
आफ्नै मुडमा जयदीप
- दिनेश विष्ट
केही दिन अघि देखि अनौठो सपना देख्दै आएको थिएँ। विज्ञानको विद्यार्थी भएर होला सपनाको बारेमा झट्ट विश्वास त लाग्दैनथ्यो र लाग्दैन पनि तर अनौठो सपना त्यो पनि दिनहुँ देखिरहँदा मलाई एकै पटक आशंका, डर तथा कौतुहलताको अनुभव भइरहेको थियो। झण्डै तीन महिना अगाडि पनि त्यस्तै प्रकारको सपना दैनिक देख्दा-देख्दै बुवाको सितल छहारी सदाका लागि चँडिएर गएको थियो। त्यो याद ताजै रहिरहेकोले पनि होला उस्तै प्रकृति र विषयवस्तुमा आधारित सपनाको परिणाम पनि कतै दर्दनाक त हुने होइन भनेर आशंका गरिरहेको थिएँ।
अफिसको काम पनि मन लगाएर गर्न सकिरहेकै थिइन। त्यसैले ५ बज्नासाथ सरकारी कर्मचारी जस्तै कोठातिर हान्निएँ। उसो त खासै सन्चो पनि थिएन। कोठामा आउनासाथ ओछ्यानमा पल्टिएर टेलिभिजन अन गरे। ढाडको समस्या भएकोले निदाउने भन्दा पनि आराम गर्ने उद्देश्य थियो। हरेक कार्यका फरक-फरक उद्देश्य हुन सक्छन्।
कान्तिपुर समाचार प्रतिको मेरो मोह पहिलेदेखि नै थियो। अहिले पनि ज्यूकात्यूँ छ। खै, किन हो कुन्नि कान्तिपुरको समाचार सत्यताको नजिक हुन्छ भन्ने मान्यता राख्दछु। यो मेरो मात्र बुझाई पनि हुन सक्छ। त्यसैले समाचार सुन्न म आतुर थिएँ। मुख्य समाचारको शिर्षकमै चितवन र पाल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको भन्ने समाचार सुन्नासाथ मेरो मुटु ढुकढुक गर्न थालिसकेको थियो। कतै मैले देखेको सपनाको नराम्रो परिणाम सुन्न पर्ने पो हो कि? त्रासदि-युक्त मन लिएर विस्तृत समाचारको प्रतिक्षामा हुन्छु। समाचार जतिजति नजिक पुग्छ उतिउति ममा शंका र भयले ठाउँ लिदै जान्छ। मोटरसाइकल दुर्घटनामा कैलाशनगरका जयदीपको मृत्यु भएको सुन्दा त म खंग्रङ्गै भएँ।
टेलिभिजन, त्यो पनि आफुलाई विश्वास लाग्ने सञ्चारगृहले दिएको समाचार! तैपनि विश्वास लागेन। केही क्षण के गरुँ र कसलाई सोधु भनेर रन्थनिएँ। झट्ट दीपक अर्याल र देव थापाको याद आयो। करिब ४ बजेको हाराहारीमा त देवसँग फोनमा कुरा भएको थियो। शायद त्यतिखेरसम्म दुख:द घटना भएको थिएन। कसैलाई फोन गरेर सोध्ने हिम्मत पनि भएन। त्यसैले दीपक र देव दाईलाई एसएमएस गरेर समाचारको आधिकारिकता पुष्टि गर्ने जिम्मा दिएँ। दुवैले अत्यन्त छोटो तर स्पष्ट जवाफ पठाउनुभयो- ‘जयदीप अब हामीसँग रहेनन्।’ त्यसपछि त झन छटपटी भइरह्यो। के गुमाए, के विराए झैं भैरह्यो। दीपक कार्कीसँग कुरा गरें उहाँले पनि भरखर मात्र थाहा पाउनु भएको रहेछ। यो हुनै नसक्ने कसरी भयो भनेर उहाँ अविश्वास व्यक्त गर्दै हुनुहुन्थ्यो। कुनै पनि कुरालाई एकैपटकमा विश्वास नगर्ने उहाँको बानी अहिले सम्म गएको रहेनछ। कति बजेको समाचारमा भन्यो, यहाँ त लोडसेडिङ छ आदि-इत्यादि।
