काम गर्नु नियमै बनेको थियो। ती कामसित छोराछोरीको हेरविचार समेत गर्नुपरेपछि तिनको कत्तिको स्याहार सम्भार हुँदो हो? तैपनि हामीले जीवन धान्न सक्यौं र जीवन यापन गर्दैछौं।
वरपर छिमेकमा पाञ्चायन पूजा हुनेगर्थ्यो। पूजा गर्ने, नैवेद्य लाएर खाने, चन्दन लाउने परम्परा थियो। स्नान सन्ध्याको नियम थियो। छुवाछुतको भावना थियो। घरमै पनि जेठाजु बुहारी, मासिकवारी भएका, सुत्केरी भएका र किरिया बसेकाहरू अरुसँग नछोइने, सँगै भात भान्छा नगर्ने चलन थियो। जाति-जातिमा त्यस्तै थियो। विशेष गरी व्रतबन्ध गरेकाहरूले छोइयो भने छिटो हाल्नुपर्नेदेखि नुहाइधोइ र जनै फेर्नेसम्मको चलन थियो। यसरी घर-घरमा, आफ्नै परिवारमा त छोइछिटो थियो भने धर्मधर्म जाति-जातिका बीच भेद नहुने कुरै थिएन। भेद र छुवाछुतका वैज्ञानिक वा धार्मिक आधारहरू के हुन्? भन्ने विश्लेषणभन्दा अघिल्ला पुस्ताको व्यवहार गर्थे जो उनीहरूका पितापुर्खाले गर्ने गरेका थिए।
अध्ययन-अनुसन्धान र विश्लेषण नगरी परम्परादेखि चलेका यस्ता व्यवहारहरूले हाम्रो समाजमा विभाजनको जुन रेखा खिंचेको थियो त्यही रेखाका दुई किनारमा हामी अलमलाइरहेको अवस्था थियो। आज त्यो अलमल धेरै कम हुँदै गएको छ र सोध-खोज, विचार-विमर्श र अध्ययन-अनुसन्धानले तिनलाई स्पष्ट पार्दै लगेका छन्। हाम्रा परम्पराका बारेमा बताउने हामी हुन नसक्नु, तिनको संरक्षण-संवर्ध्दन गर्न हामी नै लाग्न नसक्नु हाम्रा कमजोरी हुन्। किन हामीले त्यहाँका खराबी बुझ्न र तिनलाई फेर्न सकेनौं? किन हामी हाम्रो भाषा, संस्कृति, कला र धर्मकाबारेमा विदेशीले बताउनुपर्ने भयौं? किन अरुले बताउनुपर्ने भयौं हामी? कस्तो विडम्बना! हामी सबैथोक भएर पनि केही नभएका! हिजो जुन बिभाजन थियो त्यो आज पनि छ बरु आजको बिभाजन हिजोको भन्दा डरलाग्दो छ। हिंजो जेठाजु-बुहारीबीचको अश्पृश्यता पार्टीपार्टीबीच, विचार विचारका बीच देखिइरहेछ। जातिजातिका बीच सहभोज, अन्तर्जातीय विवाह चलिरहेछ तर राज्यसंचालनको जिम्मेवारी लिएर समाजको बागडोर समाउनुपर्नेहरू, त्यसका निम्ति नीतिनियम र कार्यक्रम बनाउनु पर्नेहरू एक अर्कासँग छुवाछुतको परम्परा बसालेर हिंड्दैछन्। एउटासँग छोइँदा छिटो हाल्नुपर्ने, आगो-पानी गर्नुपर्ने, सुनपानी चाहिने जस्तो व्यवहार गर्दैछन्।
समाज, राष्ट्र र राष्ट्रप्रमुखलाई समेत व्यावहारिक अर्ति दिने बिसे नगर्चीसँग सल्लाह लिने परम्परा सकिएको छ, सोच विचार र सरसल्लाहको परम्परा ध्वस्त भएको छ। हाम्रा परम्परागत कृषिजन्य सामानहरू आरनमा बनेकै छन्। केश काट्न सैलुन, सृङ्गार गर्न ब्यूटीपार्लर, कपडा सिउन टेलरिङ्ग सेन्टर, जुत्ता मरम्मत गर्न शू हाउस बनेका छन् र आवश्यकताको अनुभव पनि भैसकेको छ। साबुन, चाउचाउ, चिनी, चुरोट, सलाई र कागज कारखानाहरू बन्दैछन् तर हाम्रो मनमा अलग र नयाँ मान्यताको स्थापना हुन सकेको छैन। व्यावहारिक पक्ष अलि सबल बन्दै गएको छैन। त्यसैले जेठाजुबुहारीको दूरी बनेकै छ। स्पृश्य-अस्पृश्यको परम्परा उस्तै छ। राजाको काम छाडी…………….. उखानले मान्यता पाएकै छ। यिनैयिनै परम्पराबाट, मेरो समाज र देशवासीहरूले गुज्रनु परिरहेकै देख्छु र आममुनिका बुढाका रोचक वर्णनहरू सम्झन्छु। उनका क्रियाकलाप र ख्यालठट्टाको विवेचना गर्छु तिनको रूपरेखा उतार्न नसके पनि संकेतलाई उद्धृत गर्छु।
रोपाइँ र दाइँका बेला (असार-मंसीर) धान खेती गर्ने किसानहरूका घरबाट पालैपालो आफ्नो रोपाईँ र दाइँको दिन तोक्ने परम्परा पुरानै रहेको हाम्रो गाउँमा त्यस दिन सबै खेतारा र हलीलाई अर्नी खुवाउने चलन छ। त्यसका निम्ति प्रायः खट्टे, पुवा, आलु-चिउरा खुवाउने गरिन्छ। त्यसका निम्ति घरका बुहारीहरूले सबै बन्दोबस्त गर्छन्। अर्नी तयार गर्नु पर्नेलाई छोडेर अरु पहिल्यै काममा जाने हुनाले तिनै बुहारी वा सासू घर बसी खानेकुरा तयार गर्छन् र बोकेर खेतमा झराल्छन्।
डालीभरि-भरि तयारी अवस्थाका ती खाद्यसामग्री ढाकरमा राखी बोकेर झरेका बुहारीहरूलाई बेलामौकामा आममुनि बुढाले समस्यामा पारिदिँदा रहेछन्। बाटामा निस्केका बेला उनले यस्तो सामग्री भेटेभने एउटा रमाइलो ठट्टा गर्थे। त्यो सामान्यतया सत्य हुन्नथ्यो तर उनले त्यसलाई सत्य बनाइदिन्थे।
बडा रमाइलो तरिका थियो उनको। उनी पछाडि वा दायाँ-बायाँ हुन्थे र केही समय १/२ मिनेट भए पनि आत्तुरीमा हिंडेको अभिनय गर्थे। त्यसपछि बडा रमाइलो तर गम्भीर पारामा भन्थे- ‘जा….बुहारी बर्जु, के ल्याउनुभा’थ्यो कुन्नि? छोइयो पो। म मोरालाई के को आत्तुरी हो कुन्नि?’
