‘नेता भएर हिड्छ घरमा धारो छैन’ : डिल्ली राज अर्याल

नेपाली मानसिकताको गहिरो अध्ययन गर्नु पर्दैन जस्तो लाग्ने गरेकाले मैले त्यतातिर ध्यान दिन सकेको छैन र दिने गरेको पनि छैन। बरु अलिकति विवेचना विश्लेषण र व्याख्या गरे पुग्छ भन्ने भावनाले मलाई छुने गरेको छ। यसो भएर पनि कहिलेकाही अलि गम्भीर भएर सोच्नुपर्ने हो कि? भन्ने ठान्छु तर समयाभावका कारण सामान्य सोचाइबाटै काम चलाउने गरेको छु। केही पहिले बुटवल बस्दाका रमाइला पक्षको बिस्मृति हुन नपाउँदै तानसेनको बसाइ शुरु हुन्छ। बुटवलमा बस्दा दैनिक सिद्धार्थ र लुम्बिनीका कार्यालयमा दिनहुँ जाने, लेख्ने र समाचार सम्पादनमा सघाउने समेत गर्थें। त्यहाँ बाबुराम अर्याल, एकराज पाण्डे, बूँद राना, दिल साहनी, कर्ण कार्की, मोहनसिंह थापा, गोपीरमण उपाध्याय, हरि दुवा, बाबुराम भट्टराई लगायतका व्यक्तित्वहरूसँग दैनिकजसो भेट भैरहन्थ्यो। साहित्यिक कार्यक्रमहरू हुन्थे।एकदिन युगज्योति पत्रिका निकाल्ने सल्लाह भयो। सम्पादक बाबुराम रहेको सो पत्रिका दर्ता भैसकेको थियो। त्यो पत्रिका चलाउन हामीले शुरुमा मासिक रु.१५०।- उठाउने सल्लाह गरेका थियौं। तेस्रो अङ्क प्रकाशन गर्ने सिलसिलामा छाप्दाछाप्दै प्रहरीले जफत गरेको थियो र त्यसपछि प्रकाशन बन्द भयो ।

जन आन्दोलनको शुरुवातसँगै गणेशमान सिंहको निवास चाक्सीबारीमा भएको आन्दोलनको घोषणा कार्यक्रमको चर्चा शुरु भयो। खासखास मान्छेहरूले त्यो कार्यक्रम हेर्ने चासो राखेको मलाई पनि थाहा थियो। बुटवलमा पनि हरि दाइको निवासमा त्यो भिडियो हेर्ने तयारी हुँदै थियो। बाबुरामजीले मलाई पनि हेर्न आउने निम्तो दिनुभएको थियो। हेर्ने रहर मेरो मनमा पनि भएकाले मैले पनि चासो राखेको थिएँ। त्यतिबेला दैनिक सिर्द्घार्थ औद्योगिक क्षेत्रबाट निस्कथ्यो र भर्खर भर्खर त्यता सरेको थियो। त्यसैले यता तयारी हुँदासम्म औद्योगिक क्षेत्रतिर गएर आउने गरी हामी त्यतातिर लाग्यौं।

चौराहाबाट मोटर साइकलमा त्यहाँ पुग्न दुइ तीन मिनेट भन्दा बढी लागेन होला, त्यहाँ पनि हामी धेरै समय बसेनौं। पाँच सात मिनेट बस्यौं होला। हामी फेरि फर्केर राजमार्ग चौराहा आइपुग्दा पो थाहा भयो त्यतिञ्जेलमा त्यहाँ एउटा अनौठो घटना घटेछ। भएछ के भने अञ्चलाधीश कार्यालयको आदेशमा त्यहाँ हेर्न तयार गरिएका ती सामानहरू सबै जफत गरेछन्। दश बाह्र मिनेटभित्रको त्यो घटनाको हामीले कल्पनै गरेका थिएनौं। बाबुरामजी र म झसङ्ग भयौँ। पञ्चायती कालको त्यो घटना मेरो पहिलो अनुभव त थिएन तर पनि त्यस्तो कार्यक्रम जसको आयोजना राजधानीमा भयो त्यहाँ रोक लागेन तर त्यसैलाई बुटवलमा हेर्न प्रतिबन्ध लाग्यो! धन्न हेर्न जम्मा भएका हामीहरू कोही पनि खोरमा जान परेन। शायद रवीन्द्रनाथजीको प्रभाव पो थियो कि- किनकि त्यो पत्रिकाको टिममा उहाँ समेत समावेश हुनुहुन्थ्यो।