दीपक अर्यालजीले लेखे झैं मलाई पनि थाहा छैन जयदीपसँग कहिले भेट भयो, कसरी परिचय भयो? सम्झने निकै प्रयास गरें तर अब त स्मरण शक्ति पनि धेरै कम भइसकेछ क्यारे सम्झना नै आएन। त्यसो त ऊ मेरो त्यति नजिकको साथी पनि होइन वा भनुँ भने, म उसको नजिकको हुन सकिन।
स्कूलमा अध्ययन गर्दा होस्टेलमा बस्ने साथीहरूबाट म धेरै सताइने गर्दथें तर किन हो मलाई थाहा थिएन। ती सताउने साथीहरू अहिले पनि होलान्। शायद उनीहरूले नै जवाफ दिन सक्लान्। तर, त्यहीँ समुहको एक अपरिचत मान्छे जसबाट म कहिले सताइनु परेन। अपरिचित भए पनि मलाई सताउनेहरूलाई ऊ गाली गर्दथ्यो। त्यो मान्छे जयदीप थियो भन्ने कुरा धेरै पछि मात्र थाहा पाएँ। अहिलेसम्म पनि मेरो बोल्ने वा सामाजिक अन्तर्क्रियामा सहभागी हुने बानी कमै छ। स्कूल जीवन, त्यो माथि होस्टेलमा बस्ने केटाहरूको लागि त म किताबी किरो बाहेक केही थिइन। होस्टेलका केटाहरूलाई परीक्षाको बेलामा चिट चोराउनु पर्ने वाध्यता हुन्थ्यो मलाई पनि। नत्रभने उनीहरू मलाई जतिखेर जे पनि गर्ने धम्की दिन्थे। मलाई धम्काइएको बेला होस् वा धक्का दिएको बेला होस् यो मान्छेले आफ्ना ती दौतरीलाई साथ दिदैनथ्यो। होस्टेलमा खराब आचण र व्यवहार भएका विद्यार्थीहरू मात्र बस्छन् भन्ने मान्यता मेरो थियो तर यो व्यक्तिको व्यवहार देखेर भने मलाई अचम्म लाग्थ्यो। किन ऊ अरु जस्तो छैन? तर होस्टेलमा हुने राम्रा/नराम्रा सबै कामहरूको मुख्य सुत्राधार नै जयदीप हुन्थ्यो भनेर दीपकजीले लेखेको देख्दा भने मलाई अचम्म लाग्यो। त्यसो त मैले भन्दा धेरै नजिकबाट जयदीपलाई दीपकजीले नै चिन्नुहुन्छ। म वास्तवमा त्यति धेरै नजिकको हुनै सकिन।
हरेक व्यक्तिका आ-आफ्नै सवल र कमजोर पक्ष त हुन्छन् नै। कसैको सवल/कमजोर पक्षको लेखाजोखा गर्नु कम चुनौतीपूर्ण हुँदैन। जयदीपका नजिकका साथीहरूले जस्तो उसका हरेक कुराको विल्लेषण गर्न सक्ने हैसियत म राख्दिन, राख्नुपनि हुँदैन। उसलाई मैले कुनै चिजको कमी नभएको एउटा मान्छेको रुपमा बुझेको छु। उसले आफ्नो खुबीको उपयोग गर्न सक्यो वा सकेन त्यो पनि छलफलकै विषय होला तर उसमा केही कुराको कमी थिएन म ढुक्कसाथ भन्न सक्छु। के थिएन उसमा? आर्थिक रुपमा सवल थिएन कि, बौद्धिक क्षमता थिएन कि? हिम्मत र साथीको लागि गर्ने त्याग गर्ने क्षमता? ऊ भित्र रहेको तार्किक विश्लेषण गर्ने तथा पूर्वानुमान गर्न सक्ने क्षमता उसको संगत गर्ने जो कोहीले पनि सहजै अनुभव गर्ने कुरा थिए।