दिनको १२ बजेको करिबमा तयार भैसकेको र हिंडालेको अर्नी छोइएपछि फेरि तयार गरेर लैजानु कम समस्याको कुरो हुन्नथ्यो। बुहारी मान्छेका निम्ति झन् घर गएर सुनाएपछि हप्की-दप्की सुन्नुपर्ने अर्को समस्या समेत हुन्थ्यो। न फिर्ता गर्नु न खेतमा लैजानुको अवस्थामा ती बिचराहरूको मानसिक अवस्था कस्तो हुँदो हो? त्यसपछि ती सबै चीज उनैलाई बुझाएर घर र्फकनुपर्थ्यो तर जब उनले- ‘ए हैन, मैले हाँसो गरेको हो’ भन्थे तब झन् समस्या हुन्थ्यो। पत्याउनु कि नपत्याउनु?
जातिपाति र छुवाछुतको परम्परा रहेको समाजमा यसरी मान्छेका मनमा हाँसोको माध्यमबाट समस्या सृजना गरिदिए पनि यस्तो साँच्चै नै गरिंदैनथ्यो तर पनि त्यसले साँचो रुप लिन्थ्यो।
यो मात्र होइन आफ्नै जातिभित्र पनि उनको एउटा छुट्टो व्यवहार हुन्थ्यो। बुहारीहरूले आदर गरेनन्, ढोग्न बिर्से भने उनी त्यसलाई पनि ठट्टाकै माध्यमबाट लिन्थे र त्यसलाई अर्कै रूपमा लैजान्थे। उनको बडा रोचक तरिका हुन्थ्यो। बुहारी, सालीका अघि उभिन्थे र सम्बोधन गर्दै भन्थे- ‘जदौ बुहारी साहेब!’
उनको चाहना मनोरञ्जन मात्र थियो या शिक्षा दिनु पनि थियो कुन्नि? तर मान्छेहरूका दृष्टि भिन्न-भिन्न थिए। सकारात्मक र नकारात्मक दुबै दृष्टिले हेर्नेहरू थिए। यस्तो व्यवहार छुवाछुत आन्दोलनका पक्षमा देख्नेहरू र विपक्षमा मान्नेहरू पनि देख्छु तर मैले यी सबैमा बढी मनोरञ्जनात्मक भावना देख्छु। यसले बुहारीहरूलाई मानसिक यन्त्रणा दिने गरेको नकारात्मक पक्ष हुँदाहुँदै पनि हाँसो ठट्टा, नाचगान र बजाउने हुर्केकाले यस्तो व्यवहार देखिनु स्वाभाविकै हो। समाजमा हिजो देखिएका यस्ता परम्परा हराउँदै गए पनि नयाँ मान्यता सुदृढ हुन सकेको छैन। मान्यता बन्ने क्रममा भने छ। अर्नी छोइयो भन्ने, बुहारीलाई जदौ भन्ने परम्परा नहोला तर त्यसको अर्को रूप भने बनेको छ। व्यवहार र नीतिमा जे भएपनि त्यही परम्परा अर्को रूपमा देखा परेको छ।
अहिले पनि सासू ससुराहरू ढोग खोज्ने र बुहारीहरूले ढोग्न बिर्सने हुन्छ तर ढोग माग्ने भाषा र शैलीमा परिर्वतन आएको छ। नढोगाई नछोड्ने र ढोग्नै नचाहने प्रवृत्ति आज पनि छ। आफूले देख्दादेख्दै अर्नीको ढाकर छोइदिने वा छोइयो भनेर हाँक दिने र अर्नी छोडेर फेरि बनाउनुपर्नेहरूका अवस्थामा फेरबदल आएको छ तर संस्कार र मान्यताका बीचको उस्तै प्रवृत्ति छँदैछ। घुमिफिरी रुम्जाटार भने झैं भएका छन् हाम्रा मान्यताहरू। एकातिर सुधारिंदै र अर्कोतिर साँघुरिंदै छन्। यिनको साँघुरोपनलाई सधैंका निम्ति खुल्ला राख्ने दिन कसरी आउला कुन्नि? त्यसका निम्ति आफै उदाहरणीय नबन्दासम्म सम्भव होला र?
Filed under: Articles, Culture, DR Aryal, Madanpokhara, Memory, Nepal, Palpa, Place, rural custom