२०४७ को संविधान जारी गर्दाको शाही घोषणा

(नेपाली समाज वा जनताका  लागि कतिपय हदमा सबैभन्दा प्रिय मानिएका राजा बीरेन्द्रले २०४७ सालको संविधान घोषणा जारी गर्दाको भावनाहरू ऐतिहासिक दृष्टिकोणमा महत्त्वपुर्ण हुनेछ भन्‍ने विश्वासका साथ यो दस्तावेज राखेका छौं।)

प्यारा देशवासीहरू,
लोक सम्मतिकै आधारमा मुलुकको शासन चलाउने हाम्रो परम्परा अनुसार राजा र जनताको सहयोगबाट २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापना भएको बेला प्रजातन्त्रको विकासमा नेपालमा जे जति राजनैतिक परिवर्तनहरू भए ती सबै जनताको चाहना र सहयोगबाट भएका हुन्।
प्रजातन्त्रमा व्यक्तिको स्थान महत्वपूर्ण हुन्छ।
व्यक्ति व्यक्तिकै सामूहिक चाहना र चासोबाट नै प्रजातान्त्रिक भावना र संस्कारको विकास हुन्छ। देश विकासको लामो यात्रमा प्रत्येक व्यक्तिलाई राष्ट्र निर्माणमा सरिक हुन संविधानले व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको स्पष्ट व्यवस्था गरेको छ। संविधान प्रदत्त अधिकारको विवेकपूर्ण प्रयोगबाट आवश्यक प्रजातान्त्रिक संस्कार प्राप्त हुनेछ भन्ने मलाई लागेको छ। खुला समाज, उदार राजनीति र लचिलो आर्थिक व्यवस्थाका परिधि भित्र प्रत्येक नेपालीको व्यक्तित्व फस्टाउन सक्छ भन्ने हाम्रो विश्वास छ।

जनताको इच्छा अनुसार नेपालमा पुन: बहुदलीय व्यवस्था स्थापना गरी प्रजातन्त्रलाई सुदृढ गर्न संविधान सुझाव आयोग गठन गरिबक्सेका थियौं। सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँधी नेपाली मात्रको आकांक्षा अनुसार संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रको विकास गर्न यो नेपाल अधिराज्यको संविधान आधार हुनेछ भन्ने दृढ विश्वास राख्दै आयोगले तयार गरेको मसौदालाई मन्त्रिपरिषद्को सिफारिसमा हामीमा अन्तर्निहित संवैधानिक तथा राजकीय सत्ता र विशेषाधिकारको प्रयोग गरी नेपाल अधिराज्यको संविधान २०४७ जारी गरी तत्काल लागू गरिबक्सेका छौं। साथै नेपलाको संविधान २०१९ प्रतिसंहरण गरिबक्सेका छौं।
श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्।
जय नेपाल।

Leave a Reply