हाम्रो साथित्वको नाता भने हामी क्याम्पसमा सँगै पढेदेखि शुरु भयो जस्तो लाग्छ। उसले मलाई सधै सम्मानको दृष्टिले हेर्दथ्यो तर थाहा छैन किन? म बिचरोमा त्यस्तो केही चिज थियो वा छ जस्तो लाग्दैन ताकि उसले मलाई हेर्ने दृष्टिकोण सम्मानजनक होस्। ऊ पनि म भित्र धेरै क्षमता छ भन्ने ठान्दथ्यो शायद त्यसैले त मैले सोचे जति प्रगति गर्न नसकेकोमा उसले असन्तुष्टि व्यक्त गर्दथ्यो।
आइएस्सी पढ्दादेखि हो जयदीपसँग अलिग नजिक हुन थालेको। यो पलको साथित्व पनि यथेष्ट भने थिएन। दीपकजीसँग एउटै टोलमा बस्ने भएर होला अलिग धेरै नै नजिक थिएँ। उहाँ कहाँ जाने आउने क्रम भइरहन्थ्यो। क्याम्पस जाने बाटो पनि उही भएर होला जयदीपसँग अलिक हेलमेल बढ्दै गयो। मन नपर्ने कार्य गर्न उसले अरुलाई कहिल्यै प्रोत्साहन गरेन। समयसँगै हामी एउटै समुहमा आवद्ध भयौँ। त्यो समुहमा सबै खाले साथीहरू थिए। सही कुराको पक्ष लिनु र गलत कुराको भण्डाफोर गर्नु उसको बानी थियो। मैले बुझेसम्म उसलाई राजनीतिसँग वितृष्णा थियो। ऊ भएको ठाउँमा कसैले पनि राजनीतिक बहस गर्दैनथे। उसलाई राजनीति पटक्कै मन पर्दैनथ्यो। अखिलको नेताले भाषण दिए नेविसंघ बनेर प्रतिवाद गर्दथ्यो, अनि नेविसंघले फुर्ति लाउन खोजे अखिल बनेर। उसको तार्किक प्रश्नको कसैले पनि जवाफ दिन सक्दैनथ्यो। उसमा राजनीतिको ज्ञान भने यति थियो कि उसको प्रश्नको जवाफ कसैले दिन सकेको देखिदैनथ्यो। राजनीतिको गहिरो जानकारी भएर पनि ऊ आफु भने अराजनीतिक नै थियो। उसमा तात्कालिन राजनीतिक अवस्थाको जानकारी यति सम्म थियो कि उसलाई कुनै पनि पक्षबाट बहस गर्न, तर्क राख्नका लागि सोच्ने समय नै चाहिँदैनथ्यो।
साइन्स पढ्दै गर्दा केही साथीहरू साइन्स छाडेर कमर्सतिर लागे। उसले पनि धेरै साथीहरूलाई पछ्याउँदै साइन्स छाड्यो तर नसकेर भने होइन तर मैले साइन्स छाडिन। त्यसपछि भने हाम्रो भेट कम हुन थाल्यो। बीएस्सी पढ्दा हुनुपर्दछ हामीले हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेका थियौं। जयदीपको समुह पनि सहभागी भएको थियो। कार्यक्रमको सभापतित्व मैले गरेको थिएँ। कार्यक्रममा विवाद भयो र साँझपख झडपको स्थिति पनि भयो। त्यसलाई सामान्य गराउने काममा जयदीप लगायतको भूमिका अत्यन्त महत्वपूर्णा थियो। गल्ती हाम्रो तर्फबाट भएको थियो तापनि विवाद सुल्झाउने काममा उसले जुन नेतृत्वदायी भूमिका निभायो त्यो कारणले कार्यक्रमको सभापतित्व गरेकोमा मलाई गर्व नै महशुश भयो। पछि भेटमा भन्दै थियो तिमीले कार्यक्रम आयोजना नगरेको भए धेरै कुराहरू हुन सक्थ्यो।