केही दिनपछि ती सामान मध्ये टि.भी. र डेक फिर्ता भयो। अरु केके फिर्ता भए? मलाई अहिले सम्झना छैन बरु त्यो घटना घट्नुभन्दा केही दिन अघि एउटा समाचारका कारण बाबुराम अर्यालजीलाई आएको ज्यान मार्ने धम्कीको चर्चा र तिनलाई पत्रपत्रिकाले उठाएको घटनालाई पनि मैले अहिलेसम्म राम्रै गरी सम्झेको छु। पञ्चायतको चरम दमनको त्यो अवस्थाबाट हाम्रो समाज अघि बढ्यो तर पनि समाजको गति निश्चित बाटोबाट हिडेको पाएको छैन। नेपालीहरूको मानसिकता र हाम्रो अवस्थामा त्यस्तो कुनै फेरबदल आएको छैन। पञ्चायतको नाम गयो तर त्यसको संस्कार र त्यो परम्परा गएन। त्यसैले त धम्की र जफतका कुरा अहिले पनि चलेका छन्। अझ आफ्नो कर्तव्य पालनकै सिलसिलामा जीवन अर्पण समेत गर्न पुगेका छन्। त्यो क्रम जारी छ र प्रजातन्त्र पनि चलिरहेछ। यही परम्परामा मैले बुटवल छोडें। अर्थात् त्यहाँको घरको साटो तानसेनमा लिएँ। संयोगले घरमा अरु सामान्य काम चलाउ सामानहरू थिए तर पानी धारो थिएन। हामी जस्ता साधारण जीवन बाँच्न चाहनेहरूका निम्ति त्यो कुनै ठूलो कुरा थिएन।

हजारौं हजार मान्छेले कोशौं टाढाबाट पानी बोकेर खानुपर्ने, हजारौं हजारले टेलिफोन के हो भनेर थाहा सम्म नपाउने अवस्थामा रहेको देशको नागरिक मलाई धारो र टेलिफोन नभएर काम नचल्ने त थिएन। चल्दै गयो। कमलराज रेग्मीजीले आफ्नो घरको धाराबाट आवश्यक पानी दिनुभयो। बसाइ राम्रै भयो ।

मेरो साहित्य लेखन, शिक्षण र पत्रकारिताले निरन्तरता पायो। म क्रियाशील भएँ। यसले समय बितेको पत्तै नपाउने भएँ। तैपनि मेरो क्रियाशीलताले मैलाई पनि छोयो अरुलाई पनि छोयो होला। कसैलाई सकारात्मक र कसैलाई नकारात्मक रूपमा छोयो होला। छुन धेरैलाई छोएको अनुभव मैले गरें। विभिन्न खालका अभिव्यक्तिले त्यसको आभाष दिइरहेको अनुभव मैले गरेकै थिएँ ।

इर्ष्या र द्वेषका नर्कमा डुब्नेहरूका निम्ति अरुको कामले पनि पोल्छ, छटपटी गराउँछ। मेरो अनुभव छ। यही द्वेष धारोमा पोखिएको होला। मेरा कानमा तिनै आवाज परे- ‘नेता भएर हिड्छ, घरमा धारो छैन’। यो सुनेर मलाई दुःख लागेन बरु त्यसो भन्नेका विचार, भावना र बुझाइ क्षमताप्रति दया लागेर आयो। तिनका बुझाइमा त नेता हुनुको अर्थ अरुलाई नभए पनि, नपुगे पनि धारो, फोन, बिजुली जस्ता भए भरका साधन आफ्ना लागि मात्र जुटाउनु नै रहेछ। यो बुझाइ, यस्तो भावना, तिनकै मात्र हो वा अरुका पनि हुन् म सन्देहमा छु। हामीकहाँ प्रायः यस्तै भैरहेछ यहाँ नेताहरू आफ्नो र आफन्तको व्यवस्था मिलाउन लाग्ने जनता भने अत्यावश्यक सुविधाबाट पनि वञ्चित हुने अवस्था देखिइरहेछ।

त्यसैले नेता हुनेले पहिले आफ्नो सुविधा जुटाउनु स्वाभाविक भएको छ। जनताले त्यसलाई स्वाभाविक रूपमा लिन थालेका छन् बरु त्यसो नगरे आलोचना गर्ने वा अचम्म मान्ने प्रवृत्तिको विकास भएको छ। त्यो अभिव्यक्तिमा यसको पनि असर हो कि- नेतृत्व गर्ने के का लागि भन्ने एउट निश्चित मार्गचित्र बन्नु पर्ने भएको छ यतिबेला। त्यो नबनेको र उहिलेका कुरा खुइले भन्ने भावनाको विकास भएकाले समाजको सोच फरक देखिएको छ र त नेताहरूमा पनि यथार्थ बोल्ने, निष्पक्ष व्यवहार गर्ने आँट देखिएकै छैन। भोटका निम्ति राजनीति गर्नेहरुले गलतको विपक्षमा र सहीको पक्षमा बोल्न आँट गर्दा रहेनछन्।त्यसैले त नेताको अर्थ आफूलाई बढीभन्दा बढी सुविधा जुटाउन सक्नु सामान्य नागरिक भन्दा शक्तिमा, श्रोतमा अघि देखिनु नै हुँदोरहेछ। त्यसैबाट मान्छेका मनमा सोच बन्दो हो- नेता भएर हिड्छ घरमा धारो राख्न सकेको छैन।

म राजनीतिक गतिविधिभन्दा पर रहेर अन्य काममा निरन्तर लागिरहन चाहने मान्छेलाई त्यो भनाइले छुने गरेको छ तर राजनीतिमा समय बिताउनेहरूका कानमा बतास लागेन। सायद उनीहरूले यस्ता टिप्पणीबाट आफूलाई सच्याउने पहल गर्नु पर्ने कहिल्यै देखेनन्। त्यसैले हो कि जनता र नेताको दूरी बढिरहेछ, जसको प्रतिफल हाम्रा सामू छ।

Leave a Reply