जयदीपको साथी भएर पनि साह्रै नजिकको हुन नसकेको कुरा त शुरु मै लेखिसकें। यस पटकको दशैं मनाएर काठमाडौं फर्किने क्रममा तानसेन हुँदै फर्कँदै थिएँ। उसलाई संयोगले घर बाहिर नै भेटें। उसले मलाई निकै कर गरे पछि उ सँग चिया पिउन म वाध्य भएँ। उसको घरमा उसँगै चिया पिएको त्यो नै पहिलो अवसर थियो। उसले विगतमा के के गर्यो वा के गरेन त्यो मलाई थाहा भएन। किन? कारण स्पष्ट छ- मैले चासो पनि लिइन। तर त्यसदिन भने अचम्म भयो, उसले आफ्ना जीन्दगीका आरोह/अवरोहहरू शेयर गरि नै रह्यो निरन्तर। कति सम्झन सकेको वाफ रे वाफ एक-एक कुराहरू? ऊ एकनासले भनिरहेको थियो म नतमस्तक भएर सुनिरहेको थिएँ कुनै फिल्मी सिरियलमा जस्तै। कतै खुशी, कतै दु:ख त कतै आत्मग्लानी। कतै निराशा त फेरि कतै आशा। वास्तवमा जीन्दगीका धेरै पक्षहरूको अनुभव उसले गरिसकेको रहेछ। उसका कुराहरू सुन्दा मलाई लाग्यो- मैले उसलाई एक चिम्टी पनि बुझेको छैन। उसँग यति धेरै कुराकानी भयो कि बिहानको समय बितेको थाहा नै भएन। मैले सबै कुरा सम्झन पनि सक्दिन र सम्झे जति सबै लेख्नुपर्ने पनि देख्दिन। उसँग छट्टिइपछि मैले सोचेको थिएँ, अब जयदीप आफ्नै नजरमा पनि ‘नयाँ जयदीप’ भएछ। कुरै कुरामा उसले व्यवसायको कुरा समेत गर्यो। उसले भन्यो- ‘आफ्नो होटेलको प्रचारप्रसार गरेर मात्र हुनुपर्नेमा हामीले पहिले पाल्पाको प्रचार गर्नुपर्दछ। त्यसपछि मात्र होटेलको नत्र कसरी पर्यटक आउँछन् र?’ उसको भनाइमा पाल्पामा पर्यटन प्रवर्धन गर्ने नारा केवल नारा मात्र हो। सबैले आ-आफ्नो जिम्मेवारी मात्र पुरा गरे पो प्रभावकारी हुन्छ र? राजनीतिक भाषण मात्र गरेर पर्यटन कसरी प्रवर्धन हुन्छ? उसको दीर्घकालिन पर्यटन प्रवर्धन गर्ने सोच सुन्दा मेरो मनमा हुडहुडी नै मच्चियो। मैले पनि सकेको सहयोग गर्ने वाचा गरेको थिएँ, उसलाई।
त्यसपछि म काठमाण्डौ फर्किएँ। फेरि हाम्रो सम्पर्क टुट्यो। उसले अनलाइनको लागि लेख लेखिदिन अनुरोध गरेको थियो तर काठमाडौं आएपछि त्यो पनि बिर्सिएँ। दु:खद घटना सुन्नुभन्दा अगाडि उसको फोन आएको थियो। मैले सम्झेसम्म त्यो नै उसले मेरा लागि भनेर गरेको पहिलो तर अन्तिम फोन थियो। मेरो बुवाको दु:खद निधन भएको करिब तीन महिना भइसकेको थियो, तर उसले कहाँबाट थाहा पाएछ र समवेदना दिनकै लागि भनि फोन गरेको रहेछ। उसको फोन पश्चात् म खुशी र दु:खी एकैसाथ भएँ। खुशी यसकारण कि कतिपय नजिकका कहलिएका साथीहरूले समेत समवेदनाका दुई शब्द शब्द व्यक्त गर्न नचाहेको अवस्थामा एउटा साथी जो कहिले मेरो नजिकको हुन सकेन उसले ढिलै भएपनि थाहा पाउनासाथ दु:खमा साथ दिन खोज्यो। दु:ख यसकारण लाग्यो कि माहुरी लागिसकेको घाउ ऊसले फेरि उप्काइदियो।
जब दुर्घटनाको खबर सुनें म आफैमा विछिप्त भएँ। कसलाई भन्ने? के भन्ने? दीपकजीले पाल्पा अनलाइनको लागि मनको कुरा लेखिदिन अनुरोध गर्दा पो झल्यास्स भएँ त उसले पनि पाल्पाको पर्यटन प्रवर्धन गर्नको लागि एउटा लेख लेखिदिन गरेको अनुरोध चटक्क बिर्सिएछु। दीपकजीले भने झैं मनका कुरा लेख्ने प्रयास त गरें तर कलम नै चलाउन सकिन। दीपकजीको लेखमा कमेन्ट लेखेर आफ्नो दायित्व पुरा गर्ने प्रयास गरें तर पनि मनले मानेन। बल्लबल्ल साहस बटुलेर केही लेख्ने प्रयास गरेको छु।
हाम्रो संस्कृति नै यस्तै छ।बाँचुञ्जेल हामी कसैलाई केही गर्दैनौं। जब कोही हुँदैन, अनिमात्र सम्झनामा कैद गरेर गुनासो गर्ने गर्छौं। यो सोचाईमा, यो व्यवहार र मानसिकतामा कहिले परिवर्तन हुने हो थाहा छैन। दीपकजीले भने झैँ साथीहरूले नै उसलाई केही गर्न दिएनन्। शायद मैले पनि एउटा साथीको नाताले उसको कदममा सानो सहयोग गर्ने वाचा दिएर पनि गरिन। शायद समयमा मैले तिमीलाई बुझ्नै सकिन र बुझे पछि पनि केही गर्न सकिन। मलाई आत्मग्लानी छ जयदीप तिमीले मागेको एउटा लेख समेत मैले उपलब्ध गराउन सकिन। वास्तवमा तिमी सधै साथीका निम्ति बाँचिरहयौ। ‘सलाम छ’ तिम्रो त्यो महानतालाई। तिमीलाई साथीहरूले नै केही हुन दिएनन् तर पनि तिमीले साथीहरूलाई कहिले दोष दिएनौ। सधै साथीहरूको लागि लड्यौ। यो शोकको घडीमा तिमीप्रति गर्न सक्ने भनेको श्रद्धासुमन बाहेक केही छैन। जयदीप तिमी मरेर पनि हाम्रो मन मष्तिस्कमा बाँचिरहेका छौ, छाहीरहेका छौ। तिम्रो आत्माले स्वर्गको वास पाओस्। भगवानसँग मेरो यहीँ प्रार्थना। हार्दिक श्रद्धासुमन तिमीलाई।
Filed under: Jayadeep, Palpali, Uncategorized
Comment by deeps42
March 12, 2007 @ 1:31 am
दिनेश जी, नमस्कार
जयदीपलाई सम्झँदा शीर्षकमा तपाईँले लेखेको ‘तर होस्टेलमा हुने राम्रा/नराम्रा सबै कामहरूको मुख्य सुत्राधार नै जयदीप हुन्थ्यो भनेर दीपकजीले लेखेको देख्दा भने मलाई अचम्म लाग्यो’ भन्ने वाक्यले मलाई पनि सोच्न बाध्य बनायो। मेरो आशय खाली के हो भने हामीहरूको संस्कृति वा व्यवहारले हामीलाई जे राम्रो र जे नराम्रो भन्न सिकायो त्यसका आधारमा होस्टलमै भएका विविध घटनाहरू जस्तै (खाना नमिठो भएका कारण बहिस्कार वा विरोध) जस्ता न्यायीक कुराहरूलाई पनि हामी विद्यार्थी र अझ अनुशासित विद्यार्थी भइ टोपलेका हिसाबले मात्र नराम्रो भनेको हो। यसलाई अन्यथा नलिइदिनुहोला।
दीपक